बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

परिचय :
स्थानीय स्रोतसाधनको प्रयोग गरी छोटो समयमा पशुजन्य प्रोटिन उत्पादन गर्न सकिने भएकाले खरायो पालन फाइदाजनक हुन्छ । यसबाट ऊन तथा मासुउत्पादन गरी आयआर्जन गर्न सकिन्छ । यसको मासु प्रोटिनको राम्रो स्रोत मानिन्छ । यो सानो क्षेत्र र स्थानीय स्रोतसाधनबाट पनि सजिलै व्यवस्थापन गर्न सकिने भएकाले घरबगैंचाको लागि उपयुक्त हुन्छ । एक वर्षमा १०– १२ पटकसम्म बच्चा जन्माउन सक्ने हुनाले खरायोपालन आयआर्जनका हिसाबले पनि महत्वपूर्ण रहेको छ । अत्यधिक प्रोटिन पाइने र धेरै कम मात्रामा फ्याट हुने खरायोको मासुका परिकारहरु मधुमेहका रोगी, मुटुरोगी, ग्यास्ट्रिक रोगीहरुको लागि समेत लाभदायक हुन्छन् । तर नेपालमा ऊन र मासुका लागि गरेर दुईवटा उद्देश्यले खरायो पाल्ने गरिएको पाईन्छ ।

खरायोका जातहरू :
१. अङोरा :  नेपालमा प्रचलित खरायोहरु मध्ये अङोरा जातको खरायो मुख्यतः ऊनका लागि पालिए पनि मासुको लागि पनि पालिन्छ । यसको ऊन नरम तथा लामो हुन्छ । यसको मासु भने अन्य जातका तुलनामा धेरै कम हुन्छ । यो जातको खरायो अलि ठन्डा ठाउँमा पाल्न सकिन्छ ।

२. क्यालिफोर्निया : मुख्यत मासुको लागि पालिने भए पनि यसका रौं तथा छाला पनि राम्रो मानिन्छ । यसलाई पहाडदेखि तराईसम्म पाल्न सकिन्छ । यो जातको खरायो निकै ठूलो तथा खँदिलो शरीर भएको हुन्छ । यस जातको रङ सेतो र घाँटी छोटो हुन्छ । तर यसका खुट्टा, थुतुनो तथा कानमा भने गाढा खैरो हुने भए पनि झट्ट हेर्दा कालो रङको देखिन्छ । औसतमा भाले पोथीको तुलनामा साना हुन्छन् अर्थात पोथी ५.४५ के. जि. को हुँदा भाले ४.९ के. जि. को हुन्छ ।

३. चिन्चिला : यो जातको खरायो खरानी रङको हुन्छ । मुख्यतः मासुको लागि पालिए तापनि यसको रौं पनि काडिन्छ । यो ३.६ देखि ४.८ के. जि. सम्मको हुन्छ । यसको पनि भालेको तुलनामा पोथी ठूलो हुन्छ । यसलाई पनि पहाडदेखि तराईसम्म पाल्न सकिन्छ । 

खोर व्यवस्थापन :
स्थानीय स्तर मै उपलब्ध स्रोतसामग्रीहरु जस्तै, बाँस, काठहरुबाट खरायोको लागि खोर बनाउन सकिन्छ । खोर बनाउँदा खरायोलाई पर्याप्त मात्रामा खेल्ने र हावा ओहोरदोहोर गर्न मिल्ने ठाउँको व्यवस्था गर्नुपर्दछ ।

दाना व्यवस्थापन :
खरायोका लागि दिइने मुख्य खाना घाँस स्थानीय स्तरमा नै पर्याप्त रुपमा पाईन्छ । आफनै घर वरिपरि उपलब्ध हुने घाँस जस्तैः दुबो, किम्बु, भट्मास घाँस, जै घाँस, सखरखण्डको लहरा, हरियो गहुँ , सिमी तथा बोडीका लहरा तथा डाले घाँस प्रजातिका घाँसहरु खुवाएर पाल्न सकिन्छ ।

आन्तरिक तथा बाह्य परिजीविको व्यवस्थापन :
खरायोमा रोग कम लाग्दछ तर निमुनियाँले भने सताउने गर्दछ । यसका लागि ओभानो घाँस तथा सोत्तर दिने गर्नुपर्दछ । पानी पनि सफा र ठिक्क मात्रामा उपलब्ध हुने व्यवस्था मिलाउनुपर्छ :
खरायोका मुख्य शत्रुजीव निम्न अनुसारका छन् : 

kharayo 1.JPG
undefined

खरायो आन्तरिक तथा बाह्य परजीवीप्रति बढी नै संवेदनशील हुने भएकाले उल्लेखित आन्तरिक तथा बाह्य परजीवीको आक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता परजीवीहरुबाट बचाउनका लागि निम्न उपायहरु अपनाउन सकिन्छ :
» खोर सधैं सफा र ओभानो राख्नुपर्दछ ।
» खरायोको बड्कुला तथा पिसाब व्यवस्थापन समयमा गर्नुपर्दछ ।
» समय समयमा खोरलाई निर्मलीकरण गर्नुपर्दछ ।
» आन्तरिक परजीवी लागेको शंङ्कालागेमा या खरायो दुब्लाँउदै गएको महसुस भएमा खरायोको बड्कुला पशु–उपचार केन्द्र या पशु प्रयोगशालामा परीक्षण गराई परजीवी अनुसारको उपचार गराउनुपर्दछ ।
» खरायो पालेका स्थानमा अन्य पशुको लसपस गर्न दिनुँहुँदैन ।
» खरायोको खोरमा चुनमा टेकेर मात्र छिर्ने व्यवस्था मिलाउँदा राम्रो हुन्छ ।
» वाह्य शिकारी जीवबाट बचाउन खोरको वरिपरि जाली लगाएर घेर्नुपर्दछ ।

स्रोत  :  घर बगैँचा व्यवस्थापन तालिम निर्देशिका , जैविक विविधता, अनुसन्धान तथा
विकासका लागि स्थानीय पहल (ली–बर्ड), पोखरा

थप समाचार