बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

के हो टूटा अब्सोलुटा ?

मंगलबार, साउन ८ २०८१
11 views
के हो टूटा अब्सोलुटा ?

समाचार शेयर गर्नुहोस्

Share this news

दक्षिण अमेरिकी गोलभेडाको पात खन्ने कीरा टुटा अब्सोलुटा आक्रामक तवरले फैलिने तथा गोलभेडाको पात, मुना तथा फलमा लाग्ने पुतली समूहको कीरा हो । व्यवस्थापन नगरिएको अवस्थामा यस कीराको लार्भाले गोलभेंडामा सत प्रतिशतसम्म नोक्सान पुऱ्याउन सक्छ ।  

लक्षण तथा पहिचान

यस कीराको क्षतिको लक्षण पात, मुना तथा कलिलो फलहरूमा देख्न सकिन्छ । बिरुवाको पातमा बीचको हरियो भाग खाएर झिल्ली मात्र बाँकी भएका विभिन्न आकारका खैरो धब्बाहरू देखिन्छन् । यस्ता धब्बाहरू चिरेर हेर्दा भित्र कालो दिसा तथा कहिले काहीँ यसको लार्भा पनि भेटिन्छ ।

मुनामा यो कीराको लार्भा लागेमा मुनाको आकार तथा वृद्धिमा परिवर्तन आउनुका साथै बाहिर कालो दिसा देखिन्छ । कलिलो फलहरूमा भेट्नोको वरिपरि स-साना प्वालहरू देखिनाका साथै फल बाहिर कालो दिसा पनि देखिन्छ । कीराको प्रकोप धेरै भएको अवस्थामा सम्पूर्ण बिरुवाहरू डढेको जस्तो देखिन्छ र बिरुवाहरू हल्लाउँदा वयस्क पुतली उडेको देख्न सकिन्छ । 

यस कीराको वयस्क पुतली ५ देखि ६ मिलिमिटर लामो तथा यसको अघिल्लो पखेटाको रंग खैरो, खरानी मिश्रित भुइमा काला धब्बाहरू हुन्छन् । यस कीराको लार्भा सुरुमा सेतोबाट हरियो हुँदै, पूर्ण विकसित हुँदा हल्का गुलाफि रंगको हुन्छ । यस कीराको लार्भा टाउको पछाडी ढाडमा अर्ध चन्द्राकार कालो खैरो रंगको धब्बा हुन्छ ।


व्यवस्थापन : 

- कीरा लागेका क्षेत्रबाट अन्य क्षेत्रमा गोलभेंडा तथा बिरुवा ओसारपसार नगर्ने ।

- टाँसिने पासो (Sticky Trap) वा पानीको पासो (Water Trap)मा फेरेमोन प्रयोग गरी कीराको अनुगमन गर्ने ।

- जंगली आश्रयदाता, धतुरो र कालीगेडी जस्ता बिरुवाहरू हटाउने ।

- गोलभेंडा खेति सके पछि बालीका अवशेषहरू नष्ट गर्ने कीरा लागेको पात, फल तथा मुना संकलन गरि गहिरो गरि पुर्ने वा प्लाष्टिक थैलामा बन्द गरी कुहाउने ।

- बत्तिको पासोको (Light Trap) प्रयोग गरि वयस्क कीराहरू मार्ने

उपचार : 

- कीरा लागेको सुरुको अवस्थामा (Bacillus thuringiensis var. Kurstaki) २ ग्राम प्रति लिटर पानीमा घोलेर साँझ पख छर्किने ।

- धेरै कीरा लागेको अवस्थामा (Chlorantraniliprole 18.5% SC) वा Spinosad 45% Sc) १ मि.ली प्रति ३ लिटर पानीमा मिसाएर छर्ने । एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो प्रयोग गर्ने ।

सम्बन्धित विषय

थप समाचार