बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नेपालमा अमेरिकन फौजीकीरा ब्यवस्थापनमा प्राकृतिक मित्रजीवको प्रयोगः सम्भाव्यता, चुनौति र अवसर

शुक्रबार, साउन ४ २०८१
16 views
नेपालमा अमेरिकन फौजीकीरा ब्यवस्थापनमा प्राकृतिक मित्रजीवको प्रयोगः  सम्भाव्यता, चुनौति र अवसर

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः

नेपालमा शत्रुजीवहरुले बालीनालीको उत्पादनमा करिव ३५ प्रतिशत सम्म नोक्सानी पुऱ्याउदै आएका छन् (बाली संरक्षण निर्देशनालय, २०६५) । आजभोली शत्रुजीवहरुको नियन्त्रणको लागि कडा भन्दा कडा रासायनिक विषादीको प्रयोग बढ्दो छ । एकातिर यस्ता विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा नकरात्मक असर पारिरहेको छ भने अर्कोतिर कीराहरुले बिष पचाउने क्षमता वृद्धि हुँदा नयाँ नयाँ रोगकीराहरु देखा पर्दै गईरहेको छ ।

रासायनिक विषादीको उचित बिकल्प नहँदा कतिपय अवस्थामा नचाहाँदा नचाहदै पनि कृषकहरु रासायनिक विषादीको प्रयोग गर्न वाध्य भएका छन् । रासायनिक विषादीको भरपर्दो विकल्पका रुपमा प्राकृतिक मित्रजीवहरुलाई उपयोग गर्न सकिन्छ ।

यस अन्तरगत धेरै जसो किराहरुको प्रकोप रोकथाम गर्न यिनीहरुका प्राकृतिक शत्रुको रूपमा रहेका खास परजीवी (Parasites) कीराहरुमा विभिन्न प्रकारका वरुलाहरुको प्रयोग गरिन्छ त्यसैगरी शिकारी (Predators) किराहरुमा माकुरा, वाघे खपटे, स्त्री स्वभावको खपटे आदिको प्रयोग गर्न सकिन्छ भने शुक्ष्म जीवाणु अन्तर्गत खासगरी वि.टी., एन.पि.भी. ट्राइकोग्रामा, ट्राइकोडरमा आदिको प्रयोग गर्न सकिन्छ ।

 यस्ता मित्रकीराहरुको संरक्षण, उत्पादन र उपयोग गर्न सक्ने हो भने मानिस, पशुपंक्षी तथा वातावरणमा रासायनिक विषादीको बढ्दो प्रयोगले पारिरहेको नकरात्मक असरलाई न्यूनिकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ । विश्वका थुप्रै देशहरुमा धेरै किसिमका मित्रजीवहरुको व्यवसायीक उत्पादन र तिनीहरुको ब्यापक प्रयोग भईरहेको छ ।

 नेपालमा पनि थुप्रै किसिमका मित्रजीवहरु प्राकृतिक -रुपमा नभएका भने हैनन् तर कृषकहरुले अझै पनि मित्रजीवहरुलाई पनि शत्रुकीराहरुको रुपमा बुभेको कारण साथै शत्रुजीव व्यवस्थापनमामा रासायनिक विषादी मात्र एक उत्तम उपाय हो भन्ने धारणा राख्नाले पछिल्लो समय त्यस्ता मित्रजीव हरुको संख्या घटदै गएको देखिन्छ । बालीनालीमा लाग्ने हरेक खालका शत्रुजीवहरु सँगै मित्रजीवहरु अन्तर सम्बन्धित भएर आएका हुन्छन साथै त्यस्ता शत्रुजीवहरुको संख्यालाई आर्थिक क्षति गर्ने तह भन्दा तल राख्नमा महत्वपुर्ण भुमिका खेलिरहेका हुन्छन् ।

त्यस्ता मित्रजीवहरुको खोज अनुसन्धान गरी प्रविधि विस्तार गर्न सकेमा बढ् दो रासायनिक विषादीको प्रयोगवाट हाल पर्यावरणमा भैरहेको नकरात्मक प्रभावलाई न्यूनिकरण गरी दिगो कृषि विकासमा सहयोग पुर्याउन सकिन्छ । पछिल्लो समय अमेरिकन फौजीकीरा हाम्रो देशमा प्रवेश भए संगै मकैवालीमा विषादी खपत बढेको देखिन्छ । यस लेखमा मकैबालीको उत्पादनमा क्षति गर्ने अमेरिकन फौजीकीरा व्यवस्थापनमाको लागि उपयोग गर्न सकिने सम्भाव्य मित्रजीवहरुको बारेमा चर्चा गरिएको छ । 

अमेरिकन फौजीकीरा व्यबस्थापनमा जैबिक मित्रजीबको प्रयोग (use of nature enemies against fall armyworm) : 

पछिल्लो समय अमेरिकन फौजीकीराको व्यवस्थापनमामा प्राकृतिक रुपमा पाइने मित्रजीवहरुले महत्वपुर्ण भुमिका खेलिरहेका छन् । फौजीकीराका विभिन्न अबस्थाहरु जस्तै फुल, लार्भा, प्युपाहरुलाई आफ्नो शिकार गरेर खाने शिकारी कीराहरु (Predators), त्यसै गरी वासस्थान बनाइ आफ्नो जिवन चक्र पुरा गर्ने परजीवि कीराहरु (Parasitoids) र रोगी बनाई मार्ने जिवाणुहरु ले यीनिहरुको संख्या घटाउन निकै मद्दत गरिरहेका हुन्छन । प्राकृतिक तवरमा पाइने यस्ता मित्रजीवहरु लाई समयमै पहिचान गरेर यिनीहरुको संरक्षण र उपयोग गर्न सकेको खण्डमा मात्र कृषिको दिगो ब्यवस्थापन हुन सक्दछ । फौजी कीरा ब्यवस्थापनमा नेपालमा पाइने केहि महत्वपुर्ण मित्रजीवहरु र तिनीहरुको भुमिकाको बारेमा यहाँ  तालिकामा देखाइएको छ । 

मकैबालीमा अनुगमन गर्दा पाईएका मित्रजीबहरु 

mitrajib.JPG
Source : aitc-Magazine 

 चुनौतिहरु : 

• रासायनिक विषादीको बढ्दो प्रयोगले गर्दा प्राकृतिक मित्रजीवहरुको उपस्थितीमा कमी आईरहेको छ । 

• मित्रजीवहरुको बृहत उत्पादन गर्नलाई सुबिधा सम्पन्न प्रयोगशाला चाहिने हुँदा त्यस्ता प्रयोगशाला बनाउन राज्यको तर्फबाट ध्यान पुग्न सकेको छैन ।

• जैबिक मित्रजीवहरु जिवित बस्तु भएकोले यसलाई चाहिने अनुकुल वातावरण बनाउन निकै चुनौतिपुर्ण हुने गर्दछ ।

 * जैविक मित्रजीवहरुको पालन, प्रयोग र संरक्षण गर्न दक्ष जनशक्तिको आबश्यकता पर्ने भएकोले हाल त्यस्तो जनशक्तिको अभाव देखिन्छ ।

• जैविक मित्रजीवहरुको सफलता पुर्वक पालन बिधि पहिचान भएका केहि प्रविधिहरु जस्तै ट्राइकोग्रामा बारुलो, टेलोनोमस बारुलो, कोटेसिया बारुलो, जैविक ढुसीहरु आदिको उत्पादनमा निजि क्षेत्रको प्रथामिकतामा नपर्दा कृषक माझ पुग्न सकिरहेको छैन ।

• राज्यले आई.पि.एम. को विकासमा १६ वर्ष लगानी त गर्यो तर यस्ता वैकल्पिक विधिहरुको खोज अनुसन्धानलाई समेटन नसक्दा प्रविधि विकासमा ढिलासुस्ती हुन पुग्यो ।

• ब्यवसायिक कृषकले यस्ता प्रविधिहरुलाई झल्झटीला मान्दा र रासायनिक विषादीलाई नै बढी विश्वास गर्ने गरेकोले यस्ता जैविक प्रविधिहरु प्रथामिकतामा परेको देखिदैन ।

अबसरहरु
-  नेपाल भौगोलिक हिसावले बिबिधता भएको देश हो र यहाँ प्राकृतिक रुपमा नै धेरै किसिमका मित्रजीवहरु पाइनुले मित्रजीवहरुको ब्यबसायिक उत्पादन गर्न प्रचुर सम्भावना देखिन्छ ।

-  विश्वको तुलनामा अझै पनि नेपाल न्यून बिषादी (३९६ ग्राम÷हेक्टर÷बर्ष) प्रयोग गर्ने देशमा पर्दछ जसका कारण धेरैजसो क्षेत्रमा यस्ता मित्रजीवहरुलाई प्राकृतिक तवरमै सजिलै संरक्षण गर्न सकिन्छ ।

-  राज्यले पनि बढ्दो बिषादी प्रयोग न्यूनिकरणको लागि आई.पी.एम. तथा प्राङ्गारिक खेतीलाई
प्रथामिकता राखी बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ जसका लागि आबश्यक पर्ने बिकल्पहरुमा यस्ता मित्रजीवहरुको ब्यबसायिक उत्पादन गर्न चाहेको अबस्थामा राज्यको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग हुने प्रचुर सम्भावना देखिन्छ ।

-  बिश्वमा हाल ब्यावसायिक उत्पादन भईरहेका मित्रजीवहरु धेरैजसो हाम्रो देशमा स्थानिय
स्तरमा नै पाइने भएकोले यसको उत्पादन साथै शत्रुजीव ब्यवस्थापनमा बढी प्रभावकारी हुने देखिन्छ ।

-  प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्न सकेको खण्डमा यो ब्यबसायको निरन्तरता पाउने देखिन्छ ।

अगाडीको बाटो 
-  नेपाल जैविक बिविधताले धनी मुलुक हुनुका कारण यहाँको इकोस्टिम, पर्यावरणको दिगो विकास गर्नु सबैको प्रमुख दायित्व हो ।

-  कीराहरुको पनि आफ्नै जैविक बिविधता हुन्छन त्यसमा पनि प्राकृतिक तवरमा पाइने मित्रजीवहरुको संरक्षण, सम्वद्र्धन र उपयोग गर्न सकेको खण्डमा शत्रुजीवहरुको ब्यवस्थापन सहज रुपमा गर्न सकिने देखिन्छ ।

-  आउने दिनहरुमा अनुसन्धान निकायबाट त्यस्ता प्रभावकारी मित्रजीवहरुको खोज अनुसन्धान गर्ने र प्रविधि बिस्तारमा जोड दिनजरुरी देखिन्छ ।

-  प्रसार निकायबाट यस्ता मित्रजीवहरुको ब्यावसायिक उत्पादन गर्न निजी क्षेत्रको साझेदारीमा ब्यापक उत्पादन गर्न आवश्यक देखिन्छ ।

-  कृषकहरुले बिषादी रहित खेती उपज उत्पादनमा ध्यान पु¥याउने र उपभोक्ताले पनि त्यस्ता उत्पादनलाई उचित मुल्य दिन सक्ने वातावरण निर्माण हुन सकेमा मात्र यसको दिगो विकास हुन सक्दछ ।

-  आउने दिनहरुमा जैविक मित्रजीवहरुको दिगो उत्पादनको लागि संघ, प्रदेश र स्थानिय निकायले सुबिधा सम्पन्न प्रयोगशाला निर्माण गर्ने साथै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान पु¥याउन सकेको खण्डमा हाल प्रयोग भईरहेको बिषादी न्यूनिकरणमा कोशेढुङ्गा साबित हुनेछ । 

- डा. घनश्याम भण्डारी

Source : कृषि सूचना तथा प्रशिक्षणल केन्द्र, हरिहरभवन , ललितपुर ( कृषि चौमासीक ) 

 

सम्बन्धित विषय

थप समाचार