गोब्रे च्याउको वैज्ञानिक नाम एगारिकस वाइस्पोरस (Agaricus bisporus) हो । यो च्याउ खेती उत्पादन र उपभोगका हिसावले सबैभन्दा महत्वपूर्ण तथा निकै लोकप्रिय मानिन्छ । विभिन्न रंग (सेतो, खैरो) को गोब्रे च्याउहरु खेती गरिदै आएको पाइन्छ ।
यो कन्ये च्याउजस्तो छाता आकारको नभई कोटको टाँक जस्तै गोलो आकारको हुनाले यसलाई बटन मसरुम (Button mushroom) भनिएको हो । यो च्याउको खेती पहाडी भेगदेखि तराइसम्म गर्न सकिन्छ । यस च्याउको खेती काठमाण्डौ उपत्यकामा धेरै गरिएको पाइन्छ ।
हाल आएर नीजि क्षेत्रका केही व्यावसायीहरुले रुपन्देहीको मधौलिया, ललितपुरको गोदावरी र अन्य स्थानमा करौडौको लगानीमा नियन्त्रित वातावरण बनाइएको पूर्वाधारमा बाह्रै महिना व्यावसायिक ढंगबाट गोबे्र च्याउको खेतीको शुरुआत भएको पाइन्छ ।
खेती प्रविधि गोब्रे च्याउ खेती अन्य च्याउको तुलनामा निकै लोकप्रिय र उत्पादनका हिसाबले सबैभन्दा बढी खेती गरिने प्रजातिमा पर्दछ । यसको खेती गर्न निम्नानुसारको ४ पाइलाहरु अपनाउनु पर्दछ :
च्याउ बीउ (Spawn) को तयारी
कम्पोष्ट मलको तयारी
बीउ (Spawn) रोपाई र केसिङ (Casing) माटोको तयारी
च्याउ बालीको व्यवस्थापन र च्याउ टिपाइ
च्याउ बीउको तयारी गोब्रे र कन्ये च्याउको बीउ बनाउने तरीकामा भिन्नता छैन । त्यसैले गोब्रे च्याउको बीउ बनाउन कन्येच्याउको बीउ वनाउने विधि अपनाउनु पर्दछ ।
कम्पोष्ट मलको तयारी गोब्रे च्याउखेतीको लागि कम्पोष्ट मल बनाउनु अति महत्वपूर्ण कदम मानिन्छ र यस च्याउको व्यावसायिक सफलता नै कम्पोष्ट तयारी गर्दाको सावधानीमा निर्भर गर्दछ । कम्पोष्ट मल लामो विधि र छोटो विधि गरी दुई तरिकाबाट बनाउन सकिन्छ ।
लामो विधि यस विधि अनुसार कम्पोष्ट मल तयार गर्न २४–२८ दिनको अवधि आवश्यक पर्दछ । आवश्यक सामग्रीहरूः
पराल/छ्बाली (Paddy/Wheat Straw) – १००० के.जी.
क्याल्सियम एमोनियम नाइटेट् (CAN) – ३० के.जी.
गहुँको चोकर (Wheat Barn) – ५० के.जी.
युरिया मल (Urea) – १० के.जी.
म्युरेट अफ पोटास मल (Murate of Potash) – १० के.जी.
सिंगल सुपर फस्फेट (SSP) – १० के.जी.
जिप्सम (Gypsum)/ चुना – ४०–५० के.जी.
यस विधि अनुसार कम्पोष्ट मल तयार गर्नको लागि निम्नानुसारको कार्य गर्नु पर्दछ :
- टुक्रा पारिएको पराललाई २ दिनसम्म पानीमा भिजाउने ।
- युरीया, सिंगल सुपर फस्फेट, म्युरेट अफ पोटास र गहुँको चोकरको मिश्रण बनाउने र १ रात बोराले ढाक्ने ।
- यो मिश्रणलाई भिजाइएको परालमा राम्रोसँग मिसाउने ।
- यसरी मिश्रण मिसाईसकेपछि १.५ मिटर उचाई र १.५ मिटर चौडाई हुनेगरी काठको फल्याक/प्लाइउडको सहायताबाट थुप्रो बनाउने र यसलाई पाँच दिनसम्म पानीले सिंचाइ गर्ने ।
- यतिबेला कम्पोष्टको थुप्रोको भित्री तापक्रम र वाहिरी तापक्रम समान रहन्छ । तेश्रो दिनपछि थुप्रोको तापक्रम बढदै गई ६५–७० डिग्री सेल्सियस पुग्दछ र मल कुहिने प्रक्रृया विस्तारै शुरु हुन थाल्दछ । थुपारिएको कम्पोष्ट बनाउने मललाई कम्तिमा पनि ७ पटक पल्टाउनु पर्दछ ।
यसरी थुप्रो लगाइएको कम्पोष्ट मललाई पल्टाउने कार्य तल तालिका बमोजिम गर्नुपर्दछ :
छोटो विधि यस तरिकामा कम्पोष्ट मल बनाउन करिव १६–१८ दिन लाग्दछ । यसको लागि मल कुहाउने कोठा (Pastaurization chamber), पंखा (Blower) र पानी उमाल्ने (Boiler) चाहिन्छ । ठुला च्याउ उत्पादक ब्यवसायीहरुले प्रायः यो विधि अपनाएको पाइन्छ । यस विधि बमोजिम कम्पोष्ट मल बनाउन बाहिरी र भित्री चरण गरी दुइ चरण पार गर्नु पर्दछ ।
नेपालका केही व्यावसायिक कृषकहरुले गोब्रे च्याउ खेतीको लागि कम्पोष्ट मल बनाउन उखुको खोइला (उखु पेलेर बाँकी बचेको धुलो), गाईबस्तुको गोबरमल र नरिवलको जटाको धुलो/कोकोपिट, गाईको पिसाब, जिप्सम र चुनाको प्रयोग गरेको पाइन्छ । यस विधि अनुसार कम्पोष्ट मल तयार गर्नको लागि निम्नानुसारको कार्य गर्नु पर्दछः
बाहिरी चरणको कार्य :
टुक्रा पारिएको पराललाई २ दिनसम्म पानीमा भिजाई कुखुराको मल र गहुँको चोकर राम्रोसँग मिसाइ पानी छर्किएर भिजाउने ।
यसलाई फल्याकको सहायताले १.५ मिटर उचाइ र १.५ मिटर चौडाइको थुप्रो बनाउने ।
थुपारिको कम्पोष्टलाई दोश्रो दिनमा पहिलो पल्टाइको कार्य गर्ने ।
चौथो दिनमा दोश्रो पल्टाइको कार्य गर्ने ।
छैंटौ दिनमा तेश्रो पल्टाइको कार्य गर्ने र यसमा जिप्सम मिसाउने।
आठौं दिन यस कम्पोष्ट मललाई भित्री चरण अन्तरगत टनेल वा च्याम्बरमा सार्ने ।
भित्री चरणको कार्य
- यस कम्पोष्ट मललाई ७ दिनसम्म टनेल/च्याम्बरमा अनुकुलका लागि राख्ने र पंखा (Blower) चलाई कोठा/च्याम्बरको तापक्रम ४५ डिग्री सेल्सियस कायम गर्ने । पछि कम्पोष्टको तापक्रम ४८–५२ डिग्री से. पु¥याउने र यो अवस्था २ दिनसम्म कायम राख्ने ।
- त्यसपछि कम्पोष्ट मलको तापक्रम ५९ डिग्री से. ६–८ घण्टासम्म कायम राख्ने ।
- यसपछि २ दिनसम्म च्याम्बरको ढोका खोली त्यहाँ भएको एमोनिया ग्याँस र तापक्रम घटाउने ।
- त्यसपछि बाहिरी हावा दिइ कम्पोष्ट मललाई चिस्याउने र च्याउको बीउ रोप्न लायक बनाउने ।
- तयारी कम्पोष्ट मलको ओस ६८–७२ प्रतिशत र यो मुठ्ठीमा लिएर चिस्यान जाँच गर्दा पानी हातमा नलाग्ने हुनुपर्दछ ।
-गुणस्तरीय कम्पोष्ट मलमा गुण यसरी दुबै विधिबाट तयार गरिएको कम्पोष्ट मलमा निम्नानुसारको गुण (Parameter) भएको हुनुपर्दछ :
खेती गर्ने समय नियन्त्रित वातावरण उपलब्ध गराइएको पूर्वाधारमा यो च्याउ बाह्रै महिना खेती गरी उत्पादन लिन सकिन्छ । तर सामान्य अवस्थामा यो च्याउ तराई तथा भित्री मधेसमा हिउँदमा मात्र र मध्यपहाड (काठमाडौं वा सो सरहको स्थान) मा वर्षको २ (दुई) पटक गोब्रे च्याउ खेती गर्न सकिन्छ जुन तल तालिकामा दिइएको छ :
च्याउ बीउ (Spawn) रोपाई र केसिङ (Casing) माटोको तयारी च्याउ बीउ रोपाइ गोब्रे च्याउ प्लाष्टिकको थैलो अथवा ब्याड बनाएर रोप्ने गरिन्छ । ब्याड बनाउँदा जग्गा प्रशस्त भए भुइमा वा जग्गाको अभाव भएमा तखता (Rack) बनाएर खेती गर्न सकिन्छ । सामन्यतः ब्याडको आकार : लम्बाई (कोठा अनुसार) ह् चौडाई (३–४ फिट) ह् उचाई (६—८ इञ्च) बनाउन सकिन्छ ।
दुई ब्याडको बीचमा एक फिट चौडाईको हिड्ने बाटो राख्नुपर्छ । एक वर्गमिटर क्षेत्रफलको ब्याडको लागि ८० कि.ग्रा. कम्पोस्ट मल आवश्यक पर्दछ । अतः एक मे.टन मलको लागि १२–१४ वर्गमिटर ठाउँ चाहिन्छ ।
ब्याड बनाउनुभन्दा १२ दिन पहिले च्याउ खेती गर्ने स्थानमा २ प्रतिशतको फर्मालिनको झोलले निर्मलीकरण गर्नुपर्छ । यसरी फर्मालिन छरेपछि झ्याल ढोका बन्द गरेर छोड्नुपर्छ ।
बीउ दर र रोप्ने तरिका च्याउ बीउ दरः २०–२५ बोतल (४०० ग्राम) प्रति मे.टन परालको कम्पोष्टको लागि । रोप्ने तरिकाः - ब्याडको १—२ इञ्च मल झिकेर ब्याडमा बीउ छर्ने । यो कार्य ब्याड बनाएको १–२ दिनपछि मलको तापक्रम २५ डि.से. र एमोनिया ग्यासको गन्ध हराएपछि बीउ रोप्नुपर्छ ।
- त्यसपछि २ प्रतिशतको फर्मालिनले उपचार गरेको कागज वा प्लाष्टिकले छोपी उक्त कागज मात्र भिज्नेगरी पानी छर्कने ।
- करिब २०–२२ दिनपछि ब्याडभरि नै ढुसी फैलिएर सेतो भएको हुन्छ । कम तापक्रम भएमा ढुसी ढिलो फैलिन्छ र बढी भएमा अरु हानिकारक ढुसी पलाउन पनि सक्दछ ।
छोप्ने माटो (Casing soil) को तयारी र यसको प्रयोग छोप्ने माटोको तयारीः - केसिङ माटो तयार गर्न बगैचा वा जंगलको माटो एक भाग र कम्पोष्ट मल एक भाग गरी राम्रोसँग मिसाउने ।
- यसलाई ४ प्रतिशतको फर्मालिनको झोलले भिजाउने र १ हप्तासम्म प्लाष्टिकले ढाक्ने ।
- केसिङ गर्ने माटोको पि.एच चेक गर्ने । यस माटोको पि.एच ७ – ७.५ हुनुपर्दछ।
- केसिङ गर्ने माटोको सट्टामा नरिबलको धुलो/कोकोपिट लाई भिजाएर यसलाई निर्मलीकरण गरेर प्रयोग गर्ने अभ्यासको थालनी भएको पाइन्छ ।
माटोले ढाक्ने तरिका - राम्रोसँग ढुसी आएको च्याउको ब्याड/प्लाष्टिक थैलामा २ अङ्गुल वा ४–५ से.मी. बाक्लो हुनेगरी केसिङको लागि तयार गरिएको माटो राख्दै हातैले हल्का थिच्दै छोप्नुपर्छ ।
- केसिङ्ग गरेको १० दिनसम्म कोठाको तापक्रम २२—२६ डि.से. राखेर ११—१२ औँ दिनदेखि कोठाको तापक्रम १४ देखि १८ डि.से.मा घटाउनु पर्छ ।
- कोठाको सापेक्षित आद्र्रता ८०—९० प्रतिशत कायम राख्नुपर्छ र हावाको सञ्चालन राम्रो हुनुपर्छ ।
- यसरी केसिङ गरेको १२–१५ दिनमा च्याउ टिप्न लायक हुन्छ । हावा छिर्ने ठाउँमा मसिना प्वाल भएको जाली राखिदिनाले हानीकारक कीराहरु भित्र छिरेर बाली नोक्सान गर्न पाउँदैन ।
- कोठाको सापेक्षित आद्र्रता बढाउनको लागि पराल वा छ्बालीको गुन्द्री बुनेर त्यसमा पानी छरेर ओस बढाउन सकिन्छ । साथै पानीमा भिजाइएका जुटका बोरा भित्ता वा आसपासका खाली ठाउँमा राखेर पनि कोठाको ओस बढाउन सकिन्छ ।
च्याउ बालीको व्यवस्थापन र च्याउ टिपाइ - च्याउ खेतीबाट अधिकतम उत्पादन लिइ राम्रो आम्दानी लिनको लागि उचित च्याउ बाली व्यवस्थापनको आवश्यकता पर्दछ । यसको लागि च्याउ उत्पादक कृषकले च्याउ खेतीका लागि आवश्यक पर्ने तापक्रम र आद्र्रता कायम गर्न सक्नु पर्दछ ।
च्याउ रोपिएको ब्याड/ प्लाष्टिक थैलामा केसिङ गरेपछि च्याउ राखिएको कोठाको तापक्रम १४ – २८ डिग्री से. र सापेक्षित आद्र्रता ७०–९० प्रतिशत कायम राख्न सक्नुपर्दछ । यसको साथै यसमा देखा पर्ने रोग तथा हानिकारक कीराहरुको उचित व्यवस्थापन गर्न सक्नुपर्दछ ।
च्याउ टिपाइ (Mushroom harvesting) च्याउका ब्याडमा केसिङ्ग गरेको १०–१५ दिनमा कनिकाजस्ता सानासाना च्याउका सेता फलहरू देखिन्छन र ४–५ दिनमा च्याउ टिप्न लायकहुन्छन । च्याउ टिप्दा माटोमा नछुटनेगरी च्याउका फेदैमा ३ वटा औंलाले समातेर दायाँबायाँ बटार्नु पर्छ ।
यसरी च्याउ टिपे पछि च्याउ टिपेको खाल्डोमा उपचार गरेको माटोले भरेपछि हल्कासँग हजारी वा स्प्रेयरले पानी दिनुपर्छ । यसरी एक पटक बनाइएको ब्याड/प्लाष्टिक थैलाबाट ७ देखि १० दिनको अन्तरालमा ३–५ महिनासम्म च्याउ टिप्न सकिन्छ ।
रोग र किराको व्यवस्थापन च्याउ खेतीमा बिभिन्न प्रकारका परजीवि ढुसी, जीवाणु (Bactria), जुका (Nematode), विषाणु (Virus) तथा झिँगा, सुलसुलेहरू, मुसाले आक्रमण गर्दछन् । अतः यी हानीकारक परजीवी, कीरा तथा रोगहरुबाट च्याउ खेतीलाई जोगाउन सक्नु पर्दछ । गोब्रे च्याउमा लाग्ने मुख्य रोग र कीराहरुको व्यवस्थापनबारे तालिका उल्लेख गरिएको छ :