बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पालुङ्गोको साग खेती गर्ने तरिका, प्रविधी र जानकारी

सोमबार, असार ४ २०८१
7 views
पालुङ्गोको साग खेती गर्ने तरिका, प्रविधी र जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
विभिन्न किसिमका सागपात तरकारीहरू मध्ये यसको महत्वपूर्ण स्थान छ । यसमा भिटामिनहरू ए.,बी., सी. र फलाम, क्याल्सियम जस्ता खनिज तत्वहरू प्रचुर मात्रामा पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणबाट पालुङ्गोको महत्वपूर्ण स्थान छ ।

हावापानी :
रायोलाई जस्तै यसलाई पनि चिसो हावापानीको आवश्यकता पर्दछ । तराई र मध्य पहाडी इलाकामा यसको खेती हिउँदमा गर्नुपर्छ । उच्च पहाडी इलाकामा भने हिउँ र तुषारो पर्ने समय बाहेक अरु समयमा यसको खेतीगर्न सकिन्छ ।

माटो :
प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटोमा यो राम्ररी फष्टाउँछ । तर अरु किसिमका माटोहरूमा पनि यसको खेतीगर्न सकिन्छ ।

जग्गा तयारी :
दुई–तीन पटक राम्ररी खनजोत गरी सिंचाई गर्दा एकनाससँग पानी पट्ने र वर्षामा पानी नजम्ने गरी जग्गा सम्याउनुपर्छ ।

मलखाद :
४०–५० डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, ४ किलो नाइट्रोजन ३ किलो फोस्फोरस र २ किलो पोटास प्रतिरोपनीका दरले जग्गा तयारीको आखिरी जोताइ गर्दा राम्ररी छरेर माटोमा मिसाउनुपर्छ ।

सागपात तरकारीको लागि नाइट्रोजनयुक्त मल बढि आवश्यक पर्ने भएकाले ३ किलो युरिया मल प्रतिरोपनीका दरले टपड्रेस गर्नुपर्छ ।

३ किलो युरियालाई ३ बराबर भागमा बाँडेर पहिलो भाग बीउ उम्रेको २०–२५ दिनमा, दोश्रो भाग ४०–५० दिनमा र अन्तिम भाग ६०–७० दिनमा टपड्रेस गर्नाले बोट लहलहाउँदो र नरम हुनुको साथै छिटो बढ्ने हुनाले उत्पादन बढि हुन्छ ।

लगाउने समय र तरिका :

उच्च पहाड

बीउ छर्ने समय - फागुन–वैशाख

बाली लिने समय- वैशाख–भाद्र

मध्य पहाड

बीउ छर्ने समय - भाद्र–माघ

बाली लिने समय- कार्तिक–वैशाख

तराई

बीउ छर्ने समय - असोज–पुस

बाली लिने समय- मंसिर–फागुन

पालुङ्गो बीउ सोझै खेतबारीमा ३–५ से.मि. गहिरो हुने गरी रोप्नुपर्छ ।

बीउ दर :
५०० ग्राम प्रतिरोपनी

रोप्ने दुरी :
हारको फरक: ३० से.मि.
बोटको फरक : ७–१० से.मि.

palungo-696x550.jpg

सिंचाई र गोडमेल :
- पहिलो पटक युरिया टपड्रेस गर्ने बेलामा बेर्नाहरू धेरै बाक्लो छ भने बेड्याउनुपर्छ ।

- युरिया टपड्रेस गर्नासाथ सिंचाई गर्न आवश्यक छ ।

- झारपात पलाउनासाथ हटाई कुटो या खुर्पीले हल्कासित गोडाइ गर्नुपर्छ ।

- माटोमा चिस्यान राख्न आवश्यकता हेरी सिंचाई गर्नुपर्छ ।

- गर्मी याममा अथवा बलौटे माटोमा छिटोछिटो सिंचाईको आवश्यकता पर्छ भने
सर्दी याम अथवा दुमट माटोमा कम सिंचाईको आवश्यकता पर्दछ ।

बाली लिने :
बीउ रोपेको १ महिनापछि यसको पात टिप्न अथवा बोट काट्न तयार हुन्छ । पहिलो कटाइपछि प्रत्येक २५–३० दिनको फरकमा २÷३ पटकसम्म काट्न हुन्छ। प्रत्येक कटाइपछि मल दिने र सिंचाई गर्नुपर्छ ।

उत्पादन :
१०००–२००० किलो हरियो साग प्रतिरोपनीउत्पादन हुन्छ ।

बाली संरक्षण :
- पालुङ्गोमा त्यति धेरै रोग र कीराहरू लाग्दैन । यसमा लाग्न सक्ने रोगहरूमा पातमा लाग्ने कालो थोप्ले रोग र सेतो ढुसी रोग हुन् ।

- कालो थोप्ले रोग रोकथाम गर्न व्लाईटक्स २ ग्राम १ लिटर पानीमा मिसाई छर्नुपर्छ ।

- सेतो ढुसी रोग रोकथाम गर्न बारी सफा गर्नुपर्छ ।

- रोग लागेका पातहरू र पहेंलिएका पातहरू हटाइदिनुपर्छ ।

- निलोतुथो र चुनको सम्मिश्रण पानीमा मिसाई छर्नुपर्छ । 

- पालुङ्गोमा त्यस्ता खास कीराहरू लाग्दैनन् ।

जातहरू :
(१) स्थानीय पालुङ्गो (पाटने पालुङ्गो)
(२) जापानी पालुङ्गो
(३) अल ग्रिन 

स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार

थप समाचार