बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जापानी हलुवाबेदको उत्पति. परिचय तथा विवरण

मंगलबार, असार ५ २०८१
10 views
जापानी हलुवाबेदको उत्पति. परिचय तथा विवरण

समाचार शेयर गर्नुहोस्

Share this news

उत्पति तथा परिचय

हलुवावेदको उत्पति चीनमा भएको हो । चीनमा ३००० बर्ष देखि हलुवावेद  लगाउदै आएको पाईन्छ । तर टर्रो नहुने जातको विकास भने जापानले 
गरेको हो । जापानले राष्ट्रिय फलको  रुपमा हलुवावेद राखिएको छ । सदियौं  वर्ष देखि जापानमा हलुवावेदको खेती  हुदैं आईरहेको छ । जापानमा हालसालै ६०० बर्ष पुरानो हलुवावेदको बोट फेला  परेको छ । जापानमा सुन्तला,स्याउ,कटुस पछिको चौथो मुख्य फलफूल बालीको रुपमा  हलुवावेदलाई लिईएको छ । विश्वमा यसका सयौं जातहरुको विकास गरिएको छ । यसको बानस्पतिक नाम Diospyros kaki (टर्रो नहुने बर्ग) र Diospyros verginiana (टर्रो हुने बर्ग) हो । यो Ebenaceae परिवारमा पर्दछ ।  Diospyros kaki अन्तर्गत  जापानी हलुवाबेद पर्दछन भने  Diospyros verginiana अन्तर्गत अमेरिकन हलुवाबेद  पर्दछन । हलुवाबेदलाई अंग्रेजीमा Persimmon भनिन्छ ।

माटो

हलुवावेद खेतीको लागी पानी नजम्ने जस्तोसुकै माटोमा पनि गर्न सकिने भएता पनि प्राङ्गारिक पदार्थ प्रशस्त भएको बलौटे दुमट देखि दुमट माटो श्रेष्ठकर मानिन्छ, तर धेरै चिम्ट्याईलो माटो हलुवावेदको लागी खासै राम्रो मानिदैन । त्यसैगरी गहिरो माटो नभई ढुङ्ग्यान भएको,पानी जम्ने, धेरै सुख्खा हुने माटोमा फल झर्ने समस्या आउन सक्छ । हलुवावेद खेतीको लागी माटोको पि.एच.६.०—६.८ उपयुक्त मानिन्छ ।

जग्गाको छनोट

हलुवावेद खेतीको लागी जग्गा छनोट गर्दा धेरै सुख्खा नहुने,पानी नजम्ने,प्रशस्त घाम लाग्ने, प्राङ्गरीक पदार्थ प्रशस्त भएको,सिंचाईको सुविधा भएको,भिरालो जमिन भन्दा समतल परेको जग्गा छनौट गर्नु पर्दछ । जमिनको मोहडाले फरक पार्दैन ।

बगैंचाको रेखाड्ढन

हलुवावेद खेतीको लागी उपयुक्त रेखाड्ढन पद्धतिमा आयातकार (rectangular system) तथा बर्गाकार (square) पद्धति हो । आयातकार पद्धतिमा विरुवा देखि विरुवाको दूरी ४मि. र एक लाईन बाट अर्को लाईनको दूरी ५मि.मा लगाईन्छ भने बर्गाकार पद्धतिमा विरुवा देखि विरुवाको दूरी र एक लाईन बाट अर्को लाईनको दूरी ६ मि.मा लगाईन्छ र पहाडी क्षेत्रको गह्रा कान्ला भएको (कन्टुर)जग्गामा विरुवा देखि विरुवाको मात्र नाप
लिई ५ मि.को दूरीमा लगाउनु उपयुक्त हुन्छ ।

खाडल खन्ने र पुर्ने 

रोपेको विरुवा राम्रोसंग हुर्कन बढ्नको लागी खाडलको आकार प्रकारले पनि भूमिका खेल्दछ । माटो खुकुलो र मलिलो भएमा विरुवा राम्रोसंग सर्नुका साथै बृद्धि विकास पनि राम्रो हुन्छ । त्यसैले रेखाड्ढन गरिसके पछि १ मि.गहीराई र १ मि.गोलाई भएको खाडल खन्नु पर्दछ । खाडलको माटो निकाल्दा माथिल्लो आधा मिटर सम्मको माटो एकापट्टि र तल्लो तहको आधा मिटर माटो पुनः प्रयोग नगर्ने हिसाबले जमिनमै मिलाई दिनु पर्दछ । त्यसपछि १ महिना जति खाडललाई त्यत्तिकै घाममा सुक्न दिनु पर्दछ,यसले खाडलमा रहेका हानीकारक ढूसी तथा किराका अण्डाहरु नष्ट हुन्छन । खाडल खनेको एक महिना पछि प्रति खाडल बराबर १डोको गोबर मल, कृषि चुन १०० ग्राम,यूरिया मल १०० ग्राम,डि.ए.पी. २०० ग्राम र पोटास ५० ग्राम,खाडलको माटो खन्दा निक्लेको माथिल्लो आधा मिटर सम्मको माटोमा राम्रोसंग मिसाई खाडल पुर्नु पर्दछ । खाडल पुर्दा अनिबार्य रुपमा जमिनको सतह भन्दा एक फिट अग्लो हुने गरी ढिस्को उठाउनु पर्दछ । जसले गर्दा विरुवा रोप्दा कलमी भाग जमिन मूनी धसीन पाउदैन । यो खाडल खन्ने पुर्ने काम विरुवा रोप्नु भन्दा २-३ महिना अघि नै गर्नु पर्दछ । अर्थात असोज कार्तिक महिना यसको लागी उपयुक्त महिना हो ।


विरुवा रोपण
हलुवाबेदको विरुवा रोप्ने उपयुक्त समय पुस माघ महिना हो । उन्नत जातको हलुवाबेदको विरुवा सबै कलमी विधिद्वारा उत्पादन गरिएको हुन्छ । विरुवा सिधा रहने गरी रोप्नु पर्दछ र संगसंगै निगालोको लठ्ठीले टेका दिई बाध्नु पर्दछ र खाडलको परिधि भित्र खर वा परालले छापो (Mulching)
दिनु पर्दछ ।

मलखाद प्रयोग

हलुवाबेदमा मलखादको प्रयोग पुस माघ महिनामा गर्नु पर्दछ । एउटा बयस्क बोटको लागी गोबर मल ५० के.जी. (२ डोको), युरिया १०० ग्राम,डि.ए.पी. ३०० ग्राम,र म्युरेट अफ पोटास १५० ग्राम हाल्नु पर्दछ । हलुवाबेदमा नाईट्रोजनको मात्रा बढी हाल्नु हुदैन । हलुवाबेदमा नाइट्र्रोजनको मात्रा बढी भएमा फल झर्ने समस्या आउने अध्ययनहरुले देखाएको छ ।

छापो दिने (Mulching)

विरुवालाई नछोईकन विरुवाको वरिपरि घांस पराल आदीले छापो दिनु पर्दछ । यो कार्य साधारण देखिएता पनि यसले विरुवाको भौतिक अबस्था सुधार्नमा महत्वपूर्ण भूमिका निर्बाह गरिरहेको हुन्छ । छापोको कारणले गर्दा विरुवाको वरिपरि झारपात नियन्त्रण हुनुका साथै माटोमा चिस्यान कायम राख्दै,माटोको भौतिक गुणस्तर सुधार गर्नमा पनि मद्दत गर्दछ । त्यसैले बगैंचाबाट निस्किएको घाँसपात खेर नफाली छापो दिनु पर्दछ ।


सिंचाई

हलुवावेदको जरा गहिरिएर जाने स्वभाबको भएता पनि विरुवा रोपेको शुरुका एक दुई बर्ष सम्म सुख्खाबाट बचाउन आबश्यकता अनुसार सिंचाईको प्रबन्ध मिलाउनु पर्दछ । यसको फूल फुल्ने बेला (चैत,बैशाख)सुख्खा महिना पर्ने भएकोले फूल झर्ने समस्याबाट जोगाउन सिंचाई अनिबार्य हुन्छ । त्यसै गरी फल बढ्ने क्रममा सुख्खा मौसम भएमा अबस्था हेरी सिंचाई गर्नु उपयुक्त हुन्छ । तसर्थ विरुवालाई चिस्यान पर्याप्त मात्रामा भएमा राम्रो फूल फुल्नमा मद्दत पुग्नुको साथै गुणस्तरीय फल उपादन गर्न सकिन्छ ।

अन्तरबाली

बगैंचामा बोटले पुरै जमिन नढाके सम्म बोटले ओगटेको क्षेत्र भन्दा बाहिर खाली जग्गामा अन्तरबालीको रुपमा तरकारी तथा कोशे बालीहरु लगाउन सकिन्छ तर अदुवा र बेसार बाली लगाउनु त्यत्ति उपयुक्त हुदैन किनकि अदुवा र बेसारले जमिनमा भएको खाद्य तत्व अधिक मात्रामा अबशोषण गर्ने हुनाले विरुवासंग प्रतिस्पर्धा हुन गै विरुवालाई खाद्य तत्व अपुग हुन सक्दछ । पशु पालनको लागी घांसेबालीको रुपमा बर्सिम,जै, क्लोभर घांस लगाउन सकिन्छ ।


झारपात नियन्त्रण

आफुले लगाएको बाली बाहेक अनाबश्यकरुपमा खेतबारीमा उम्रेका,पलाएका बनस्पतीहरु झारपात हुन् । यी झारपातले अनाबश्यक रुपमा हावा,पानी,प्रकाश तथा खाद्यतत्वहरु आफुले लगाएको बालीसंग प्रतिस्पर्धा गरीरहेको हुन्छ भने अनेक रोग तथा किराको आश्रय स्थलको रुपमा रहेको हुन्छ । त्यसैले यसको नियन्त्रण बेलैमा गरीएन भने बाली उत्पादनमा ह्रास आउंदछ । विशेषगरी बर्षा याममा घांस, झारपात, लहराहरुको बृद्धि हुने हुंदा बगैचाको स्वरुप नै बिगारी दिन्छ ।

झारपात नियन्त्रणका उपायहरु

१. खनजोतः
बगैचामा बोटको वरिपरिको भाग छाडेर बेला बेलामा खनजोत गरी झारपात आउन नदिने उपाय गर्न सकिन्छ । तर खनजोतको कारणले कहिले काहीं अत्यधिक बर्षाले भूक्षयको कारण बन्न सक्दछ ।

२. घांस काटेर सफागर्ने
झारपातलाई बढ्न फुल्न नदिई बारंम्बार घांस काटेर बगैंचाको सर सफाई भई रहनु उत्तम विकल्प हो । यसले भूक्षय पनि रोक्दछ ।

३. रसायनिक तरिकाले झारपात नियन्त्रण

तेश्रो विकल्पको रुपमा रसायनिक तरिकाले झारपात नियन्त्रणको उपाय अपनाउन सकिन्छ । 

फूल फुल्ने, परागशेचन, फल लाग्ने अबस्था

हलुवाबेदमा फूल तिन थरिको फूल्दछ, कुनै बोटमा पोथी फूल मात्र,कुनै बोटमा भाले फूल मात्र र कुनै बोटमा भाले तथा पोथी दुबै फूल फुल्दछ । हलुवावेदमा १ बर्षको पुरानो हांगाको टुप्पाबाट पलाएको नयां मूनामा मात्र फूल लाग्ने भएकोले कांटछांट गर्दा होस पु¥याउनु पर्दछ । उन्नत जातको हलुवावेदमा प्रायः पोथी फूल मात्र फुल्दछ । बिना भाले फूल भईकन पनि फूलबाट फल लाग्ने हुनाले (parthenocarpic ) स्वभाबको हुन्छ । यसले गर्दा कहिले काहीं चिचिलो अबस्थामा फल झर्ने समस्या देखिन्छ । तर परागशेचित (pollinizer) जात (जस्तैः जिन्जिमारु) मा भाले पोथी दुबै फूल फुल्ने
भएकाले बगैचामा यो जात मिसाएर रोपेको खण्डमा राम्रो परागशेचन भई धेरै फल लाग्नमा मद्दत गर्दछ ।परागशेचनको लागी १ परागशेचित जात बराबर १० वटा अन्य फल उत्पादन गर्ने जात लगाउनु पर्दछ । हलुवावेदको फल झुप्पा झुप्पा गरी फल लाग्ने गर्दछ, र चिचिलो अबस्थामा फल आफै पनि झर्न सक्दछ । यो झराई प्राकृतिक अबस्था (Natural fruit drop) को झराई हुन सक्दछ । तर फलको आकार केही ठुलो भएर झरेमा परागशेचनको समस्याको कारणले हुन सक्दछ । 

Capture.JPG
फूल फुल्ने, परागशेचन, फल लाग्ने अबस्था

 

फल टिप्ने

हलुवाबेदको फल टिपाई कार्य हातले तानेर,लुछेर कदापी गर्नु हुदैन । फलको भेट्नोमा (Calyx) मा चोट पुग्यो भने फल चाडै गल्ने र कुहिने हुन्छ र भण्डारण गर्न सकिदैन । यदी भेट्नो बोटमा नै रहेमा, भेट्नोबाट सुक्दै गएर हांगा समेत सुक्ने गर्दछ, जसले गर्दा नयां पालुवा आउनमा बाधा हुन्छ । त्यसैले अनिबार्य रुपमा फल टिप्ने कैची (Fruit clipper) ले फल टिप्ने कार्य गर्नु पर्दछ ।

उत्पादन

हलुवाबेदको उत्पादनमा जात विशेषले र बगैचा ब्यबस्थापनले प्रभाव पारेको हुन्छ। एउटा बयस्क बोटबाट औषत २५० के.जी. फल उत्पादन लिन सकिन्छ । विश्वको तथ्याड्ढ अनुसार १५ टन प्रति हेक्टर उत्पादन रहेको छ ।

प्याकेजिङ् तथा भण्डारण

पाकेको हलुवाबेद साधारण अबस्थामा राख्दा चांडै नै गिलो भई धेरै दिन राख्न सकिदैन ज्ञघ तर सुन्य डिग्री तापक्रम र ८५ देखि ९० प्रतिशतको सापेक्षित आर्द्रतामा ०.०६ मि.मि.को ल्पाष्टिक थैलोमा हावा निकाली सील गरी भण्डारण गर्न सकेमा ४ महिना सम्म राख्न सकिन्छ ।

नेपालमा उपलब्ध हलुवाबेदका जात र तिनका जातिय गुणहरु

(क) टर्रो नहुने जातहरु:

१. जिरो (JIRO)
२. फूयु  (FUYU)
३. मायकावा जिरो  (MAEKAWA JIRO)
४. मात्चुमोतो वासे फूयु (MATSUMOTO WASE FUYU) 
५. यूबेनी (UBENI) 
६. जिन्जिमारु  (ZINJIMARU)

(ख) टर्रो हुने जातहरु:

१. हिरातानेनाशी (HIRATANENASHI)
२. स्थानिय हलुवाबेद  (LOCAL PERSIMMON)

किरा तथा रोग

किरा
१. फल कुहाउने झिंगा  (Oriental fruit fly)

२. डांठको गबारो (Flat headed stem borer) Bactocera refomaculata De Geer
३. मिलीबग् (Mealy-Bug)
४. झुसिलकिरा (Hypocola larva)
५. सुलसुले (Mites) Aceria diospyri


रोग

१. फेंद कुहिने रोग (colar rot)

२. पातमा लाग्ने थोप्ले रोग (Algel leaf spot)
३.हांगाको टुप्पा सुक्ने रोग (Twig dieback)

सन्दर्भ ग्रन्थ: समशितोष्ण फलफूल खेती प्रविधि, फलफूल विकास निर्देशनालय, कीर्तिपुर, काठमाडौं|

थप समाचार