बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

खुर्पानीबारे जानकारी

सोमबार, असार ४ २०८१
11 views
खुर्पानीबारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

खुर्पानी (Apricot) रोजेसी (Rosaceae) परिवारमा पर्ने एक महत्वपूर्ण फूल हो । यस फलको वैज्ञानिक नाम प्रुनस अर्मेनिएका (Prunus armeniaca) हो । उत्तर–पूर्वी चीनमा यसको उत्पत्ती भएको मानिन्छ । विश्व भर यसको उत्पादन ३,७५६ हजार टन हुन्छ ।
यसको व्यवसायिक हिसाबले उत्पादन गर्ने देशहरु चीन (१,७२५ हजार टन), टर्की (७१६ हजार टन), ईरान (४७८ हजार टन), पाकिस्तान (३२५ हजार टन) हुन् (FAO 2011) ।

नेपालमा यसले २०२ हेक्टर क्षेत्रफल ओगटेको छ भने उत्पादनशील क्षेत्रफल १३३ हेक्टर मात्र छ । नेपालमा यसको उत्पादन ५.९९ मे.टन प्रती हेक्टरका दरले ७९७ टन हुन्छ (फ.बि.नि, २०६६।६७) । नेपालका उच्च पहाडी ठाउँमा यसका जँगली जातहरु पाईन्छ त्यसैले यसको उत्पत्ती नेपालमै भएको पनि मान्न सकिन्छ । नेपालको मध्य पहाडदेखि उच्च पहाडसम्म यसलाई सुहाउँदो हावापानी भएका कारण यसको व्यवसायिक तवरले खेती गर्नका लागि यस सम्बन्धी अध्ययन, अनुसन्धान र यसको व्यवसायिक खेती गर्न आवश्यक देखिन्छ ।

महत्व

-पाकेको फललाई त्यसै वा सुकाएर खानसकिन्छ ।
-खुर्पानीको वियाँमा साईनोजेनिक गुल्कोसाइड फल र पातमा भन्दा धेरै हुन्छ जुन क्यान्सर रोगको उपचारमा प्रयोग हुन्छ ।
-खुर्पानीको प्रयोग टुयूमर रोग र अल्सर रोग विरुद्ध गरिन्छ ।
-तिन फल खानाले पखाला बन्द हुन्छ ।
-प्रोस्टेट क्यान्सरको निदानको लागि पनि यो प्रयोग हुन्छ ।
-खुर्पानीको बियाँको प्रयोग खाने तेल उत्पादनको लागि पनि गरिन्छ ।
-यसको प्रयोग वाईन र ब्रान्डि उत्पादन गर्ने उद्योगहरुमा पनि गरिन्छ ।
-यसले रक्तअल्पता पनि घटाउँछ ।
-वातावरणीय सन्तुलन र भू–क्षय नियन्त्रणको लागि पनि यसको खेती उत्तिकै महत्वपूर्ण हुन्छ ।
-यसमा क्यारोटिनोईड धेरै प्रकार र मात्रामा हुन्छ र एन्टीअक्सीडेन्ट पनि धेरै हुन्छ । त्यसैले यसको प्रयोग आँखा र मुटु सम्बन्धी बिरामीलाई औषधीको रुपमा गर्न सकिन्छ ।
-यसको प्रयोगले लिभर लाई स्वस्थ राख्छ ।
-यसको प्रयोगले दाँत स्वस्थ र बलियो बनाउँछ ।

जातहरु

(क) साकरपाराः फल मध्यम आकारको, काँधमा हल्का पहेंलो र गुलाबी रङ्ग भएका बास्नादार फिक्का पहेलो गुदी हुने यो जातको खुर्पानीको बियाँ पनि गुलीयो हुन्छ । यो जात अगौटे जात हो र यसलाई बढी चिसोमौसम चाहिन्छ ।

(ख) कैसाः फल मध्यम आकारको, पहेँलो बोक्रा र गाला रातो भएको र सुन्तला रङ्गको बास्नादार गुदी हुने यो जातको खुपार्नीको बियाँ तितो हुन्छ । यो जात मध्यम जातको खुपार्नी हो ।

अन्य जातहरूः
(ग) किलिन्टन
(घ) हार्कोट
(ङ) भिभागोन्ड
(च) न्युक्यासल
(छ) सनगोन्ड आदि । 

हावापानी

शीतोष्ण जलवायु यसको खेतीको लागि उपयुक्त मानिन्छ । नेपालको उच्च पहाडी ठाउँको हावापानी यसको लागि उपयुक्त छ । वानस्पतिक कोपिला र
फूलका कोपिलाका सुषूप्त अवस्था हटाउन ४००–६०० घन्टाका लागि तापक्रम ७ डिग्री सेल्सियस भन्दा तल हुनु पर्दछ । फल पाक्ने बेलाको तापक्रम १५–१९ डिग्री सेल्सियस हुनु उपयुक्त मानिन्छ । यसको खेती १२००–१५०० मिटर उचाईका भ–ूभागमा गर्न सकिन्छ । खुर्पानीको लागि १०० से.मी. वार्षिक वर्षा उपयुक्त हुन्छ ।

माटो

खुर्पानी खेतीका लागि १.५ मिटरसम्म गहिराई भएको दोमट र पानी तर्कने माटो उपयुक्त हुन्छ । यसको खेती ६–७ पि. एच. भएको माटोमा गर्न सकिन्छ । यसको खेतीको लागि गोलभेंडा, खुसार्नी, आलु लगाएका बारी उपयुक्त मानिदैंन ।

बिरुवा प्रसारण विधि


(क) बीउबाटः यस विधिबाट उत्पादित बिरुवाहरूमा पैतृक गुण शत प्रतिशत हँुदैन । यस विधि अनुसार फलबाट बियाँ छुट्याइन्छ र बियाँलाई १०–१५ दिन भित्रै चिसो उपचार (Stratification) गरेर रोपिन्छ । यसको लागि पानीमा भिजाएको बीउलाई उपयुक्त माध्यम (Vermiculite, Peat, Moss वा बालुवा) मा तह तह गरी २–३ हप्तासम्म ३—५ डि.से. तापक्रम कायम गरीराख्नु पर्छ ।

साथै उक्त अवधिमा चिस्यान र हावा संचारको उचित व्यवस्था हुनु पर्छ । यसरी उपचारित बीउलाई उम्र्रन थाले पछि नर्सरी ब्याडमा १५–२० से.मी. बीउको दूरी, २५–३० से.मी. लाइनको दूरी र ६–१० गहिराई मिलाई रोप्नु पर्दछ । खुर्पानीको बीउको उमारशक्ति बढाउनका लागि बीउलाई जिभर्लिक एसिड ५०० पि.पि.एम. अर्थात काइनेटीन ५ पि.पि.एम. घोलमा २४ घण्टा सम्म भिजाइ उपचार गर्नु उपयुक्त हुन्छ (Bal, 2008) । बीउ लगाई सके पछि त्यसलाइ ६–१० से.मी. को छापो दिनु राम्रो मानिन्छ ।

(ख) वानस्पतिक प्रसारण (अलैंगिक प्रजनन):यस तरिकाद्वारा तैयार पारिएका बिरुवाहरूमा शतप्रतिशत माउ बोटको गुण आउँछ । वानस्पतिक प्रसारणमा जिब्रे कलमी (Tongue grafting), टि–बडिङ्ग (T-Budding) र चिप–बडिङ्ग (Chip-Budding) प्रमुख हुन् । खुर्पानीमा कलमी र बडिङ्ग दुवैको सफल हुन्छ । जिब्रे कलमी विधिबाट कलमी गर्न पालुवा आउनु अघिको फागुनको दोश्रो हप्तादेखि चैत्रको पहिलो हप्तासम्मको समय उपयुक्त मानिएको छ ।

यस तरिका अनुसार सर्वप्रथम रुटस्टक बिरुवाहरू तयार गर्न नर्सरीमा खुर्पानी, आरु वा आरुबखडाका बीउहरु रोपिन्छ । जँगली खुर्पानीमा गरिएको कलमीको सफलताको मात्रा बढी हुन्छ र यी बोटहरू धेरै चाडो बढ्दछन् । आरुका रुटस्टक सुख्खा र हलुका माटो भएको ठाँउहरू र आरुबखडाका रुटस्टकहरू खंदिलो र पानीको मात्रा बढी भएका ठाँउहरुमा उपयुक्त मानिन्छ (Bal, 2008) ।

नर्सरीमा तैयार पारिएका बिरुवाहरू मध्ये स्वस्थ र उपयुक्त आकारका बिरुवाहरू छनौट गरी त्यसलाई भूईबाट १५–२० से.मी. माथि काटेर त्यसमा
जिब्रो जस्तो कटिङ्ग बनाइन्छ । यसै गरी स्वस्थ एवं राम्रो जातको खुर्पानीको अधवैंसे बोट (माउ बोट) बाट काटेर ल्याइएका उपयुक्त आकारका सायन (कलमी गरिने हाँगा) को तल पट्टी पनि सोही अनुसारको जिब्रे कटिङ्ग बनाई रुटस्टक सँग जोडी प्लाष्टिकको टेप वा फिताले बांधिन्छ । यसरी ग्राफ्टिङ्ग (कलमी) गर्दा उपयुक्त वातावरण (२१–२४ डि.से. तापक्रम) भएमा १५–२५ दिन भित्रै बिरुवा पलाउन थाल्छ ।

रुटस्टक बाट पलाएका मुनाहरूलाई भने नियमित रुपमा हटाउनु पर्दछ । सिसाकलम जत्रो (लगभग ०.६ से.मी) मोटाई भएका रुटस्टक बिरुवाहरूको जमीन भन्दा १० से.मी. माथीको मुल डाँठको बोक्रा, २–४ गुणा १–२ से.मी. को ढाल आकारमा हटाई वा १–२ गुणा ३–५ से.मी.को अग्रेजी अक्षर 'T' आकारमा काटी त्यहि आकारको सानो मुना  सहितको भाग त्यसमा जोडेर चिप–बडिङ्ग वा टि–बडिङ्ग गर्न सकिन्छ ।

मलखाद र सिंचाइ

कुनै पनि बालीबाट अधिकतम लाभ लिन सन्तुलित मलखाद प्रयोग गर्नु जरुरी हुन्छ । सन्तुलित मात्रामा धेरै फल उत्पादनको लागि नाइट्रोजन, फोस्फोरस, पोटासियम जस्ता मलहरूको सन्तुलित प्रयोग र जिंक, बोरोन, मोलिबडेनम, म्याग्नेसियम, सल्फर जस्ता तत्वहरूको आवश्यकतानुसारको प्रयोग गर्नु पर्दछ । खुर्पानी लाई प्रती वर्ष प्रती बोट २५ केजी गोबरमल, २०० ग्राम नाईट्रोन, १०० ग्राम फोस्फोरस र ५० ग्राम पोटास प्रदान गर्नु पर्दछ (कृ.सु.सं.के., २०६७) ।

मलखाद मध्ये गोठे मल, फोस्फोरस र पोटासको पुरै मात्रा र नाईट्रोनको आधा मात्रा पौष–माघमा काँटछाँट गरेपछि र नाईट्रोजन मलको आधा मात्रा लाई दुई भागमा बिभाजन गरी आदी भागलाई फागुन–चैत्रमा नयाँ पालुवा आउन सुरु हुँदा र आदी भागलाई फल लागेको
एकमहिना पछि प्रयोग गर्नु पर्दछ । मलखाद प्रयोग गर्दा बिरुवाको फैलावट अनुसारको दूरीमा बिरुवाको वरिपरी कुलेसो बनाई प्रयोग गर्नुपर्छ र माटोले छोपी सिंचाइ गर्नु राम्रो हुन्छ ।

बिरुवा रोपेदेखि राम्ररी नसरेसम्म र फल लाग्ने र बढ्ने बेलामा माटोमा चिस्यान कायम राख्न सके बोट र फलको बृद्धि र विकासमा मद्दत पुग्नुका साथै गुदी भरिन सहयोग पग्दछ । सिंचाइको समस्या कम गर्न बगैंचा भित्र प्लाष्टिक वा सिमेन्टको पोखरी बनाउनुका
साथै बिरुवामा छापो राख्न सकिन्छ । वर्षा याममा पानी निकासको व्यवस्था मिलाउन पनि बिर्सनु हुदैन ।

फल टिपाई तथा उत्पादन

खुर्पानीले बिरुवा रोपेको ५ वर्षमा फल्न सुरु गर्दछ र ३०–४० वर्षसम्म फल दिन्छ । फल टिप्नु अघि फल पाकेको छ वा छैन भनि छुट्याउन सामान्यतया दुई वटा तरिकाहरु अपनाइन्छ । पहिलो तरिका अनुसार जब फलको रंग हरियो वाट पहेँलो वा रातोमा परिवर्त भएपछि र दोश्रो जब फल कमलो वा गुलीयो रसले भरीपूर्ण भएपछि । साधारणतया नेपालमा खेती गरिने खुर्पानी जेष्ठदेखि श्रावण महिनामा टिप्न तयार हुन्छ ।

फल टिप्दा बिरुवाको फेदमा कुनै कपडा वा पाल ओछ्याउनु राम्रो हुन्छ भने हाँगामा कमसे कम चोट पुगोस् भनि विचार पु¥याउनु पर्दछ । यसको फललाई ८५–९०% आद्रता र ५ डिग्री तापक्रममा एकदेखि दुई हप्तासम्म भण्डारण गर्न सकिन्छ । बिरुवाले रोपेको ८–१० वर्षपछि पूर्ण क्षमतामा फल दिन्छ । यस्तो एउटा परिपक्व एवं स्वस्थ बोटबाट करिब ५०–८० किलो फल प्राप्त गर्न सकिन्छ भने प्रति किलोमा ५–१२ दाना हुन्छन् ।

सुकाएको खुर्पानी

धेरै समयसम्म भण्डारण गर्न नसकीने खुर्पानीलाई सुकाएर बेच्ने चलन बढी छ । विश्वको परिवेशमा सुकाएको खुर्पानीे उत्पादन ८४.१४ टन हुन्छ ।
सबैभन्दा बढी उत्पादन टर्की (६८.१२ टन), अस्ट्रेलीया (४.५३टन), ईरान (३.५६टन), अमेरीका (१.९टन) मा हुन्छ भने यसको माग एसीया, अमेरीका र युरोपका देशमा बढी छ (Sorgun O. 2005) ।

खुर्पानीलाई परम्परागत र आधुनिक दुवै तरिकाबाट सुकाउन सकिन्छ । परम्परागत तरिकामा पाकेको फललाई ४– १२ दिन घाममा सुकाउने गरीन्छ । यसमा ८ किलो ताजा फल बाट १ किलो सुकेको खुर्पानी निस्कन्छ । आधुनिक तरिकामा खुर्पानीलाई सल्फरमा उपचार गरेर सुकाईन्छ । यस तरिकामा ५–६ किलो ताजा फलबाट १ किलो सुकेको खुर्पानी निस्कन्छ । यस तरिकामा बन्द कोठामा बियाँ हटाइएको फललाई सल्फरले एक घण्टा जति फ्यूमीगेसन गरिन्छ र त्यसपछि सुकाईन्छ । यस तरिकाबाट प्राप्त फलको रङ्ग राम्रो हुने, कमलो हुने र ढुसीले कम आक्रमण गर्ने खालको हुन्छ ।


रोग कीरा

१. ब्याक्टेरियल क्याङ्कर वा गमोसीसः

यो रोग सुडोमोनास साइरिन्जी (Pseudomonas syringae) नामक ब्याक्टेरियाले लगाउँछ । यो रोग लागेको
बोटको डाँठको बोक्रामा पानीले भीजेजस्तो गोलो धब्बा देखापर्दछ । रोगको आक्रमण बढ्दै जाँदा डाठ र हाँगाबाट बाक्लो गम निस्किन्छ । यसको आक्रमण भयो भने फलमा पनि कालो धब्बा देखा पर्दछ । यस रोगको नियन्त्रणका लागि रोगी हाँगा बिंगा हटाई बोर्डोमिक्सचर (२ः२ः२५०) प्रयोग गर्नु पर्दछ ।

२.पाउडरी ढुसीः

यो रोग स्पोरोथीका प्यानोसा (Sphaerotheca pannosa) नामक ढुसीले गराउँछ जसले कलिला पात र मुनामा आक्रमण गर्दछ । यसको रोगथामको लागि सल्फरजन्य बिषादी ०.२५% फूल फूल्नु अघि, फूल फुलेको एक दुई दिनमा र त्यसको दुई हप्ता पछि गरी जम्मा तिन पटक छर्नु पर्दछ ।

३. खैरो दागः

मोनीलीनिया (Monilinia sps) नामक ढुसीले फूल र फललाई आक्रमण गरी कालो दाग बसाल्दछ । यसको रोग थामको लागि जाईनेब (०.३%) र बेनोमाईल (०.१%) प्रयोग गर्न सकिन्छ ।

४. ब्याटोसेरा डोर्सालिजः

(Bactocera dorsalis) झिगाँको लार्भाले फलको गुदी खान्छ र फल कुहाउदँछ । यसको नियन्त्रणको लागि बगैचा सफा राख्नेका साथै आवश्यकाता परे बिषादी छर्नु पर्दछ ।

५) लाईमन्ट्रिया ओफुस्काटाः (Lymantria obfuscata) पुतलीको लार्भाले रुखको पातलाई सखाप पार्दछ । यसको नियन्त्रणको लागि ईन्डोसल्फान (०.५%) छर्न सकिन्छ ।


सन्दर्भ सामाग्री: दैमासिक कृषि, कृषि सूचना तथा संचार केन्द्र 



थप समाचार