बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जैतुन खेती प्रविधि

बुधबार, असार १३ २०८१
9 views
जैतुन खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

यस बालीलाई अंगे्रजीमा ओलिभ र संस्कृत, हिन्दी, नेपाली, अरबिक भाषामा जैतुन (Jaitun) भनिन्छ । खेती गरिने जैतुनको बैज्ञानिक नाम ओलिया युरोपा  (Olea europaea var. Sativa L.) हो र नेपालको उत्तर–पश्चिमी जिल्लाहरुमा पाइने स्थानीय जातको जंगली जैतुनलाई लौंठो (Olea cuspidata) भनिन्छ । भूमध्य सागरीय क्षेत्र जैतुन खेतीको लागि उर्बर भूमि भएकोले परापूर्वकाल देखि यसको खेती गरिदैं आएको छ र आज पनि विश्वमा जैतुनको कूल खेती मध्ये ९५ प्रतिशत खेती त्यही क्षेत्रमा गरिन्छ। यसको महत्व र उपयोगिता अब धेरै मानिसले बुझ्दै आएकोले जैतुन खेतीको बिस्तार अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, चीन, भारत, नेपाल लगायत विश्वका विभिन्न मुलुकमा हुँदै आएको छ । जम्मा जैतुन फल उत्पादनको ९० प्रतिशत फल तेल उत्पादन गर्न र १० प्रतिशत फल अचार बनाउन प्रयोग गरिन्छ । जैतुनको फलबाट सरदर १५–२० प्रतिशत तेल निस्कन्छ । जैतुनको गुदी बढी तेल हुन्छ । जैतुनको काँचो वा पाकेको फल तीतो हुन्छ । तीतोपना (Bitterness) फल भित्रको पानीमा रहेको रसायन (Oleuropein) को कारणले हुन्छ । नुन–पानीले उपचार गरी तीतोपना हटाइन्छ र अचार खान फल उपयोग गरिन्छ । 

महत्व

विश्वमा जैतुनको आर्थिक, धार्मिक, समाजिक र स्वास्थको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थान छ । मानव कल्याणको लागि जैतुन अति उपयोगी र लाभकारी एबं पवित्र बोट भएकोले विश्वले यसलाई सुख, शान्ति र समृद्धिको प्रतीक मानेर संयुक्त राष्ट्रसंघको छाप ९ीयनय० मा दुईवटा जैतुनका मुना राखिएको छ ।

स्वास्थ्य सम्बन्धी महत्व

जैतुनको तेल खान र घस्नको लागि सबै तेल मध्ये उत्तम मानिन्छ । यो तेलमा चिल्लो एवं लेसिलोपन ज्यादै कम हुने भएकोले रोगी, बालक, बृद्ध र मोटा मानिस समेतले सहजै सेवन गर्न सक्छन् । जैतुन तेल काँचै वा विभिन्न सलाद, चना, भटृमासको सातु, पाउरोटी, रोटी, भात आदिमा मिसाएर वा तरकारी, माछा–मासु यसमा पकाएर खान सकिन्छ । सुत्केरी महिला, भर्खर जन्मेका बालक, बृद्ध–बृद्धा लगायत सबै उमेरका मानिसले शरीरमा घस्न र कर्के–मर्केको ठाउँमा लगाउन जैतुन तेल गुणकारी मानिन्छ ।
आयुर्वेदिक औषधि बनाउन प्रचुर मात्रामा यसको उपयोग गरिन्छ । यसको तेल लगायत फल, पात, बोक्रा र जरा समेत औषधि बनाउन उपयोग गरिन्छ । हिजोआज जैतुन पातको चिया खाने चलन पनि आएको छ । जैतुन फलको काँचो अचार १०० ग्राममा १४६ क्यालोरी शक्ति, भिटामिन ‘ई’, फलाम, तामा, क्याल्सियम, सोडियम लगायत अन्य पोषक तत्व पाइन्छ । परिपक्व फलमा ७५% पानी, १५% बोसो, ४% कार्बोहाइडेट र १% प्रोटिन हुन्छ । 

आर्थिक महत्व

जैतुन दीर्घकालीन रुख बाली भएकोले बिरुवा लगाउँदा केही खर्च बढी लाग्ने भएपनि यसले लामो अवधिसम्म आर्थिक फाइदा दिइनै रहन्छ । मकै, कोदो आदि अन्न बाली भन्दा पाँचगुना बढी आम्दानी यो बालीबाट लिन सकिन्छ । जैतुनको काटछाँट गरेको हाँगाबिंगा राम्रो बल्ने दाउरा हुन्छन् र पातहरु भेडा–बाख्राले खान्छन् । पिनाबाट आगो ताप्ने गुइँठा बन्छ । पिना मलको रुपमा प्रयोग हुन्छ । फलको कडा बियाँ नमिसाएको पिना गाइवस्तुलाई खुवाउन सकिन्छ । जैतुन काठ चिल्लो र बलियो हुने भएकोले झ्याल, ढोका, दलिन बनाउन सकिन्छ । जैतुनको काठबाट बनेका हस्तकला  बढी मूल्यमा बिक्री हुन्छन् । जैतुन खेती गर्न र फल टिप्न धेरै श्रमिक चाहिने भएकोले प्रशस्त रोजगारीको अवसर प्राप्त हुन्छ । जम्मा बार्षिक खर्चको करिब ६० प्रतिशत रकम श्रमिकहरुमा खर्च हुन्छ ।

औद्योगिक महत्व

जैतुनको तेलबाट बढी मूल्यवान सेन्ट, साबुन, क्रिम र अन्य कस्मेटिक सामानहरु बनाइन्छ । आयुर्वेदिक औषधि उत्पादनमा प्रचुर मात्रामा यसको प्रयोग गरिन्छ । यसको कमसल तेल बत्ती बाल्न र मेसिनरी औजारमा प्रयोग गरिन्छ । जैतुनको तेल पेल्न, अचार बनाउन, खेती गर्न र फल टिप्न ढुवानी गर्न आदि कार्यको लागि आवश्यक पर्ने मेशिन एवं औजारहरु निर्माण गर्न कल–कारखाना स्थापना भएका हुन्छन् । यसमा पनि प्रशस्त रोजगारी श्रृजना हुन्छ । 

जलवायु र माटो

यसलाई आवश्यक पर्ने चिसो उपलब्ध गराउन हिमाल नजिक रहेकका उच्च पहाडी क्षेत्र (Warm temperate area) मा जैतुन रोपन गर्नुपर्छ । स्थानीय जातको जैतुन (लौंठो) बझाङ, बाजुरा लगायत कर्णाली अंचलका जिल्लाहरुमा समुन्द्रको सतहबाट १००० मिटर देखि २५०० मिटरसम्मका उचाईमा पाइन्छ । खेती गरिने युरोपियन जैतुन पनि जातको चिसो–तातो चाहिने स्वभाव अनुसार लगभग त्यही उचाईको हाराहारीमा लगाउन उपयुक्त हुन्छ । इटलीबाट ल्याई नेपालमा हाल लगाइएका जातहरु १४००
मिटर देखि २३०० मिटरसम्मको उचाइमा लगाउन राम्रो हुने देखिएको छ । जैतुनलाई बार्षिक बर्षा १००० मि.मि. भन्दा कम, सापेक्षिक आर्द्रता ७० प्रतिशत भन्दा तल, सूर्यको प्रकाश बर्ष भरिमा २००० घण्टा भन्दा माथि पाउने, हिंउदमा तीन महिना जति चिसो–सरदर न्यूनतम तापक्रम ७० से. ५०० घण्टा भन्दा माथि हुने र त्यस अवधिमा अधिकतम तापक्रम २०० से. भन्दा बढी नहुने, माटोको पी.एच. ७ देखि ८ सम्म र खुकुलो ढुङ्ग्यान बलौटे माटो भएको जमिन आवश्यक हुन्छ । यस किसिमको जलवायु र माटो नेपालको उत्तर–पश्चिम पहाडी क्षेत्रमा भएको प्रमाण ती क्षेत्रमा परापूर्वकाल देखि हुर्कदै– फैलिदै आएको जंगली जातको जैतुन ‘लौंठो’ (Olea cuspidata) ले दिएको छ । इटलीबाट ल्याइएका र बाजुराको कोल्टीमा लगाईएका उन्नत जातका जैतुनको सफलताले पनि यही दर्शाउँछ । नेपाल सरकारले पनि यो तथ्यलाई मनन गरी जैतुन विकास कार्यक्रम त्यही क्षेत्रमा लग्दै छ र बाजुरालाई जैतुन क्षेत्र घोषणा गरेको छ । बाजुराको कोल्टी क्षेत्रमा जैतुन विकास फार्म स्थापना हुन गईरहेको छ । जैतुन खेती गर्न बझाङ, बाजुरा, मुगु, हुम्ला, कालिकोट, डोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुस्ताङ, मनाङ बढी उपयुक्त छन् ।

तापक्रम

जैतुन बोटमा फूलको कोपिला लाग्न हिउँदमा ६० देखि ८० दिन चिसो र अरु मौसममा न्यानो र पारिलो वातावरणको आवश्यकता पर्छ । हिंउदमा सरदर तापक्रम ७०
से. जैतुनको जात अनुसार ५०० देखि १००० घण्टासम्म हुनु पर्छ र यो अवधिमा अधिकतम तापक्रम २०० से. भन्दा माथि जानु हुँदैन अन्य मौसममा जैतुनको लागि उपयुक्त अधिकतम तापक्रम १८० से. देखि २८० से.सम्म हुनु राम्रो हुन्छ र २८० से. देखि ४५० से. सम्मको तापक्रम यसले सहन सक्ने भएपनि त्यस अवधिमा पानीको कमी  (Water stress) बोटमा हुने भएकोले फूल र फल झर्ने सम्भावना रहन्छ । बढी तापक्रम र पानीको कमी भएमा कलिला फल (Early drop) झर्छन । हिउँदमा चिसो कम (–४०
से.) चाहिने जात हुन् – अजापा, अर्वेकुइना, म्यान्जानिलो, मोराइलो, पिकुअल, कालामाटा, होजिब्लाङ्का र बढी चिसो (–८० से.सम्म) सहन सक्ने जात हुन् – सेभिलानो,
पेन्डोलिनो, लेचिनो, फ्रान्टोयो, बरौनी आदि । फ्रान्टोयो, बरौनी, लेचिनो जातले न्यूनतम तापक्रम –२० से. देखि –८० से. सम्म क्रमैसंग बिस्तारै झरेको तापक्रम सहन सक्छन् तर यस भन्दा कम र एक्कासी झरेको तापक्रम जैतुन बोटले सहन सक्दैन । हिउँदको चिसो पछि एक्कासी तापक्रम बढ्यो भने पनि फूल निस्कने क्रियामा अवरोध पुग्छ र निस्केका फूल पनि अधिकांश भाले फूल हुन्छन् । भाले र पोथी फूलको अनुपात ६ः१ हुनु राम्रो मानिन्छ । 

वर्षा

बार्षिक बर्षा ४०० देखि ७०० मि.मि. हुने क्षेत्र जैतुन खेतीको लागि उपयुक्त हुन्छ । धेर–थोर बर्षा सबै महिनामा पर्नु राम्रो मानिन्छ । १००० मि.मि. भन्दा बढी पानी पर्ने क्षेत्रमा बोटका जरा कुहिने र रोग–कीरा पनि बढी नै लाग्ने गर्छ । ४०० मि.मि. भन्दा कम बर्षा हुने क्षेत्रमा सिंचाइको ब्यवस्था मिलाउनसके जैतुन फल उत्पादन संतोषजनक हुन्छ । फूल फुल्नु भन्दा तीन हप्ता पहिले र फल लागेको दुई हप्ता पछि सिंचाइ गर्दा उत्पादनमा बृद्धि हुन्छ । जैतुनको लागि पानीको मात्रा यसको जात र माटोको किसिममा पनि
फरक पर्छ । चिम्टाइलो माटोलाई बलौटे र दुमट माटोलाई भन्दा बढी पानीको आवश्यकता पर्छ । माटोको चिस्यान टेन्सियोमिटर (Tensiometer)  ले १०–२५ सेन्टिबार (Centibar) देखाएमा ठीक चिस्यान पुगेको मानिन्छ र त्यसभन्दा बढी भएमा सिंचाइ गर्नुपर्छ ।

सापेक्षिक आद्र्रता

जैतुन बोट र पातको बिशेष बनौटको कारण यसले सुक्खापन सजिलै सहन सक्छ । यसको पात बाक्लो, चाम्रो, पानी उड्ने सूक्ष्म प्वाल वा रुन्द्र ९कतयmबतब० पातको तल्लो सतहमा कम संख्यामा रहेका हुन्छन् र चर्को घाममा प्वालहरु स्वतः बन्द हुने कारणले गर्दा सुक्खा अवस्थामा पनि जैतुन बोट हुर्कन र बढ्न सक्छ । जैतुनको लागि सापेक्षिक आर्द्रता ४० देखि ६५ प्रतिशत हुनु उपयुक्त हुन्छ । ६५ प्रतिशत भन्दा बढी आद्र्रता हुने क्षेत्रमा रोगकीराको प्रकोप बढी हुन्छ । फल उत्पादन कम हुन्छ, फलको गुणस्तर कमसल हुन्छ र बोट पनि चाडै बूढो हुन्छ ।

प्रकाश

जैतुनलाई पारिलो र न्यानो वातावरण चाहिन्छ । यसलाई मिलेसम्म दक्षिणी वा पूर्बी मोहडा भएको र अरु रुख आदिको छहारी नपर्ने ठाउँमा लगाउनु ठीक हुन्छ । जैतुनले लामो दिन र कडा प्रकाश रुचाउछ । जैतुनलाई बर्षभरीमा सूर्यको प्रकाश कम्तीमा २००० घण्टा चाहिन्छ । जैतुन खेती गर्ने मुख्य देशहरुमा २४०० देखि २७०० घण्टा र चीनमा १९०० देखि २४०० घण्टा सूर्यको प्रकाश बोट बिरुवाले प्राप्त गर्छन् ।

माटो

माटो भनेको माटोका कणहरु, प्राङ्गारिक पदार्थ, माटो भित्र रहेको हावा एवं पानी र जीवाणुहरु मिसिएको एकमुष्ट मिश्रण हो । बोट बिरुवाले माटो भित्र पानीमा पग्लेर रहेको खाद्यतत्व (Nutrients) उसका रौं जस्ता मसिना जराले सोसेर लिन्छ । जैतुनका जरा माटोको माथिल्लो सतहमा नै फैलिन्छन् र माटोमा बढी पानी भएमा जरा सडन थाल्छन् । माटोको भौतिक बनौट, उसमा रहेको रसायनिक गुणहरु भन्दा महत्वपूर्ण हुन्छ । 

जैतुनका जात

१. बोसाना (Bosana)

२. अस्कोलाना (Ascolana)

३. क्यासानीज (Cassanese)

४. नोचेलारा (Nocellera) 

५. क्यारोलिया (Carolea)

६. कोराटिना  (Coratina) 

७. लेचिना (Leccino)

८. पेण्डोलिनो (Pendolino)

९. रोस्सिओलो  (Rosciola) 

१०. आर्बेकुइना (Arbequina)

११. बार्निया (Barnea)

१२. बुटेलान  (Bouteillan)

मुख्य कीराहरुः

(क) लौंठेमह कीरा  (Psyllid) Euphyllura olivina Costa

लौंठेमह कीरा धेरै सानो वयस्क अवस्थामा २.५ मि.मि. लामो खैरो रङ्गको हुन्छ । यसले आफ्नो शरीर वरि परि सेतो भुवा बनाएर आफुलाई ढाकेर भित्र बसी कलिला मुनाबाट रस चुसेर खान्छ । यसको भुवा गुलियो हुने भएकोले स्थानीय बोलीमा यसलाई लौंठेमह भनिन्छ । यसले नयाँ मुनामा फुल पार्छ । वसन्त ऋतुमा नयाँ मुना निस्कने हुँदा त्यस समयमा यसको प्रकोप बढी देखिन्छ । यसको जीवनचक्र २–३ महिनामा पूरा हुन्छ । यसको आक्रमण साना बोट र नर्सरी बिरुवामा बढी हुन्छ । यसले बोट बिरुवाको रस चुस्ने भएकोले फल कम लाग्ने र लागेका फल पनि झर्ने गर्छन । लौंठेमह कीराले आक्रमण गरेको ठाउँमा कालो ध्वाँसे रोग (Sooty-mould) लाग्छ र फलको गुणस्तर बिगार्छ । ध्वाँसे रोगको कारणले बिरुवाको बृद्धि विकास रोकिन्छ र मुना हाँगा सुकेर मर्छन् । यसले स्थानीय जातभन्दा बढी उन्नत जातमा असर पारेको देखिएको छ । यसको रोकथामको लागि ग्रसित भाग र सकरहरु काटेर जलाउने र खनिजतेल १५–२० एम.एल. प्रति लिटर पानीका दरले मिसाई यसको बच्चा अवस्था (निम्फ) मा बोटमा छर्नुपर्छ । कालो शुटी–मोल्ड हटाउन बोर्डो मिश्रण वा डाइथेन एम–४५ छर्नुपर्छ । लौंठेकीरा बढी लागे दैहिक बिषादी छरेर नियन्त्रण गर्नुपर्छ । यसको प्राकृतिक शत्रु Cryptolaemus montrauzieri हो ।

(ख) टिन्जीड बग (Tingid or lace bug) Gryllodes sigillatus Walk

जैतुन बालीमा लाग्ने यो एक खतरनाक कीरा हो । यसले पातको तल्लो सतह  (Lamina) मा टाँसिएर रस चुसेर खान्छ । नाङ्गो आँखाले सजिलै नदेखिने यो मसिनो कीरा हो, पातको तल्लो सतहमा हेर्दा कालो दाग जस्तो देखिन्छ तर सिन्काले छुँदा चलमलाएर कीरा हिड्छ । यसले चुसेको पात पहेंलो भई आफ्नो काम गर्न छाड्छ र अन्तमा झर्छ । यस कीराको आक्रमण बढी भएमा पातहरु झरेर बोट सिख्रो हुन्छ र पछि हाँगाहरु सुक्दै बोट मर्छ । बोटको बृद्धि हुने गर्मी समयमा यसका धेरै पुस्ता निस्कन्छन् । यसको
रोकथामको लागि फागुन देखि कार्तिकसम्म शो ९क्ज्इध्० वा प्याराथियान वा अन्य दैहिक बिषादी पटक पटक छर्नु पर्छ । प्राङ्गारिक जैतुन खेती गर्न प्राङ्गारिक विषादी छर्नु पर्छ । यसको प्राकृतिक शत्रु अझै थाहा पाउन सकिएको छैन ।


(ग) कालो कत्लेकीरा  (Black scale) Saissetia oleae Bern

यस कीराले बोटको कलिलो डाँठ, पात एवं फलबाट रस चुसेर बोटलाई कमजोर बनाउछ । यसको आक्रमणबाट पातहरु झर्छन्, बोटको बृद्धि कम हुन्छ, मुना छोटा हुन्छन् र फूलका कोपिला थोरै लाग्छन् । यस कीराले गुलियो पदार्थ छोड्छ जसमा कालो ढुँसीरोग ९क्ययतथ mयगमि० फैलिन्छ । यो कीरा सुन्तला त लगायत अरु फलफूल बालीमा पनि लाग्छ । कालो कत्लेकीरा हिउँदमा अचल अवस्थामा रहन्छ र गर्मीमा सकृय माउको रुपमा आफ्नो गतिविधि बढाउँछ । यो कीरा यदि बोटको १० प्रतिशत भन्दा बढी मुनामा देखियो भने यसको रोकथाम गर्नु पर्दछ । कीराको संख्या कम भए हातले टिपेर मार्न सकिन्छ । यस कीराको प्रकोप गर्मी महिनामा बढी हुने भएकोले जेठ र
असोजमा खनिज तेलमा प्याराथियान विषादी मिलाई एक–दुई पटक बोटमा छरेमा कीराको नियन्त्रण हुन्छ। यसको प्राकृतिक शत्रु  Methaphycus barletti ले यसको लाभे्र खाएर रोकथाम गर्छ ।

(घ) फलको झिंगा (Olive fly) Bactrocera oleae Gmelin

यो झिंगाले बाक्लो गुदी भएका ठूला फलहरुको बोक्रा छेडेर भित्र फुल पार्छ र फुलबाट लाभे्र निस्केर फलको गुदी खान्छ । कीरा लागेका धेरै फल परिपक्व नहुँदै झर्छन् । कीरा लागेको फलबाट कमसल तेल निस्कन्छ र फल अचार बनाउन अनुपयुक्त हुन्छ । यसले एक बर्षमा हावापानी अनुसार ३ देखि ५ पटकसम्म सन्तति पैदा गर्छ । हिउँदमा यसको लाभे्र माटो भित्र जान्छ र गर्मी चढेपछि झिंगा (माऊ) बनेर निस्कन्छ । जम्मा फलको ५ प्रतिशत फलभन्दा बढी क्षति भएको देखिएमा यसलाई रोकथाम गर्नु पर्छ । यस कीराको रोकथामको लागि जालीले समातेर मार्ने, कीरालाई आकर्षित गर्ने रसायनयुक्त पासो (Sexual trap) मा फसाएर मार्ने, कीराले फुल पार्नुपूर्व फल लाग्नासाथ २–४ पटक मेथाइल पाराथियान बोटमा र पछिल्लो अवस्थामा डाइमेथोएट छर्ने गर्नु पर्छ । सख्खरमा मालाथियानको धुलो मिलाएर बोटको ठाउँ ठाउँमा राख्दा वा काण्ड एवं हाँगामा लेपन गरिदिनेगर्दा झिंगा गुलियोमा आकर्षित भई यसमा मिसिएको मालाथियन बिष खाएर मर्छ । यसको प्राकृतिक शत्रु Opium concolor ले यस कीरालाई मार्छ ।

(ङ) बीउमा लाग्ने गभारो (Olive kernel borer) Prays oleae Bern

यो पुतली समुहमा पर्ने मोथ ९ःयतज० कीरा हो र वयस्कको पखेटा फैलाउदा १५ से.मि. चौडा हुन्छ । यसको पखेटाको रङ चाँदी जस्तो सेतो हुन्छ । अण्डा साना सेता रङका र लार्भा ८–१० से.मि. लामो हल्का हरि यो देखि सेतो रङको हुन्छ । यो जैतुनको एक मुख्य हानिकारक कीरा हो । यसको एक बर्षमा तीन पुस्ता हुन्छन्, पहिलोले पातमा आक्रमण गर्छ, दोस्रोले फूलमा र तेस्रोले फलमा । यी तीन पुस्तामा पनि तेस्रो पुस्ताले फललाई निकै क्षति पुर्याउने हुँदा यसको नियन्त्रण गर्नु आवश्यक हुन्छ । यसको मोथले फलको डाँठ जोडिएको ठाऊँ (Pedicel point)मा फुल पार्छ र यसबाट लाभे्र निस्केर फलभित्र बियाँ  (Kernel)  सम्म पुगी खान्छ । यो कीरा लागेको फल परिपक्व नहुँदै झर्छ र फलको भेट्नु जोडिएको भागमा सानो प्वाल देखिन्छ । यसको रोकथामको लागि झरेका फल बटुलेर जलाउने वा गहिरो गरी गाड्ने गर्नुपर्छ । यदि कीरा थुन्ने
पासो (Sexual trap)  मा १०० जति कीरा फसेमा वा १० प्रतिशत भन्दा बढी फलमा कीराको प्रकोप देखिएमा पाराथियान वा मालाथियन वा नुभान विषादी छर्नु पर्छ । यसको प्राकृतिक शत्रु Bacillus thuringiensisले पनि यसको लाभ्रेलाई मार्छ ।

(च) जेउजेरा गभारो (Borer) Zeuzera pyrina L

यो कीराले बोटको काण्ड र हाँगाका बोक्रामा फुल पार्छ र फुलबाट लाभे्र निस्केर दुई बर्षसम्म काठको भित्रीभाग खाँदै जान्छ । गभारो लागेको ठाउँमा प्वाल देखिन्छ र यसबाट गभारोको बिष्टा निस्केको एवं र पानी बगेको पाइन्छ । यसको रोकथामको लागि माऊ पुतली (Moth) लाई बत्तीको उज्यालो  (Light trap) मा आकर्षित गर्ने र
बत्तीको तल बाटामा मटृीतेल वा विषादी मिसाएको पानी राखी कीरा त्यसमा खस्ने ब्यवस्था मिलाउनु पर्छ। प्वालमा सिन्का वा तारले घोच्ने र मटृीतेलमा भिजाएको कपास प्वालभित्र कोचेर प्वाल मइन वा चाम्रो माटोले बन्द गर्नु पर्छ । नुभान वा मेथाइल पाराथियान विषादी छरेर पनि रोकथाम गर्न सकिन्छ ।

(छ) लाही कीरा (Aphid)

यो कीराको माऊ र बच्चा दुवैले बोटको कलिलो भाग र कमलो पातबाट रस चुसेर खान्छन् । यो कीराले चुसेको पातको आकार प्रकार बिग्रन्छ । लाई कीरा लागेको बोटमा कालो ढुँसीरोग फैलिन्छ । यसको नियन्त्रणको लागि सर्बो वा एट्सो एग्रो स्पे्र २० मि.लि. प्रति लिटर पानीमा मिसाई बोटमा छर्ने । तीन हप्ता पहिले जम्मा गरेको गाईको गहुँत एक भागमा पाँच भाग पानी मिसाएर बनाएको झोल ३ दिनको फरकमा ३–४ पटक छर्ने । लाई कीरा नियन्त्रण गर्न दैहिक विषादी डेसीस वा रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ । 

जैतुन बालीमा लाग्ने मुख्य रोगहरु

बाली बिरुवामा देखापर्ने विकृति र अस्वस्थ आकृतिलाई रोग भनिन्छ । यसको कारक तत्व एक्लैले वा अन्य तत्वहरुसंग संयुक्त रुपमा बोट बिरुवाको स्वभाविक प्रक्रियामा गडबडी उत्पन्न गर्छन् । रोगका कारक तत्वहरु जीवाणुजन्य वा वातावरणजन्य वा दुवै हुन सक्छन् । वातावरणजन्य कारक तत्वहरु हुन् वायुको तापक्रम बढी चिसो, बढी तातो, सुख्खा, बढी आद्र्रता, बढी क्षारीय वा बढी अम्लीय माटोमा मलजल ज्यादै बढी वा ज्यादै कम आदि छन् भने जीवाणुजन्य कारक तत्वहरुमा ब्याक्टेरिया, ढुँसी (फङ्गस), भाइरस, नेमाटोड, बिभिन्न कीरा तथा जन्तु–जनावरहरु छन् ।

(क) पातको थोप्ले रोग (Olive leaf spot or Pea-cock or bird's eye spot)

यो रोगको कारण जैतुन फलको भेट्नु, फल एवं पातमा मयूरको प्वाँखमा भएजस्तो अथवा चराको आँखाको थोप्लो जस्तो गोलो थोप्लो देखिने भएको हुँदा यसलाई मयुरपंखी थोप्ले रोग वा चरीआँखे थोप्ले रोग पनि भनिन्छ । यो फङ्गस Cycloconium oleaginum Cast नामको जीवाणुबाट संक्रमित भई गोलो थोप्लो देखिने रोग हो । वायुको सापेक्षित आद्र्रता ६० प्रतिशत भन्दा बढी हुने र बर्षा पनि धेरै पर्ने ठाऊँमा यो रोग छिटो फैलिन्छ । शुरुमा सानो धब्बा पातमा देखापर्छ र पछि खैरो हरियो वा कालो रङमा परिणत हुन्छ । बढी प्रकोप भएमा पात पहेंलिएर झर्ने गर्छन । रोगी फलहरु पनि झर्छन, बोटको बृद्धि कम हुन्छ र अर्को बर्षको फल उत्पादनमा प्रतिकूल असर पर्दछ । यो रोग कीर्तिपुर र चित्लाङमा लगाइएका जैतुन बोटहरुमा देखिएको छ, बाजुराको कोल्टीमा कताकति पाइन्छ भने डोल्पाको जुफालमा लगाइएका जैतुन बोटमा यो
रोगको प्रकोप छैन । यो रोगको रोकथामको लागि रोग लागेर झरेका वा संभव भए बोटबाटै टिपेर पनि रोगी फल एवं पातहरु संकलन गरी जलाउने गर्नु पर्छ । बर्षा सुरु हुनुभन्दा पहिले बैशाख–जेठमा र बर्षापछि असोज–कार्तिकमा तावाँयुक्त विषादी जस्तो १% बोर्डो मिश्रण वा कपरअक्सिक्लोराईड २ ग्राम प्रति लिटर पानीका दरले १०–१५
दिनको फरकमा २/२ पटक बोटमा छर्नुपर्छ । बर्षायाममा रोगको प्रकोप बढी देखिए उक्त बिषादी महिनाको एक पटक छर्नु पर्छ । फूल फुल्ने (Flowering) र फल लाग्ने (Fruit set) अवस्थामा विषादी छर्नु हुँदैन, यस्तो अवस्थामा रोगी पातहरु टिपेर जलाउनु पर्छ । हिउँदमा बोटको भित्री भागसम्म घाम पुग्ने र हावा खेल्न सक्नेगरी बोटको काटछाँट गर्नु पर्छ । सन्तुलित मलजल गर्नु पर्छ, नाइट्रोजन बढी प्रयोग गर्नु हुँदैन। यो रोग सहन सक्ने जात जस्तै फ्रान्टोयो, मोराइलो, इत्राना बगैंचामा लगाउनु उपयुक्त हुन्छ ।

(ख) जैतुनको गिर्खे रोग  (Olive Knot or canker)

यो रोग ब्याक्टेरिया (Pseudomonas savastanoi Smith) को संक्रमणबाट उत्पत्ति हुने रोग हो । यो रोग लागेमा पात र फलमा कोत्रे आकृति (Canker) देखिन्छ र काण्ड एवं हाँगामा कडा गिर्खा वा गाँठा (Knot) पैदा हुन्छन् । गिर्खाको साइज पिनको टाउको देखि मझौला साइजको फुटबलसम्मको हुन सक्छ। हावाको तापक्रम २५०–३००
 सेन्टिगे्रड र सापेक्षिक आर्द्रता ८० प्रतिशत भन्दा बढी भएमा रोगको विकास बोटको बाहिरी भागमा छिटृै देखिन्छ । रोगको जीवाणु बोटको काटछाँट गर्दा, बगैंचा खनजोत गर्दा, फल लाठीले हानेर झार्दा लागेको चोटपटक, असिना, तुसारो, रोगकीरा आदिले पारेको घाउबाट यो रोग बोटभित्र प्रवेश गर्छ । खनजोत एवं काटछाँट गर्ने औजारहरुबाट पनि रोग सर्न सक्छ । रोगी बोटको वृद्धि कम हुन्छ, फल एवं पात झर्छन्, हाँगाविंगा सिख्रो भएर सुक्छन् । यसको रोकथामको लागि रोगी हाँगाविंगा काटेर र पूरै गिर्खा निकालेर जलाउनु पर्छ । काटेको भागमा बोर्डोपेस्ट लगाउनु पर्छ । काटछाँट गर्दा सकभर बढी चोटपटक नलगाउने र काटछाँट पछि बोर्डो मिश्रण छर्ने गर्नु पर्छ । एस्कोलानो जस्तो यो रोग सहन सक्ने जात लगाउने, फ्रान्टोयो एवं लेचिनो जातहरुमा यो बढी लाग्न सक्छ । आर्द्रता बढी भएको समयमा काटछाँट गर्नु हुँदैन र पानी परेको समयमा फल टिप्न पनि हुँदैन ।

(ग) हा“गा बोट ओइलाउने सुक्ने रोग (Verticillium wilt)

यो रोग Verticillium dahliae Kleb ढुँसी समुहको जीवाणुको संक्रमणले गर्दा देखापर्छ । बोटको जरामा खनजोत आदिको कारणले लागेको चोटपटक वा घाउबाट यो रोग बोटमा प्रवेश गर्छ र बोटको रससंगै माथिल्लो भागमा जान्छ । यो जीवाणु माटोमा १४ बर्षसम्म पनि जीवित रहन सक्छ । बोटले यस जीवाणुसंग लड्न रसायन छोड्छ, जसको कारण पोषणयुक्त रस बोटको हाँगाविंगामा जान सक्दैन । रोगी बिरुवाको पहिले पातहरु र पछि हाँगा ओइलाएर सुक्छ । रोगको संक्रमण बढी भएमा पूरै बोट पनि मर्न सक्छ । केही बोट रोग लागिसकेपछि पनि लामो समयसम्म बाच्न सक्छन् । रोगी बोटको फेद वरिपरि नयाँ मुना निस्कन्छन् । किसानहरुले रोगी बोट काटेर एक मुना (सकर) हुर्काउँछन् तर त्यो पनि केही बर्षपछि रोगग्रस्त हुन्छ । हावामा बढी चिसो र बढी आद्रता भएको समयमा हाँगा, मुना वा पूरै बोट यो रोगको कारण छिटृै ओइलाउँछ ।
यो रोगको रोकथामको लागि एकिकृत बगैंचा ब्यवस्थापन विधि अपनाउनु पर्छ, कुनै एक मात्र उपचार विधिले काम गर्दैन । सर्बप्रथम बगैंचा लगाउँदा रोगमुक्त माटोमा रोगमुक्त बिरुवा लगाउनु पर्छ । जरालाई चोटपटक नलाग्ने गरी हलुका खनजोत गर्नुपर्छ । झार मार्ने विषादी छर्दा र थोपा सिंचाइ गर्दा एक बोटबाट अर्को बोटमा रोगको जीवाणु फैलिन पाउँदैन । माटोमा बढी चिस्यान रहनु हुँदैन । बोटको जराक्षेत्रलाई प्लाष्टिक सिटले छोप्दा (Soil solarization) रोगको असर कम भएको पाइएको छ । ओइलाउने रोग पाल्ने बाली गोलभेंडा, भण्टा, आलु, खोर्सानी, फर्सी समुहका लहरे बाली, कपास, आरु, आलुबखडा आदि जैतुन बगैंचा भित्र लगाउनु हुँदैन । बढी रसायनिक मल बिरुवालाई दिनु हुँदैन, नाइट्रोजन कम र पोटास मल बढी दिनुपर्छ । रोगी बोट काटछाँट र खनखान गरेका औजार उपचार गरी रोगमुक्त बनाउनुपर्छ । बोट बिरुवामा बर्षा पहिले र बर्षापछि तावाँयुक्त विषादी बोटमा छर्ने र फेद वरिपरि भिजाउनसके रोगको प्रकोप कम हुन्छ ।

(घ) कालो ध्वासे ढुसी (Sooty mould) Spilocaea oleagina)

यो रोग लागेमा पात, डाँठ, फल सबैमा कालो ढुँसी फैलिन्छ । रोगको आक्रमण बढी भएमा पूरै बोट कालो देखिन्छ । कालो ढुँसी उत्पादन गर्ने धेरै रोगका जीवाणु छन् । यो रोग खास गरेर रस चुस्ने किसिमका कीरा जस्तै – लाई, कत्लेकीरा, मिलिबग, लौंठेमह कीरा, टिन्जीड बग आदि प्रकारका कीराको आक्रमणबाट सर्छ । रसचुस्ने कीराले प्रायः गुलियो पदार्थ पैदा गर्छन् र त्यही गुलियो पदार्थमा कालो ध्वाँसे ढुँसी फैलिन्छ । तापक्रम एक्कासी घटबढ हुने र आर्द्रता बढी र तेज हावा चल्ने वातावरणमा यो रोगको प्रकोप बढी हुन्छ । यो रोग बोट भित्र कोशिकामा प्रवेश नगरेपनि पात, फल र हाँगाको सतह ढाकेर सूर्यको प्रकाश र हावा भित्र छिर्न दिंदैन र फलस्वरुप फल एवं तेलको गुणस्तर खस्किन्छ । यो रोग लाग्न नदिन चुसाहा कीरा दैहिक बिषादी छरेर निर्मुल पार्नुपर्छ । बोर्डो मिश्रण वा अन्य तावाँयुक्त विषादी फल टिपेपछि, बर्षा पहिले र बर्षा पछि १/१ पटक छर्नु पर्छ । इण्डोफिल एम–४५, २.५ ग्राम प्रति लिटर पानीमा मिलाई बोटको सबै भागमा राम्रोसंग भिज्नेगरी छर्दा कालो ढुँसी कम हुन्छ । हिउँदको चिसो समयमा खनिज तेल वा सोडियम हाइड्रोअक्साइड (NaOH) बोटमा छर्दा पनि कालो ढुँसी कम हुन्छ ।

(ङ) थोप्ले रोग (Anthracnose) Colletotrichum gleosporiodes)

यो ढुँसी (Fungus) रोग हो । यसको आक्रमणबाट पात, फूल र फलमा मसिना गोलाकार काला थोप्लाहरु देखापर्छन् । यो रोगको आक्रमण बढी भएमा बोटका सबै पातहरु झर्छन्। कलिला पातहरु डढ्छन्, छिप्पिएका पातहरुमा प्वाल पर्छ र रोगको आक्रमण बढी भएमा मुनाहरु समेत मर्छन् । साना फलहरु झर्छन्, ठूला फल फुट्छन्
र भण्डारमा राखेका फल सड्छन् । यसको रोकथामको लागि रोगी हाँगा, पात, फूल बटुलेर जलाइ दिनुपर्छ । १% को बोर्डो मिश्रण वा कपर क्लोराइड ०.३% झोल माघ, चैत्र र असोज गरी ३ पटक बोटमा छर्नुपर्छ । बोटको भित्री भागसम्म हावा र प्रकाश पुग्ने गरी काटछाँट गर्ने, काटछाँट गर्ने औजार निर्मलीकरण गर्ने र कम मात्रामा सिंचाइ गर्ने 
गर्नुपर्छ ।

(च) सर्कोस्पोरा रोग (Cercospora leaf mould)

यो रोग Cercospora cladosporoides नामको ढुँसीबाट पैदा हुन्छ । यो ढुँसीबाट पातको टुप्पा एवं फेदको भाग सुक्दछ । पातको तल्लो सतह समेत सुक्छ । फलमा साना खैरा थोप्लाहरु देखा पर्छन् र फल समान रुपबाट पाक्दैनन् । यसका जीवाणुहरु जाडो समयमा पानी परेपछि अरु पातमा फैलने गर्छन् । यसको रोकथामको लागि बोटको काटछाँट गर्ने । सिंचाइ कम मात्रामा गर्ने र १% को बोर्डो मिश्रण वा तावाँयुक्त विषादी बोटमा छर्ने गर्नु पर्छ ।

(छ) जरा कुहिने रोग (Phytophthora collar and root rot)

यो रोग लागेमा हाँगाहरु ओइलाउने र माटो नजिकको काण्ड पहेंलो हुने गर्छ । पानी जमेमा वा माटोमा चिस्यान बढी भएमा जैतुनका जराहरु कुहिन्छन् । यसको रोकथामको लागि पानी निकासको ब्यवस्था गर्ने, गोडमेल गर्दा जरामा क्षति नपुर्याउने, ग्रसित बोट जरा सहित उखेलेर जलाउने, सन्तुलित मलखाद दिने र स्थानीय जातको रुटस्टकमा कलमी गरेको बिरुवा लगाउने गर्नु पर्छ ।

(ज) अन्य रोगहरु: जस्तै राइजोक्टोनिया रुट् एवं स्टेम रट्, रोसेलिनिया रुट रट्, आर्मिलरिया रुट रट् तथा क्राउन गल आदि रोगहरु लाग्न सक्छन् ।

स्रोत: जैतुन खेती, प्राविधिक निर्देशिका, फलफूल विकास निर्देशनालय |

थप समाचार