काँक्रो लोकप्रिय तरकारी बाली हो । तरकारीभन्दा पनि ग्रीन सलाद र काँचै खाइने भएकोले पनि काँक्रो लोकप्रिय बन्न पुगेको हो । कतिपय परिवारमा काँक्रोलाई तरकारीको रूपमा पकाएर खाने गरिएको छ । सुकुटी, खसी र कुखुराको मासुसँग पनि काँक्रो पकाएर खाने गरिन्छ ।
काँक्रोमा भिटामिन बि र सि पाइन्छ । जन्डिस र कब्जियत रोग लागेका बिरामीलाई काँक्रोको सेवनले अत्यन्तै फाइदामा पु-याउँछ । भक्तपुर लोकल जातको काँक्रोले धेरै नेपालीको आर्थिक स्थितिलाई पनि सुधारेको छ । धुलिखेल नगरपालिका वडा नं. १ स्थित पकुचा, ठकुरी गाउँ, सस्र्युखर्क भक्तपुरमा लोकल जातबाट एक रोपनीमै पाँच हजार केजीसम्म उत्पादन भएको रेकर्ड कायम गरिएको । काँक्रो खेतीको व्यापकताबाट कृषिको व्यवसायिक विकासमा ठुलो सहयोग पुगेको छ । यसैगरी काँक्रोको बियाँलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रयोग हुँदै आएको छ । समग्रमा काँक्रोको प्रयोग आयुर्वेदिक लागि उपयोग हुँदै आएको छ ।
आवश्यक हावापानी
काँक्रो खेती गर्मी याममा हुने बाली हो । यो उच्च पहाडमा खेती गर्न उपयुक्त तापक्रम पुग्न सक्दैन । तैपनि ग्रीन हाउस बनाएर पनि खेती गरिएको छ । मध्यपहाड तथा तराईमा प्रमुख बालीको रूपमा खेती गरिदैँ आएको छ । बेँसी क्षेत्रमा पनि यसको खेती गरेर मनग्ये आम्दानी लिन सकिन्छ । काँक्रोले चिसो मौसम सहन सक्दैन ।
काँक्रो खेतीको लागि २०–३० डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ । रातको तापक्रम १५ डिग्री सेल्सियसभन्दा कम भएमा काँक्रोको वृद्धि रोकिन सक्छ । मध्यपहाडमा माघबाट र बेँसी तथा तराईमा मङ्सिर पुसबाटै काँक्रोको खेती गर्न सकिन्छ ।
लगाउन सकिने जातहरू
हाल प्रविधिको विकासले गर्दा काँक्रोको पनि वर्णशङ्कर जातहरू विकसित भएका छन् । नेपालमै पनि स्थानिय जातहरू थुप्रै प्रचलनमा आएका छन् । नेपालमा खेती गरिँदै आएका जातहरूको विवरण तल दिइएको छ । जुन नेपाल सरकारले पनि सिफारिस गरेको जातहरू हुन् । जातिय विशेषतासहित जातहरूको विवरण तल दिइएको छ ।
कुशुलेः यसलाई थाँक्रा नदिइकन प्लाष्टिक टनेल भित्रै पनि खेती गर्न सकिन्छ । भक्तपुर लोकलः यो मध्यपहाडी इलाकामा अत्यन्तै राम्रो फलेको जात हो । एक रोपनीमा पाँच हजार किलोसम्म फलेको रेकर्ड रहेको छ ।
प्वाइन्ट सेटः स्थानीय जात हरियो हुन्छ ।
असारेः इलाम तथा धनकुटाको १४ सय मिटरभन्दा माथि दुई हजार मिटरसम्ममा राम्रो खेती भएको खादा अत्यन्तै राम्रो ।
वर्णशङ्कर तथा विदेशी जातहरूः जापनिज ग्रीन लङ, नेपासुली, मालिनी, प्रोग्रेसलगायत थुप्रै जातहरू प्रचलनमा आएका छन् ।
नर्सरी व्यवस्थापनः काँक्रोलाई सिधै स्थायी फिल्डमा बियाँ नैै रोपेर पनि खेती गर्न सकिन्छ । तर धेरै जग्गामा वा व्यावसायिक रूपमा गरिने काँक्रो खेतीमा नर्सरीको उचित व्यवस्थापन गर्नु पर्दछ । एक रोपनी जग्गामा काँक्रो खेतीको लागि १५ सय वटा प्लाष्टिक थैलिमा बेर्ना तयारी गर्नुपर्दछ ।
विशेषगरी माघ फागुन महिनामा रोपिने बिरुवाको नर्सरी प्लाष्टिक टनेल घरभित्र गर्नुपर्ने हुन्छ । चार इन्च गोलाइ र छ इन्चको गोलाइ र ६ इन्च लम्बाइ भएको प्लाष्टिक थैला पातलो खालको थैला जुन एक किलोमा ७ सय वटासम्म आउने हुन्छ । पातलो खालको थैला जुन एक किलोमा ७ सय वटासम्म आउने हुन्छ, त्यो थैलाको मुुनी पानी पास हुने ठाउँ अर्थात प्वाल बनाउनु पर्दछ । त्यहाँ एक भाग राम्रो मलिलो माटो, एक भाग कुहेको कम्पोष्ट मल र एक भाग बालुवा मिसाउनु पर्दछ । त्यो नर्सरी गर्नलाई मिसाइएको मिश्रणमा चार सय ग्राम डि.ए.पी. र तीन सय ग्राम पोटास पनि मिलाउनु पर्दछ । क्याप्टन १० ग्राम र मालाथायन धुलो १० ग्राम मिसाएर मिश्रण बनाई थैलामा भर्नु पर्दछ ।
त्यस्ता मिश्रणलाई राम्ररी मिसाएर पाँच इन्च जति मोटो भरेर प्रत्येक थैलामा दुइदेखि तीनवटाको दरले बिउलाई तेस्रो बनाएर लडाउनु पर्दछ । यदि तपाईलाई काँक्रो कताबाट उम्रिन्छ भन्ने थाहा छ भने ठाडो गरेर पनि रोप्न सक्नुहुन्छ । बिउ राखीसकेपछि माथिबाट एक इन्च माटोले छोप्नु पर्दछ । बिउ भरिएको थैलालाई एक मिटर चौडाई र आवश्यकताअनुसारको लम्बाई बनाएर क्रम मिलाएर राख्दै जानुपर्छ । बिचबिचमा हावा आवतजावत गर्नको लागि सानो सानो बाँसको भाटाले बार लगाउनु पर्छ ।
मिलाएर राखेको थैलालाई परालले पातालो छोपेर सिँचाइ गर्नुपर्दछ । जाडो समयमा चार–पाँच दिनमा टुसाउँछ र पराल निकाल्नु पर्दछ । त्यसरी क्रम मिलाएर राखिएको थैलाहरूलाई पारदर्शी प्लाष्टिकले गुमोज बनाएर बिरुवालाई हुर्काउनु पर्दछ । बिरुवालाई बेलाबेलामा पानी दिनको लागि प्लाष्टिक खोलेर दिनुपर्दछ । बेर्ना रोप्नुभन्दा दुई–तीन दिन अगाडिदेखि पूरै प्लाष्टिक हटाउनु पर्दछ । करिब एक महिनामा बेर्ना स्थायी फिल्डमा रोप्नलाई तयार हुन्छ ।
बिउको मात्रा
एक रोपनी खेती गर्नलाई काँक्रोको बिउ १०० ग्राम आवश्यक पर्दछ ।
मलखाद तथा माटो व्यवस्थापन
काँक्रो खेतीको लागि कम्पोष्ट मल १५०० किलो अर्थात ३० डोको पाकेको मल पाँच किलो युरिया पाँच किलो डि.ए.पि. र पाँच किलो पोटास मल आवश्यक पर्दछ । माटोको व्यवस्थापन गर्दा माटोलाई राम्रोसगँ ले खनजोत गर्ने र डयाङ बनाउनु पदैन । काँक्रोको रोप्ने दूरी लाइनबाट २०० से.मि. र बोटबाट बोट १०० से.मी. हुनुपर्दछ र त्यहीँ अनुसारकोे पोकल बनाउने एक फिट गहिरो पोकल बनाउने र त्यहाँ कम्पोष्ट मल र माथिका रासायनिक मलहरू मिलाएर मोल्ने गर्नु पर्दछ । यसरी मोलेर रोप्नाले बिरुवाले मलको सदुपयोग राम्ररी गर्न पाउँछ ।
बेर्ना सार्ने तरिका
बिरुवा रोप्ने दूरी लाइनबाट लाइन २०० से.मी. र बोटबाट बोटको दूरी १०० से.मी.मा रोप्ने हो । थैलामा तयार भएको बेर्नालाई रोप्नुभन्दा पहिला पानीले भिजाउने । त्यसरी भिजाएको थैलाबाट बिरुवाको डल्लो निस्कन्छ । त्यसरी निस्केको थैलालाई स्थायी फिल्डमा रोप्नुपर्दछ तर बिरुवाको जरा चुडिन चाहिँ हुदैन । पोकल पोकलमा रोपिने बेर्नालाई वरिपरिबाट माटोले राम्ररी थिच्नु पर्दछ । रोपिसकेपछि त्यसको जरा भिज्ने गरी पानी हाल्नुपर्दछ ।
सिँचाइ
माघ, फागुन समय भनेको सुखको समय भएकाले त्यतिबेला विरूवा रोपिकेपछि प्रत्येक बिरूवामा पानी हाल्ने गर्नु पर्दछ । काँक्रो बाली लामो दूरीमा रोपिने हुनाले यहाँ मल्चिङ प्रणाली र थोपा सिँचाइको पनि प्रयोग गर्न सकिन्छ । आकाशबाट पानी नआउने भएकाले यसलाई बेलाबेलामा पानी हालिरहनु पर्दछ ।
बाली संरक्षण
काँक्रो स्वाभाभिक रूपमै लामो लहरा भएर जाने बाली हो । त्यसैले यसलाई थाँक्रोको व्यवस्था गर्नुपर्ने हुन्छ । थाक्रोको व्यवस्था गर्दा कम्तिमा थाँक्रोको भित्र पसेर काँक्रो टिप्न सकिनेखालको थाँक्रा दिनुपर्दछ । थाँक्रो जति राम्रो भयो त्यहीअनुसार नै फल फल्ने हुन्छ । काँक्रोमा चिचिला लाग्न भने मिराकुलनलगायत अन्य सुक्ष्म तत्वहरूको पनि प्रयोग गर्न सकिन्छ । खेतबारी सधँै सफा राख्नु पर्दछ । गोडमेल गर्ने र जरालाई मजाले खेल्ने ठाँउ बनाउनुु पर्दछ । काँक्रोको फेद वरिपरी उम्रने झारपातहरू बेलाबेला उखेल्नुपर्छ । काँक्रोको जति बढी खेल्ने ठाँउ पाउँछ त्यतिकै मात्रामा फल्ने अवसर पाउँछ ।
गोेडमेल तथा ट्रप ड्रेसिङ
काँक्राको थैलामा उत्पादित बेर्ना रोपिने हुनाले यसले स्थायी फिल्डमा जरा फैलाउन र बढ्नको लागि समय लाग्ने हुन्छ । रोपेको २१ दिनपछि गोडमेल गर्नुपर्दछ । त्यो भन्दा अघि झारपातहरू आएमा उखेलेर फाल्नुपर्दछ । कान्लामा काँक्रो रोपिएको छ भने कान्लाको घाँस काट्नुपर्छ । गोडेको २०-२५ दिनपछि फेरि गोड्नु पर्छ । तर काँक्रोको झाल राम्रोसँग आइसकेको छ भने गोड्न पनि आवश्यक पर्दैन । दुइपटक प्रतिबोट २० ग्राम युरियाले रिङ आकारमा ट्रप डेसिङ गर्दा हुन्छ ।
बाली कटाई
काँक्रो त्यस्तो बाली हो । यसलाई जाति छिटो टिप्यो अरु चिचिला बढ्ने मौका मिल्छ । कुशुले जातको काँक्रो १५०-३०० ग्रामको भएपछि नै टिप्नु पर्छ भने भक्तपुर लोकल ५००-७०० ग्रामको भएपछि र अन्य काँक्रो स्थानीय जातको एक किलोदेखि दुइ किलोसम्मको भएपछि टिप्दा हुन्छ । टिप्दाखेरि अन्य चिचिला फल तथा फूलहरू धेरै नहल्हिने गरी टिप्नु पर्दछ ।
बजार व्यवस्थापन
काँक्रोको बजार व्यापक छ । मानिसले चिराको रूपमा काँचै, अचार तथा सलादको रूपमा प्रयोग गर्ने हुनाले यो लोकप्रिय पनि छ । लामो ठाउँमा बजार ढुवानी गर्दा बाँस वा निगालोबाट बनेको स्थानीय भाँडो वा हाल क्रेटको प्रयोग गर्न थालिएको छ । जे होस् यसको ढुवानी गर्दा चोट पुग्न नदिनेतर्फ चनाखो हुनुपर्छ । किनकी चोट नपुगेको काँक्रोले मात्र उचित मूल्य पाउन सक्छ ।