बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पिपला खेती प्रविधि र उपयोगिता

शुक्रबार, माघ ५ २०८०
11 views
पिपला खेती प्रविधि र उपयोगिता

समाचार शेयर गर्नुहोस्

Share this news

पिपला बहुवर्षिय लहरा प्रजातिको बिरुवा हो । तराईदेखि भित्री मधेसको १००० मी. उचाइसम्मका जङ्गल, खोला किनार तथा ओसिलो र सेपिलो ठाउँमा पिपला पाइन्छ । यसको लहरा भुइँमा चारैतिर फैलिनुका साथै कहिलेकाहीँ वरिपरी रहेका बोटबिरुवा पनि चढ्ने गर्दछन् ।

यसका लागि उष्ण तथा उपोष्ण हावापानी भएको चिस्यानयुक्त चुन मिसिएको माटो साथै पर्याप्त वर्षा र गर्मी हुने तर पानी नजम्ने स्थान उपयुक्त हुन्छ । यसको पात मुटु आकारका हुन्छन् । यसको भाले फुलहरू र पोथी फूलहरू अलग अलग हुन्छन् । यो प्रजातिको फूल असार महिनासम्म फुल्छ । फल पूर्णरूपले पाकेपछि कालो रङ्गको हुन्छ र कात्तिक-मंसिर महिनामा पाक्छ ।

उपयोगिता

पिपलाको बढी मात्रामा फल प्रयोग हुन्छ । साथै यसको फल, जरा पनि उपयोगी मानिन्छ । यसको फल मसलाको साथै औषधिको रूपमा प्रयोग गरिन्छ । आयुर्वेदिक उपचार पद्धतिअनुसार श्वास प्रश्वास, सर्प र बिच्छीको डसाई, रतन्धो, आउँ, जण्डिस, ज्वरो, निद्रा नलाग्ने, दाँतको दुखाई, पेटको समस्या, मृगौला, पिसाबको समस्या, रगतसम्बन्धि समस्या र अन्य विकारहरूमा पनि यसको फल प्रयोग गरिन्छ । त्यसैगरी, दादुरा, दम, अपच, खोकीमा पनि प्रयोग हुन्छ । रगतमासी, अरूचि, खोकी, पेट दुख्ने जस्ता समस्यामा यसको जरा लाभदायी मानिन्छ । त्यसैगरी पेटको कीरा, मार्न, रिंगटा लाग्दा र आलस्य निरोधमा पनि यसको प्रयोग गर्ने परम्परा छ ।

पिपलामा रहेको मुख्य रासायनिक तत्त्व

यसको फल तथा जरामा पिप्लाटिन, पिपेराइन, रसायन पाइपरलोङ्खिमिन, लाङ्खामाइट, सेसामाइन पाइन्छ । यसको फलहरूबाट ०.७ प्रतिशतसम्म सुगन्धित तेल निस्कन्छ ।

खेती गर्ने तरिका

पिपलाको खेती पानी नजम्ने, चिस्यान भएको र चुन मिसिएको मलिलो माटोमा उपयुक्त हुन्छ । साथै सेपिलो ठाउँमा पनि मिश्रित बालीको रूपमा लगाउन सकिन्छ । पिपलाको प्रसारण विधि बिउबाट पनि गर्न सकिन्छ । यद्यपि, जरासहितको काण्डको कटिङ बनाई विरूवा उत्पादन गर्न उपयुक्त मानिन्छ । मङ्सिर–पुस महिनामा दुई वा दुई आँख्ला भएको काण्डलाई टुक्रा पारेर नर्सरी ब्याडमा छड्के पारेर रोप्नु पर्दछ । यसरी राखेको ३० दिनदेखि ४५ दिन भित्रमा करिब ८० प्रतिशतले जरा हाल्दछन् ।

त्यसपछि जरालाई राम्रोसगँ छिप्पिन दिएर मात्र अन्यन्त्र लगि रोप्नुपर्छ । डाँठहरू १ देखि २ फिटसम्मको फरकमा रोप्नुपर्दछ । फागुन चैतमा ती डाँठहरूमा मुनाहरू पलाउन थाल्दछन् । असार–साउनमा ती बिरुवाहरूलाई उपयुक्त स्थानमा सार्नुपर्दछ । यी बिरुवाहरू १ मी.देखि १.५ मीको दुरीमा रोप्नुपर्दछ । यो लहरा प्रजाति भएको हुँदा रोपेको केही समयपछि थाँक्रा हाल्नुपर्दछ । बिरूवा रोपेको १८ महिनापछि नै उत्पादन लिन सकिन्छ । यो वहुवर्षिय प्रजाति भएकोले एकपटक रोपिसकेपछि ५-६ वर्षसम्म उत्पादन लिन सकिन्छ ।

सङ्कलन गरिने समय तथा विधिः

पिपलाको मुख्य काम लाग्ने भाग फल हो । यसको फल लाग्दा सोही वर्षको अन्त्यमा वा अर्को सालबाट लाग्न थाल्दछन् । यसरी पाकेका फलहरू मङ्सिर-पुस महिनामा सङ्कलन गर्न सकिन्छ । फलहरू गाढा हरिया र कालो रङ्गका हुन थालेपछि टिप्न लायक हुन्छन् । यसबेला यसको पीरोपना बढी हुन्छ र यो अवस्था महत्त्वपूर्ण मानिन्छ ।

पाकेका फलहरू टिपेर राम्ररी ४/५ दिन सम्म घाममा सुकाउनु पर्छ । यसबाट तीन वर्षसम्म फल सङ्कलन गर्न सकिन्छ । तीन वर्ष फलेपछि बोट झाङ्गिदै जान्छ र फल लाग्ने क्रम सुरु हुन्छ । त्यसकारण बिरुवाहरूको डाँठहरू तथा जरा पनि सङ्कलन गरी बिक्री गर्न सकिन्छ । जराको केही प्रतिशत भने जमिनमै छोड्नुपर्छ । त्यसपछि फल र जरालाई राम्ररी सुकाएर सुख्खा ठाउँमा भण्डारण गर्नु पर्दछ ।

बजार मूल्य र राजस्व

सङ्कलन गरिएको पिपला जिल्लाबाहिर लैजानुअघि डिभिजन वन कार्यालयबाट निकासी इजाजत लिनु पर्दछ । निकासी इजाजत लिनको राजस्व बुझाउनु पर्दछ । स्थानीयहरूका अनुसार पिपिला प्रतिकेजी ४०० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

थप समाचार