नेपालका विभिन्न भागमा आँप खेती भईरहेको पाइन्छ । हावापानीको दृष्टिकोणले यसको खेती देशको तराईदेखि मध्य–पहाडसम्म गर्न सकिन्छ । पहाडी भेगका गर्मी ठाउँहरुमा लगाईएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेती भन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ । उष्ण प्रदेशीय फलफूलहरु मध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ । त्यसैले यसलाई फलफूलको राजा पनि भनिन्छ । पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाईन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ ।
उत्पति र वानस्पतिक विवरण
आँपको उद्गम स्थान दक्षिण–पूर्वि एसिया, खासगरी मलायन द्धीप समूह मानिन्छ ।डी कोन्डेल्ले तथा साथीहरुका अनुसार आँपको उद्गमस्थल हिन्द बर्मेली क्षेत्र हो । नेपालमा आँप खेतीको शुरुवात कहिलेदेखि भएको भन्ने एकिन नभएता पनि पुराना ऐतिहासिक मठ मन्दिर र राणाकालिन दरवारहरुमा अझै पनि देख्न सकिन्छ ।
आँपको वैज्ञानिक नाम म्याङ्गीफेरा इण्डिका (Mangifera indica) हो र यो एनाकार्डिएसी (Anacardaceae) परिवार अन्तर्गत पर्दछ । यसको वानस्पतिक विवरण निम्न बमोजिम रहेको छ ।
काचो हरियो फलहरुलाई अचार, चटनी र टुक्राहरुलाई घाममा सुकाएर अम्चुरबनाई प्रयोग गर्न सकिन्छ । ताजा पाकेको फललाई सिधै खानमा प्रयोग गर्न सकिन्छ । पाकेको आँपको टुक्रा र गुदीलाई डब्बामा बन्द गरेर वा जाम जेली बनाई संरक्षण गर्न सकिन्छ । पाकेको आँपको रसलाई घाममा सुकाएर माडा वनाउन सकिन्छ । ठूला ठूला रुखहरुका काठहरु घर तथा फर्निचर वनाउन सकिन्छ भने सुकेका डांठहरुलाई दाउराको रुपमा प्रयोग गर्न सकिन्छ ।
आँपको बगैचा स्थापना र ब्यवस्थापन
आँप खेती हुने क्षेत्र
हावापानी
आँप उष्ण प्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ । नेपालमा यसको खेती उष्ण तथा उपोष्ण हावापानी भएको क्षेत्रमा राम्रो हुन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन । जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैचा बनाउन उपयुक्त हुदैन । वार्षिक औषत वर्षा १५०० –१८०० मि.मी (२५० से.मी.) र तापक्रम २०–३० डि से हुने ठाँउमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । जाडो महिनामा १० डि से र गर्मी महिनामा ४२ डि से सम्म हुने क्षेत्रहरुमा खेती गर्न सकिन्छ । तर कुनैकुनै पकेट क्षेत्रमा पाईने विशेष किसिमको सुक्ष्म जलवायुको कारणले गर्दा यो २००–६०० मी भन्दा तल वा माथि पनि खेती गर्न सकिन्छ । एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु पर्दछ । तसर्थ व्यवसायिक रूपमा खेती गर्दा निम्न पक्षहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।
माटो
आँपको मूल जरा गहिरो गरी जाने भएकोले आँप खेती गर्ने जग्गाको माटोको गहिराई २ मी. हुनु उपयुक्त मानिन्छ । जमीन मुनि ठूलो र कडा चट्टान नभएको, दोमट र मलिलो माटो राम्रो हुन्छ । कम मलिलोपना भएको माटोमा पनि उपयुक्त मलजलको ब्यवस्था गरी खेती गर्न सकिन्छ । पानी नजम्ने तथा निकासको ब्यवस्था राम्रो भएको माटोमा आँप खेती राम्रोसँग गर्न सकिन्छ । माटोको पि.एच. ५.५ – ७ सम्म भएको माटो उपयुक्त मानिन्छ । पि एच ५.५ भन्दा कम भएको माटोमा कृषि चुनको प्रयोग गरी माटोको अम्लियपन सुधार गर्नु पर्दछ ।
जग्गा रेखाड्ढन
आँप बगैचा स्थापना गर्दा जग्गाको कुन कुन ठाउँमा विरुवा लगाउने भनी पहिचान गर्ने कार्यलाई रेखाड्ढन भनिन्छ । रेखाड्ढन गर्ने विभिन्न तरिकाहरु भएकोले जग्गाको भू–बनावट हेरी उपयुक्त तरिकाको छनौट गर्नु पर्दछ र बोट कहाँ रोप्ने हो, त्यसको ठीक ठाउँ पत्ता लगाउनु पर्छ । किनकि रेखाड्ढन राम्रोसंग गरिएन भने बगैचा नराम्रो देखिनुका साथै बगैचामा गर्नुपर्ने कामहरुमा बाधा पुग्छ । रेखाड्ढन गर्दा बोट रोप्ने ठाउ पहिचान गरी सकेपछि सो ठाउँमा १ किला गाड्नु पर्दछ । रेखाड्ढन गर्ने निम्न तरिकाहरु छन् ।
वर्गाकार प्रणाली
वर्गाकार तरिका
वर्गाकार प्रणाली अन्य तरिकाहरुभन्दा रेखाङ्कन गर्न सजिलो तरिका हो र विशेष गरी समतल जग्गामा यो तरिका बढी चलन चल्तीमा रहेको छ । यस प्रणालीमा बोटदेखि बोट बीचको दुरी र लाईनदेखि लाईन बीचको दुरी बराबर हुन्छ र प्रत्येक कुनामा एक विरुवा रोपिन्छ । यसरी तलको चित्रमा देखाए जस्तै ४ विरुवाले एक वर्ग बनाउँछ । यस प्रणालीमा दुबै दिशाहरुबाट जोत्न र सिँचाइ गर्न तथा अन्तरबाली लगाउन सजिलो हुन्छ । एक छेउबाट हर्को छेउसम्म देख्न सकिन्छ तथा विरुवाले प्रशस्त हावा र सूर्यको प्रकाश पाउन सक्छ । रेखाड्ढन गर्दा पहिलो काम आधार रेखा खिच्नु हो । यो रेखा जग्गाको सिमानासँग समानान्तर हुने गरी खिच्नुपर्छ । आधार रेखा खिच्दा जग्गाको सिमाना र बोट लगाउने पहिलो लाईन बीचको दुरी प्रायः गरी दुई बोट बीचको दुरीको आधा हुन्छ । यो आधार रेखाको आवश्यक दूरी (दुरी देखि बोट बीचको दुरी अनुसार नाप गरी) किलाहरु गाडनु पर्छ । आधार रेखामा किलाहरु गाडिसकेपछि सम्पूर्ण जग्गाको रेखाङ्कन सजिलैसँग गर्न सकिन्छ ।
आयताकार प्रणाली
आयताकार तरिका
यो तरिका वर्गाकार तरिकासँग मिल्दछ । वर्गाकार तरिकामा जस्तै आयातको ४ कुनाहरुमा एक एक विरुवा लगाइन्छ तर दुई लाइन बीचको दूरी बढी र बोटदेखि बोटको दुरी कम हुन्छ । यस तरिकाबाट जग्गाको रेखाङ्कन गर्दा पनि खनजोत र सिँचाइ गर्न तथा अन्तरबाली लगाउन सजिलो हुन्छ । एक छेउबाट हर्को छेउसम्म देख्न सकिन्छ तथा विरुवाले प्रशस्त हावा र सूर्यको प्रकाश पाउन सक्छ । गोडमेलका लागि बढी जग्गा उपलब्ध गराउन यो विधि अपनाइन्छ ।
षट्कोणाकार प्रणाली
षटकोण तरिका
यसलाई त्रिकोणीय तरिका पनि भनिन्छ । किनकि यस तरिकामा त्रिभुज आकारमा विरुवा लगाइन्छ तर त्रिभुजका तीन वटै भुजाहरु बराबर (समबाहु) हुनुपर्दछ । त्रिभुजका हरेक कुनामा एक विरुवा रोपिन्छ र ६ वटा बोटले तल चित्रमा देखाए जस्तो गरी षट्कोण बनाउँछन् र ठीक बीचमा ७ औं विरुवा रोपिन्छ । वर्गाकार तरिकाभन्दा यस तरिकाबाट रेखाड्ढन गर्दा १५५ बढी बिरुवाहरु रोप्न सकिन्छ । बिरुवाका हाँगाहरु करिब–करिब वृत्ताकार भई फिँजिन्छन् । यसले गर्दा तीन दिशाहरुबाट खनजोत गर्न सकिन्छ । साथै एक बोटले अर्को बोटलाई छाया पार्दैन । यो तरिकाबाट रेखाङ्कन गर्दा पनि पहिले जग्गाको एक छेउबाट समानान्तरमा आधार रेखा तानेर गरिन्छ । उक्त आधार रेखामा फलफूलको किसिम अनुसार लगाउने दुरीको फरकमा चिन्ह लगाइन्छ । रेखाड्ढन गर्दा ३ वटा डण्डी÷लट्ठीमा बराबर नापका तीन वटा डोरी बाधिन्छ र डोरी तन्काएर जग्गाको छेउमा खिचिएको आधार रेखालाई नै आधार रेखा मानेर संगैका दुई चिन्हबाट त्यही दुरी बराबरका दुई डोरीको छेउ जहाँ मिल्छ त्यस ठाउँमा चिन्ह लगाई किला गाडिन्छ । एवं रितले बाकी जग्गाका रेखाड्ढन गरिन्छ ।
पंचवृक्षी प्रणाली
पंचवृक्षी तरिका
यस प्रणालीमा पनि वर्गाकार तरिका झैँ बिरुवा लगाउन सकिन्छ, तर वर्गको बीचमा थप एक बोट लगाइन्छ । यो प्रणाली षट्कोणाकार तरिकासँग मिल्दछ । बीचमा लगाइने बोट छोटो अवधिको बाली हुनु पर्दछ । मुख्य बालीले फल दिन थालेपछि बीचको बोट हटाइन्छ । यस तरिकाबाट रेखाड्ढन गर्दा जग्गाको राम्रो सदुपयोग हुन्छ तर खनजोत गर्न अप्ठ्यारो हुन्छ ।
गह्रा कान्ला (कन्टुर) प्रणाली
कन्टुर तरिका
यो विधिको प्रयोग पहाडको गह्रा—गह्रा परेको जग्गामा अपनाइन्छ । यदि जग्गाको ढलुवापन (भिरालोपन) १०५ भन्दा बढी छ भने कान्लाहरु बनाउनुपर्छ । यस प्रणालीमा एक लाईनदेखि अर्को लाईन बीचको दूरी बराबर राखिन्छ, तर बिरुवादेखि बिरुवा बीचको दुरी भने जग्गाको भिरालोपनले गर्दा एकनासले कायम राख्न नमिल्ने हुदा फरक फरक हुन जान्छ । रेखाड्ढन गर्दा सबभन्दा तल्लो भागको वरिपरिबाट एक समउच्च रेखा तयार पारिन्छ । यसलाई नै आधार रेखा मानेर निश्चित उचाईमा अरु रेखाहरु खिचिन्छ र तिनै रेखाको निश्चित दुरीमा विरुवा लगाइन्छ । यस प्रणालीले माटो र वर्षाको पानीलाई संरक्षण गर्छ जसले गर्दा धेरै वर्षसम्म बोटको वृद्धि र विकास भइरहन्छ ।
विरुवा लगाउने दूरी
दूरी
आँपको विरुवा ब्यवस्थापन
विरुवा छनोट गर्दा निम्न पक्षमा ध्यान दिनु जरुरी पर्दछ । बोट कलमी गरी तयार गरिएको पक्का हुनु पर्छ । बेर्नाको जात स्पष्ट रुपमा खुलेको हुनुपर्छ । साथै जातीय शुद्धताको ग्यारेण्टी समेत हुनुपर्छ । बेर्ना स्वस्थ हुनुपर्छ पातहरु हरियो, चिल्लो र रोग कीरा नलागेको हुनु पर्छ । बेर्नाको उमेर बढी हुनुहुदैन । १ – २ वर्ष उमेर भएको विरुवा हुनु पर्दछ । बोट सीधा बढेको हुनुपर्छ । बेर्नाको जरा सकभर धेरै भएको र राम्ररी फैलिएको हुनुपर्छ । बेर्नामा कलमी गरिएको ठाउँबाट २– ३ फिट उचाई भएको हुनुपर्छ । बेर्नामा उखेल्दा बेर्नाको जरा धेरै काटिएको हुनुहुदैन ।
विरुवाको प्याकिन्ग र ढुवानी
बेर्नाको प्याकिङ्ग राम्रोसंग गरिएको छ÷छैन हेर्नु पर्दछ । बेर्नाबाट माटो नखस्ने गरी र जरा नहल्लिने गरी राम्रोसंग बाधिएको हुनुपर्छ ।
बेर्ना ढुवानी सुरक्षित तरिकाबाट गरिनु पर्दछ । दिनको समयमा भन्दा रातमा ढुवानी गर्न उपयुक्त हुन्छ|
रोप्ने समय
आँपको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय बर्षा याम (जेष्ठ–श्राबण) हो । बढी पानी पर्ने क्षेत्रहरु झापा, मोरङ र चितवनमा बर्षाको अन्त्यतिर रोप्न उपयुक्त हुन्छ । कम पानी पर्ने क्षेत्रहरुमा मनसुनको सुरुवात मै रोप्नुपर्छ । बेर्ना रोप्ने सबैभन्दा उपयुक्त समय बेलुकीपख हो । दिउंसो रोप्दा पातहरुबाट पानी उडेर जाने हुँदा बोट ओइलाउंछ ।
विरुवा लगाउने तरिका
कलमी बोटको जरामा भएको माटो पुरिने गरी खाडलको बीच भागमा राखिएको लठ्ठी झिकेर माटो निकाल्ने । आँपको विरुवालाई माटोको गोला सहित खाडलको बीच भाग पर्ने गरी रोप्ने । विरुवाको फेद वरिपरिको माटोलाई राम्ररी थिच्ने । विरुवाको फेद वरिपरिबाट सानो बेसिन बनाएर बोटलाई सिंचाई गर्ने । कलमीको जोर्नीलाई माटोमुनी पुर्नु हुदैन । कलमी गरेको भाग जमीनको सतहभन्दा १५ से.मी. माथि हुनुपर्दछ । कलमीको बोटलाई हावाले भाँच्नबाट जोगाउन विरुवा नजिकै काठको टेको दिनुपर्छ र टेको र विरुवालाई अंग्रेजी आठ (ड) आकार बनाई जुटको डोरीले बाध्नु पर्दछ ।
विरुवा रोप्ने तरिका
सिंचाई
आँपलाई वर्षभरी नै सिंचाई आवश्यकता नपरेता पनि वृद्दि विकासको खास समयमा आवश्यक मात्रामा सिंचाई दिनुपर्छ । आँपको विरुवा राम्रोसँग नसर्दासम्म पटक–पटक सिचाई गर्नुपर्दछ । आँप रोपेपछि वर्षातको परिमाण हेरी सिचाई गर्नु उपयुक्त हुन्छ । बलौटे माटो र कम पानी पर्ने क्षेत्रहरुमा बोटहरुलाई शरद ऋतुमा एकपटक राम्ररी सिंचाई गर्नुपर्छ । यस सिंचाइले फूल फुल्न मद्धत गर्छ । फल झर्ने प्रक्रिया रोक्नका लागि फल लाग्ने बेलामा २–३ पटक सिंचाईको आवश्यकता पर्दछ । बोट वरिपरि बेसिन अथवा रिङ्ग बनाएर सिंचाई गर्दा पानीको सदुपयोग हुन्छ ।
आँपमा एक बर्ष बढी फल्ने र अर्को बर्ष कम फल्ने वा फल्दै नफल्ने बानी हुन्छ । यस प्रकारको फल्ने बानीलाई आँपमा बर्ष बिराएर फल्ने बानी अथवा एकत्रो फल्ने बानी पनि भनिन्छ । फल बढी फलेको वर्षपछि कम फल्ने वा फल्दै नफल्ने वर्ष आउँदछ । कहिलेकाँही ३–४ वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुन्छ । जुन बर्ष आँप बढी फल्छ त्यस बर्षलाई फल्ने बर्ष (On Year) र कम फल्ने वा नफल्ने बर्षलाई नफल्ने बर्ष (Off Year) भनिन्छ । धेरैजसो जातहरु बेस्सरी फल्दछन् र १०–१२ वर्षको उमेरपछि प्रत्येक वर्ष फल्न असमर्थ हुन्छन् ।
बर्ष बिराएर फल्ने बानीमा असर गर्ने तत्वहरु
(क) बाह्य तत्वहरु– प्रकाश, तापक्रम, हावा, सापेक्षिक आद्रता, चिस्यान, रोग र कीरा आदि । (ख) आन्तरिक तत्वहरु– फिजियोलोजिकल, पोषण सम्बन्धि, लैङ्गीक अनुपात र हरमोनको असन्तुलन ।
ब्यवस्थापनका गर्ने उपायहरु नियमित फल्ने जातहरु, जस्तै – नीलम, मल्लिका र आम्रपाली जस्ता जातहरु छनोट गरि रोप्नुपर्छ । बोट फराकिलो दुरीमा रोप्नुपर्छ र हावा रोक्ने रुखहरु लगाउनु पर्छ । एक पटक अक्टूबरमा (असोज–कार्तिक) जोत्नुपर्छ । अर्को पटक डिसेम्बरमा (मंसीर–पुष) र तेस्रोपटक मे–जुनमा (वैशाख–जेष्ठ) जोत्नुपर्छ । पहिलो जोताईमा करिब ३००–४०० के.जी. गोबर मल वा कम्पोष्ट प्रतिकठ्ठा प्रयोग गर्नुपर्छ । माघ–फाल्गुणमा नया वानस्पतिक वृद्धिलाई प्रोत्साहित गर्न वयस्क बोटहरुमा जेष्ठमा १–२ के. जी. यूरिया प्रतिबोटका दरले प्रयोग गर्नुपर्छ । फल लाग्नासाथ तुरुन्त सिंचाइ गर्नुपर्छ । फूल पातलो पार्ने काम मौसमको प्रारम्भमा नै गर्नुपर्छ । यस प्रक्रियाबाट हाँगाहरुको वृद्धि उही मौसममा हुन्छ र अर्को वर्ष फल लाग्दछ । कार्बोहाइड्रेट र नाइट्रोजनको अनुपात वृद्धि गर्न हाँगाहरुबाट बोक्राको चक्का हटाउने गर्नाले नफल्ने वर्षमा फल्न बाध्य गराइन्छ ।
आँपका प्रमुख रोगहरु
१. कोत्रे रोग (Anthracnose)
यो रोग Colletotrichum gloeosporioides भन्ने ढुसीबाट लाग्दछ । नेपालमा यो रोग सबैतिर देखिएको छ ।
लक्षणहरु:
यो रोग कलिलो पात, मसिना हाँगाहरु, मुजुरा तथा फलहरुमा देखा पर्दछ । पातको सतहमा थुप्रै अण्डाकार वा आकारविहीन गाढा खैरो र सुकेको थोप्लाहरु देखा पर्दछन् । आद्र्र मौसममा यी थोप्लाहरु बढ्दछन् र आकारविहीन सुकेका थोप्लाहरु बन्छन् । यो रोग कलिला पातहरुमा बढी लाग्दछ । कलिला हाँगाहरुमा रोग लागेमा रोगी हाँगाहरु टुप्पाबाट मर्दै जान्छन् । रोगग्रस्त मसिना हाँगाहरुमा काला मरेका भागहरु देखिन्छन्, जुन टुप्पोबाट सुक्दै तलतिर आउँछ र यस्ता हाँगाहरुबाट पातहरु झर्छन् । कोपिलाहरु डढेको अवस्थामा आँपको मुजुराका फूलमा काला थोप्लाहरु देखिन्छन्, जो सुक्छन् र झर्छन् । फलमा यो रोग लागेमा फलको सतहमा विभिन्न आकारका काला थोप्लाहरु देखिन्छ । यी थोप्लाहरु एक–आँपसमा जोडिएर ठूला थोप्लाहरु बन्छन् र अन्तमा पूरै फललाई ढाक्दछ । रोग लागेका झर्दछन । रोगी थोप्लाहरुको ठीक तलको गुदी प्रायः साह्रो (कडा) हुन्छ । रोगको स्रोत रोग लागेर भुइँमा झरेको पात तथा मसिना हाँगाहरुमा लामो समयसम्म बाँच्न सक्दछ र अन्य बोटमा रोग सर्ने माध्यमको रुपमा काम गर्दछ । रोग लाग्ने उपयुक्त समय/अवस्था आद्र्र तथा कुइरो लाग्ने अवस्थाहरुमा रोग लाग्ने अति उपयुक्त समय हो । सापेक्षिक आद्र्रता ९५५ भन्दा कम भएमा ढुसी बढ्दैन ।
ब्यवस्थापनका तरिकाहरु : गर्मी याममा उपयुक्त मलखाद तथा सिंचाइको प्रयोगबाट बिरुवाको स्वास्थ्य कायम राख्छ । यसले मसिना हाँगाहरुलाई रोगबाट टाढा राख्छ । रोग लागेका मसिना हाँगाहरुलाई काँटछाँट गरी झरेका पातहरुसहित जलाई दिनुपर्छ । काँटछाँट गरेपछि उपयुक्त रोगनाशक विषादिहरु, जस्तै– १५ को (५ः५ः५०) बोर्डो मिश्रण, ब्लाइटक्स–५० अथवा क्याप्टान १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई दोस्रो हप्तासम्ममा ४ देखि ५ पटकसम्म छरेको खण्डमा यो रोग सन्तोषजनक रुपमा व्यवस्थापन गर्न सकिन्छ ।
२. खराने /सेतो धूले ढुसी ((Powdery mildew)
यो रोग Odium mangiferae (Berth) भन्ने ढुसीबाट लाग्दछ । आँपका बोट–बिरुवामा लाग्ने ढुसी रोग मध्ये खराने रोग प्रमुख हो । यो रोग आँप उत्पादन हुने सबै ठाउँमा नै फैलिएको पाइन्छ ।
लक्षण
रोग लागेको पात, फूलका कोपिलाहरु, फूलको भेट्नो, फूलहरु तथा स–साना कलिला फलहरुमा सेतो–खैरो रङ्गको पाउडर अथवा धुलो देखिन्छ । रोग लागेको ठाउँमा खरानी छरे जस्तो देखिने हुदा यस रोगलाई खराने रोग पनि भनिन्छ ।रोगको लक्षण पहिले मुजुराको टुप्पोमा देखिन्छ र तलतिर फैलिन्छ । यसरी फूलको भेट्नो, मुजुराको भेट्नो, कलिला पातहरु तथा कलिला डाँठहरुलाई ढाक्छ । यसले गर्दा पातहरु केही राता हुन्छन् र दोब्रिन्छन् । रोग धेरै लागेका फूल तथा कलिला फलहरु सुक्छन् र नपाक्दै झर्छन् । रोग लागेको भागहरुको कोषभित्रबाट ढुसीले रस चुसेर लिने हुदा रोगी भाग सुकेर कालो भई फल लाग्न सक्दैन ।
रोगको स्रोत
यो रोग हावाको माध्यमबाट सर्ने भएकोले हावा लागेको दिशातिर यो रोग बढ्दै जान्छ । रोगको प्रकोप मंसिरदेखि फाल्गुनसम्म बढी हुन्छ । तातो आद्र्र मौसम तथा ठन्डी रातहरुमा रोगका जीवाणुहरु रोगी ठाउँबाट अर्को ठाउँमा फैलिन मदत पुग्दछ । फूल खेल्ने बेलामा यदि हावामा बढी आद्र्रता छ र बदली मौसम भई तापक्रम बढन गएको खण्डमा पूरै बोटमा यो ढुसी लाग्न सक्छ र रोगको प्रकोप बढेर फल लाग्न नै दिदैन फलस्वरुप उत्पादनमा पूरा ह्रास आउन सक्छ ।
ब्यवस्थापनका तरिकाहरु: खेतबारीको सरसफाई: रोगी मसिना हाँगाहरुले महत्वपूर्ण स्रोतको काम गर्न सक्छ । अतः रोगी मसिना हाँगाहरु काँटछाँट गरी झरेका पात तथा मसिना हाँगाहरुसहित जलाइ दिनुपर्छ । फूल फूलेपछि केराथेन नामक ढुसीनासक विषादि १ लिटर पानीमा २ मि.लि. राखी छर्ने । त्यस पछि १५ दिनको फरकमा एक वा दुईपटक छर्नु पर्दछ । मसिनो गरी पिंधेको (३२५ मेसको) गन्धकको धूलो पनि यस रोग विरुद्ध छर्न सकिन्छ । कार्वोन्डाजिस (बेविस्टीन) ०.५–१ ग्राम प्रति लिटर पानीमा मिसाई आँपमा फूल खेल्नु अगाडि एक पटक छर्नु पर्छ । फूल प्रशस्त फुलेको अवस्थामा अर्काेचोटि र त्यसपछि फल लागि सकेपछि १५ दिनको अन्तरमा १–२ चोटि छर्नुपर्छ । यदि विषादीहरु छरेपछि पानी परेमा पानी पर्न बन्द भएपछि पुन छर्नु उचित हुन्छ ।
३. आँपको बिकृति रोग (Mango malformation)
यो एउटा जटिल प्रकारको विकृति हो । यो Fusarium Moniliforme Var. Subglutinans भन्ने ढुसीको कारण लाग्दछ ।
लक्षण
यसको मुख्य लक्षणमा मुजुराहरु गुजमुज्ज परेको नपुंसक फूलहरुका झुप्पामा परिणत हुन्छ । केही समयपछि मुजुरा परिवर्तन भई स–साना पात आकारका बनौटहरु देखिन्छन् । यो रोग लागेको बोटमा पातहरु साना–साना हुन्छन् र हाँगाहरु झुप्पामा परिणत हुन्छन् ।
ब्यवस्थापनका तरिकाहरु:
रोग लागेका कलिला हाँगाहरु र फूलका गुच्छाहरुलाई काँटछाँट गरी हटाउने र जलाइ दिने । काँटछाँट गरेपछि, ढुसीनाशक विषादि क्याप्टान १.५ ग्रा. वा वेमिष्टिन १ ग्राम एक लिटर पानी टाँसिने पदार्थको मिश्रण बनाई पूरै रुखमा छर्नुपर्छ । विषादी छर्ने काम प्रत्येक १० दिनको फरकमा दोर्उयौनुपर्छ ।
स्रोत: आँप खेती प्राविधिक पुस्तिका, राष्ट्रिय फलफूल विकास केन्द्र, काठमान्डौ|