बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

डालेघाँस मध्यपहाडी भेगमा मङ्सीरदेखि जेष्ठसम्म खुवाइने पशुआहारको मुख्य स्रोत हो । उच्चपहाडी भेगमा चरन क्षेत्र प्रसस्त हुने र प्रायः गाईवस्तुहरू चराएर पालिने हुनाले बढीमात्रामा डालेघाँसको प्रयोग गरेको पाइदैन । त्यस्तै, तराईमा पनि फागुन चैत्रसम्म जमीन ओसिलो रहिरहने, गहुँ तथा दालबालीहरू खेतमा नै हुने हुनाले हरियो घाँस अलिअलि पाइने हुनाले बढी मात्रामा डालेघाँसको प्रयोग गरेको पाइदैन । मध्यपहाडी क्षेत्र जहाँ मानिसहरू र पशुको घनत्व बढी छ, कम सिँचाइ भिरालो जग्गा, कम पानीको स्रोत आदिले गर्दा हिउँदको समयमा जमिन खाली रहने हुनाले हरियो घाँस कमै पाइन्छ ।

हरियो घाँसको रूपमा डाले घाँसमा नै भर परेको पाइन्छ । यस लेखमा मुख्य ४ वटा पोषणतत्वहरू (सुख्खा पदार्थ, कच्चा प्रोटिन, क्याल्सियम र फस्फोरस) र एक नकारात्मक तत्व (ट्यानिन) लाई आधार मानी छुट्टा छुट्टै डालेघाँसहरूको पशु आहारमा प्रयोगको लागि विश्लेषण गरिएको छ । सुख्खा पदार्थ भन्नाले हरियो घाँसमा भएको पानी कटाएर बाँकी भागलाई मानिन्छ । सुख्खा पदार्थ बढी भएको डालेघाँस थोरैले पनि बढी पशुलाई पुग्छ । तर, पोषण तत्व भने सुख्खा पदार्थ बढ्दै जाँदा घट्दै जाने हुन्छ । सुख्खा पदार्थ कम भएको डालेघाँस खानाले कहिलेकाहीँ पशुवस्तुमा छेर्ने समस्या पनि देखिन्छ ।

डालेघाँसमा भएको नाइट्रोजनको प्रतिशतलाई ६.२५ ले गुणा गर्दा कच्चा प्रोटिनको प्रतिशत आउँछ । सबै नाइट्रोजन प्रोटिन होइनन् । यस लेखमा प्रोटिनको प्रतिशतलाई आधार मानी बढी प्रोटिन, क्यालिसयम र फस्फोरस भएको डाले घाँसलाई राम्रो भनिएको छ । कुनै कुनै अवस्थामा भने प्रोटिन, क्याल्सियम, फस्फोरस नकारात्मक तत्वहरू जस्तै ट्यानिन, लिग्निन आदिसँग बाइन्ड (जोडिएर) बसेको हुन्छ जसले गर्दा पशुले लिन पाउदैनन ।

यी तीन तत्वहरू दुध दिने जनावर, हुर्कँदै गरेका पाडापाडी, पाठा पाठीको लागि अति आवश्यक हुन्छ । किनकी दुधमा यी तीनै तत्व बढी हुन्छ र हुर्कँदै गरेका पाडापाडी, पाठापाठीको हड्डी मजवुद बनाउन क्याल्सियम र फस्फोरस अति आवश्यक हुन्छ । यस लेखमा थोरै मात्रामा लेखकको अनुभव, डाले घाँसबारे देखे सुनेका कुराहरू र पशुवस्तुका खुवाएर हेरेको आधारमा विश्लेषण गरिएको छ ।

काभ्रो

काभ्रो हिउँदमा पात झर्ने र चैत्र वैशाखमा नयाँ पालुवा आउने घाँस नै डाले घाँस हो । काभ्रो तीन किसिमका हुन्छन्ः लहरे काभ्रो, रातो काभ्रो र सेतो काभ्रो । लहरे काभ्रो र सेतो काभ्रोको रूख ठूलो हुन्छ तर लहरे काभ्रोको भने त्यति ठुलो हँुदैन । पहाड, बेँसी र टारहरूमा बारीको छेउछाउ, गल्लीको वरिपरि, खरबारी आदिमा काभ्रोको रुख लगाउने चलन हुन्छ जस्ले गर्दा खेतीमा सेप लाग्न कम हुन्छ । काभ्रोको रूखमुनि खेती राम्रो हँुदैन । यसको प्रसारण बिउ र कटिङ्ग दुवैबाट हुन्छ ।

साधारणतयाः असार साउनमा यसको हाँगा काटेर सार्ने चलन हुन्छ । जसले गर्दा ४–५ वर्षपछि नै घाँस काट्न सकिन्छ । काभ्रो दाउरा, घाँस र पाट (रेसा)मा प्रयोग हुन्छ । हाँगा ठुलो ठुलो हुने हुनाले घाँस काटेपछि पशु वस्तुले नखाएको हाँगा दाउरामा प्रयोग हुन्छ । यसको ठुलो हाँगाबाट पाट काढेर पशु वस्तु बाँध्ने दाम्लो, नाम्लो र डोरी बनाउने चलन छ । हिउँद सकिएपछि सुख्खा खडेरीमा पालुवा आउने हुनाले हरियो घाँस नभएको समयमा धेरै राम्रो डाले घाँस दुध दिने पशुको लागि प्रयोग गरिन्छ । धेरै कलिलोमा घाँस काट्दा सुख्खा पदार्थ कम देखिने र सुख्खा पदार्थको आधारमा २०–२१ प्रतिशत क्रुड प्रोटिन देखिएको पनि छ । कलिलोमा घाँसको प्रयोग हुने हुनाले ट्यानिनको (टर्रो पदार्थ मात्रा कम हुन्छ । पशुले खुब मन पराउँछ तर पात छिप्पिदैँ गएपछि त्यति राम्रोसँग मन पराउँदैनन् । 

काभ्रोको डाले घाँस चैतदेखि जेठसम्म उपलब्ध हुन्छ । कलिलोमा पशुले बढी मन पराउने हुनाले कहिलेकाँही बढी खाएमा अपच हुने हुन्छ । त्यस कारण पराल र काभ्रोको डाले घाँस (२ः१) का दरले खुवाउँदा दुध पनि राम्रोसँग आउने पाडा, बाच्छा, पाठापाठी राम्रोसँग हुर्कने हुन्छ ।

पहाडको तल्लो भाग, बेँसी र टारहरूमा सुख्खा मौसममा हरियो घाँस कम भएको समयमा काभ्रो घाँस धेरै राम्रो हुन्छ । एउटा दुहुना भैँसी, हल गोरु र २–४ ओटा बाख्रा पालन गर्ने किसानले ४–५ वटा काभ्रोको रुख हुर्काउन सकेमा पशु आहारामा निकै सजिलो हुन्छ । प्रयोगशाला परीक्षणबाट ३२–३३ प्रतिशत खुख्खा पदार्थ, १०–१२ प्रतिशत कच्चा प्रोटिन, २–२.७ प्रतिशत क्याल्सियम, ०.२०–०.२६ प्रतिशत फस्फोरस र १.०४ प्रतिशत ट्यानिन काभ्रोको पातमा पाइएको छ ।

खन्यू

मध्यपहाडी क्षेत्रमा बारीको कान्लामा खन्यू धेरै राम्रो पाइएको छ । खन्यूलाई कुनै ठाउँमा खनायो, राई खन्यू आदि भन्ने गरिन्छ । यसको प्रसारण बिउबाट नै हुन्छ । पहिरो गएको ठाँउमा चराको विष्टाबाट उम्रने हुनाले बेर्नाको त्यति अभाव हँुदैन । तर ३–४ वर्ष जति राम्रोसँग हिउँदमा जमिन खाली भएको समयमा सानो बोटलाई टेवासहित बार बन्देज गरेर हुर्काउने चलन हुन्छ । सबैजसो डाले घाँस जमिन खाली भएको समयमा यसै किसिमले संरक्षण गरेर हुर्काउन राम्रो हुन्छ ।

खन्यू सदाबहार हरियो भइरहने डाले घाँस भएको हुनाले कार्तिकदेखि जेष्ठ, असारसम्म पशुलाई खुवाउने चलन छ । बाख्रा पालनको लागि यो डाले घाँस अति नै उपयोगी हुन्छ । त्यस्तै जोत्ने गोरु, थारा गाई, भैँसी, पाडापाडी आदिको लागि धेरै राम्रो डाले घाँस हो । दुहुना गाई भैँसीमा त्यति दूध उत्पादन नबढ्ने हुनाले दुहुना बाहेकलाई खुवाउने चलन पनि छ । खन्यूको पातमा ३२–३४ प्रतिशत सुख्खा पदार्थ, ११–१२ प्रतिशत कच्चा प्रोटिन, २.५५ प्रतिशत क्याल्सियम, ०.१९ प्रतिशत फस्फोरस र २.४८ प्रतिशत ट्यानिन सुख्खा पदार्थको आधारमा पाइएको छ ।

खन्यूको पनि डाले घाँस, दाउरा र पाट (रेसा)मा प्रयोग हुन्छ । वर्षको दुई चोटी (कार्तिक र असार)मा पोथी खन्यूको फल लाग्ने गर्छ । पाकेको फल मानिसले खाने चलन पनि छ र अति मिठो हुन्छ । खन्यूको दाउरा धेरै राम्रो हुन्छ । सुख्खा पदार्थ बढी हुने हुनाले थोरै घाँसले पनि धेरै पशुहरूलाई परालसँग मिसाएर खुवाउन सकिन्छ । खन्यू मध्य पहाडी भेगमा राम्रो हुन्छ तर हिमाली भाग र सुख्खा टारहरूमा खन्यू राम्रोसँग फस्टाउदैन ।

टाँकी

टाँकी एक नरम पात भएको दुधालु पशुहरूको लागि राम्रो कोशे डालेघाँस हो । यसलाई सबैजसो ठाउँमा टाँकी नै भनेर चिनिन्छ । यो डालेघाँस मध्यपहाडदेखि बेँसी, टारहरू र भित्री मधेस आदि सबै ठाउँमा पाइन्छ । यस्को प्रसारण बिउबाट नै राम्रो हुन्छ । बिउ सोझैँ चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किएपछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बिउ रोपेको २–३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ । मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ तर असोजदेखि फागुनसम्म हाँगा काटेर खुवाउँदा घाँसको रुखलाई पनि असर नपर्ने र सुख्खा पदार्थ पनि बढी प्रतिशत हुने हुनाले अरु समयमा नकाट्नु नै राम्रो हुन्छ । भर्खर ब्याएका पाडापाडी, पाठापाठी, बाच्छा, बाच्छीलाई घाँस खाने बानी बसाउन यो डाले घाँस खुवाउने गरिन्छ ।

दुधालु भैँसी, गाई र भर्खर ब्याएका माउ बाख्राको लागि यो एक अति उत्तम डाले घाँस हो । यसको पातमा १४–१७ प्रतिशतसम्म वेला छट कृषि ज्ञान चैत २०७९ हेरी क्रुड प्रोटिन (कच्चा प्रोटिन), क्याल्सियम २.४ प्रतिशत र फस्फोरस ०.३० प्रतिशत, सुख्खा पदार्थ ३३–३४ प्रतिशत र ट्यानिन १.२ प्रतिशत सुख्खा पदार्थको आधारमा पाईन्छ । प्रोटिन र क्याल्सियम बढी भएको हुनाले हुर्कदै गरेका पाठा, पाठी, पाडा, पाडीको लागि र लैनो भैँसीको लागि यो डाले घाँस र पराल मिसाएर खुवाउँदा राम्रो दुध उत्पादन हुने र हुर्कदै गरेका पाडापाडी राम्रोसँग हुर्कने हुन्छ । यो डाले घाँसमा खासै त्यस्तो अपाच्य तइभ्व छैन र हिउँदको समयमा खुवाउँदा समस्याहरू केही आउदैन ।

बडहर

बडहर नेपालको मध्यपहाडी भागदेखि भित्री मधेससम्म पाइने डाले घाँस हो । यसको पात बाक्लो र बढी सुख्खा पदार्थ हुने हुनाले बढी आडिलो डाले घाँसको रूपमा लिइन्छ । मौसम र हुर्कने समयअनुसार यस डाले घाँसको पातमा ३०–३३ प्रतिशतसम्म सुख्खा पदार्थ, १३–१४ प्रतिशतसम्म कच्चा प्रोटिन, २ प्रतिशतसम्म क्याल्सियम र ०.२७ प्रतिशत फस्फोरस र ०.५७ प्रतिशत ट्यानिन पाइन्छ । बडहरको बेर्ना हुर्काउन र बिउ उमार्न त्यति सजिलो छैन । त्यस कारणले गर्दा यो डाले घाँस राम्रो भए पनि त्यति धेरै ठाउँमा देखिदैँन ।

बडहरको बेर्ना हुर्काउनको लागि पाकेको फलबाट बिउ निकाली तुरुन्त नै मलिलो माटो भरेको प्लाष्टिक थैलोमा रोपी हाल्नुपर्छ । बियाँ सुकेपछि यस्को उम्रन सक्ने शक्ति घट्दै जान्छ । बेर्नालाई बेला बेलामा पानी दिएर शीतल ठाउँमा राख्नुपर्छ । एक वर्ष नर्सरीमा बेर्ना हुर्काएपछि बारीको कान्ला तथा खाली ठाँउमा सार्नुपर्छ । सारेपछि पनि विशेष ध्यान नदिए यो डाले घाँसको बेर्ना हुर्कन सक्दैन । बेर्ना सारेको ४–५ वर्षपछि मात्र यस घाँसको हाँगा काट्न सकिन्छ ।

यो डाले घाँसको खेती बालीमा त्यति सेप छैन । यो एक पतझड किसिमको डाले घाँस हो र यसको हाँगा कार्तिकदेखि फागुनसम्म काट्न सकिन्छ । लैना भैँसी र दुधालु गाइको लागि परालसँग मिसाएर खुवाउँदा दुध र घिउ उत्पादन राम्रो हुन्छ । सबैजसो डाले घाँसमा ट्यानिन भन्ने टर्रो पदार्थ हुन्छ र बडहरको पातमा पनि यो अपच्य पदार्थ हुन्छ तर त्यति बढी नहुने हुनाले दूध उत्पादनमा खासै असर गर्दैन । ट्यानिन (टर्रो पदार्थ) ५ प्रतिशतसम्म सुख्खा पदार्थको आधारामा हँुदा केही असर हुँदैन तर ५ प्रतिशत भन्दा बढी भएमा पशुलाई खुवाउँदा (लामो समयसम्म) दुध उत्पादनमा कमी हुने र दुब्लाउँदै जाने हुन सक्छ ।

कुट्मिरो

कुट्मिरो एउटा नरम पात र डाँठ भएको डाले घाँस हो । यो घाँस नेपालको मध्यपहाडी भागदेखि भित्री मधेससम्म बारीको कान्ला, खेतबारीको छेउछाउ आदिमा लगाइन्छ । कुट्मिरोको पात मसिना हाँगा बिँगा सबै पशुवस्तुले खुब मन पराएर खान्छन् । यो डाले घाँसको पातमा १४–१६ प्रतिशतसम्म कच्चा प्रोटिन, समय र पालुवाको अवस्थाअनुसार ३०–३४ प्रतिशतसम्म सुख्खा पदार्थ १.६६ प्रतिशत क्याल्सियम, ०.३४ प्रतिशत फस्फोरस र २ प्रतिशत ट्यानिन पाइएको छ । दुध दिने गाई भैँसी र गोरु आदिको लागि यो राम्रो डाले घाँसमा पर्छ । दुई तिहाई भाग पराल र एक तिहाई भाग कुट्मिरो मिसाएर खुवाउँदा दुध उत्पादन राम्रो हुन्छ ।

ट्यानिन भन्ने टर्रो पदार्थ यस डाले घाँसको नयाँ पालुवामा बढी हुने हुनाले लामो समयसम्म कुट्मिरो मात्र खुवाउँदा पिसावको रङ्ग रातो हुने पनि देखिन्छ । त्यसै कारणले डाले घाँस मात्र नदिई परालसँग दिँदा हरियो घाँसको बचत पनि हुने र उत्पादन पनि राम्रो हुने हुनाले कुट्मिरो अथवा अरु डाले घाँस मात्र नदिइ पराल, नल, मकैको खोस्टा आदि मिसाएर खुवाउन राम्रो हुन्छ । कट्मिरोको प्रसारण बिउबाट नै राम्रो हुन्छ, बिउ नै चाहिएको ठाउँमा रोप्ने अथवा नर्सरीमा बेर्ना हुर्काएर बेर्ना सार्ने गर्दा पनि हुन्छ । बेर्ना सारेको २–३ वर्षमा नै हाँगा काट्न सकिन्छ, यो डाले घाँस छिट्टै हुर्कने र बारीमा सेप पनि कम हुने हुनाले बारीको कान्ला र छेउछाउमा लगाउँदा राम्रो हुन्छ ।

हर्रो

हर्रो एक कडा काठ, बाक्लो पात, सुख्खा पदार्थ ४३–४६ प्रतिशत सम्म भएको डाले घाँस हो । यो डाले घाँस मध्यपहाडी भागदेखि बेसीसम्म पाइन्छ । यसको पातमा ७–१५ प्रतिशतसम्म (पालुवाको अवस्था र समयअनुसार) कच्चा प्रोटिन पाइन्छ । त्यस्तै क्याल्सियम १.२४ प्रतिशत, फस्फोरस ०.२७ प्रतिशत र ट्यानिन भन्ने टर्रो पदार्थ १३ प्रतिशतसम्म पाईएको छ । हर्रो जोत्ने गोरु, थारा गाई, भै ँसी, बाख्रा आदिलाई परालसँग मिसाएर खुवाउँदा राम्रो हुन्छ तर दुध दिने जनवार हरूको लागि ट्यानिन बढी भएको हुनाले त्यति राम्रो हुँदैन । हर्रो मात्र लामो समयसम्म खुवाउँदा दूध उत्पादन घट्दै जाने, पशु दुब्लाउँदै जाने र पछि थला पर्ने पनि देखिन्छ । त्यसकारण दुई भाग पराल र एक भाग हर्रोको हरियो डाले घाँस खुवाउन
राम्रो हुन्छ ।

पातमा ट्यानिन बढी भएको हुनाले यो डालेघाँस चैत्रसम्म पनि हरियो रहन्छ र पातमा कीरा पनि लाग्दैन र देख्दा हरियो चिल्लो पात देखिन्छ । यस डालेघाँसको प्रसारण बिउबाट नै राम्रो हुन्छ । कडा काठ र बढी ट्यानिन भएको हुनाले किरा नलागी यसको बिरुवा राम्रोसँग हुर्किन्छ । ४–५ वर्षमा मात्र हाँगा काट्न सकिन्छ । पाकेर झरेको बिउ, गाई वस्तु बाख्राले खाएर गोबरबाट पनि बिउ उम्रने हुनाले खासै नर्सरी व्यवस्थापन गरेको पनि देखिदैँन । उम्रिएको ठाउँमा संरक्षण गरिदिएमा हर्रोको बिरुवा हुर्किहाल्छ । बायोमास बढी हुने र बढी समयसम्म हरियो बस्ने पातमा कीरा पट्टकै नलाग्ने हुनाले दुध दिने पशुभन्दा अरु पशुहरूको लागि एक तिहाई भाग परालमा मिसाएर हिउँदको हरियो घाँसको कमीलाई पूर्ति गर्न हर्रो राम्रो नै हुन्छ ।

वर्रो वर्रो पनि हर्रो जस्तै टर्रो पदार्थ पातमा बढी भएको ठुलो वृक्ष हुने डालेघाँसमा पर्छ । यो डालेघाँस मध्यपहाडी भेगदेखि तराईको जङ्गगलमा पनि देख्न सकिन्छ । हर्रो जस्तै बढी बायोमास उत्पादन हुने हुनाले २–४ वटा रूख कृषकहरूले लगाउने गरेको पाइन्छ । यसको पात हर्रोको भन्दा छिट्टै झर्ने र कीरा पनि अलि बढी लाग्ने हुनाले कात्तिकदेखि माघसम्म हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । 

यो डालेघाँस पशु वस्तुले त्यति मन पराएर खादैनन् । दुहुना गाई भैँसीभन्दा अरु थारो, जोत्ने गोरु आदिलाई परालमा एक तिहाई मिसाएर हिउँदको समयमा हरियो घाँसको पूर्ति गर्न सकिन्छ । प्रयोगशाला परीक्षणबाट यसको पातमा ११–१२ प्रतिशतसम्म कच्चा प्रोटिन, ३४–३५ प्रतिशत सुख्खा पदार्थ, ३.३५ प्रतिशत क्याल्सियम, ०.३७ प्रतिशत फस्फोरस र ट्यानिन १२.४६ प्रतिशत देखिएको छ । बर्रोको वृक्ष ठूलो हुने हुनाले बालीनालीमा सेप बढी हुन्छ । खरबारी, खेतको छेउछाउ र वनबुट्यानमा बर्रो लगाउने चलन हुन्छ ।

अर्को पक्ष भनेको यसको हाँगाबिङ्गा बढी हुने हुनाले दाउराको रूपमा बढी प्रयोग हुन्छ र फर्निचर आदिमा पनि बर्रोको काठ प्रयोग हुन्छ । बर्रो पनि बिउबाट नै प्रसारण हुन्छ र सजिलैसँग बिरुवा हुर्किन्छ । तर, ६–७ वर्षमा मात्र हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । बढी ट्यानिन भएको हुनाले क्याल्सियम बढी भए पनि दुधालु पशुले बर्रो खाएको बेलामा दुध कम दिन्छ । ट्यानिनले क्याल्सियमलाई बाइण्ड गर्ने हुनाले यस्तो हुन गएको हो ।

कोइरालो

टाँकीको जस्तै पात देखिने, मध्यपहाडदेखि तराईको जङ्गगलसम्म ठुलो वृक्षको रूपमा कोइरालो पाइन्छ । यसको फूल र कोपिला तरकारी र अचारमा प्रयोग हुन्छ । कोइरालोको पातमा ३५–३८ प्रतिशतसम्म सुख्खा पदार्थ, १३–१४ प्रतिशतसम्म कच्चा प्रोटिन, १.६६ प्रतिशत क्याल्सियम र ०.३४ प्रतिशत फस्फोरस पाइन्छ । हेर्दा टाँकी जस्तो देखिएपनि टर्रो पदार्थ बढी हुने हुनाले पशुवस्तुले राम्रोसँग मन पराएर खाएको देखिदैँन । हरियो घाँस कम भएको समयमा असोजदेखि पुससम्म कोइरालोको हाँगा काटेर दुहुना गाईभैँसीलाई भन्दा थारो गाईभैँसी, जोत्ने गोरु आदिलाई परालसँग मिसाएर दिँदा राम्रो हुन्छ । हर्रो, बर्रो, कोइरालो ट्यानिन बढी भएका डाले घाँसहरू हुन् ।

कोइरालोमा क्याल्सियम र प्रोटिन राम्रै मात्रामा देखिए पनि ट्यानिनले बाइण्ड गर्ने हुनाले पशुवस्तुले पोषण तत्व राम्रोसँग लिन पाउदैँनन् । ट्यानिनको असर घटाउन सकेसम्म पात कम छिप्पिदँैमा डाले घाँस काट्ने, पराल र अरु भुईँ घाँससँग मिलाएर खुवाउने गर्न सकिन्छ । जसले गर्दा ट्यानिनको असर कम हुन जान्छ । पातमा ट्यानिन बढी भएको कारणले कोइरालोको बेर्ना पनि सजिलै हुर्कन्छ तर ठुलो वृक्ष हुने हुनाले हुर्किन समय बढी नै लाग्ने हुन्छ । साधारणतयाः ६–७ वर्षपछि मात्र डाले घाँसको रूपमा कोइरालो काट्न सकिन्छ । ठुलो वृक्ष हुनाले यसको उपयोग फर्निचर, दाउरा, पूmल कोपिलाबाट तरकारी अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

दबदबे

दबदबे नरम काठ भएको, छिट्टै हुर्किने, मध्य पहाडदेखि तराईसम्म हुने डाले घाँसमा पर्छ । यसको प्रसारण हाँगा काटेर गर्न सकिन्छ । एक डेढ मिटर लामो हाँगा काटेर सोभैm चाहिएको ठाउँमा गाड्दा दबदबेको रुख हुर्किन्छ । यसको बालीनालीमा सेप पनि हँुदैन र जुनसुकै पशुले पनि राम्रो मन पराएर खान्छ । प्रयोगशाला परीक्षणबाट दबदबेको पातमा ३०–३३ प्रतिशत सुख्खा पदार्थ, ११–१२ प्रतिशत कच्चा प्रोटिन, २.१५ प्रतिशत क्याल्सियम, ०.३५ प्रतिशत फस्फोरस र २.२६ प्रतिशत ट्यानिन देखिन्छ ।

प्रोटिन र क्याल्सियम राम्रै हुने र ट्यानिन कम हुने हुनाले पशुले खुब मन पराएर दबदबे घाँस खान्छन् । तर, यसको पातमा ट्यानिन कम भएको हुनाले छिट्टै पात कीराले खाने र झर्ने हुन्छ । दबदबे एक वर्षमा दुई पटकसम्म डाले घाँसको रूपमा काट्न सकिन्छ । असोजदेखि मङ्सीरसम्म एक पटक र अर्को पटक वैशाखदेखि असारसम्म हाँगा काट्दा राम्रो हुन्छ । वर्षमा एकचोटी मात्र हाँगा काट्दा हाँगा ठुलो हुने र पात अथवा हरियो घाँस कम हुने हुनाले वर्षमा दुई पटक डाले घाँस काट्दा राम्रो हुन्छ । दबदबेको अरु बालीमा त्यति सेप नलाग्ने हुनाले खेतबारीको कान्लामा राम्रोसँग लगाउन सकिन्छ ।

निमारो

निमारो एक ठूलो पात हुने डाले घाँस हो र यसको फैलावट उच्च पहाडदेखि मध्य पहाडसम्म हुन्छ । बेँसी र भित्री मधेस आदिमा त्यति देखिदैँन । नरम काठ भएको हुनाले साना साना हाँगा बिङ्गा, पात सबै पशुले मन पराएर खाने गर्छन् । निमारोको पातमा २४–२७ प्रतिशतसम्म सुख्खा पदार्थ, १४–१५ प्रतिशत कच्चा प्रोटिन, २.७९ प्रतिशत क्याल्सियम, ०.२४ प्रतिशत फस्फोरस र २.९६ प्रतिशत ट्यानिनको मात्रा देखिन्छ । दुहुना, थारो, जोत्ने गोरु आदि सबै पशुवस्तुले राम्रोसँग मन पराएर खाने हुनाले एक तिहाई परालसँग मिसाएर खुवाउँदा राम्रो हुन्छ ।

असोजदेखि फागुनसम्म निमारोको डाले घाँस काट्न सकिन्छ । यसको प्रसारण बिउबाट नै राम्रो हुन्छ । तर, हिजोआज टिस्यु कल्चर गरेर पनि निमारो, बडहर जसको बिउ कम हुने र छिट्टै उमार शक्ति घट्ने हुनाले बिरुवा उत्पादन गरेको पाइन्छ । गाउँ घरमा यस्तो प्रविधिको पहुँच कम भएको कारणले बिउलाई अथवा पाकेको फललाई नर्सरीमा बेर्ना हुर्काइ सार्न सकिन्छ । निमारोको बेर्ना नर्सरीमा तयार गरी बारीको कान्ला, छेउछाउ आदिमा सार्न सकिन्छ र राम्रो संरक्षण भएमा ३–४ वर्षमा डाले घाँस काट्न सकिन्छ । निमारोको पात चौडा हुने हुनाले गाउँ घरमा भोज भतेरको लागि दुना टपरी बनाई प्रयोग गरेको पनि पाइन्छ ।

बेडुलो

केही ठाउँमा बेडुलो र केही ठाउँमा ग्याडुलो भनेर चिनिने यो डाले घाँस खन्यू जस्तै पात भएको हुन्छ । खन्यूको रूख केही ठूलो हुन्छ भने बेडुलोको रूख अलि सानो वुसी किसिमको हुन्छ । थारो गाईवस्तु र बाख्राको लागि यो डाले घाँस स्टल फिडिङ्ग (गोठमा बाँधेर पालन) को लागि राम्रो हुन्छ । बेडुलोको पातमा ३०–३१ प्रतिशत सुख्खा पदार्थ, १६.५ प्रतिशत कच्चा प्रोटिन, १.६६ प्रतिशत क्याल्सियम र ०.२७ प्रतिशत फस्फोरस पाइएको छ । यसको उपयोग, प्रसारण आदि खन्यु जस्तै हुन्छ र नकारात्मक पक्षमा यो डालेघाँस खाएको समयमा बाख्राको आँखा बाहिर निस्कन्छ भन्ने पनि छ ।

उपसंहार
डालेघाँस पहाडी भेगदेखि भित्रि मधेशमा अरु हरियो घाँस नभएको समयमा उग्राउने पशुहरूलाई खुवाउने गरिन्छ । कच्चा प्रोटिन र क्याल्सियमको मात्रा डालेघाँसहरूमा राम्रो नै देखिन्छ तर टयाानिन, लिग्निन र अन्य अल्कालोइडहरूले गर्दा जति भएको प्रोटिन र क्याल्सियम पशुले लिन पाईराखेको हुदैन ।

यसको निराकरणको लागि एकै किसिमको डाले घाँसमात्र लामो समयसम्म नखुवाइने, आलोपालो गरेर पराल र अन्य घाँससँग मिलाएर खुवाउने, पशुवस्तुको शारिरीक तौलअनुसार दिनभरिको लागि चाहिने (३ प्रतिशत सुख्खा पदार्थ) खुराकमध्य एक तिहाइ भाग हरियो घाँस र डालेघाँस दुई तिहाई भाग पराल आदिसँग मिसाएर खुवाउने गर्नाले दुध र मासु उत्पादन पनि राम्रो हुने र केही नकारात्मक तत्व भएमा त्यसको असर पनि नदेखिने हुन्छ ।

– नेत्र प्रसाद वस्ती

सम्बन्धित विषय

थप समाचार