परिचय गेडागुडी तरकारीहरूमध्ये तनेबोडी पनि एक महत्वपूर्ण तरकारी हो र तनेबोडीको लहरा जान्छ । यसको उत्पत्ति मध्य अमेरिकाबाट भएको मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ए, खनिज तत्वहरू कार्बोहाइड्रेट पाइने हुँदा यसको पोष्टिक महत्व बढी छ । तनेबोडीको सुकेको दाना दालका लागि र हरियो कोसा तरकारीका लागि प्रयोग गरिन्छ ।
हावापानी तथा माटोः
यो गर्मीमा हुने तरकारी भएकाले उच्च र मध्य पहाडी इलाकामा गर्मी याममा र तराईमा वर्षा र सर्दी यामबाहेक अरु समयमा यसको खेती गरिन्छ । यसको खेती सबै किसिमको माटोमा हुने भए पनि बलौंटे दोमट र चिम्टिलो दोमट माटोमा यसको खेती राम्रो हुन्छ ।
जातहरू तथा बीउ दरः खुमल तने (रातो) र सर्लाही तने (कालो), प्रमुख दुई प्रचलित जात हुन् । २ के.जी. प्रति रोपनी बीउको आवश्यकता पर्दछ ।
जग्गा तयारी, मलखाद, लगाउने समय, थाँक्रो दिनेः
- राम्ररी २/३ पटक खनजोत गरी डल्ला फोर्ने र पानी नजम्ने गरी दोमट माटोमा यसको खेती राम्रो हुन्छ ।
- २०–२५ डोको राम्ररी कुहिएको गोठे मल अथवा कम्पोस्ट मल, ४ के.जी. युरिया, ६ के.जी. डी.ए.पी. र ५ के.जी. पोटास प्रति रोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ ।
- यो पनि कोसे बाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ ।
- त्यसैले नाइट्रोजनयुक्त मलले भने टपड्रेस गरिरहनु पर्दैन ।
- यसको लगाउने समय र तरिका घिउ सिमीकै जस्तो हुन्छ ।
- तनेबोडी पनि घिउ सिमीजस्तै लहरे बाली भएकोले थाँक्रो दिनुपर्छ ।
सिंचाइ र गोडमेलः - बीउ छर्नुभन्दा पहिले राम्ररी पानी पटाउनुपर्छ र प्रशस्त चिस्यान छँदै बीउ रोप्नुपर्छ ।
- त्यसपछि आवश्यकतानुसार सिंचाइ गर्दै जानुपर्छ ।
- झारपात उम्रेपछि कुटो अथवा खुर्पीले राम्ररी खनेर गोड्नुपर्छ ।
बाली लिने, बाली संरक्षण तथा उत्पादनः - बीउ रोपेको ६०–७० दिनमा हरियो कोसा टिप्न तयार हुन्छ ।
- प्रति रोपनी सरदर २०० देखि ४०० के.जी. हरियो कोसा उत्पादन हुन्छ ।
- यसमा खासगरी लाही कीरा र लाभ्रे कीरा लाग्छ ।
- घिउ सिमीलाई जस्तै बालीको संरक्षण गर्नुपर्छ ।
स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)