बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

रासायनिक विषादीले जन्माएको असर र न्यूनिकरण गर्ने उपायहरु

शुक्रबार, साउन ४ २०८१
9 views
रासायनिक विषादीले जन्माएको असर र न्यूनिकरण गर्ने उपायहरु

समाचार शेयर गर्नुहोस्

Share this news

जीवनाशक विषादी भन्नाले बोट, विरुवा, कृषिजन्य पदार्थ र वन तथा वन पैदावार, जीव, पशुपन्छी, मानव स्वास्थ्य, भण्डारण, निर्माण कार्यमा हानी पुराउने रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्राङ्गारिक, वनस्पति जैविक तथा रासायनिक वस्तु सम्झनुपर्दछ । यसले मीत्रजीव, आकर्षण वा विकर्षण गर्ने वस्तु, हानीकारक जीवको वृद्धी र प्रजनन कार्यमा असर पार्ने वस्तु, हानीकारक वनस्पतिको वृद्धी नियन्त्रण गर्ने वस्तु, फलफुलको संख्या पतल्याउने वस्तु, समय नपुग्दै फल झार्ने समस्याको नियन्त्रण गर्ने वस्तु र प्रयोगशालामा निसंक्रमण गर्ने पदार्थ समेतलाई जनाउँदछ ।

विश्वको बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्न तरकारी र फलफुल थोरै क्षेत्रफलबाट छोटो अवधिमा उत्पादन गर्न १००० भन्दा वढी प्रकारका विषादीहरु प्रयोगमा छन । विश्वमा सन २०२० मा करिव ३.५ मिलियन टन विषादी प्रयोग भएको अनुमान गरिएको छ । नेपालमा सन् २०१८ मा रासायनिक विषादी ६३२ मेट्रिकटन विषादी प्रयोग भएको देखिन्छ ।

विषादीहरु रासायनिक र जैविक श्रोतबाट बनेका हुन्छन । वनस्पति र जैविक विषादी बढी सुरक्षित हुन्छन तर यिनको प्रयोग विश्वमा ३.४६% मात्र छ तर प्रत्येक वर्ष बढ्दो छ । रासायनिक विषादी भन्दा त्यसबाट विखण्डित भै बनेको वस्तु बढी खतरनाक हुन्छ । कुनै रासायनिक विषादी एकबाट अर्को पुस्तासम्म असर गर्ने र माटो र वातावरणमा ३०-४० वर्षसम्म पनि रहने गर्दछ ।

 विषादीको प्रयोग किन हुन्छ ?

- वालीनाली, फलफुल, चिया, कफी, जडीबुटी वा वगैचामा सौन्दर्यकालागि लगाइएका वा काठ प्रयोजनका बोट विरुवामा नोक्सानी गर्ने कीरा, रोग र झारपात नियन्त्रण गर्न 

- खाद्यान्न वा अन्य वस्तुको भण्डारणमा नोक्सानी गर्ने मुसा कीरा वा ढुसीको नियन्त्रण गर्न 

- मानिसमा रोगको सम्वाहक लामखुट्टे वा अन्य जीव र पशुको बाह्य परजीवी नियन्त्रण गर्न

विषादीको शरिरमा प्रवेश कसरि हुन्छ ?

छालाबाट :  ओसार पसार, किनबेच, मिसाउँदा वा छर्दा शरीरढाक्ने र सुरक्षित पहिरन नलगाइएमा विषादी छालाको सम्पर्कमा आउन सक्ने

मुखबाटः विषादीको सम्पर्कमा रहँदा सुर्ती, चुरोट, पानी वा कुनै खानेकुरा खाएमा

नाकबाटः विषादीको कणहरु नछिर्ने सुरक्षित मास्क नलगाई विषादीको सम्पर्कमा रहँदा

विषादीको असर ३ तहका व्यक्तिमा हुने गर्दछ : 

१. प्रत्यक्ष सम्पर्कमा हुने व्यक्ति: विषादी उद्योगका कामदार, पसलवाला, ढुवानीकर्ता र कृषक

२. विषादी छरेको समुदायको व्यक्ति : विषादी विरुवा, माटो, पानी, वन्यजन्तु र वातावरणमा पुग्छ 

३) विषादीको अवशेष खाने उपभोक्ताः उत्पादित वस्तु बजारबाट उपभोक्ता कहाँ पुग्दछ

विषादीले मानिसमा पार्ने तत्काल र दीर्घकालीन असर

तत्काल देखिने लक्षणहरुः

सासफेर्न कठिन हुने, तिर्खा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांशपेशी फरफराउने, मांशपेशीले थाहा नपाउने, आँखाको आकार सानो हुने, होस हराउने, मांशपेशी अकर्को तर्फ फर्कने, सास छिटो छिटो फेर्ने ।

दीर्घकालीन असर :

दम, नशा, पेट, मुटु, पक्षघात, छारे रोग, र क्यान्सर रोग, महिलामा बाँझोपना र गर्भ पतन, वंशानुगत परिवर्तन, कलेजोको खराबी, पुरुषमा नपुंसकता, बच्चाको मानसिक विकासमा बाधा, दृष्टि कमजोर र अन्धोपना, बच्चा फरक आकृतिका जन्मने । वालीनालीमा विषादीको प्रयोग घटाउन गरिने उपायहरु १. कानूनद्वारा विषादीको

२. जैविक र वानस्पतिक व्यवस्थापन विषादीको प्रयोग

 ३. स्थानिय प्रविधि र प्राकृतिक विषादीको प्रयोग

४. हरियो मल, र कम्पोष्ट मलको प्रयोग

५. मित्रजीवको उत्पादन र वातावरणमा छाड्ने

६. शत्रु कीराको प्रजननमा अवरोध पुराउने

७. वाली चक्र र कृषि कर्ममा सुधार

८. जेनेटिक इञ्जिनियरिङ्ग

९. आकर्षण पासोहरु

१०. माटोलाई निर्मलीकरण गर्ने

११. बायोचारको प्रयोग

१२. एकिकृत शत्रुजीव व्यवस्थापन तरिका

१३. प्राङ्गारिक खेती

१४. असल कृषि अभ्यास

व्यवसायी र कृषकको जिम्मेवारी |:  व्यवसायीहरु र कृषकहरुले देहायका तरिकाहरु अपनाउँदा विषादीबाट मानिस र वातावरणमा देखिने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न मद्दत पुग्दछ ।

आयातकर्ता र संश्लेषणकर्ताः जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ र नियमावलीले व्यवस्था गरे अनुरुप आफुले कुन कुन विषादीहरु आयात गरी विक्री वा संश्लेक्षण गरी उत्पादन गर्ने हो ती विषादीहरु पत्रञ्जीकरण गराई उत्पादन, भण्डारण, र विक्री वितरण तोकिएको मापदण्डमा रही गर्ने, विषादी विक्री वितरण गर्दा सुरक्षात्मक सामाग्रीहरु जस्तै टोपी, चश्मा, मास्क, एप्रोन, पन्जा र रवर बुटको प्रयोग गर्ने र काम सकेपछि ती सामाग्री धुने साथै आफू नुहाउने  ।

सुर्कने व्यवसायीः  विषादीको लेवल पढ्ने, रसो अनुसार गर्ने, विषादी शरीरभित्र नपस्ने गरी सुरक्षित पहिरन लगाउने, विषादी छर्ने सामग्रीहरु काम गर्ने अवस्थामा छन् छैनन् जाँच गर्ने, छर्दा हावाको गति र वहावटलाई ध्यान दिई छर्ने, छर्नुपूर्व करिव ४८ घण्टा भित्रमा पानी पर्ने संभावना भएमा विषादी नछर्ने वा पानीले नपखाल्ने स्टिकर राखी छर्ने, स्थान, विरुवा वा वालीको स्वभाव अनुसार विषादी छर्ने, विषादी छरिसकेपछि प्रयोग गरिएका सर सामान र उपकरणहरु सही तरिकाले सफा गर्ने, तिनलाई सुकाउने र आफू नुहाउने ।

कृषक वा प्रयोगकर्ताः विषादी बाहेकका विकल्प अवलम्बन गर्न एकिकृत वाली संरक्षणका उपायहरु अपनाउने, विषादी छर्नै पर्ने भए जानकार व्यक्तिको सहयोगले सुरक्षित विषादी किन्ने, विषादीको लेवल पढ्ने र सो अनुसार गर्ने, विषादी शरीरभित्र नपस्ने गरी सुरक्षित पहिरन लगाउने, पानीको मुहान र खोलामा विषादी पखालेको झोल वा खाली भाँडो नफाल्ने, विषादी छर्ने स्थानको माटोको बनावट र चरित्र राम्ररी बुझी, कुन विषादी उक्त पानीको सतहलाई असर नपार्ने हुन्छ सो छान्ने, मौरी लगायतका परागशेचन गराउने कीरालाई असर नगर्ने विषादी छर्ने, विषादी छरेको सूचना खेतमा राखे, विषादी छर्दा लगाएको पहिरन सफा गर्ने, आफू नुहाउने, छरेपछि खान योग्य हुनकालागि पर्खन अवधीलाई ख्याल गरेर मात्र बाली टिपेर विक्रि गर्ने । नियमनकारी निकायले व्यवसायी र कृषकलाई नियमको पालना गर्न लगाउने र सो नभएको पाइएमा नियमानुसार कार्बाही गर्नु पर्दछ । खानेकुराबाट आउने विषादीलाई उपभोगपूर्व कम गर्ने उपायहरु विषादी खानेकुरा, हावा र पानीबाट हाम्रो सम्पर्कमा आउने भएकाले खानेकुराबाट् आउने विषादीलाई त्यसको मात्रा कम गर्न देहायका उपायहरू अपनाउनु पर्दछ ।

पानीले धुनेः तरकारी र फलफुललाई भाँडोमा डुवाएर धुनु भन्दा धारा वा वग्दो पानीमा ब्रसले कुनाकाप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी ७०% कम हुने, व्याक्टेरिया र फोहर समेत जाने गर्दछ । २% खाने नून वा खाने सोडा सफा पानीमा मिसाएर १०-१५ मिनेट डुवाउने वा आधा कप भिनेगर २ कप पानीमा १०-१५ मिनेट डुवाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिव ८०% घट्दछ ।

बाहिरी पातहरु फाल्ने र बोक्रा ताछनेः वन्दा, लेट्स जस्ता तरकारीको बाहिरी पातहरु हटाई राम्ररी हुँदा वा संभव भएका तरकारी र फलफुलका बोक्रा ताछ्दा त्यसमा रहेको सम्पर्क विषादीहरुको मात्रा ४५-९९% कम हुने, व्याक्टेरिया र फोहर समेत पखालिएर जान्छ ।

धेरै परिकाहरु खानेः धेरै प्रकारका तरकारी, फलफुल र खानेकुरा खानाले ती खानेकुरामा विषादी को अवशेष औषतमा कम हुन आउँछ ।

सुख्या बनाउनेः व्रसले सफागरी धोएपछि फलफुल र सलादको रुपमा काँचै खाने तरकारीलाई कुनै सफा कपडा वा कागजको टावलले सुख्खा हुने गरी पुछेर खानुहोस् जस्ले गर्दा व्याक्टेरियाको प्रकोप कम हुन्छ ।

पकाएर खानेः बोक्रा ताछने र पकाउँदा अर्गानोफस्फेट विषादीहरुको मात्रा ३५-६०% र अर्गानोक्लोरिन को मात्रा २०-२५% कम हुने गर्दछ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८०-९०% कम हुने गर्दछ । तरकारीलाई सुख्खा हुने गरी वा वफाएर पकाउँदा विषादीको अवशेष कम भएको पाइएको छ ।

फ्रिजमा राखेः तरकारी र फलफुललाई फ्रिजमा १० डि. से.मा ३-४ दिन राख्दा विषादीहरुको मात्रा २४-९४% कम हुने गर्दछ ।

निर्मलीकरणः दूध वा खानेकुरालाई निश्चित तापक्रममा निर्मलीकरणको लागि तताउँदा र चिसोमा राख्दा धेरैजसो  विषादीको अवशेष कम हुने र व्याक्टेरियाको प्रकोप कम हुने गर्दछ ।

प्रसोधन गर्नेः दानादार खाद्यान्नको बोक्रा मीलवाट फाल्दा विषादीको अवशेष १७-२८% कम हुने गर्दछ भने पीठो बनाउँदा ६०% कम हुने गर्दछ ।

जुस बनाउँदाः स्याउको जुस निकाल्दा बोक्रा फालिने र रसलाई फिल्टर गरिने कारणले फेनिट्रोथियन विषादी ९०% कम हुने गर्दछ ।

चिया कफि बनाउँदाः चिया वा कफिको विरुवामा छरेको विषादी प्रसोधन गर्दा सुख्खा हुने, घुम्ने र विभिन्न चरण पार भै कपमा बनेर आउँदासम्म विषादीको समुह अनुसार ४५-६४% कम हुने गर्दछ । त्यस्तै कफी प्रसोधन नै विभिन्न चरण पार गरी कपमा बनेर आउँदासम्म डाइक्लोरभस विषादी ८२-८८% कम हुने गर्दछ ।

अमिल्याउने : फलफुलको रक्सी बनाउँदा अर्गानोफस्फेट विषादीको अवशेष ८३% कम हुने गर्दछ भने बन्दाको किम्ची बनाउँदा ८६% कम हुने गर्दछ ।

शुक्ष्म जीवाणुको प्रकोप कम गर्नेः धेरै प्रकारका तरकारी र फलफुल माटोमा लगाउने र माटो, पानी, मलको सम्पर्कबाट साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती शुक्ष्म जीवाणुको प्रवेश हुन सक्ने भएकाले तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनु पर्दछ ।

 निष्कर्ष र सुझावः कृषि वाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न संभव भएसम्म रासायनिक विषादीको विकल्प खोज्ने, आवश्यक पर्ने नै भएमा सुरक्षित र प्रभावकारी विषादी सावधानीपूर्वक छर्ने, पर्खन अवधी पछि मात्र टिप्ने, विषादीको सम्पर्कमा हुने विभिन्न व्यवसायमा संलग्न व्यक्तिले विषादी शरिरभित्र नपस्ने पहिरन लगाउने, घर र भान्सामा आएको फलफुल र तरकारीलाई विषादीको अवशेष कम गराउने उपायहरु अपनाउन सकिएमा मानिस, पशुपन्छी र वा विषादीबाट हुने तत्काल र दीर्घकालीन असर न्यून गर्न सकिन्छ ।

- परशुराम अधिकारी

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन( कृषि चौमासीक ) 

सम्बन्धित विषय

थप समाचार