बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने मुङ्ग खेती ?

सोमबार, असार ११ २०८१
11 views
कसरी गर्ने मुङ्ग खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

बालीको परिचय
वानस्पतिक चिनारी तथा विविधता
मुङ्ग (Vigna radiata L. Wilczek) वर्षायाम तथा वसन्त ऋतुमा खेती गर्न सकिने महत्वपूर्ण कोसेबालीको रुपमा रहेको छ । मुङ्गलाई हरियो मास र सुनौलो मास पनि भनिन्छ । मुङ्गको जरामा वायुमण्डलीय नाइट्रोजन स्थिरीकरण गर्न सक्ने क्षमता भएको राइजोबियम ब्याक्टेरिया सिम्बायोटिक एसोसिएशनमा बसेको हुन्छ जसले मुङ्ग र त्यसपछिका बालीहरूलाई पनि नाइट्रोजना उपलब्ध गराउन सहयोग गर्दछ ।

मुङ्ग बालीलाई मकैसँग अन्तरबालीका रुपमा लगाउँदा झारपातको प्रकोप (२०-४५%) कम हुने रिपोर्ट गरिएको छ र फलस्वरूप, झारपात नियन्त्रणमा लाग्ने लागत कम हुन जान्छ । छोटो अवधिमा पाक्ने र फोटो-थर्मो असंवेदनशिलताको कारण मुङ्ग बालीलाई बाली सघनीकरण र विविधिकरणको लागि उत्कृष्ट बाली मानिन्छ।

मुङ्गको बीउमा २४-२८% प्रोटिन, १.०-१.५५ फ्याट, ३.५-४.५५ फाइबर, ४.५-५.५५ खरानी र ५९-६५% कार्बोहाइड्रेट र ३३४-३४४ किलो क्यालोरी हुन्छ। यसलाई उच्च गुणस्तरीय र उत्तम पाचन शक्ति भएको प्रोटिनयुक्त दालबाली मान्ने गरिन्छ । मुङ्गमा पाईने ग्लोबुलियनयुक्त प्रोटिन आम मुटु तथा मधुमेह रोगीहरुको लागि सुपाच्य हुने भएकाले मानव आहारामा यसको छुट्टै विशेषता छ ।

यसको दालबाट पापड, दालमोठ र चाउचाउ बनाउन सकिन्छ । मुङ्गलाई टुसाएर तरकारी, सलाद र क्वाटी बनाएर खाने प्रचलन रहेको छ । नेपालमा ८२६५.५ हेक्टर क्षेत्रफलमा मुङ्गको खेती भई १०४६८.१ मे.ट. उत्पादन भएको देखिन्छ ।

यसको औसत उत्पादकत्व १.२६ मे.ट. प्रति हेक्टर रहेको छ । मुङ्गले कुल दालबालीको २.४५ क्षेत्रफल तथा ३.३५ उत्पादनमा हिस्सा राख्दछ । नेपालको तराई, तल्लो पहाड र मध्य पहाड क्षेत्रको हावापानी मुङ्ग खेतीको लागि अनुकूल छ ।

कोसा टिपिसकेपछि मुङ्ग बालीलाई हरियो मल या पशु आहारको रुपमा प्रयोग गर्न सकिन्छ । मुङ्गबालीले औसतमा ६३ देखि ३४२ के.जी. नाइट्रोजन प्रति वर्ष प्रति हेक्टर स्थिरीकरण गर्न सक्दछ ।

मुङ्ग खेती बाट हुने आर्थिक, वातावरणीय तथा मानव स्वास्थको दृष्टिले फाईदै फाईदा हुने भएकोले कृषकहरुको आकर्षण बढ्दो छ । मधेश प्रदेश, लुम्विनी प्रदेश तथा सुदूर पश्चिम प्रदेशमा यस खेतीको विस्तार तथा प्रबर्द्धन हुँदै आएको पाइन्छ ।

महत्व
- मुङ्गमा पाइने ग्लोविनयुक्त प्रोटिन विरामीहरुको लागि सुपाच्य हुने भएकोले मानव आहारमा यसको छुट्टै विशेषता रहेको छ । मुटु तथा मधुमेह रोगीहरुले यसलाई खाँदा राम्रो फाईदा पुऱ्याउँछ ।

- पौष्टिकताको हिसाबले मुङ्ग दालमा २४.५ प्रतिशत प्रोटिन, ५६.७५ प्रतिशत कार्बोहाड्रेट, १५ प्रतिशत चिल्लो पदार्थ र ३.५५ प्रतिशत खनिज पदार्थहरु (फलाम ४ मि.ग्रा. प्रति १०० ग्राम दाना, क्याल्सियम ७५ मि.ग्रा. प्रति १०० ग्राम दाना) पाइन्छ।

- बालवालिकाको वृद्धि विकासको लागि नभई नहुने क्याल्सियम प्रत्येक १०० ग्राम मुङ्गको दालमा ७५ मि.ग्राम पाईन्छ ।

- मुङ्गवालीले हावामा भएको नाइट्रोजनलाई माटोमा स्थिरीकरण गर्ने भएकोले माटोको उर्वराशक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले बाली विविधिकरणमा सहयोग पुगेको पाइन्छ ।

- मुङ्गको दालमा उच्च स्तरको एण्टिअक्सिडेन्ट भाईटेक्सिन तथा आईसो भाईटेक्सिन लगायत प्रशस्त मात्रामा सुपाच्य प्रोटिनहरुको उपलब्धताले रोग प्रतिरोधात्मक क्षमता बढाई दिर्घ रोगी तथा अहिलेको कोभिड १९ महामारीबाट बच्न मद्दत पुग्ने देखिन्छ ।

- मुङ्ग उपभोग गर्दा खराब एल.डी.एल. कोलेष्ट्रोलको मात्रालाई घटाई हृदय रोगबाट हुने जोखिम समेत कम गराउन सहयोग गर्दछ ।

- मुङ्गमा पोटासियम, म्याग्नेसियम तथा फाइबरको मात्रा प्रशस्त पाईने भएकोले रक्तचाप घटाउनुको साथै पाचन प्रणालीमा मद्दत गर्दछ ।

- मुङ्ग उपभोग गर्दा पूर्णता हार्मोनको वृद्धिले भोक हराउने हुँदा वजन घटाउन तथा मोटाई कम गर्न सहयोग पुऱ्याउँछ ।

- मुङ्गमा फोलेट नामक भिटामिन बी-९ पाईने भएकोले गर्भवती महिलाहरुको स्वास्थलाई सबल राख मद्दत पुग्दछ ।

- बहुउपयोगी विशेषताले गर्दा संसारभरी नै मुङ्ग लोकप्रिय बन्न पुगेको छ। नेपालमा मुङ्गको बजार मूल्य सधैं उच्च र स्थिर रहेको पाइन्छ ।

- नेपाल विश्व व्यापार संगठनमा आबद्ध भए पश्चात मुङ्गको आन्तरिक तथा वैदेशिक बजारको संभाव्यता निकै फराकिलो भएको देखिन्छ ।

- यो बालीको जरामा नाईट्रोजन स्थिरीकरण गर्ने जीवाणु रहने भएकाले मुङ्ग लगाएको जग्गामा मलिलोपना बढ्दछ ।

- २ देखि ३ पटक कोसा टिपिसकेपछि बाँकी बोटलाई हरियो मलको रुपमा माटोमा जोतिदिनाले १५ देखि २० प्रतिशत धानको उब्जनी बढेको रेकर्ड छ ।

मुङ्ग खेती प्रविधि
हावापानी र माटो
- मुङ्ग न्यानो हावापानी रुचाउने दलहन बाली हो । बाली अवधिभर मुङ्गलाई तुषारो रहित न्यानो मौसम (२५ देखि ३५ डिग्री से.) आवश्यक हुन्छ ।

- वसन्त ऋतुमा फूल फूल्ने देखि दाना पोटिलो हुने अवस्थामा १ देखि २ सिंचाई दिन सकेको खण्डमा उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

- वर्षा र सापेक्षित आद्रता बढि भएमा रोगरकीराको संक्रमण बढ्ने र बाली ढिलो पाक्ने समस्या रहन्छ भने मुङ्ग बालीलाई समुचित जल निकास भएको मलिलो दोमट खालको ६.५-७.५ पी.एच. भएको माटो उपयुक्त हुन्छ ।

मुङ्गका सिफारिस जातहरु र जातीय विशेषताहरु
जलवायु, हावापानी तथा भौगोलिक वातावरणको आधारमा विभिन्न क्षेत्रको लागि उपयुक्त हुने मुङ्गका विभिन्न जातहरु सिफारिस गरिएको छ।

निश्चित जात छनौट गरी सिफारिस गरिएका क्षेत्रमा लगाउँदा मुङ्ग खेती गर्ने कृषकहरुले मनग्य उत्पादन लिन सक्छन् ।

बीउ प्राप्त गर्ने भरपर्दो श्रोत कोसेबाली अनुसन्धान कार्यक्रम, खजुरा, बाँके, कृषि अनुसन्धान फार्मरकेन्द्र तथा बीउ कम्पनीहरू आदि हुन् ।

448989471_378857011871371_4566043981904974067_n.jpg

बाली चक्र र खेती प्रणाली
यो बाली पाक्ने अवधि छोटो हुने भएकोले बहुबाली र अन्तर बालीको रुपमा खेती गर्न सकिन्छ । नेपालमा धान गहुँ-मुङ्ग बाली प्रणाली प्रचलित छ, जसमा मुङ्गलाई वसन्त ऋतुमा छिटै पाक्ने बाली (७५ दिन) को रुपमा प्रयोग गरिन्छ ।

मुङ्गलाई रहर, मकै र कपाससँग मिश्रित बालीको रुपमा बर्खे मौसममा लगाउन सकिन्छ । यस्तै वसन्त ऋतुमा उखु बालीसँग अन्तर बालीको रुपमा पनि लगाउन सकिन्छ । महत्वपूर्ण बाली प्रणालीहरु निम्नानुसार छन् ।

धान - गहुँ - मुङ्ग
धान - हिउँदे बाली र तरकारी बाली- मुङ्ग 
धान - खाली - मुङ्ग
मकै - मुङ्ग 
मकै - गहुँ - मुङ्ग
मकै - आलु - मुङ्ग

जमिनको तयारी
मुङ्ग बालीको लागि साधारणतया मकै लगाउने जग्गा तयारी गरे जस्तै गरिन्छ। यसको लागि जमिनलाई गोरुले तान्ने हलो वा ट्याक्टरले १५ देखि ३० से.मी. गहिरो गरि जमिन २ देखि ३ पटक जोत्नु पर्दछ ।

अन्तिम जोताई पछि राम्रोसँग डल्ला फोरी पाटा लगाई सम्याउनु पर्दछ । माटोमा उपयुक्त मात्रामा चिस्यान नभएमा जग्गालाई हल्का सिंचाई गरी जोत्ने र पाटा लगाउनु पर्दछ ।

बाली लगाउने समय
तराई र भित्री मधेस
धानमा आधारित बाली प्रणालीः मुङ्गको खेती धान पछिका हिउँदे बालीहरु भित्र्याई सकेपछि मात्र लगाउने गरिन्छ । त्यसैले फागुनको दोस्रो हप्तादेखि वैशाखको पहिलो हप्तासम्म मुङ्ग बाली लगाउन सकिन्छ ।

मध्य पहाड
मकैमा आधारित बाली प्रणालीः मकै बाली लिएपछि लगत्तै मुङ्ग बाली लगाउनु पर्छ । तसर्थ वैशाखको पहिलो हप्ता देखि भदौको पहिलो हप्ता सम्ममा एकल वा मकैसँग मिश्रित बालीको रुपमा मुङ्ग बाली लगाउन सकिन्छ । यस बाहेक मुङ्गलाई धानको आलीमा र फलफूलको बगैंचा भित्र घुसुवा बालीको रुपमा लगाउन सकिन्छ ।

बीउको दर, रोप्ने तरिका र बीउ उपचार (सुक्ष्मजीव उपचार)
मुङ्गको जात, जग्गाको मलिलोपना, उमारशक्ति र बाली लगाउने मौसम अनुसार वर्षायाममा २० किलो प्रति हे। र वसन्त ऋतुमा २५ देखि ३० किलो ग्रा।प्रति हेक्टर बीउ आवश्यक पर्दछ । तर मिश्रित अन्तरबालीको रुपमा लगाउँदा यो भन्दा थोरै बीउ १५ के.जी. प्रति हेक्टरको दरले भएपनि पुग्छ ।

वर्षायाममा लाइनमा मुङ्ग रोपेको खण्डमा एक हार देखि अर्का हारको दुरी ४०-४५ से.मी. र एक बोट देखि अर्को बोटको दुरी ५-१० से.मी. राखु पर्दछ । वसन्तयाममा लाइनमा मुङ्ग रोपेको खण्डमा एक हार देखि अर्को हारको दुरी ३० से.मी. र एक बोट देखि अर्को बोटको दुरी ५-१० से.मी. राखु पर्दछ ।

बीउ छर्नुभन्दा अगाडि ढुसीनाशक विषादी बेभिस्टिन (५०%) द्वारा २ ग्राम प्रति के.जी. बीउको दरले राम्ररी मोलेर बीउ उपचार गर्नु पर्दछ ।

जैविक मल (राइजोवियम) ले बीउ उपचार गर्दा ५ ग्राम प्रति के.जी. का दरले बीउमा मोलेर उपचार गर्नुपर्दछ । रासायनिक विषादीले बीउ उपचार गर्नु परेमा जैविक मलले बीउ उपचार गर्नु भन्दा १०-१५ दिन अघि नै बीउ उपचार गरी सक्न पर्दछ ।

सिंचाई
वर्षे मुङ्ग खेती गर्दा कुनै सिंचाईको आवश्यकता पर्दैन । तर वसन्ते मुङ्ग खेती गर्दा सिंचाईको आवश्यकता पर्दछ । यसको लागि माटोमा पर्याप्त चिस्यान नभएमा सिंचाईको सुविधा भएका ठाउँहरुमा बीउ रोप्नुअघि पहिलो वा उम्रेको १५ देखि २० दिन पछि पहिलो सिंचाई र फूल फुल्ने बेलामा दोस्रो सिंचाई दिनु पर्दछ । कोसा लागि सकेपछि सिंचाई बन्द गरि दिनु पर्दछ जसले गर्दा एकनासले बाली पाक्न मद्दत गर्दछ।

मलखाद व्यवस्थापन (रासायनिक, जैविक)
मुङ्ग खेतीको लागि मुङ्ग रोप्नु भन्दा १०-१५ दिन अगाडि १० टन गोठेमल प्रति हेक्टर माटोमा राम्ररी मिलाउनु पर्दछ र रासायनिक मल २०:४०:२० के. जी. नाइट्रोजनः फस्फोरसःपोटास प्रति हेक्टरको दरले जग्गा तयारीको समयमा राखुपर्छ ।

साथै उक्त मात्रा परिपुर्ति गर्न ४.७ के.जी. डीएपी, २ के. जी. पोटास तथा ४५० ग्राम युरिया प्रति रोपनीको दरले अन्तिम जोताइको बेला माटोमा राम्ररी मिलाउनु पर्दछ । पानी जम्ने अवस्था देखिएमा निकासको व्यवस्था मिलाउनु पर्दछ ।

बाली पहेंलिएर गए वा राम्ररी नसप्रेको खण्डमा गाई वस्तुको गहुँतमा ४ गुना पानी थपेर एक हप्ताको फरकमा ३ देखि ४ पटक बालीमा छर्केमा बाली उत्पादन वृद्धि हुन्छ । फूल फुल्ने अघि नाईट्रोजन तत्वको कमी भई बोट पहेंलो भएमा २० ग्राम युरिया मल प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ ।

बाली पाक्ने र भित्र्याउने समय तथा भण्डारण
मुङ्ग पाक्ने बेलामा कोसाहरु कालो अथवा खैरो रंगको भएपछि टिप्दै जानु पर्दछ । धेरै लामो समयसम्म पाकेका कोसाहरु बोटमै रहेमा कोसाहरु फुटेर दाना भुईंमा झर्दछन् ।

यस्तो नोक्सानीबाट जोगाउन मुङ्गको पाकेको कोसालाई २-३ पटक टिप्नु पर्दछ । टिपेको कोसालाई राम्रोसित घाममा सुकाई लठ्ठीले चुटाई गरि दानालाई सफा गर्नु पर्दछ ।

बीउ वा दानाहरु सफा गरी ३ देखि ४ दिनसम्म घाममा सुकाई भण्डार गर्नु पर्दछ । भण्डारण गर्दा बीउको चिस्यान ९ प्रतिशत हुनु पर्दछ । साथै प्रति २ क्विन्टल बीउमा १ चक्की सेल्फोस कपडाको टालोमा पोको पारी ३० से.मी. गहिरो बीउ भित्र राखु जरुरी छ ।

बीउलाई स्टील विन, टिन क्यान, बाँसको भकारी वा डालो, पोलिथिन ब्याग वा जुटको बोरामा ८-१० प्रतिशत चिस्यान कायम हुने गरी राखी भण्डारण गर्नु पर्दछ ।

वातानुकुलित (air conditioned)  घरमा भण्डारण गर्नु पर्दा तापक्रम १०-२० डिग्री सेल्सियस र सापेक्षिक आद्रता ६० प्रतिशत भन्दा कम हुनु पर्दछ ।

बीउ भण्डारण
- बीउलाई राम्ररी सुकाएर ९ प्रतिशत चिस्यानमा भण्डारण गर्नुपर्छ । ५ देखि १० डिग्री से. तापक्रममा अन्न भण्डारण गरेमा कीरा ढुसीबाट सुरक्षित राख सकिन्छ ।

- बीउ भण्डारण गर्दा गारो वा भुईंको चिसोबाट बचाउन जमिनको सतहबाट ४ इन्च उठाई फलेकमा राखु पर्छ ।

- नँया बीउलाई पुरानो बीउसँग मिसाउनु हुन्न ।

- भण्डारण गर्नु अघि भण्डारण कोठा सफा राखु पर्छ ।

- भण्डारण गर्नु अघि मालाथायन ५० इ.सी. को ५ प्रतिशतको झोल बनाई भण्डार कोठाको भित्ता तथा भुईंमा छर्नु पर्दछ ।

- विषादी छरेको भाँडा ओभानो भएपछि मात्र बीउ भण्डारण गर्नु पर्दछ ।

- सेल्फस वा क्विलफस मध्ये कुनै विषादी २ गोली प्रति मे.टन बीउमा कपडा टालामा पोको पारी राखु पर्दछ ।

उत्पादन
उन्नत प्रविधि र जात प्रयोग गरी राम्ररी व्यवस्थापन गर्दा १.२ देखि १.५ टन प्रति हेक्टर उत्पादन गर्न सकिन्छ । विभिन्न हावापानीमा परिक्षण गर्दा जातहरु एस.एम.एल ६६८, पन्त मुङ्ग-५, अनु जातहरुले राम्रो उत्पादन दिने पाईएको थियो जसको पाक्ने दिन ६८ र औसत उत्पादन १४०० के.जी. प्रति हेक्टर रहेको छ ।

स्रोत: बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर

थप समाचार