बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने दुधे चिनो खेती ?

शुक्रबार, असार १५ २०८१
8 views
कसरी गर्ने दुधे चिनो खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

 परिचय
नेपालको उच्च पहाडी भेगमा परापूर्व कालदेखि नै चिनोबालीको खेती हुँदै आएको पाइन्छ । सामान्यतया चिनोकै नामले चिनिने यो बालीको बोट धानको जस्तो र दाना कोदोको जस्तो हुने हुनाले कतै–कतै यसलाई धान कोदो पनि भन्ने चलन छ ।

विशेष गरी कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा खाद्यान्न बालीका रुपमा खेती गरिंदै आएको यस बालीको वानस्पतिक नाम Panicum milliaceum हो र यो बाली Poaceae परिवार अन्तर्गत पर्दछ । कर्णाली क्षेत्रका जिल्लाहरु बाहेक, ओखलढुङ्गा, धादिङ, बाजुरा र बझाङमा पनि चिनो खेती गरिन्छ ।

कुनै बेला कर्णाली क्षेत्रको खाद्य सुरक्षामा प्रमुख योगदान पु¥याउने यस बालीको हाल आएर सीमित रुपमा मात्र खेती र उपयोग गर्ने गरेको पाइन्छ । चिनो कुट्न गाह्रो हुने
र यसको भात चामलको जस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता घट्दै गएको स्थानीयहरुको भनाई छ ।

साथै, स्थानीयहरुको अन्य आयातित खाद्यान्नमा पहुँच बढेसँगै यसको महत्व कम हुँदै गएको अवस्था छ । औपचारिक क्षेत्रबाट न्यून अध्ययन–अनुसन्धान र प्रोत्साहनका कारण पनि चिनो बालीको समुचित प्रयोग र खेती हुन सकेको छैन भने कतिपय जातहरु लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।

हाल आएर स्थानीय तथा प्राङ्गारिक कृषि उत्पादनहरुको उपयोगिता बढेसँगै, सहरी क्षेत्रहरुमा चिनोको चामलको माग बढदै गएको पाइन्छ । कर्णाली क्षेत्रहरुमा उत्पादन हुने चिनोबालीलाई सङ्कलन तथा प्रशोधन गरी बजारसम्म जोड्न सके यसको व्यावसायिक खेतीको सम्भावना देखिन्छ । यसको उपयोगिता बढेसंगै स्थानीय कृषकहरुको आम्दानीमा वृद्धिका साथै जैविक स्रोतको यथास्थानीय संरक्षण पनि हुने निश्चित छ ।

हुम्ला जिल्लामा खेती गरिने चिनोका विभिन्न जातहरुमा कप्ताडे, हाडे, कालो, दुधे, रातो आदि पर्दछन् । यसको खेती समुद्री सतहबाट २००० मिटरदेखि २६०० मिटरसम्म गर्न सकिन्छ र विशेष गरी दाना उत्पादनका लागि यो जात निकै राम्रो मानिन्छ ।

दुधे चिनोको दाना सेतो हुने र छोटो समयमा नै पाक्ने भएकाले अन्य जातहरुभन्दा यस जातको खेती बढी मात्रामा गरेको पाइन्छ । सामान्यतया भात, खीर र रोटीका परिकारका रुपमा प्रयोग गरिने यस जातमा अन्य जातहरुमा भन्दा बढी फल्ने, सुख्खा तथा रोगकीरा सहने जस्ता जातीय गुणहरु पाइन्छन् ।

दुधे चिनोको पराल अन्य चिनोका जातहरुको भन्दा अग्लो र पशुहरुले मनपराउने हुनाले पशुपालनका लागि पनि उपयोगी मानिन्छ ।

यति धेरै उपयोगिता हुँदाहुँदै पनि लोपोउन्मुख अवस्थामा रहेको यस दुधे चिनोलाई जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र बायोभर्सिटी इन्टरनेशनलको सहयोग र सहकार्यमा सञ्चालित स्थानीय बाली परियोजनाले यो बालीको अनुसन्धान, संरक्षण एवम् प्रवर्धनका कार्यहरु अगाडि बढाएको देखिएको छ ।

त्यसैले अन्य जातहरुभन्दा उत्कृष्ट र लोकप्रिय दुधे चिनोको बीउविजन गुणस्तर नियन्त्रण केन्द्रमा जात दर्ता प्रक्रिया समेत अगाडि बढाइसकिएको छ ।

हावापानी
उच्च पहाडी क्षेत्रमा खेती गरिने चिनोको यो जातले पारिलो जमिन रुचाउँदछ भने चिस्यान बढी भएको, छायादार वा ओसिलो जमिनमा त्यत्ति उपयुक्त हुँदैन ।

विशेष गरी पाखो बारी र कम खनजोत गरिने जमिनमा पनि दुधे चिनोको खेती उपयुक्त हुन्छ । जेठ १५ देखि असार महिनाको १५ सम्ममा लगाएर चिनोको बाली असोजको तेस्रो हप्ताभित्र तयार भई भित्राइसकिन्छ ।

समग्रमा चिनो खेतीका लागि औसत दैनिक न्यूनतम तापक्रम ८ देखि १) डिग्री सेल्सियस उपयुक्त मानिन्छ ।

107786912_157474615862405_2126327825562684977_n.jpg

बीउदर तथा रोप्ने तरीका
- प्राकृतिक रुपले नै चिनोको दाना कडा हुने भएकाले रोप्नुअघि बीउलाई एक रात पानीमा भिजाउनु उपयुक्त हुन्छ ।

- भिजेको बीउको उमारदर धेरै हुने र माटाको चिस्यान कम भएपनि बीउ सजिलै उम्रन्छ ।

- साना दाना हुने चिनोबालीका सबै जातहरुको परम्परागत हिसाबमा छरुवा तरिकाले खेती गरिन्छ जसको बीउदर १० देखि १२ के.जी. प्रतिहेक्टर उपयुक्त हुन्छ ।

- यदि हार मिलाई खेती गर्ने हो भने प्रतिहेक्टर ८ देखि १० के.जी. बीउ आवश्यक हुन्छ जसमा बीउदेखि बीउको दूरी १० सेन्टिमिटर र एक हारदेखि अर्को हारको दूरी २५ सेन्टिमिटर उपयुक्त हुन्छ ।

- जमिनमा बीउ ३ देखि ४ सेन्टिमिटरसम्मको गहिराइमा रोपेमा चिस्यानको समस्या नहुने र चराबाट पनि कम क्षति हुन्छ ।

माटो र जमिनको तयारी
- दुधे लगाएत अन्य चिनोका जातहरु उच्च पहाडी क्षेत्रका सबै किसिमका माटामा खेती गर्न सकिन्छ ।

- बिशेष गरी दोमट र बलौटे दोमट माटो र प्राङ्गारिक पदार्थ प्रशस्त भएको जमिन
चिनोखेतीका लागि उपयुक्त हुन्छ । यसको खेती पी.एच. मान ४.४ देखि ७.५ सम्मका
जमिनमा गर्न सकिन्छ ।

- चिनोखेतीका लागि जमिन २–३ पटक राम्रोसँग खनजोत गर्नुपर्छ ।

- पहिलो पटक जोत्दा राम्रोसँग बाँझो फुटाउने र दोस्रो जोताइमा ५–१० डोको प्रतिरोपनीका दरले कम्पोस्ट वा गाई भैंसीको मल मिलाई अन्तिम जोताइमा बीउ छर्न र रोप्न सकिन्छ ।

- चिनो बालीले सुख्खा रुचाउने हुनाले जमिनमा पानी नजम्ने गरी कुलो कटाउनु पर्दछ।

 कटानी–चुटानी
- बोटमै चिनोका दानाहरु कडा र चमकदार भई पातहरु पहेंला एवम् खैरा देखिन थालेपछि बाली पाकेको बुझ्नुपर्दछ ।

- क्रमैसँगले पहेंला भइसकेका बालाहरु मात्र छनौट गर्दै हँसियाको सहायताले टिप्ने र खलामा सुकाउने गर्दै गर्नुपर्दछ ।

- बाला टिप्ने र काट्ने काम सकिएपछि पराल काट्ने र सुकाउने काम गरिन्छ ।

- चिनोको पराललाई पशुको आहारका रुपमा प्रयोग गर्न सकिन्छ ।

- परम्परागत तरिकाबाट सुकेका बालाहरुलाई लौराले ठटाई चुट्न सकिन्छ र चुटिसकेका दानाहरुको चिस्यानको मात्रा १२–१४% हुने गरी वा दाना टोक्दा कुटुक्क आवाज आउने गरी सुकाएर मात्र भण्डारण गर्नुपर्दछ ।

- चिनोको दाना चराहरुले निकै मनपराउने हुनाले पाक्ने समयमा विशेष ध्यान पु¥याउनु पर्दछ ।

- चिनो बारीमा रंगिन कपडा वा झण्डा राखी चरा तर्साउने बन्दोबस्त मिलाउनु पर्दछ ।

स्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी

थप समाचार