परिचय तथा महत्व :
वानस्पतिक नाम (Cucumis sativus L.) रहेको काँक्रो लहरे परिवार अन्तर्गत पर्ने एक परसेचित तरकारी बाली हो । काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। नेपालमा तराईदेखि उच्च पहाडसम्म परापपूर्व कालदेखि नै विभिन्न जातका काँक्राको खेती गरिदै आएको पाइन्छ । काँक्रो तराईमा माघ- फागुनमा, मध्य पहाडमा फागुन-चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाख जेठसम्म काँक्रो रोप्ने गरिन्छ । राम्रो उत्पादनको लागि न्यानो तथा गर्मी हावापानी आवश्यक पर्ने यस बालीले अत्यधिक चिसो र तुसारो भने सहन सक्दैन ।
सलाद, अचार, तरकारी लगाएत अन्य प्रयोजनका लागि समेत प्रयोग गरिने काँक्रोमा विभिन्न खालका पौष्टिक पदार्थ पाइने गर्दछ। लगभग ९६% पानीको मात्रा हुने ताजा काँक्रोलाई भिटामिन ए, के र पोटासियमको राम्रो स्रोतका रुपमा लिने गरिन्छ । यसका साथै काँक्रोमा कार्बोहाइड्रेट, प्रोटिन, रेशाका साथै अन्य भिटामिनहरु पाइन्छ । नेपालमा विशेषगरि पोइनसेट, कुशले, भक्तपुर लोकल जस्ता उन्नत जात र निन्जा, प्रिया, बेलीन, मालिनी जस्ता बर्णशंकर जातका साथसाथै थुप्रै स्थानीय जातहरुको समेत खेती गरेको पाइन्छ। मादले काँक्रो, सिन्धुली हरियो काँक्रो, चादनी, लामो खिरिलो जस्ता जातहरु केही तिनका उदाहरणहरु हुन् ।
स्वाद, आकार प्रकार लगायत अन्य गुणमा विविधता भएका यस्ता स्थानीय जातहरुमध्ये विशेषगरी कास्की, पर्वत, म्याग्दी र बाग्लुङ जिल्लामा बढी उत्पादन गरिने मादले काँक्रो एक उत्कृष्ठ स्थानीय जात हो। काँचा छदा सेतो, हरियो र पाकेपछि हल्का पहेलो रङको हुने यस काँक्रो सम्भवत आकार र स्वादमा नेपालकै ठुलो र मिठो भएको मानिन्छ। काँचोदेखि पाकेको जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन वा काँक्रा विशेष गरी काँचोमा तरकारी, सलादको रुपमा खान तथा चिरा पारि नुन खुर्सानी दलि खाने गरिन्छ भने पाकपछि रस खाने र अचार बनाउनको लागि प्रयोग गरिन्छ। यस काँक्रामा विभिन्न औषधीय गुणहरु समेत भएका विश्वास गरिन्छ।
पाकेका काँक्रोको रस पिउनाले खोकी तथा शरिरमा गर्मी लागेको निको हुने विश्वास गरिन्छ । मादले काँक्रोको पौष्टिक तथा अन्य विशेषतालाई ध्यानमा राख्दै राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र (जीन बैंक), बायोभर्सिटी इन्टरनेसनल र जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) संस्थाको सयुंक्त पहलमा स्विस सरकारको सहयोगमा संचालित नेपाल बीउबिजन प्रणाली सुधार परियोजना मार्फत यो बालीमा नेपालमा पाइने जैविक विविधता र स्थानीय जातहरुमध्ये उत्कृष्ट जात छनोट तथा दर्ता गरी प्रवर्द्धन गर्ने उद्देश्यले पर्वत, कास्की, बाग्लुङ तथा म्याग्दीका विभिन्न ठाउँबाट मादले काँक्रो लगायत अन्य स्थानीय जातहरु संकलन गरि राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटार र लुम्ले कास्कीमा सन् २०१९ मा गरिएको परीक्षणहरुबाट मादले काँक्रो स्वाद, आकार प्रकार तथा उत्पादनका हिसाबले उत्कृष्ट देखिएकाले यस जातलाई दर्ता प्रक्रियाको लागि अगाडी बढाउनको लागि निर्णय गरिएको छ ।
जातीय विशेषता
विभिन्न परिक्षण तथा किसानहरुबाट प्राप्त आकंडाहरुका आधारमा मादले काँक्रोका जातीय विशेषताहरु निम्नलिखित रहेका छन् :
बोटको उचाई : ५-६ मिटर
फलको लम्बाई: ४५-५० से.मि.
फलको मोटाई : १५-२० से.मि.
बोटको हरियोपनः मध्यम
फुल फुल्ने समयः ७०-८० दिन
भाले पोथी फुलको अनुपातः ५-६:१
बोटमा झुंसः नरम हरियो
झुंस फलको तौल: ३-५ के.जी.
फलको स्वादः खाँदा रसिलो क्यारक्यार नगर्ने
उत्पादन प्रति बोटः ४०-५० के. जी.
फलको रङः सेतो हरियो मिक्स भएको
फलको आकारः लामो, मोटो र सलक्क परेको
खेती गर्ने तरिका :
हावापानी :
समुन्द्री सतहबाट ११००-२१०० मिटरसम्मको उचाईमा विशेष गरी न्यानो समशितोष्ण हावापानी भएको पर्वत, कास्की, बाग्लुङ तथा म्याग्दीका विभिन्न क्षेत्रमा मादले काँक्रोको खेती गरिन्छ । यसको बोट वृद्धि भइ फल लाग्न सरदर २० देखि २५ डिग्री. से. तापक्रम आवश्यक हुन्छ। बीउ उम्रन, फल लाग्न, फल छिटो परिपक्व हुन तथा राम्रो उत्पादनको लागि माटोको तापक्रम समेत महत्त्वपूर्ण हुन्छ । माटोको तापक्रम १० डिग्री.से. भन्दा कम भएमा बीउ उम्रन सक्दैन भने २५ डिग्री.से. भन्दा बढी भएमा फुल तथा फल झर्ने समस्या देखापर्ने हुन्छ ।
माटो :
मादले काँक्रोको खेती विभिन्न प्रकारको माटोमा गर्न सकिएतापनि राम्रो उत्पादनको लागि निकासको राम्रो व्यवस्था भएको र प्रांगारिक पदार्थ प्रशस्त भएको बलोटे दोमटदेखि बलौटे पाँगो माटो बढी उपयुक्त हुन्छ। काँक्रो बालीको लागि हल्का अम्लिय माटो अर्थात् ५.५-७ पि.एच. भएको माटो उत्तम मानिन्छ। यो बाली ५.५ पि.एच. भन्दा कम अर्थात् अम्लिय माटोमा संबेदनशील हुन्छ र विरुवाको उत्पादनमा असर पर्दछ भने चिम्टाइलो माटोमा लहरा धेरै जाने र फल ढिलो पाक्ने गर्दछ ।
जग्गाको तयारी :
सामान्यतया मादले काँक्रो लगाउने जग्गाको तयारीको लागि २-३ पटक सम्म गहिरो गरी हलो / ट्याकटरका सहायताले जोतेर खुकुलो र बुर्बुराउदो बनाई माटामा भएका बाली अवशेष, झारपात र ढुंगा हटाई कोदाली. डल्लेठा वा लिड्कोको सहायताले जमिन समथर बनाई कम्पोस्ट मल माटामा मिलाउने काम गरिन्छ ।
मलखादको मात्रा :
कृषकले मादले काँक्रो उत्पादनको लागि धेरै भन्दा धेरै गोबर मलको प्रयोग गर्ने गर्दछन। काँक्रो लगाउने बेलामा प्रतिबोट २०-२५ के.जी. पर्ने गरी प्रत्येक खाल्डोमा वा जमिनमा पाकेको गोबर मल हाल्ने गर्दछन । कृषकले मादले काँक्रो उत्पादनको लागि रासायनिक मलको खासै प्रयोग गरेको पाइदैन यदि प्रयोग गर्नु परेमा बीउ रोप्ने बेलामा कम्पोष्ट मल संगै २०/२० ग्राम डी.ए.पि. र म्युरेट अफ पोटास प्रति बिरुवा पगरी प्रयोग गर्न सकिन्छ । बीउ रोप्ने समय मादले काँक्रो सामान्यतया फाल्गुन देखि बैशाख सम्म वर्षमा एक सिजनमात्र रोप्ने गरिन्छ । कृषकहरुले बारीमा मकै लगाइसकेपछि बारीको छेउछाउका साथे छुट्टै ठाउँमा समेत काँक्रो लगाउने गर्दछन ।
बीउदर :
यो बालीको बीउ व्यवसायीक रुपमा उत्पादन नगरिएको भएता पनि राम्रो उत्पादनको लागि प्रति रोपनी ५०-६० ग्राम बीउ प्रयोग गर्न सकिनेछ । यदि बिरुवा प्रयोग गरि उत्पादन गर्ने हो भने प्रतिरोपनी २५०-३०० बिरुवा आवश्यक पर्दछ ।
बीउ रोप्ने दूरी र तरिका :
धेरैजसो कृषकले मादले काँक्रो ड्याङ नउठाइकन लगाउने गर्दछन । यसरि काँक्रो लगाउदा कृषकले जमिन समथर बनाईसकेपछि कोदालो र डोरीको सहायताले खाल्डो बनाएर प्रत्येक खाडलमा आबस्यकता अनुसार कम्पोष्ट मल र रासायनिक मल राखी माटोसंग मिलाईसकेपछि कुटोको सहायताले ४-५ से.मि गहिराईमा ३-४ वटा बीउको दरले रोप्ने गर्दछन् । यदी ड्याङ बनाउने हो भने जमिनबाट करिब १५ से.मि. माटो उठाई एक ड्याङमा दुई हार रोप्ने हिसाबले हारको दुरी १५०-२०० से.मि. र बोटदेखि बोटको दुरी १ मि. हुनेगरी चिन्ह लगाएर सो चिनोमा ३०x३० से.मि. को खाडल बनाई आवस्यकता अनुसार मलखाद खाडलमा हाली बीउ रोप्ने गर्नुपर्दछ। बढी भएको पानी निकास तथा हिडडुल गर्न सजिलोका लागि दुई ड्याङको बिचमा ३० से.मि.को कुलेसो बनाउनु पर्दछ । ड्याङ बनाउदा विचको भाग केहि उठेको र दुवैतिर भिरालो परेको हुनुपर्दछ ।
गोडमेल तथा सिंचाई :
यस बाली रोपेपछि छिट्टै हर्किने र लहरा बढेर झार भन्दा अग्लो हने हनाले अरु बालीको जस्तो समय समयमा गोडमेल तथा झारपात नियन्त्रणको आवश्यकता पर्दैन। तापनि धेरै झार आएमा फेद वरपरको झार हटाउन सकिन्छ। यो बाली वर्षायाममा लगाइने हदा थप सिंचाईको आबस्यकता पर्दैन बरु बिरुवा लगाएको ठाउमा लामो समयसम्म पानि जम्न दिनु हुदैन तर माटो धेरै सुख्खा भारमा काँक्रा तितो हुन सक्दछ तसर्थ पानि कम भएको खण्डमा जरामा पानी दिई घाँसपातले बाक्लो खालको छापो दिनु पर्दछ जसले चिस्यान कायम राख्न मद्दत पुग्दछ ।
थप मलखाद :
बेर्ना हुर्कदै गएपछि बिरुवामा पुनः मलखाद दिदै जानुपर्दछ । मादले काँक्रोमा कृषकल युरियाले टपड्रेस गरेको पाइदैन त्यसको सट्टा कृषकले बोटको वरीपरी गोबर मल हाल्ने गर्दछन। यसको साथै रोगकिरा व्यवस्थापन तथा नाइट्रोजनको परिपूर्तिको लागि झोलमोल अथवा गाई भैसीको गहुँत १ भागमा ४ भाग पानी मिसाई प्रतिबोट आधादेखि १ लिटर पर्ने गरी प्रत्येक १०-१५ दिनको फरकमा छर्ने गर्दछन जसले गर्दा उत्पादनमा समेत वृद्धि पाइएको छ।
काँटछाँट :
अरु बालीमा जस्तो यस बालीमा नियमित रुपमा काँटछाट गरेको पाइदैन उल्टै कृषकहरुले बेला बेलामा काँक्रोको बोट छुनाले काँक्रो तितो हुन्छ भन्ने विश्वासले फल लाग्न थालेपछि बोट नछुने गरेको पाइएको छ। तर काँटछाँट गर्दा काँक्रो तितो नभई फलको गुणस्तर तथा उत्पादनमा समेत वृद्धि हुने हुनाले फल नला गेका वा फल लाग्न छाडेका शाखा लहराहरु साथै रोग लागेका तथा बुढा र जमिनको सम्पर्कमा भएका पातहरुलाई निरन्तर हटाउने गर्नुपर्दछ ।
थांक्रो/टेको दिने :
थाक्रोले बिरुवा हुर्कन सहायता पुर्याउंछ भने फललाई माटोको संसर्गबाट बचाउदछ। मादले काँक्रो उत्पादनको लागि प्रत्येक २-३ बोटलाई पर्ने गरी एक-एक गोटा रुखका हाँगा वा बाँसका झिक्रा नजिकै गाडी उक्त थांक्रामा बोटका लहरा लगाइदिनुपर्दछ। यो जातको काँक्रोको झालमा धेरै फल लाग्ने साथै आकार र तौल समेत ठुलो हुने हुनाले थाक्रा ढल्ने समस्या हुन सक्दछ त्यसकारण थाक्रा अलि गहिरो खाडल बनाई गाड्ने गर्नुपर्दछ ।
फल टिप्ने :
फाल्गुन, चैत्रमा रोपेको मादले काँक्रोले असारको अन्तिम अथवा श्रावणको पहिलो साताबाट फल दिन थाल्दछ र राम्रो हेरविचार गर्न सके आश्विनसम्म पनि उत्पादन लिन सकिन्छ। फल टिप्दा ओभानो तर ठण्डा भएको समय पारी टिप्नुपर्दछ । शीत भएको समयमा फल टिप्दा फलमा औंलाको डाम लाग्ने र बोटमा पनि असर पर्न जान्छ भने बढी तापक्रम वा घाम लागेको बेलामा फल टिप्दा स्वासप्रस्वास प्रक्रिया बढी हुने भएकोले काँक्रो छिटो बिग्रन्छ। त्यसैले फल टिप्दा बिहान शीत ओभाएपछि वा बेलुका तापक्रम कम भएपछि टिप्नुपर्दछ ।
बीउ छनोट :
कृषकले तरकारी बनाउन, सलाद खान तथा नुन खुर्सानी दलेर खान सानो आकार भएको बेलामा टिप्ने गर्दछन् भने बीउ उत्पादन तथा अचार बनाउनको लागि बोटमा नै छिप्पिने गरी राख्ने गर्दछन। बीउ तथा अचार बनाउनको लागि काँक्रो पूर्ण रुपमा पहेलिनु पर्दछ भन्ने कृषकहरुको विश्वास रहेको छ । किसानहरुले मंसिर महिनाको १ गते बर्षे फल खानुपर्छ भन्ने विश्वासका साथ त्यस बेलासम्म पनि पाकेको मादले काँक्रोलाई टिपेर सँरक्षण गरी राखेको पाइन्छ। किसानहरुले मादले काँक्रोको बीउ राख्ने पद्दति आफ्नै किसिसको रहेको छ।
किसानहरुले बोटमा रहेको सर्लक्क परेको, अरुभन्दा छिटो बढ्ने काँक्रोलाई पहिले देखिने ख्याल गरी त्यस काँक्रोलाई अन्य प्रयोजनको लागि प्रयोग नगरी लामो समयसम्म बोटमा नै राख्ने गर्दछन। जब काँक्रो पूर्ण रुपमा परिपक्व हुन्छ अर्थात् पहेलो रङमा परिणत हुन्छ तब किसानहरुले टिपेर त्यसबाट गुदी निकाली सफा कपडाको सहयोगले छानेर बीउ निकाली बीउलाई सुकाई अर्को बर्ष प्रयोग गर्ने गर्दछन।
Source : प्रदिप थापा, सन्तोष श्रेष्ठ, कृष्णहरि घिमिरे, निरन्जन पुडासैनी र देवेन्द्र गौचन । मादले काँक्रोः परिचय र उत्पादन प्रविधि। जानकारी पत्र, अंक १९, वर्ष २०७८ । राष्ट्रिय जीन बैंक, ली- बर्ड, बायोभर्सिटी इन्टरनेशनल, नेपाल ।