बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

राष्ट्रिय च्याउ – यार्सागुम्बा

बुधबार, जेठ ३० २०८१
12 views
राष्ट्रिय च्याउ – यार्सागुम्बा

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
च्याउ वर्ग अन्तर्गत पर्ने यार्सागुम्बालाई हामीले हजारौं वर्ष देखि हिमाली क्षेत्रको एक बहुमूल्य जडिवुटीको रुपमा चिन्दै आएका छौं । प्रख्यात आयूर्वेदविद डा. वद्रि गौतमका अनुसार आत्रेय संहितामा यार्सागुम्बालाई भूसंजिवनी भनी उल्लेख गरिएको छ, जसअनुसार सान्निपातिक बृक्क महाफिरंग अथवा मृगौला र यौन सम्बन्धि असाधारण रोगहरुको रोकथामको लागि उपयोगी भनी मानिन्छ  । किराको शरीरबाट उम्रने यस च्याउलाई हिमाली भेगको आम्ची उपचार पद्दतिमा दुर्बललाई शक्ति प्रदान गर्न, यौन शक्ति बढाउन तथा मुटुलाई स्वस्थ राँख्न प्रयोग गरिन्छ  । उपल्लो लाङटाङ क्षेत्रमा शक्तिबर्धक जडिवुटिको रुपमा पाँचऔंले, मह तथा गाईको दुधसंग खाने गरिन्छ भने याक तथा भेंडाको लागि पनि शक्तिबर्धक हुने विश्वास गरिन्छ । त्यस्तै,मनाङमा १३ थरिका जडिबुटिहरुसंग ३ वर्षसम्म लगातार यार्सागुम्बा खाएमा हात्ती जस्तो पहलमान हुने, घोडा जस्तो छरितो हुने र मयुर जस्तो सुन्दरी हुने विश्वास गरिन्छ ।

यार्सागुम्बा शब्दको उत्पत्ति यार्सागुम्बा शब्दको उत्पत्ति तिब्बती अथवा हिमाली भोटे भाषामा बोलाईने यार्चागुन्भु शब्दबाट भएको हो ।  शाब्दिक रुपमा यार् को अर्थ वर्षा, चा को अर्थ घाँस, गुण् को अर्थ हिउँद र भु को अर्थ किरा हो । अतः छोटकरीमा यार्सागुम्बालाई यार्चा  (वर्षे झार÷घाँस) अथवा बु (किरा) पनि भनिन्छ । नेपालमा यार्सागुम्बालाई ठाँउ हेरी यार्सागुम्बु, यार्सागोम्बा, यार्शागुम्बा, यार्चागुम्बा, यार्चागुम्बु, यात्र्सागुम्बु आदि नामले पनि बोलाईन्छ  । यी बाहेक नेपालको अन्य भूभागहरुमा जीवनबुटी, बुटी, जिंगनी, किरा च्याउ, किरा झार, किरा , घाँस , सरम बुटी, सरम बुटी जडि, जरा जस्ता नामहरुले पनि बोलाईन्छ ।

पश्चिमा जगतमा यार्सागुम्बाको वैज्ञानिक अध्ययनको शुरुवात करीव ३०० वर्ष अघि अध्ययन शुरु भएको पाईन्छ  । पश्चिमी संसारमा यसको जानकारी दिने श्रेय फ्रान्सेली पादरी पारेनिन लाई जान्छ जसले १७ औं शताब्दीका अन्त्य तिर चीन भ्रमणमा जाँदा यार्सागुम्बाका केहि नमुनाहरु फ्रान्स पठाएका थिए । उनको यार्सागुम्बासंगको जम्काभेटको घटना भने बडो अनौठोपूर्ण छ । जव उनी एशियाको तत्कालीन भौगोलिक, ऐतिहासिक, राजनैतिक तथा भौतिक विकासको अध्ययन गर्न चीनको भ्रमणमा निस्केका थिए, उनी नराम्रोसंग बिरामी परे । भाग्यवश, उनको भेट तत्कालीन चिनिया सम्राटका कविराजहरुसंग भयो । ती कविराजहरुले उनलाई यार्सागुम्बा दिए र हासँको मासुसंग विहान र वेलुका ८, १० दिन सम्म लगातार खाए । यसरी खानथाले पछि उनी स्वस्थ हुदैँ गए । पारेनिन आफैले यार्सागुम्बाको अनुभव गरेपछि यसका केहि नमुनाहहरु पेरिस स्थित फ्रन्सेली राजकीय विज्ञान प्रतिष्ठान  मा सन् १७२३ मा पठाए । यार्सागुम्बा अति दुर्लभ भएकोले राजपरिवारका सदस्यहरुलाई मात्र उपलब्ध गराएको कुरा कविराजहरुले पादरी पारेनिनलाई बताए । तिनै नमुनाहरुको अध्ययन गरी फ्रान्सकै प्रशिद्घ किटविज्ञ रेआमुर ले सन् १७२६ मा यार्सागुम्बाको चित्र सहित एक विस्तृत वैज्ञानिक लेख मा प्रकाशित गरे । तत् पश्चात बिभिन्न विधाका पश्चिमी विज्ञ, विद्वानहरुले यार्सागुम्बा सम्बन्धि अनगिन्ती खोजीपूर्ण लेखहरु लेखे जसले यार्सागुम्बाको प्रचारप्रसार गर्न मद्दत पु¥यायो । यार्सागुम्बाप्रति आकर्षण बढ्नुका पछि केहि कारक घटनाहरु विगत केहि दशकदेखि यार्सागुम्बाप्रति मानिसहरुको आकर्षण बढ्दै गएको पाइन्छ । यसको पछाडि प्रमुख दुई घटनाहरु छन्  । पहिलो घटना हो सन् १९९३ मा सम्पन्न भएको राष्ट्रिय चिनिया खेलकुद महोत्सव । उक्त महोत्सवमा चिनिया महिला खेलाडिहरुले दौड प्रतियोगितामा विश्वमै नयाँ कीर्तिमान राखे । पत्रकारहरुले ति खेलाडिहरुका प्रशिक्षकलाई उक्त सफलताको रहस्य वारे प्रश्न गर्दा प्रशिक्षकले आफना खेलाडिहरुलाई सक्षम बनाउन यार्सागुम्बा नियमित रुपमा सेवन गराएको तथ्य वताए । त्यस्तै, दोश्रो घटना सन् १९९४ तिरको हो जब चीनका महान् नेता देङ सिवाओ पिङलाई केहि पत्रकारहरुले वहाको दीर्घायू तथा सक्रिय जिवनको रहस्यवारे प्रश्न गर्दा उनले पनि नियमित रुपमा यार्सागुम्बा सेवन गरेको वताए । करिव ४५ वर्ष अघि उनै नेता देङ नेपाल भ्रमणमा आउँदा गोदावरी स्थित राष्ट्रिय हर्वेरियममा यार्सागुम्बाको नमुना देखेर “नेपालमा पनि यार्सागुम्बा पाइन्छ र ?” भनी प्रश्न गरेका थिए । उनले यार्सागुम्बा महँगो भएको र नेपालले व्यापार गर्न सके राम्रो आय गर्न सक्ने भनेर दिएको सुझाव हर्बेरियमका तत्कालीन वनस्पतिविज्ञ तथा काठमांडौ भ्याली कलेज, कुमारीपाटीका संस्थापक अध्यक्ष श्री पुष्पमान अमात्यज्यूलाई अझै पनि ताजा छ । 

र्याागुम्बाको वैज्ञानिक नाम के हो ?
यार्सागुम्बाको वैज्ञानिक नाम कोर्डिसेप्स साईनेन्सिस हो । यहाँ कोर्डिसेप्स जातीय नाम हो भने साईनेन्सिस प्रजातीको नाम  हो । कोर्डिसेप्स शब्दको अर्थ गोलाकार टाउको भएको लाम्चो आकारको वस्तु हो भने साईनेन्सिसको अर्थ चिनिया भन्ने बुझिन्छ । 

यार्सागुम्बा कस्ता किराबाट उम्रन्छन् ?
यार्सागुम्बा रातमा उड्ने पुतलीहरु को लार्भाबाट उम्रन्छ । ती पुतलीहरु लेपिडोप्टेरा वर्ग अन्तर्गत जातका हुन् । चिनिया वैज्ञानिकहरुले ५० देखि ६० प्रजातिका पुतलीहरुबाट यार्सागुम्बा उम्रिन्छ भनी देखाएका छन् । चिनिया वैज्ञानिकहरुका अनुसार यी पुतलीहरुको जीवन अवधि २ देखि ६ वर्षसम्म हुन्छ । ति पुतलीहरुको वयस्क अवस्था भने केहि दिनको मात्र हुन्छ जुन अवधिमा उनीहरुले अनगिन्ति फुलहरु पार्छन। केहि दिन पश्चात फुलहरुबाट लार्भा निस्कन्छन र अधिकांश समय लार्भा अवस्थामै व्यतित हुन्छ । यहि अवस्थामै यार्सागुम्बाका विजहरुले आक्रमण  गर्छन् । लार्भा अवस्थामा प्राय जमीन मुनि १० देखि २५ सेमी सम्मको गहिराईमा बस्छन् र हिमाली भेगमा पाईने विभिन्न विरुवाका जराहरु खान्छन् ।

यार्सागुम्बाको जिवन चक्र
माथि भनिए झै यार्सागुम्बा पुतलीका लार्भाबाट उम्रने एक प्रकारको च्याउ हो । साधारणतया असार–श्रावणमा यार्सागुम्बा वयस्क हुन्छ र यसको टुप्पोबाट विजहरु झर्न थाल्छन् । यार्सागुम्बाको विजले सर्वप्रथम पुतलीको लार्भालाई आक्रमण गर्छ । लार्भाको शरीर भित्र विज अंकुरण हुन्छ र पोषण तत्व सोस्न थाल्छ । तत्पश्चात लार्भा क्रमश कमजोर हुदैँ जान्छ र अन्तत्वगत्वा मर्छ । लार्भाको मृत्यु पश्चात अर्को वर्षा याममा लार्भाको टाउकोबाट यार्सागुम्बा पुनः पलाउन थाल्छ र विस्तारै जमिन बाहिर निस्कन्छ र वयस्क भएपछि पुनः विजहरु उत्पादन गर्छन् । मृत्यु भएको लार्भाको बाहिरी आवरण जस्ताको त्यस्तै हुन्छ भने भित्रीभागमा ढुसीको सेतो रेशाहरुले टम्म भरिएको हुन्छ जसलाई गुदि अर्थात इन्डोस्क्लेटोरियम भनिन्छ । अतः हामीले यार्सागुम्बाको लार्भा भाँचेर हे¥यौं भने सेतो गुदिले भरिएको देख्छौं । यार्सागुम्बाको लार्भा खायौं भने पनि स्वाद हल्का गुलियो पाउँछौं । यसको कारण भित्र भएको गुदिले गर्दा नै हो ।
भिन्न अध्ययनहरुले नेपालमा यार्सागुम्बा पुर्वदेखि पश्चिमसम्म हिमाली भेगका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपलाञ्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, म्याग्दी, बागलु¨, मनाङ, मुस्ताङ, डोल्पा, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु, दैलेख, कालीकोट, हुम्ला, बाजुरा, बझाङ, दार्चुला आदि जिल्लाहरु पाईने देखिएको छ । संकलनकर्ताहरुले तापक्रम र वर्षाको मात्रा हेरी यार्सागुम्बा कति फल्छ भनी आंकलन गर्न सक्छन् । उच्च तापक्रम र वर्षा प्रशस्त भए यार्सागुम्बा धेरै फल्छ भने तापक्रम न्युन र वर्षा थोरै भए कम फल्न सक्छ । जाडो याम पछि धेरै वर्षा अथवा हिउँ परेमा यार्सागुम्बाको उत्पादन घट्न सक्छ  । यसको विपरित जाडो याम पछि सुख्खा भएमा यार्सागुम्बाको उत्पादन बढि हुन सक्छ । यार्सागुम्बा प्रायजसो पूर्णरुपमा वयस्क हुनु भन्दा अगाडिनै जेष्ठ आधा– असार सुरुसम्म टिपिन्छ यद्यपी कहिँकहिँ वैशाख आधा देखि असार आधासम्म पनि टिप्ने गरिन्छ । यार्सागुम्बा ३००० देखि ५००० मी. को उचाइ अथवा हिमरेखा सम्म वार्षिक कम्तीमा ३५०–४०० मी.मी. औसत वर्षा हुने र ४.५ देखि ५.७ सम्म पी.एच. (अम्लिए) भएको ठाउँमा पाईन्छ  ।

यार्सागुम्बा पाईने क्षेत्र
वर्षको कम्तिमा ६ महिना हिउँले ढाकेको हुन्छ । यार्सागुम्बा जमीन मुनी २–५.५ से.मी. जति तल गडेको हुन्छ भने नरम माटोमा अझ बढि गडेको हुन्छ । सामान्यतया यार्सागुम्बा १ किलोमा ३००० देखि ३५०० गोटासम्म  हुन्छ । तर, आकार अनुसार ठुलो खालको यार्सागुम्बा एक किलौमा १६०० देखि १८०० गोटा सम्म हुन्छ । त्यस्तै मध्यमखालको यार्सागुम्बा २४०० देखि ३००० गोटा सम्म हुन्छ भने सानो खालको ४००० देखि ५००० गोटा सम्म हुन्छ  । कलिलो यार्सागुम्बालाई गाबु र छिप्पिएको अर्थात मौसमको अन्त्यतिर टिप्पिएकोलाई शारबु भनिन्छ । तिब्बती बजारमा शारबुको तुलनामा गाबुको मूल्य धेरै गुना महँगो पर्छ । तिब्बतमा यार्सागुम्बाको लार्भा ठुलो भएकोलाई बढि प्रभावकारी मानिन्छ । त्यस्तै कहिकही जमीनबाट माथी टुसाउने वित्तिकै टिपिएकोलाई बढि प्रभावकारी मानिन्छ  । उचाई हेरीकन पनि यार्सागुम्बाको गुण छुट्याउने गर्छ । ४५००–४९०० मी. उचाईमा पाईने यार्सागुम्बालाई सर्वोत्तम गुणको मानिन्छ भने ३९००–४४०० मी उचाईमा पाउनेलाई मध्यम तथा ३४००–३९०० उचाईमा पाउनेलाई कमस्तर को मानिन्छ । 

यार्सागुम्बाको संरक्षण
यार्सागुम्बाको किराले विरुवाको जरा खाने भएकोले उच्च पहाडि तथा हिमालीे क्षेत्रको × घाँस अथवा वनस्पति जगतको संरक्षण गर्नु नितान्त आवश्यक छ । वनस्पति जगतमा ह्रास  आएमा किराहरुको संख्या घट्न जान्छ जसको सिधा असर यार्सागुम्बाको उत्पादनमा पर्न जान्छ । यार्सागुम्बा टिप्दा खेरि संगै टाँसिएको झारलाइ पनि उखेलेर छोड्ने चलन छ । त्यसो गर्नाले झारपातहरुको विनाश हुन जान्छ र किराहरुको वासस्थान नष्ट हँुदै जान्छ । हामीले यार्सागुम्बा उम्रने झार हरुलाइ पहिचान गर्न सक्नु पर्छ र जन चेतना फैलाउनु पर्छ । यार्सागुम्बा टिप्दा मात्र हैन चरण क्षेत्रमा जाँदा पनि ति झारपात हरुलाइ हानी नोक्सानी पुर्याउनु हुँदैन  । त्यस्तै, यार्सागुम्बाले पुरै अवधि भरि संकलन नगरी निश्चित समय पछि टिप्न बन्द गर्नु पर्छ जसले गर्दा यार्सागुम्बाले बिजहरु प्रशस्त मात्रामा उत्पादन गर्न सकोस र वरिपरी छर्न सकोस । नेपालमा प्राय संकलन पूर्णरुपमा वयस्क हुनु भन्दँ पहिले नै गरिन्छ । विज बन्नु भन्दा पहिलेनै संकलन हुनाले यार्सागुम्बा वयस्क हुन पाउँदैन र यसको संख्यामा ह्रास आउने सम्भावना धेरै हुन्छ । उपसंहार नेपाल यार्सागुम्बा पाईने थोरै मुलुकहरुमध्ये एक हो । तथापी, हाम्रो देशमा परम्परागत तथा आधुनिक विज्ञानको आधारमा यार्सागुम्बाको जडिबुटि सम्बन्धि अनुसन्धान सम सापेक्षित हुन सकेको छैन जुन अत्यावश्यक भैसकेको छ । नेपालबाट यार्सागुम्बा कच्चा रुपमा विदेश लगी आधुनिक प्रविधिबाट व्यावसायिक उद्देश्यले उत्पादन गरी खुलम खुला विक्रवितरण गर्दापनि हामीले कुनै नीति बनाउन सकेका छैनौं । 
यार्सागुम्बालाई केवल कच्चा पदार्थको रुपमा मात्र निकासी नगरी देश भित्रनै खेती प्रविधिको विकास गरी प्रशोधन गर्न सके बढि मूल्यमा निकासी गर्न सकिन्थ्यो । यसकोलागि नेपाल सरकार, सम्बन्धित अनुसन्धान केन्द्रहरु तथा वैज्ञानिकहरुको ध्यान जानु जरुरी छ ।

सन्दर्भ सामाग्री

डा. भूषण श्रेष्ठ 
श्रेष्ठ भुषण (२०६७) यार्सागुम्बाको खेती । विज्ञान लेखमाला नास्ट मासिक पत्रिका मंसीर अंक ३५८ः४–११ श्रेष्ठ भुषण (२०६९) प्रकृतीको बरदान “यार्सागुम्बा” । विज्ञान लेखमाला
नाष्ट मासिक पत्रिका माघ अंक ३८४ः१७–२० जिवका (२०६७) डोल्पा जिल्लामा यार्सागुम्बा संकलन तथा व्यवस्थापनः
एक परिचय । जिल्ला वन कार्यालय, दुनै, डोल्पा थापा यम बहादुर, क्षेत्री राजु (२०६८) यार्सागुम्बा दिगो सङ्कलन प्रविधि सहयोगी पुस्तिका ।

थप समाचार