बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

गर्ने होइन त फापर खेती ? खेती गर्ने तरिका के–कस्तो छ ?

मंगलबार, असार ५ २०८१
7 views
गर्ने होइन त फापर खेती ? खेती गर्ने तरिका के–कस्तो छ ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

नेपालमा फापर खेती प्राचिनकाल देखि गरिदैं आएको वाली हो । फापर उच्च हिमाली क्षेत्रको मुख्य वाली हो । यसलाई समुद्र सतहवाट १४,००० फिट सम्मको उचाईमा सफलता साथ खेती गर्न सकिन्छ । साथै यसको खेती मध्य पहाड, तराई र भित्री मधेश तथा वेंशीहरुमा पनि गरिन्छ ।

तराई तिर यसलाई भदैंया धान पछि लगाईन्छ भने मध्य पहाड तिर मकै भित्र यसको खेती गरिने भएकोले यसलाई घुसुवा वाली पनि भनिन्छ । नेपालमा फापर
खेती करिव ४५०० हेक्टर क्षेत्रफलमा गरिएको तथ्याङ्गक छ । यसको वैज्ञानिक नाम (Fagopyrum esculentum) हो ।

फापरको उपयोग
- खाद्य परिकार
- माहुरी पालनको लागि
- हरियो मल तथा माटोको उर्वराशक्ति वढाउन
- झार नियन्त्रण गर्न
- फापरको घाँस खुवाँउन र वस्तुलाई सोतर ओछ्याउनको लागि प्रयोग गरिन्छ ।
- फापर खेतीले वातावरणलाई रमणिय पनि वनाउँदछ ।
- जंगली जनावर चरनको लागि
- औषधीको रुपमा प्रयोग
- फापरमा रुटीन भन्ने एक रसायनिक पर्दाथ हुन्छ जस्ले रगतकोषिकालाई मजवुत गर्ने, रक्त वहने रोगलाई कम गर्न मदत गर्दछ ।
- फापरमा नायसिन, टोक्राफिनोल भन्ने पर्दाथ पाउने हुँदा मधुमेहको विरामीलाई राम्रो हुन्छ ।
- शरिरमा रगत संचार वढाउन र कोलेस्ट्रोल (चिल्लोपन) लाई घटाउँदछ ।
- तिते फापरको पिठोले व्रस गर्ने र कुल्ला गर्नाले गिजावाट रगत आउने समस्या कम गर्दछ ।
- तितो फापरको प्रयोगले अल्सरको घाँउ निको हुने, डिसेन्ट्री, कफ जम्ने, पोल्लेको घाँउको समस्यालाई कम गराउदछ ।
- तितो फापरको प्रयोगले पखाला रोकिन्छ ।
- फापर खानाले क्यान्सर विरुद्ध काम गर्दछ तथा अन्य रोग सँग लडने क्षमतामा वृद्धि गर्दछ ।

हावापानी
फापरलाई ठण्डा र वढी आद्रतायुक्त समशितोष्ण हावापानी राम्रो हुन्छ । तर वरफ जम्ने गरी ठण्डा भएमा वोट मर्दछ । यो वाली तीन चार महिनामा तयार भैसक्छ । त्यसैले हिंउ पर्ने ठांउहरुमा पनि हिंउ र तुसारो छल्ने गरी समय मिलाएर लगाएमा सफल हुन सकिन्छ ।

मिठे फापरको दांजोमा तिते फापरले बढी चिस्यान र तुषारो खप्न सक्छ । फापर खेती राम्रो हुनको लागि यसको वोट हुर्कने समयमा न्यानो मौसम र दाना लाग्ने समयमा केही चिसो भएमा पनि राम्रो हुन्छ । दाना लाग्ने वेलामा तापक्रम २० डिग्री से. भन्दा वढी भएमा फुल फुल्ने र पाक्ने क्रिया लगातार चल्ने हुंदा वाली काट्न अप्ठ्यारो पर्छ । गर्मी वढि भएमा परागसेचनमा पनि वाधा पुगी वाली विग्रन्छ ।

माटो
फापरको खेती राम्रो निकास भएको, मध्यम उर्वरक, वलौटे दुमट अथवा पांगो दुमट माटोमा विशेष राम्रो हुन्छ । यद्यपी यसको खेती सवैकिसिमको माटोमा गर्न सकिन्छ ।

यो वालीले फस्फोरस वढी ग्रहण गर्न सक्ने र अम्लिय माटोमा पनिअरु वालीले भन्दा राम्रो उत्पादन दिन सक्ने हुन्छ । नाईट्रोजन वढी भएमा यसको वोट ढल्छ । जराहरु धेरै तल नजाने भएकोले माटोमा चिस्यान कायम राख्न जरुरी हुन्छ । यो रुखो भिरालो कमसल जग्गामा पनि खेती गर्ने गरिन्छ ।

fapar-1671361780.jpg

मलखाद
फापर खेतीलाई साधारणत मलखादको आवश्यकता पर्दैन । आवश्यकता महशुश भएमा सफल खेतीको लागि ३०/३० के.जि. नाईट्रोजन र फस्फोरस प्रति हेक्टरका दरले रोप्ने समयमा माटोमा मिसाई दिएमा राम्रो हुन्छ ।

कम्पोष्ट मल राख्दा २०–३० डोका प्रति रोपनीका दरले विउ छर्नुभन्दा अगाडी राम्ररी माटोमा मिलाई दिएमा राशायनिक मलको आवश्यकता पर्दैन । बढी मल भएमा वोट ढल्छ र उव्जनीमा हास आउछ ।

रोप्ने समय
नेपालको भौगोलिक परिवेश अनुसार फापरको खेती लगाउने समय विभिन्न उचाईको लागि फरक फरक छ । ठांउ अनुसार फापर रोप्ने समय निम्नानुसार छ ।

ww.PNG

जमिनको तयारी
पहाडी क्षेत्रमा साधारणतया एक देखि तीन पटक सम्म पाटा लगाएर डल्ला फोरेर माटो वनाए पछि मसिनो विउ छरेर पुनः हल्का जोत्दै र दांदे लगाउने र कोदालीले गरेर वीउ पुरिन्छ ।

उच्च पहाडी भेगका पाखाहरुमा झारपात डढाएर सोझै वीउ छरी एकैपटक जोत्ने गरेको पनि पाईन्छ । चिस्यान कम भएमा यो तरिका ठिकै हुन्छ । तर विउ गहिराईमा पर्ने हुंदा उमार कम हुन पनि सक्छ ।

रोप्ने तरिका र वीउको मात्रा
- २५ से.मि. फरकमा वीउ रोप्दा राम्रो उत्पादन हुन्छ ।

- वलौटे माटोमा वीउ अलि केही वढी गहिराईमा र चिसो पांगो माटोमा कम गहिराईमा रोप्नु पर्दछ ।

- ४–५ से.मि. गहिरोमा रोप्ने र हल्का गरी माटोले छोपीदिनु पर्छ ।

- वीउ सरदर ३०–६० के.जि. प्रति हेक्टर लाग्ने गर्छ ।

- मिठे फापरको दाना केही ठुलो हुने हुंदा वीउ वढी लाग्छ ।

- उन्नत जातको मिठे फापरमा दाना अझ ठुलो हुने भएकोले प्रति हेक्टर ६० के.जि.सम्म लाग्छ ।

झारपात नियन्त्रण
सामान्यत फापरले झारपातलाई जित्नसक्ने भएकोले गोडमेलको चलन छैन । एकनासको उमार भएमा यसले झारपात आउन दिदैन । यो चाडो वढ्ने र चौडा पात हुनेभएकोले झारपातको समस्या कम रहन्छ ।

यसको घना वोटहरुले झारपातलाई डसी ती स्वतः हराएर जान्छन । वीउ पातलो उम्रेको ठांउ छ भने २०–२५ दिन पछि एक पटक गोडमेल गरी झारपात निकाल्नु राम्रो हुन्छ ।

सिंचाई
वारीमा लगाएको फापरलाई सामान्यत आकासे पानीले पुग्छ । तर फापरकै खेती गर्ने जग्गा उच्च पहाडी भागमा माटोको चिस्यान हेरी कम्तिमा २–३ पटक हल्का सिंचाई गरेमा उत्पादन राम्रो हुन्छ ।

जातहरु
क) मिठे फापर
यो संसारमा वढी खेती हुने फापर हो । वोट ६०–८० से.मि.सम्म अग्लो हुन्छ । पात चौडा, तिनकुने र अरु आकारको हुन्छ । माथिल्लो पातहरुको भेट्ना हुंदैन । बिरुवाको टुप्पो र छेउको हांगाहरुमा फूलको झुप्पा लाग्दछ ।

फूलहरुको रंग रातो, गुलाबी, सेतो र मिश्रीत खालको पनि हुन्छ । फूलमा स्त्रिकेशर होंचो र लामो भएको दुई प्रकारको विरुवा हुन्छ । यी दुई वीच एकअर्काको ण्परागसेचन प्रकृया भए गर्भधारण भई वीउ वन्दछ ।

वीउ तिन ण्छेउ भएको पोटिलो खालको हुन्छ । यो जातको दानाको वोक्रा पखेंटा जस्तो निस्केको हुन्छ । दानाको रंग खैरोमा थोप्लो वा धर्का परेको हुन्छ ।

ख) तिते फापर
तिते फापरको फूलमा माहुरी वा अन्य किराहरु आकर्षित हुंदैनन । यसले आफै अरु फूलहरुका परागवाट गर्भधारण गर्दछ । यसको सवै फूलहरु एकनासको हुन्छ । यसको डांठ मिठे फापरको तुलनामा वलियो पनि हुन्छ ।

मिठे फापरको तुलनामा यसको उत्पादन पनि वढि हुन्छ । बीउ केही गोलाकार र ए छेउ चुच्चो परेको वा अरु आकारको हुन्छ । यसको रंग खैरो वा कालो हुन्छ ।
हालसम्म फापरको जातहरु सिफारिश नभएको भए पनि मिठे फापरमा आइ.आर १३, सिन्सु ओसोमा, सिनानो ईचिगो, सिनानो नात्सुसोवा, जि.एफ–५२३५, आदी जातहरु राम्रा छन ।

यी फापरका जातहरु जापान, क्यानडा र रुसवाट भित्र्याई लगाईने गरिएको छ ।
नेपाली स्थानीय जातहरुमा मिठे जी.एफ.–२०९, तितेमा जि.एफ.६८, जि. एफ ४, जि.एफ.२१० आदी राम्रा भएका छन ।

वाहिरवाट ल्याईएका जातहरुमा बढी दाना लाग्ने, चाडो र एकै पटक पाक्ने, कम ढल्ने, पिठो वढी पर्ने पाईएको छ । त्यसैले जापानी र क्यानेडियन जातहरु लोकप्रिय हुने ठुलो सम्भावना छ ।

काट्ने, झार्ने र थन्क्याउने
फापर एकै चोटी पाक्दैन। सवै गेडा पाक्ने गरि काटयो भने पहिला तयार भएको दानाहरु झर्दछ । समान्यतय ६०–७० प्रतिशत गेडा साहे भएपछि काट्नु पर्दछ । गेडालाई राम्रो सँग निकालेर अरु अन्न झै थन्काएर राख्न  सकिन्छ ।

उव्जनी
फापरको उत्पादन जग्गा, मेहनत, क्षेत्र अनुसार फरक पर्दछ । सधारणतया ६००–९०० किलो ग्राम प्रति हेक्टर हुन्छ ।

स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका

थप समाचार