उत्पत्ति र फैलावट (Origin and Distribution)
भुइँकटहर विश्वकै प्रमुख व्यापारिक एवं औधोगिक फलहरूमध्ये एक मानिन्छ । यसको उत्पत्ति ब्राजिलको मध्य दक्षिण अर्थात् पाराग्वेमा भएको अनुमान छ । उष्ण प्रदेशीय वाली भए तापनि छायादार ओसिलो हावापानी मन पराउने हुँदा उपोष्ण हावापानीमा पनि यसको खेती सफलताका साथ गर्न सकिन्छ ।
विश्वमा भुइँकटहर उत्पादन गर्ने प्रमुख देशहरूमा हवाई द्वीपसमूह, फिलिपिन्स, थाइल्याण्ड, ब्राजिल, घाना, कोरिया, मेक्सिको, दक्षिण अफ्रिका, अष्टे«लिया, पोर्टारिका र भारत पर्दछन् । विश्वभरमा भुइँकटहरको उत्पादन प्रतिवर्ष ९६.५२ लाख मेट्रिक टन हुन्छ । नेपालमा पनि भुइँकटहरको खेती तराईमा खास गरेर झापामा राम्रो पाइएको छ । नेपालमा सालाखाला वार्षिक करिब १५ हजार मेट्रिक टन उत्पादन हुने गर्दछ ।
प्रयोग (Uses)
भूईकटहरूको फलमा भिटामिन ए, बी, सी, क्याल्सियम, फस्फोरस र फलाम यथेष्ट मात्रा पाइन्छ । भुइँकटहरको फलमा एक प्रकारको ब्रोमिलीन (Bromelin) भन्ने इन्जाइम पाइन्छ । फल पाक्ने समयममा एक प्रकारको ३ मिथाइल प्रोपायोनेट इस्टर भन्ने पदार्थको उत्पादनले गर्दा निकै मनमोहक
बासना आउँछ । साधारणतया पाकेको फलमा ८५ प्रतिशत पानी ०.४ प्रतिशत प्रोटिन १३ प्रतिशत चिनी, ०.१ प्रतिशत बोसो, खनिज पदार्थहरू र भिटामिनहरू पाइन्छन् ।
भुइँकटहर फललाई ताजा खान प्रयोग गरिनुका साथै यसबाट सर्बत, जुस, जाम, जेली, चकलेटहरू बनाइन्छ । फलका चाना तथा चक्कीहरूलाई टिनमा डिब्बा बन्द गरेर राखिन्छ । चानाहरूलाई सुकाएर राख्ने पनि चलन छ । डिब्बाबन्दी (Canning) गरिने फलहरूमा यो फल ज्यादै लोकप्रिय र प्रसिद्ध छ । फलबाट रस निकालिसकेका छोक्राहरू पनि गाई वस्तुलाई दानाको रूपमा खुवाउन सकिन्छ । भुइँकटहरबाट रक्सी, सिट्रिक एसिड, भिनेगर अदि वस्तु पनि तयार गर्न सकिन्छ । फिलिपिन्स र ताइवानमा पातका रेसाबाट स्तरीय कपडाहरू तयार गरिन्छन् ।
जातहरू(Cultivars)
भुइँकटहर व्रोमिलेसी (Bromeliaceae) परिवारको अनानस (Ananas sativus Shult) फल हो । ब्राजिलमा पाइने जंगली (Ananas microstachys
Lind) भुइँकटहरहरू बाट नै हामीहरूले प्रयोग ल्याइने भुइँकटहरको विकास भएको अनुमान छ । भुइँकटहरलाई विभिन्न समूहहरूमा वर्णन गरिएको छ । यी समूह अन्र्तगत नै विभिन्न जातहरू पर्दछन् ।
मुख्य समूहहरूमा स्पेनिस (Spanish), क्वीन (Queen), कायने (Cayenne), एवाकाक्सी (Abacaxi), मइपुर (Mipur) पर्दछन् । हामीहरूले खेती
गरिने भुंईकटहरका केही प्रसिद्ध जातहरू यसप्रकार छन् ।
हावापानी (Climate)
भुइँकटहरलाई उष्ण फल भनिए तापनि यसको उत्पादन उपोष्ण हावापानीमा पनि त्यत्तिकै राम्रो हुन्छ । यसलाई समुन्द्री सतहदेखि १५०० मिटरको उचाइसम्ममा खेती गर्न सकिन्छ । २१०–२३० सेल्सियस तापक्रम यसको लागि उत्तम मानिन्छ । तर पनि १५.५ देखि ३२.५ सेल्यिससम्मको तापक्रममा यसको खेती सफलताका साथ गर्न सकिन्छ । तुषारो नपर्ने तर मन्द चिसो रात भएमा फलको गुणस्तर राम्रो हुन्छ । भुइँकटहरले अलिअलि छायाँ मन पराउँदछ । तर घाम नै नपर्ने ठाउँमा भने उत्पादन हुँदैन ।
पातका कोषिकामा पानी जम्मा गरेर राख्न सक्ने क्षमता भएको हुँदा यो फलले गर्मी सुक्खा हावापानी पनि सहन्छ । ५१ देखि ५०० से.मि. सम्म वार्षिक पानी पर्ने ठाउँमा यसको खेती सफलताका साथ गर्न सकिन्छ । वार्षिक सालाखाला १५० से.मि. वर्षा ठीक मानिन्छ । समुन्द्री सतहदेखि जति उचाइ बढदै गयो उति नै अमिलोपन बढी र गुलियो पन कम हुन्छ र फलको आकार पनि सानो हुँदै जान्छ । भुइँकटहरले शीत संकलन गरी उपयोग गर्ने हुँदा शीत पर्ने सुक्खा हावापानी पनि यसले सहन सक्दछ ।
माटो (Soil)
पानी नजम्ने बलौटे दोमट र बढी ऊर्वरशक्ति भएको माटो भुइँकटहर खेतीको लागि उपयुक्त मानिन्छ । माटोको किसिमभन्दा पनि निकासको ब्यवस्था हुने अति आवश्यक छ । माटोमा क्याल्सियम, म्याङ्गनिज र फलामको मात्रा बढी भयो भने बिरूवाको लागि हानिकारक हुन्छ । गह्रौं माटोमा बढी फल उत्पादन पाउन सकिन्छ भने हल्का माटोमा उत्पादन गरीएका फल बढी स्वादिला हुन्छन् । पानी जम्ने धेरै कडा माटोमा यो वाली राम्रो हुँदैन । यसको खेती लागि माटोको पि. एच. ५.५ देखि ६.५ उत्तम मानिन्छ ।
प्रजनन (Propagation)
भुइँकटहर साधारणतया बिरूवाका अलैंगिक भागहरूको (Offshoots) प्रयोग गरेर प्रजनन गरिन्छ । बिरूवाका निम्न अलग्गै भागहरूबाट नयाँ बिरूवाको उत्पत्ति गर्न सकिन्छ । (१) क्राउन (Crown) फलको शिरमा रहेको भागलाई क्राउन भनिन्छ । फल पाकेपछि मात्र त्यसता भुइकटहर
क्राउनलाई हटाउन सकिन्छ । फलसँग यसको घनिष्ट सम्बन्ध हुने हुँदा यसलाई फलको उत्पादन लिनु अगाडि हटाउनु हुँदैन । (२) स्लिप (Slip) फलको फेंददेखि तलपट्टि साना बिरूवाहरू निस्केका हुन्छन् ।
यिनीहरूको वृद्धि र विकास पनि फलको विकाससँगसँगै हुन्छ प्रायः सबैजसो ठाउँहरूमा स्लिपहरूलाई फलको उत्पादन लिने समयमा नै हटाउने गरेको पाइन्छ । ३) सकर (Sucker) बिरूवाको काण्डको माटोमुनिको टुसाबाट प्रशस्त कोथाहरू निस्कन्छन् । यी कोथाहरूलाई सकर भनिन्छ । भुइँकटहरहरूलाई माथि उल्लेखित ३ वटै बिरूवाका भागहरू प्रयोगबाट प्रसारण गरिन्छ । साधारणतया गर्मी ठाउँमा क्राउनले २२, दखि २४ महिनामा, स्लिपले २०देखि २२ महिना र सकरले १६ देखि १० महिनामा फल दिन्छन् ।
यी ३ प्रकारका बिरूवाका भागहरू मध्ये प्रसारणको निमित्त स्लिपहरू बढी उपयुक्त मानिन्छन् । सकरहरूको तुलनामा स्लिपहरूमा एक रूपता हुने हुँदा यिनीहरूबाट एकै पटक र ठूला फलहरू प्राप्त गर्न सकिन्छ । बिरूवाको क्राउनलाई ठाडो चिरेर ४–८ टुक्रा बनाएर पनि प्रजनन गर्न सकिन्छ । बिरूवाको डाँठलाई पनि कोपिलाको आधारमा चिरेर टुक्रा बनाएर प्रजनन गर्न सकिन्छ । एकै पटकमा धेरै बिरूवाहरूको आवश्यकता परेमा पनि यो
तरिका अपनाउन सकिन्छ । तर यसरी प्रजनन गरेका बिरूवाहरूबाट फलहरू ढिलो प्राप्त हुन्छ । भुइँकटहरमा नयाँ आउने कोपिलाबाट तन्तु प्रजनन गरेर पनि प्रसारण गर्न सकिन्छ । तर हाल यो विधि त्यति प्रचलनमा आएको छैन् ।
ताजा स्लिप र क्राउनहरू बगैंचामा सार्दा माउबाट छुटाएको ठाउँमा कुहिन सुरू गर्ने र जराहरू नहाल्ने हुँदा यिनीहरूलाई १०–१५ दिन घाममा राखेर अलिअलि ओइलाउनु दिइ प्रसारण गरेमा फेद कुहिने रोग (Butt root) को नियन्त्रण र बढी सफलता पाउन सकिन्छ । प्रसारणअघि बिरूवाको तल्लो भागलाई ब्लाईटक्स, एकाटक्स अथाव अन्य कुनै सिस्टमी ढुशी नाशक कीटनाशक औषधिमा डुबाएर फेद कुहिने रोगको (Butt root) र मिलेवग कीराको आक्रमणबाट बचाउन सकिन्छ । बिरूवा प्रसारण गर्दा एकै नाशका बिरूवाहरूलाई एकैचोटि लगाउनाले एकै पटकमा फल उत्पादन लिन सकिन्छ । बिरूवाहरू बढी फलेको, कीरा रोगरहित ठाउँबाट धेरै उत्पादन दिने माउबोटबाट छान्नु पर्दछ ।
रोप्न तरिका (Planting Method)
भुइँकटहर लगाउने जग्गा राम्रोसँग जोतेर पानी नजम्ने गरी सम्याउनु पर्दछ । यसलाई वर्षायामको शुरूमा वा अन्त्यमा लगाउनु पर्दछ । गरम वा ओसिलो ठाउँमा वर्षको कुनै पनि समयमा लगाउन सकिन्छ । १०–१५ दिन सुकिसकेको बिरूवाको फेंदतिर सुकेका केही पातहरू हटाई ०.४ प्रतिशतको डाइफोलाटन र ०. ०५% को इकाटकस अथवा अन्य कुनै कीटनाशक र ढुसीनाशक औषधिको घोलमा फेंदलाई डुबाएर १० से.मि. गहिरो र पातलाई रोल पारेर गुभोमा माटो नपर्ने गरी लागाउनु पर्दछ ।
व्यवस्थित तरिकाले भुइँकटहर लगाएमा हेरचाह गर्न सजिलो साथै बढी र स्तरीय गुणको फल उत्पादन हुन्छ । उन्नत प्रविधिअनुसार भुइँकटहरहरूलाई व्याडमा २ लाइनका दरले लगाइन्छ । दुबै व्याडको बीचको दूरी ७५–९० सेन्टिमिटर राखिन्छ । प्रत्येक व्याडमा दुई लाइनको बीचको दूरी ६० सेन्टिमिटर र एक बोटदेखि अर्को बोटको दूरी २५–३० सेन्टिमिटर कायम गरिन्छ ।
यसरी लगाउँदा एक हेक्टरमा जमिनमा करिब ४४ हजार बोटहरू अटाउँछन् । यसो गर्दा राम्रो ब्यवस्थापन पर्न सकिने ठाउँमा बिरूवा र लाइनको दूरीलाई कम गरेर बढी विरुवा लगाउन सकिन्छ । बढी घना बिरूवा लगाउँदा बढी फल उत्पादन लिन सकिन्छ । तर फलको आकार भने सानो हुन्छ । फलमा गुलियोपन कम र अमिलोपन बढी हुन्छ बढी सुक्खा हुने ठाउँमा बिरूवाले नै मल्चिङको काम गर्ने हुँदा पानीको बचावट बढी हुन्छ । व्याडमा बिरूवाहरूलाई लगाउँदा त्रिकोण पद्धति अपनाउनु पर्दछ ।
मलखाद (Manure and Fertilizers)
४० टन फल उत्पादन हुँदा माटोबाट करिब १२३ किलो नाइट्रोजन ३३ किलो फस्फोरस र ३०८ किलो पोटास फलले लिने गर्दछ यसबाट यो थाहा हुन्छ कि भुइँकटहर उत्पादनको लागि नाइट्रोजन र पोटासको बढी आवश्यकता पर्ने रहेछ । बगैँचामा कति मलखाद हाल्ने भन्ने कुरा बगैँचाको मलिलोपन र बिरूवाको उत्पादन क्षमतामा भर पर्दछ ।
अन्न वालीहरू उत्पादन गरेको जग्गामा भुइँकटहर लगाउनु परेमा ६०० किलो नाइट्रोजन ४०० किलो फस्फोरस र ६०० किलो पोटास र ५०–६० गाढा गोबर मल एउटा वालीको लागि हाल्नु पर्दछ । मलहरू दिंदा गोबर मल पूरै, आधा भाग फस्फोरस, पोटास र एक चौथाइ भाग नाइट्रोजन सुरूमा दिनुपर्दछ ।फस्फोरस र पोटास मलको बाँकी आधा भागलाई र नाइट्रोजनको दुई चौथाइ भागलाई १ वर्षको अन्तरालपछि दिनुपर्दछ । त्यसको ५–६ महिनापछि नाइट्रोजनको बाँकी एक चौथाइ भाग दिनुपर्दछ । बिरूवा लागाईसकेपछि मलखाद दिँदा कुलेसो बनाएर वा औंठी आकार बनाएर दिई उकेरा दिनुपर्दछ ।
औंठी आकार बनाएर दिँदा प्रतिबिरूवा १२–२६ ग्राम एमोनियम सल्फेट, २–४ ग्राम सुपर फक्फेट, र ८–१० ग्राम युरेट अफ पोटास मिलाएर दिनुपर्दछ । पुनः नाइट्रोजन मल दिदा यसै तरिका अनुसार दिनुपर्दछ । यदि खुटिवाली लिने भएमा वाली लिइसकेपछि सकरहरू छाँटेर आँधा भाग सुरूमा र आधा भाग पसाउने समय दिनुपर्दछ । नाइट्रोजन मललाई ३–४ पटक गरेर दिन सकिन्छ । बलौटे र अम्लीय माटोमा म्याग्नेसियम, वोरन र फलामको कमीदेखिने ठाउँमा म्याग्नेसियम ०.६४ ग्राम वोरन ०.२४ ग्राम फलाम ०.६४ ग्राम प्रति बिरूवाका दरले दिनुपर्दछ ।
सिंचाइ (Irrigation)
भुइँकटहरलाई सिचाइ बिना नै खेती गरेको पाइन्छ । यसको पात बाक्लो हुने हुँदा पातले प्रशस्त पानी जम्मा गरेर राख्दछ । माटोमा २५ प्रतिशतमात्र प्राप्त हुन सक्ने (Available soil moisture) पानी भए पनि भुइँकटहर खेती राम्रोसँग गर्न सकिन्छ । भुइँकटरहरले प्रकाश संश्लेषणबाट खाना बनाउने काम रातमा गर्दछ। दिनमा सूर्यकाप्रकाशबाट शक्ति संचय गरी राख्दछ ।
रातमा हावाबाट कार्वनडाइअक्साइड लिई दिउँसो जम्मा गरेको शक्ति प्रयोग गरी खाना वनाउँछ । दिउँसो चर्को घाममा स्टोमेटा बन्द हुने हुँदा पानीको खर्च कम हुन्छ दिनमा प्रकाश संचय गरी रातमा खाना बनाउने बिरुवालाई Crassulation acid metobolism बिरुवा भन्दछन् । यो कम पानीमा पनि हुन सक्ने बिरुवाको विशेषता हो । ज्यादै गरम र सुख्खा ठाउँमा १०–१५ दिन बिराएर सिंचाइ गरे राम्रो हुन्छ । सिंचाइको सुविधा भएमा मल दिएपछि सिंचाइ दिनुपर्दछ ।
वाली लिने र उत्पादन (Harvesting and Yield)
भुइँकटहर फुलेपछि उत्पादन लिनलाई ५–६ महिना लाग्दछ । नजिकको बजारको लागि फल लिँदा फलको फेंदमा पहेँलो सुन्तला रङको विकास भएपछि फल टिप्नु पर्दछ भने टाढाको बजार अथवा भण्डारणको लागि फल टिप्दा आँखाहरू पुष्ट भएपछि आँखाका साना पातहरू अलिअलि सुकेपछि र फलको रंग अलि अलि फिका किसिमको भए पछि जब फूललाई नुगाउँदा भाँचिने हुन्छ त्यस्तो अवस्थामा फलहरूलाई नुगाएर भाँची एक ठाउँमा जम्मा गर्दै जानु पर्दछ । फलहरूलाई फाल्नु तथा बजार्नु हुँदैन । राम्रोसँग व्यवस्थित किसिमले लगाएको बगैँचामा प्रतिहेक्टर सरदर ५० देखि ६० टनसम्म फल र करिब लाखभन्दा बढी सकर र स्लिपहरूको पनि उत्पादन लिन सकिन्छ ।
प्याकेजिङ र ढुवानी (Packaging and Transportation)
भुइँकटहरको फल लिइसकेपछि ठूला र साना फललाई ग्रडिङ गरेर छुट्याउनु पर्दछ । पाक्न सुरू गरेका कीरा र रोग लागेका फलहरूलाई अलग्याई राम्रा फलहरूलाई काठको बाकसमा वा कार्टुनमा प्याक गर्नुपर्दछ । भेट्नालाई १०–२० से. मी बाँकी राखेर अन्य भाग काटेर हटाई काटेको ठाउँमा ढुसी नाशक औषधि लगाउनु पर्दछ । टुप्पातिर पनि क्राउनका पातहरूलाई छाँटेर हटाएमा ढुवानी गर्दा ठाउँ र तौलमा किफायत गर्न सकिन्छ । फलहरूलाई प्याक गर्दा बाकस कार्टुन वा पराल वा स्पोन्ज राखी बाकसको माथिपट्टि प्वाल बनाइ हावा खेल्ने व्यवस्था गर्नुपर्दछ ।
भण्डारण तथा फल पकाउने (Storage and Ripening)
गरम ठाउँमा साधारणतया फललाई १० दिनभन्दा बढी भण्डारण गरेर राख्न सकिँदैन । कम तापक्रम बढी समयसम्म राख्न सकिन्छ । मोडिफाइड स्टोजहरूमा १५–१६ दिनसम्म राख्न सकिन्छ । कोल्ड स्टोरमा (८–१०० सेल्सियस) भुइँकटहरूलाई एक महिनासम्मको लागि राख्न सकिन्छ । अक्सिजन २ प्रतिशत र नाइट्रोजन ९८ प्रतिशत भएको नियन्त्रित स्टोरेज कोठाहरूमा अझ लामो समयसम्म राख्न सकिन्छ । फललाई टिप्नासाथ १०० पीपीएम को एनएए अर्थात् जिबे्रलिन १०–९८ पीपीएमको झोलमा डुबाएमा भेट्नो र भुइँकटहरलाई हरियो अवस्थामै राख्न सकिन्छ ।
भण्डारण गरीएका फलहरूलाई एकरूपाताका साथ पकाउन तथा पहेलो र आकर्षक रङको विकास गर्न फललाई ५०० पीपीएमको इथेलले उपचार गर्नुपर्दछ । यसो गर्नाले फलको बोक्रामा भएको क्लोरोफिललाई नष्ट पारी पहेँलो रंगको क्यारोटिनको विकास हुन मद्दत गर्नुका साथै फलको अन्य गुणस्तरमासमेत राम्रो असर पर्दछ । बोटमै फललाई इथरेलले उपाचार गरेमा फल छिटो परिपक्व हुने, बाहिरी रङ पहेंलो र आकर्षक हुने गर्दछ ।
कीराहरू (Insects)
१. मिलीवग (Mealybug)
२. निमाटोड (Nematode)
३. मुसा (Rats)
रोगहरू
१. गुभो कुहिने रोग (Heart rot or stem rot)
२. फल कुहिने रोग (Soft rot fruit rot or storage rot)
३. पातको थोप्ले रोग (Leat spot)
४. गुच्छे रोग (Multiple crown)
५. सन् स्क्याल्ड (Sun Scald)
स्रोत: उष्ण फलफूल खेती प्रविधि, कृषि विकास मन्त्रालय , काठमान्डौ |