बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नेपालमा देखा परेको खरी रोगः एक सिंहावलोकन

बिहीबार , असार २१ २०८१
8 views
नेपालमा देखा परेको खरी रोगः एक सिंहावलोकन

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
नेपालको सुदूर पश्चिमको पहाडी जिल्लाका केही भागमा खासगरी पुष देखि आषाढसम्म भैंसी प्रजातीमा मात्र विशेष लक्षणको रोग केही वर्षयता नियमित रूपमा देखा पर्न थालेको छ । रोगको लक्षणका आधारमा स्थानिय बोलचालको भाषामा “खरी” वा “चौखरी” नामाकरण प्रचलनमा ल्याएको छ । यो रोग देखा पर्दा भैंसीहरूमा पुच्छरको झुप्पाको रौं झर्ने, छाला फुस्रो हुने, खान मन नगर्ने, वेसुध भइ हिंड्ने, अगाडिको पाता बाहिरपट्टि फराकिलो पारी उभिने, घुँडा टेकि बस्ने, खुरबाट सेतो धुलो झरी नयाँ खुर पलाएर असाधारण आकार (Rockor shaped) लिने हुँदा हिंडडुल गर्न असजिलो
हुने हुन्छ । यस्तो रोग देखा पर्दाको स्थितिमा केही प्रतिशत मृत्यु पनि हुने गरेको पाइएको छ । यो रोग
निश्चित मौसम परिवर्तन हुँदा देखा पर्ने गर्दछ ।

रोग निदान तथा उपचारका लागि गरिएका प्रयासहरू को विवेचना :

सन् वर्ष १९९२ मा प्रथम पटक रोग प्रभावित क्षेत्रमा बिरामीको लक्षणको अभिलेखिकरण गर्दा कुपोषण, लुतो, ढुसीजन्य विकार तथा असन्तुलित व्यवस्थापनका कारण लक्षणहरू देखा परेको अनुमान गरीएको थियो । वर्ष सन् १९९४ मा परिक्षणको रूपमा रोग देखा परेको क्षेत्रमा, आइभरमेकटीन प्रयोग गर्दा ७५∞ रोगी निको भएको देखिन्छ  बिरामीको रगतको प्रयोगशाला विश्लेषण गर्दा रक्तकोषिका—इयोसिनोफिल, मोनोसाइटको मापदण्ड बढेको तर लिम्फोसाइटको मापदण्ड घटेको तथा बिरामीलाई खुवाउन प्रयोग गरेको घाँसपराल ढुसी पाउनुका साथै छालामा लुतोजन्य परजीविको अवस्थिती, जुम्राको प्रकोप अवलोकन गरिएको पाइन्छ । यसै वर्षको अभिलेखमा फस्फोरसको अल्पतामा पनि यस्तै प्रकारको लक्षण देखिएको छ  । उपरोक्त अध्ययनका आधारमा हालसम्म पनि सोही अनुसार उपचार गरिदैंछ तर रोगको नियन्त्रण हुन नसकेको स्थिति देखिन्छ ।

हालसम्म हाम्रो ध्यान पुग्न नसकेको क्षेत्र के त ?

माथि उल्लेखित लक्षण देखिने सम्भावनाका संदर्भमा उपलब्ध संदर्भ सामग्रीको गहन विवेचना गरिने हो भने निम्न तथ्य फेला पर्दछन् । सिलेनियमको विषाक्तताको विभिन्न अवस्था मध्ये जिर्ण अवस्थामा पनि यस्ता लक्षण देखिन सक्दछ । यस्तो विषाक्तता, अत्याधिक मात्रामा सिलेनियम भएको माटोमा उत्पादन भएको घाँस, पराल खुवाउनाले पनि हुन सक्तछ वा विभिन्न किसिमको सिलेनियम मिसाइएको दानाको प्रयोगबाट पनि हुन सक्छ । यस बाहेक चरन क्षेत्रमा कतिपय बोट बिरुवा यस्ता पनि हुन्छन् जसले माटोमा विषाक्त गराउने सिलेनियम जुन ती बोट बिरुवालाई आवश्यक त
पर्दैन तर आफूमा संचित गरी राख्दछन्, त्यस्ता बोटविरुवा जनावरले आफ्नो आहारमा लामो समय प्रयोग गर्दा उपरोक्त लक्षण देखा पर्दछन् । यी बिरुवाहरू प्राकृतिक रूपमा निश्चित जलवायु तथा मौसममा मात्र देखिन्छन् । चरनमा यिनको उपस्थितिले यस्ता लक्षणका रोग देखापर्ने
स्थिति श्रृजना गराउँदछ । त्यसकारण पनि यस रोगको निश्चित भौगोलिक क्षेत्र र खास मौसममा सिमितता देखिन्छ ।  मृत जनावरको शव निस्छेदन गरी अवलोकन गर्दा सिनोबाट लसुनको जस्तो गन्ध आउने, मुटुको आकार सानो भई खुम्चनु, कलेजोमा सिह्रोसिस हुनु तथा आन्द्रा, भुँडी तथा मृगौलामा विकारका लक्षण देखिनुले पनि रोगको पुष्टि गर्ने अनुमान गरिएको छ । 

रोग निदान :
प्रमुखतः बिरामीको बारेमा पूर्वजानकारी, जनावरले सिलेनियम समाहित एवं संचय गर्न सक्ने खालका
बोटविरुवा खाए नखाएको आधारमा शंका गर्न सकिन्छ । सिनोबाट लसुनको गन्ध आए, सुसुप्त
तथा तिक्ष्ण सिलेनियमको विषाक्तीको अनुमान गर्न सकिन्छ । रगतमा १—२५ पि.पि.एम. कलेजो मृगौला ४— २५ पि.पि.एम., पिसावमा ०.१—८ पि.पि.एम. तथा दूधमा ३ पि.पि.एम. सिलेनियमको अवस्थितिले यस प्रकारको रोगको संकेत गर्दछ  ।

उपचार : 
शरीरको आन्द्राभुँडीमा पुगेको सिलेनियम सलाइन परगेटिभ खुवाइ पखाला, छेरौटी गराइ निकाल्ने ।
आसानिकल एसिड ५०—१०० पि.पि.एम. युक्त खनिज मिश्रणले सिलेनियमलाई पिसावद्वारा शरीरबाट बाहिर निकाल्न मद्दत गराइ बिरामीलाई निको पार्दछ भन्ने तथ्य पनि भेटिन्छ ।

रोकथामको उपाय : 
सिलेनियमका स्रोत हुनसक्ने घाँस, पराल, दाना, आहार नखुवाउने । उच्च गुणस्तरको प्रोटिनयुक्त आहारा खान दिने यसले पनि सिलेनियमको विषाक्तताबाट बचाउँछ । नेपालको प्रसँगमा यस
दिशामा अध्ययन अवलोकन जरुरी छ ।

डा. केदार काकी

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन 

थप समाचार