केराउ कोसेबाली समूहको मुख्य बाली हो । जोर पात पलाउने, कलेजी रङको फुल फुल्ने र लहरामा कोसा फल्ने फललाई केराउ भनिन्छ । विभिन्न प्रयोजनका लागि अति प्रयोग हुने भएकाले यसको खेती गर्दा अर्गानिक प्रविधि अपनाउनु अति उत्तम हुन्छ । मुख्यतयाः चक्रिय बालीको लागि केराउ खेती महत्त्वपूर्ण छ ।
यसले वायुमण्डलबाट नाइट्रोजन लिएर जरामा पठाउँछ र माटोलाई खुकुलो बनाउँछ । काउली बन्दा खेतीपछि खुर्सानी, भण्टा खेतीपछि र गोलभेँडा जस्ता तरकारी बालीहरू एकपछि अर्कोगरी एउटै जग्गामा पटकपटक लगाउँनु हुदैँन । यसबाट माटोमा अनेकौ समस्या आउँछन् । त्यस्तो अवस्थामा केराउ खेती सबभन्दा उपयुक्त मानिन्छ ।
हावापानी
यो एक प्रकारको हिउँदे बाली हो । यसको खेतीको लागि चिसो हावापानी चाहिन्छ । तापक्रम १० देखि २० डि.से. मा यसको राम्रो विकास हुन्छ । माटोको न्यूनतम् तापक्रम ३.३० डि.से.मा बिउहरू उम्रन सक्छन् । यसले तुसारो सहन सकेता पनि कोसा लाग्ने बेलामा तुसारोले नराम्रो असर पु-याउँदछ । कोसाको वृद्धिको क्रममा तापक्रम बढेमा उत्पादनमा नराम्रो असर पुग्न जान्छ । त्यसैले गर्दा चिसो र उचाई भएको ठाउँ उपयुक्त मानिन्छ ।
माटो
पानीको राम्रो निकास तथा प्रशस्त मात्रामा प्राङ्गारिक मल भएको दुमट माटो यसको खेती राम्रो हुन्छ । माटो पि.एच.५.५ –७.० राम्रो मानिन्छ ।
जातहरू
सिक्किम लोकल, आर्केल, न्यू लाइन पर्फेक्सन, बोनभिले, सिक्किम ग्रीन, आजाद आदि
बिउदर
प्रतिरोपनी ३ –४ किलो बिउ आवश्यक पर्दछ । सिक्किम लोकल मोटो र पोटिलो हुने हुनाले तीन किलो र अन्य जातमा दुई किलोले नै पुग्दछ ।
मल माटो व्यवस्थापन
एक रोपनी जग्गामा २५ डोको पाकेको कम्पोष्ट मल छ किलो डिएपी, पाँच किलो युरिया र पाँच किलो पोटास जग्गाको चारैतिर प्रयोग गरी माटोालाई दुई पटक खनजोत गर्नु पर्दछ । त्यसक्रममा डल्ला फोर्ने, माटो मा अवरोध चिजहरु हटाउने आदि गर्नु जरुरी हुन्छ ।
बेर्ना सार्ने तरीका
केराउको नर्सरी नगरिने हुनाले यसलाई सिधैँ स्थायी बारीमा रोप्नु पर्दछ । लाइनबाट लाइन ४५ से.मि. र बोटबाट बोट दूरी ४५ से.मी को दूरीमा २–३ दानाको हिसाबमा कुटो वा कुनै औजारले एक इन्च माटो मुनि पर्ने गरी रोप्दै जानु पर्छ र माटोले पुर्न पर्दछ ।
सिँचाई तथा गोडमेल
माटोमा चिस्यानको मात्रा पर्याप्त छ भने केराउ रोपेर सिंचाई गर्न आवश्यक पदैन । यदि माटोमा सुख्खा छ र सुख्खायाममा भने बीउ रोपेकै दिनमै माटो र बीउ भिज्ने गरी नै सिँचाई दिनुपर्दछ । यसको फुल खेल्ने समय र फलमा दाना लाग्ने बेलामा सिँचाई अनिवार्य हुन्छ ।
बाली संरक्षण
केराउलाई उम्रेर फूल खेल्ने समयभन्दा अगावै यसलाई थाक्रा दिनुपर्दछ । थाक्रा मात्र दिएर हुँदैन डोरीले यसलाई थाक्रामा बाँधी पनि दिनु पर्दछ ।
केराउमा लाग्ने रोगहरू
१) सेतो धुले ढुसी रोग
शुरुमा पातहरूमा केही रङ्ग बदलिएका देखिन्छन् । ती दागहरूबाट पाउडरजस्तो सेतो धुलो निस्केर पात डाँठ र कोसा पुरैलाई ढाक्दछ । रोग लागेका कोसा भण्डारणमा छिटो कुहिन्छ ।
रोकथाम : बोटहरू जलाउने/क्याराथन विषादी २ मि.लि प्रतिलिटर पानीमा मिसाई १०–१० दिनको फरकमा ३ पटकसम्म छर्ने ।
२) फ्यूजारियम ओइलाउने रोगः यो ढुसीबाट लाग्ने रोग हो । पात पहेँलो भएर बोट ओइलाउने शुरू र पुरै बोट ओइलाएर मर्दछ । फेद चिरेर हेर्दा भित्र खैरो रातो देखिन्छ ।
रोकथाम : रोगनिरोधक बेनोभिल प्रयोग गर्ने ।
३) सिन्दुरे रोग : शुरुमा पातमा सेता फोकाहरू खैरो रङ्गको भै फुटेर धुलोले पात भरिन्छ । कोसामा पनि यस्ता फोकाहरू देखिन्छन् । रोग लागेका पातहरू सुकेर चाडै मर्छ ।
रोकथाम : रोगी बोटहरू जलाई खेतबारी सफा राख्ने । यसको रोकथामका लागि निलोतुथो र चुनाको समिश्रण (१० ग्राम निलोतुथो र १० ग्राम चुना १ लिटर पानीमा घोल्ने छर्ने ।
किराहरू
गवारो : गवारो लाभ्रे किराहरू हुन् । यिनले कोसाभित्र पसेर गेडा खाने गर्दछन् । नियन्त्रणको लागि डिमेक्रन अर्थात फोलिथाइन् झोल दुई एम.एल. प्रतिलिटर पानीमा घोलेर स्प्रेयर गर्ने ।
लाहि : यो सिमी, बोडी, केराउ, तोरी बालीमा समेत लाग्ने रोग हो । यसले पात र डाँठ चुस्ने कार्य गर्दछ । यसको नियन्त्रणको लागि डाइमोथोएट अर्थात सिस्टामिक विषादी भन्ने प्रतिलिटर
पानीमा दुई एम.एल झोल बनाएर पातको डाँठको चारैतिर स्प्रे यरले स्प्रे गर्नु पर्दछ ।
झिँगा : केराउमा लाग्ने झिँगा दुई प्रकारका हुन्छन् । एउटा पातमा लाग्छ र पातभित्र सुरुङ बनाएर खान्छ । अर्को डाँठमा खान्छ । यसको नियन्त्रणको लागि सिस्टामिक विषादी रोगर र कन्टेक्ट विषादी नुभान दुबै प्रतिलिटर पानीमा दुई एम.एल का दरले घोलेर स्प्रेयरको माध्यमबाट पात र डाँठलाई भिज्ने गरी १० दिनको फरकमा दुई पटक चलाउने गर्नु पर्दछ ।