नेपालमा परम्परादेखी नै तितेकरेलाको खेती गरिदै आएको लोकप्रिय बाली हो । यो तितो हुने हुनाले उच्चरक्तचाप, पेटसम्बन्धि, पित्तसम्बन्धि रोग भएका व्यक्तिलाई यसको उपयोग बढी लाभकारी मानिन्छ । यसैगरी खानेकुरा रूचाउनका लागि सेवन गर्न राम्रो मानिन्छ । यसलाई चन्ना, सुकाएर पछिसम्म राखेर खाने, देश विदेशमा कोसेली बनाउने गर्न सकिन्छ ।
यसलाई उसिनेर मात्र पनि खाइन्छ भने यसको अचार पनि बनाइन्छ । सेतो लामो खालको करेला कृषक र उपभोक्ताले रोजेको हो । यद्यपि, उपभोग गर्ने हिसाबले भने हरियो खाले करेला राम्रो मानिन्छ । करेलामा क्लाल्सियम र फस्फोरसका साथै भिटामिन ए र सि पनि पाइन्छ । हप्तामा एकपटकसम्म यसको तरकारी तथा अचार खानु स्वस्थकर मानिन्छ । तर प्रत्येक छाक कुनै न कुनै रूपमा यसको प्रयोग गर्नु झन् लाभकारी मानिन्छ ।
हावापानी
करेला पनि वर्षे तरकारी बाली हो । चिसो मौसम अर्थात हिउँद याममा र उच्च पहाडमा यसको खेती गर्न सकिदैँन । छिटो वृद्धि तथा फूल खेल्ने अनि फल लाग्नका लागि २० देखि ३० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । २५ देखि ३० डिग्री सबैभन्दा उपयुक्त तापक्रम हो । सरदरमा १५ डिग्रीभन्दा कम तापक्रम भएमा यसको खेती हुँदैन ।
तराईमा भदौदेखि फागुन चैतसम्ममै यसको खेती गरिन्छ । मध्यमपहाडमा माघदेखि साउनसम्म करेला खेती गर्न सकिन्छ । पानीको राम्रो निकास भएको जग्गामा यसको खेती गर्नुपर्दछ ।
लगाउन सकिने जातहरू
ग्रामीणस्तरमा जातको नाम भन्दा पनि हरियो लामो र सेतो लामो भनेर दुई खालको जातको बडो चर्चा गरिन्छ । यद्यपि अन्य तरकारी जस्तै करेलाको पनि अनेकौ जातको विकास भएको छ । तैपनि एउटा व्यावसायिक कृषकले खेती गर्नुअघि ग्राहकले कस्ता करेला रुचाउँछन र कस्तो जातको करेला राम्रो मूल्यमा बिक्री हुन्छ भन्नेजस्ता विषय पनि ध्यान दिनुपर्दछ । यहाँ केही करेलाका जातहरू उल्लेख गरिएका छन्ः
– पुसा दोमौसमी – क्रिपर (लामो)
– क्वायम्बटर लामो – माहियो हरियो
– लङ ह्वाइट – झालारी
– लङ ग्रीन – पाली
– एन.एस.(४२४) – वर्णशकर जातहरू बजारमा उपलब्ध छन् ।
नर्सरी व्यवस्थापन
तितेकरेलको बिउको उमारशक्ति असाध्यै कम हुन्छ । अन्य बालीको तुलनामा यसको उम्रने शक्ति जम्मा ६० देखि ७० प्रतिशत मात्र हुने भएकाले त्यहीअनुसार नै बिउको तयारी गर्नुपर्दछ । करेलाको पनि काँक्रो खेतीमा जस्तै सम्पूर्ण विधि अपनाई थैलामा नर्सरी व्यवस्थापन गर्न सकिन्छ ।
बिउको मात्रा
यसको उमार शक्ति अर्थात जर्मिनेशन कम हुने भएकोले १ रोपनी जग्गाको लागि १५०–२०० ग्राम बिउको आवश्यकता पर्दछ ।
मलखाद तथा माटो व्यवस्थापन कसरी गर्ने ?
तिते करेलाको लागि पनि काँक्रोमा प्रयोग गरिने मलको मात्रा नै प्रयोग गर्ने हो । करेलाको रोप्ने दुरी लाइनबाट लाइन १५० से.मी. र बोटबाट बोटको दुरी १०० से.मी. दूरी १०० से.मी. हुनाले त्यतिको फरकमा पोकल बनाएर त्यही पोकलमा सिफारिस काँक्रोमा प्रयोग भएको मल नै राखेर मल र माटो मोलेर बिरुवा रोप्न सकिन्छ ।