बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गाजर खेती कसरी गर्ने ? सम्पूर्ण जानकारी

बिहीबार , जेठ ३१ २०८१
15 views
गाजर खेती कसरी गर्ने ? सम्पूर्ण जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय 
गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको मानिन्छ । यसको पहेंलो, सुन्तला रङ्गका जरा काँचै वा अन्य तरकारीसित मिसाई पकाउन सकिन्छ । गाजरमा प्रशस्त भिटामिनहरू हुन्छन् ।

यसलाई त भिटामिन एको प्रमुख स्रोतको रुपमा लिइन्छ । भिटामिन ए. बाहेक यसमा भिटामिन बी.सी., के.आदि पनि प्रशस्त छन् । यसबाहेक क्याल्सियम, फसफोरस, फलाम जस्ता खनिज पनि छन् ।

हावापानी 
गाजर खेतीको लागि १८ डि.से. देखि २० डि.से. सम्मको तापक्रम उपयुक्त हुन्छ । राम्रो जरा विकास २० डि.से. मा हुन्छ । अधिक तापक्रममा गाजरको जराको रङ्ग हरियो हुन थाल्दछ । कम तापक्रममा जरा ढिलो गरी बढ्छ । यस्तोमा गाजर लामो वा छोटो हुन्छ । यसको लागि नरम खुकुलो माटो आवश्यक पर्दछ । यो प्रकाश मनपराउने बिरुवा भएको हुँदा अन्य बालीको छायाँमा फस्टाउन सक्दैन ।

वानस्पतिक विवरण तथा जात पहिचान 
गाजरको बिरुवाले पहिले जरा बनाउँदछ । त्यसपछि डुकु निस्कन्छ र बीउ लाग्दछ। साना मसिना बीउ आकारमा जीराजस्ता तर झुस भएका हुन्छन् ।

बाली चक्र र लगाउने समय 
- काठमाडौं उपत्यकामा यसको खेती बाह्रै महिना गरिन्छ । यसको परम्परागत समय भने उच्च पहाडमा जेष्ठ– साउनमा रोपी साउन–असोजमा उखेलिन्छ ।

- मध्य पहाडमा यसलाई भाद्र–असोजमा लगाई मंसिर –पुसमा बाली लिइन्छ ।

- तराई क्षेत्रमा यसलाई असोज–कार्तिकमा लगाई मंसिर–माघमा उखेलिन्छ ।

gajar.jpg

जग्गा तयारी तथा मलखाद 
- गाजर खेतीको लागि जमिन गहिरो गरी खनेको हुनु आवश्यक छ । माटोको अम्लीयपना ६.५ जति हुनुपर्छ ।

- ज्यादै अम्लीय जमिनमा जरा बढ्न सक्दैन ।

- पाकेको गोबर मल वा कम्पोष्ट एक टन प्रतिरोपनी हाल्नुपर्छ गाजरमा काँचो गोबरको प्रयोगबाटे जरा विभाजित हुन्छ ।

- रासायनिक मलको हकमा ५ किलो डि.ए.पी. र २ किलो म्युरेट अफ पोटास जग्गा तयारीमा हालिन्छ ।

बीउ रोपण 
- गाजरको बीउ ढिलो गरी उम्रन्छ । यस्तो ढिलोपनलाई छोट्याउन बीउलाई पानीमा केही घण्टा भिजाएर रोपिन्छ । यसलाई राम्ररी तयार पारेको जमिनमा लाईनमा वा छरेर रोपिन्छ ।

- लाईनमा रोप्दा एक लाईनदेखि अर्को लाईनको दुरी ४५ से.मि. राखिन्छ । लाईनमा १० से.मि. को फरकमा पर्ने गरी बीउ खसालिन्छ । एक रोपनी जग्गामा २५०–३०० ग्राम बीउ लाग्दछ । माटोको उपयुक्त चिस्यानमा यो एक हप्तामा उम्रन्छ ।

गोडमेल र सिंचाई 
- गाजर उम्रेपछि गोडमेल, झारपातको नियन्त्रण र सिंचाईको प्रबन्ध गरिनु आवश्यक छ ।

- पेको बीउ सिफारिश गरिएको दुरी भन्दा बाक्लो छ भने बेडाउन अति आवश्यक छ ।

- उम्रेका बेर्नाहरू शुरुको अवस्थामा ढिलो गरी बढ्दछन् र यस अवस्थामा झारपातले छोप्नेहुँदा तिनको नियन्त्रण गर्नु आवश्यक छ ।

- गोडमेल गरेर झारपातको नियन्त्रण गरिन्छ । माटोको चिस्यान हेरी १–२ पटकसम्म सिंचाई दिनु लाभदायक छ ।

बाली संरक्षण 
- गाजरमा आक्रमण गरी हानीगर्ने कीराहरूमा लाही,पात खाने लाभ्रे आदि पर्दछन्।

- यसको नियन्त्रणको लागि घरेलु बिषादी वा नुभान छर्कन सिफारिश गरिन्छ ।

- रोगहरूमा गाजर बालीमा भाइरस रोग, जरा कहिने रोग र पातको थोप्ले रोग लाग्दछ ।

- भाइरस रोगको रोकथामको लागि त्यो रोग सार्ने कीरा (भेक्टर–लाही वा अन्य) को नियन्त्रण गर्न जरुरी छ् ।

1427085823Carrots.jpeg

बाली तयार तथा फसल उत्पादन 
जातको आकार र तयार हुने अवधि हेरी गाजरको बाली उखेलिन्छन् । यो प्रति रोपनी ६००–७०० किलोसम्म फल्छ ।

प्रशोधन, भण्डारण तथा बजार व्यवस्था 
- उखेलेर गाजर राम्ररी धोई पखाली मुठा पारी बेचिन्छन् ।

- ठूलो परिमाणमा पात काटी जराहरू काठको टोकरी वा बाकसमा बन्द गरी ढुवानी गरिन्छ ।

- गाजरलाई उपयुक्त वातावरणमा लामो अवधिसम्म सुरक्षित राख्न सकिन्छ ।

- शून्य डि.से.र ९३–९८ प्रतिशत सापेक्षिक आर्द्रतामा यो ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।

स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार

थप समाचार