बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

अफ्रिकन स्वाइन फिवरको लक्षण र रोकथामका उपायहरू

बुधबार, साउन ९ २०८१
9 views
अफ्रिकन स्वाइन फिवरको लक्षण र रोकथामका उपायहरू

समाचार शेयर गर्नुहोस्

Share this news

अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बङ्‌गुर र जङ्गली बँदेलमा भाइरसले लगाउने उच्च्च मृत्यु दर भएको महामारी सरुवा रोग हो । एसफरभाइरिडी परिवारको भाइरसले लगाउने यो रोग जीवित तथा मरेको बङ्गुरको सिधा सम्पर्कबाट सर्दछ । कपडा, जुत्ता, बङ्गुरको दाना र फोहोर खानेकुरा, सवारी साधन तथा उपकरणहरूको प्रत्यक्ष सम्पर्क र अरनिथोडिरस प्रजातिको किर्नाको टोकाइबाट समेत यो रोग बङ्गुरमा सर्दछ । यो एक सीमाविहीन रोग भएकाले एक देशबाट अर्को देशमा सहजै सर्ने यो रोग मानिसमा भने लाग्दैन । अति नै खतरनाक विषाणु भएकाले सङ्क्रमित बङ्‌गुरको बाँच्ने सम्भावना शून्य नै रहन्छ । विश्व परिवेशमा हेर्ने हो भने यो रोग पहिलो पटक १९ औं शताब्दीको सुरुवातीमा अफ्रिकामा देखिएको थियो । नेपालमा जेठ, २०७९ को पहिलो हप्तामा अफ्रिकन स्वाइन फिवर पहिलो पटक पुष्टि भएको थियो ।

लक्षणहरू : 

- ज्वरो ४० देखि ४२ डि.से (१०४ देखि १०७.६ डि. फरेनहाइट)

- खान मन नगर्ने झोक्राउने,

- कमजोर हुने

- उठ्न नसक्ने

- उठ्न सकेता पनि थिरिएर बस्न नसक्ने

- छाने र रगत मिसिएको छर्ने नाक, कान, पुच्छर र खुट्टाको तल्लो भागमा र पेटको भागमा निलो देखिने

- अस्वभाविक श्वास प्रश्वास

- थुप्रिएर बस्ने

- नाक र आँखाबाट सिँगान र चिप्रा निस्कने र सिँगानमा रगत मिसिएको देखिने

- आँखा रातो हुने

- रोगको लक्षण देखा परेको केही दिनमा नै मर्ने

- गर्भिणीहरू तुहिने, पूरा विकास नभएका बच्चा जन्माउने

रोग सार्ने माध्यमहरु : 

- किर्ना, उपियाँ र झिगाँको टोकाइबाट

- सङ्क्रमित बङ्गुर, सङ्क्रमित खारमा काम गरेका मानिसहरूको कपडा, बुट, सङ्क्रमित सिरिन्ज आदि ।

- सङ्क्रमित बङ्गुरको शरीरबाट निस्केको दिसा, पिसाब, सिँगान, चिप्रा, यल, वान्ता, वीर्य आदि ।

- प्रभावकारी उपचार नभएता पनि लक्षण अनुसार उपचार गर्नुपर्छ ।

- ज्वरो घटाउने औषधि, एण्टिवायोटिक र रोग प्रतिरोधात्मक बढाउने खालको औषधि प्रयोग गर्न सकिएता पनि सङ्क्रमित बङ्‌गुरको मृत्यु दर लगभग १०० प्रतिशत नै भएको पाइन्छ ।

रोकथाम : 

- वेस्टेज खाना नखुवाउने

- रोगको नकारात्मक असरबारे जनचेतना

- कडा जैविक सुरक्षा अपनाउने

- खरिद गरी लिएर आएको बङ्गुरलाई क्वारेन्टाइनमा राख्ने

- अनावश्यक व्यक्तिलाई फर्ममा प्रवेश नगराउने

- सङ्क्रमण भएका बङ्गुरलाई छुट्याउने र अलग्गै राख्ने

- फर्म वरिपरि निसङ्क्रमण गर्ने रसायन जस्तै : त्वथपयल र रुष्वगाष्ह-क ले स्प्रे गर्ने ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन । त्यसैले, अफ्रिकन स्वाइन फिवर रोगको प्रकोप भएका देशहरूबाट जीवित बङ्गुर बङ्‌गुरको वीर्य, मासु वा अन्य बङ्‌गुरजन्य पदार्थहरू आयातमा रोक लगाउनु पर्दछ । सीमा नाकाहरूमा रहेका क्वारेनटाइन कार्यालयहरूलाई चुस्तदुरुस्त राख्नुपर्दछ ।

यो रोग फैलिन नदिन कहाँबाट कसरी फैलिरहेको छ भनेर जोखिम विश्लेषण र इपिडिमियोलोजिकल अध्ययन गर्नुपर्छ । अफ्रिकन स्वाइन फिवर नियन्त्रणमा बङ्गुरपालक किसानहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । सकेसम्म यो रोगको सङ्क्रमण हुन नदिन बङ्गुर फर्ममा अधिकतम् जैविक सुरक्षाको विधिहरू अबलम्वन गर्नुपर्दछ । समयमै रोगको निदान गर्न रोगको लक्षण देखिएका र शङ्का लागेका बङ्‌गुरहरूलाई बथानबाट छुट्टाएर राखी परीक्षणको लागि नजिकको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा नमूना पठाउनु पर्दछ ।

बङ्‌गुर पालिएको खोर वरपर नियमित सरसफाई गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन तथा बजारमा उपलब्ध निष्क्रमण रसायनको प्रयोग गर्नु पर्दछ । साथै, रोग फैलिन नदिन मरेको बङ्‌गुरलाई पशु चिकित्सकको सल्लाहमा उपयुक्त विधिद्वारा नष्ट गर्नुपर्दछ । जङ्गली बँदेल घरपालुवा बङ्‌गुरको सम्पर्कमा आएमा यो रोग सर्ने सम्भावना हुने भएकाले बङ्गुरको खोरलाई चारैतिरबाट तारबार गर्नुपर्दछ ।

नेपालको धेरै बङ्गुरपालक किसानहरूले अझै पनि होटल रेस्टुरेन्ट, बधशाला र मासु पसलबाट निस्कने फोहोर खानेकुराहरू खुवाएर बङ्‌गुरपालन गर्ने गरेका छन् । यस्ता फोहोर खानेकुराहरूमा अफ्रिकन स्वाइन फिवरको बिषाणु मिसिन सक्ने सम्भावना भएको हुँदा सडेगलेका खानेकुराहरू बङ्‌गुरलाई खुवाउनु हुँदैन । अफ्रिकन स्वाइन फिवर कुनै फर्ममा देखा परेमा बर्डफ्लू जस्तैः यथाशीघ्र फर्मलाई सिल गरी सम्पूर्ण बङ्‌गुर नष्ट गरी वातावरणलाई निसङ्क्रमण गर्नसके रोग फैलिन सक्दैन ।

Source : krishi Gyan 

सम्बन्धित विषय

थप समाचार