बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

खुम्रे कीरा

सोमबार, असार ११ २०८१
8 views
खुम्रे कीरा

समाचार शेयर गर्नुहोस्

Share this news

खुम्रे  कीरा (White grub- Phyllophaga/Anomala spp.)

परिचय : खुम्रे कीरा कीरा असिंचित पाखो जमीनमा प्रमुख समस्याको रूपमा रहेको छ । यो खपटे कीराको लार्भा (खुम्र) ले माटो मुनी बसेर वाली बिरुवाको जरा र माटो मुनीको भाग पनि खाइदिन्छ । फलस्वरुप उत्पादनमा कमिका साथै जरा र माटो मुनीको भाग प्रयोग हुने वालीको गुणस्तर घट्न जान्छ । खपटे वर्गमा पर्ने विभिन्न प्रजातीका खुबे कीराको वयस्क खपटे गाढा खैरो, कालो, पहेंलो, हरियो लगायतका विभिन्न रङ्गका हुन सक्दछन् । यिनीहरुको शरीर चिल्लो बनावटको आवरण र माटो खन्ने प्रकृतिका गोडाहरू भएको हुन्छ । शरीरको सरदर लम्बाई १५ मि.मि र चौडाई ८ मि.मी. हुन्छ । लार्भा अंग्रेजी वर्णमालाको सी आकारको खुम्ची राख्ने र बोसो रंगको सेतो शरीर भएको, पहेलो टाउको भएको र छातीमा ३ जोडीमात्र खुट्टा भएको हुन्छ । खुम्रे कीराले विशेष गरी मर्क, कोदो, गहुँ, आलु, तरकारी, उखु लगायतका वालीहरुमा बढी नोक्सानी गर्ने गरेको छ । पोथी कीराले माटो वा काँचो गोबर भित्र अण्डा पार्दछन् । अण्डावाट खुम्र बन्न २-३ हप्ता लाग्छ भने खुमेहरु ९ देखि २१ महिनासम्म खाँदै रहन्छन् त्यसपछि अचल अवस्थामा जान्छन्। अचल अवस्था ३-६ महिनासम्म रहन्छ । यो कीराको वयस्क र लार्भे दुवै जाडोमा माटो मुनि पाइन्छन् । यिनीहरुको जीवनचक्र पुरा हुन प्रजाती अनुसार ६ महिना देखि ३ वर्ष सम्म लाग्न सक्दछ ।

क्षतिको लक्षण :

सामान्यतया  खुम्रेहरु बलौटे र असिञ्चित माटोमा बस्न मन पराउँछन्। मकै र कोदो खुम्रे कीराले ज्यादै मन पराउने वालीहरु हुन् । जंगल नजिकैको बारीमा यिनीहरुको प्रकोप बढी हुन्छ । वयस्क अवस्थाको सुघे कीरा रुख, झाडी तथा घाँसे मैदानमा बस्छन् र नजिकैको खेति बालीमा आक्रमण गर्दछन् । डाँठ तथा जरामा स्पष्ट क्षति देखिन्छ भने बोटहरु ओइलाएका हुन्छन् । वयस्क खपटेहरुले पात कोपिला तथा फूलहरु चपाइ खाएका लक्षण पनि देखिन्छ । 

व्यवस्थापन

• माटोमा चिस्यानको व्यवस्थापन गर्दा क्षति र खुम्रेको संख्या घटाउन मद्दत गर्दछ ।

• खेतबारीमा रहेका झारपात तथा अवशेषहरु नष्ट गरी खेतवारी सफा राख्ने ।

• गर्मीको समयमा गहिरो खनजोत गर्ने र हप्ता दिनसम्म खाली राख्दा खुम्र सतहमा आउने प्राकृतिक शत्रु चराले खाइदिन्छ र खुम्रेको संख्या घट्दछ ।

• पाकेको गोबर मल वा कम्पोष्ट मल मात्र प्रयोग गर्ने ।

• जमिन तयारीको समयमा केतुकीका मसिना टुक्राहरू १० केजी को दरले वा चिउरीको पीना २० के. जी. प्रति रोपनीका दरले प्रयोग गर्दा खुसे कीराको नोक्सानी कम गर्न सकिन्छ ।

• यसले कम मनपराउने वालीहरु जस्तै टमाटर, लसुन, प्याज, धनिया आदिलाई मिश्रीत वालीको रुपमा प्रयोग गर्दा खुम्रवाट हुने क्षति पुग्दछ । 

• मेटारिजियम एनिसोप्ली जैविक विषादी ५ ग्राम प्रति के. जी. का दरले कम्पोष्टमा मिलाइ बनाएको उपचारीत कम्पोष्ट मल १ मे. टन प्रति रोपनीका दरले वाली लगाउने समयमा प्रयोग गर्ने ।

• क्लोरोपाइरिफस १०% जीआर विषादी १ केजी प्रति रोपनीका दरले मकै छर्नुभन्दा अघि छर्ने ।

• यसको प्रकोप भएको स्थानहरुमा क्लोरोपाइरिफस २ मिलि प्रति लिटर पानीमा मिसाइ विरुवा रोपेको वरिपरि माटो भिज्ने गरी छर्नु पर्दछ वा

• क्लोरोनट्रानिलिप्प्रोल ०४ दानादार विषादी २५० ग्राम वा क्लोरोपाइरीफस १०% दानादार

• विषादी १ केजी वा कार्टाप हाईड्रोक्लोराइड ४% दानादार विषादी १ केजी प्रति रोपनीका दरले जम्मा तयारीमा छर्ने ।

स्रोत : बाली संरक्षण प्रयोगशाला, गण्डकी पोखरा 

थप समाचार