रेन्बोट्राउटको बर्गिकरण अनुसार Class: Actinopterygii, Order: Salmoniformes, Family: Salmonidae, Genus: Oncorhynchus / Species mykiss मा पर्दछ । रेन्बोट्राउट चिसो, सफा र धेरै अक्सिजन भएको पानीमा फस्टाउने मांसहारी माछा हो । यस माछाको उद्गम स्थल उत्तर
अमेरीकालाई मानिन्छ । Johann Julius Walbaum ले सन् १७९२ मा रेन्बोट्राउट माछाको बैज्ञानिक नाम Oncorhynchus mykiss भनेर नामकरण गरेका हुन ।
रेन्बोट्राउट माछाको मासु उच्च गुणस्तरको भएको हुनाले सन् १८५३ देखिनै अमेरीका तथा युरोपमा व्यवसायिक तरिकाले सफलतापूर्बक यसको खेती गर्न थालिएको हो । यो माछा क्यालिफोर्निया र अलास्का हुँदै १९ औं शताब्दीको शुरुमा एशिया तथा युरोपमा फैलिएको हो । रेन्बोट्राउट पेसीफिक साल्मोन फेमिलीमा पर्दछ ।
रेन्बोट्राउट माछा धेरै किसीमका छन् र ६ महादेशहरु (continents) मा चिसो पानीका खोला, नदी तथा तालहरुमा पाईन्छ । यो माछाको सुन्दर रंग तथा शत्रुसंग लड्ने खुबीले गर्दा मत्स्य बिनोद (Game fish) को रुपमा प्रख्यात छ । माछा मार्ने माझीहरु तथा मत्स्य बिनोदबाट मनोरन्जन गर्न रुचाउनेहरुले यसलाई ज्यादै मनपराउँछन् । रेन्बोट्राउट माछा जापानमा सन् १८७७ मा भित्र्याईएको थियो र अहिले जापानमा ताजापानी माछा पालनको (Fresh water aquaculture) उत्पादनमा यसको तेस्रो स्थान रहेको छ । सन् २००२ सम्ममा ६४ विभिन्न देशहरुमा रेन्वोट्राउट माछाको व्यवसायिक खेती भैरहेको जानकारीमा आएको छ ।
वातावरणीय आवश्यक्ता
यो माछा शून्य देखि २५ डि. से. सम्म तापक्रम भएको पानीमा बाँच्न सक्छ तर उत्पादनको लागि भने २० डी.से. भन्दा कम तापक्रम, अक्सिजन ७ मी.ग्रा. प्रतिलिटर भन्दा बढी र पीएच ६.५–८.५ चाहिन्छ । रेन्बोट्राउट माछाको सबैभन्दा राम्रो बृद्धिको लागि १६–१८ डी. से. र प्रजनन्को लागि ९–१४ डी. से. तापक्रम उपयुक्त हुन्छ । यो माछा हुर्कने पानीको तापक्रम सकभर एकनासको अर्थात धेरै फरक तापक्रम नहुने (less variation of water temperature within culture period) भएमा राम्रो हुन्छ साथै पानी प्रशस्त, सफा र निरन्तर बगिरहने हुनु पर्दछ ।
माछा पालनामा मा ध्यान दिनु पर्ने कुराहरु
सफा चिसो पानी चाहिन्छ । त्यसको लागि पानीको दिगो स्रोतको व्यवस्था गर्नुपर्दछ, ट्राउट माछा पालन गरिएको पोखरीमा वर्षादको भल पानी तथा धमिलो पानी नपरोस भनेर ध्यान पुर्याउनु पर्दछ |
कति माछा पालन गर्ने हो सोही अनुरूप प्रति वर्ग मिटर ५० देखि ५०० भुरा अटने गरी नर्सरी पोखरी बनाउनु पर्दछ । सुरुका दिनमा भुरा हुर्काउन १० देखि १५ घन मिटरको सानो पोखरीहरू बनाउनु पर्दछ । ठूलो भुरा हुर्काउन ५० देखि १५० घन मिटरको अर्को वेग्लै पोखरीहरू बनाउनु पर्दछ ।
पोखरी निर्माण
बिक्री योग्य माछा हुर्काउन प्रति घनमिटर १ देखि २ माछाको हिसाबले ५० देखि १५० वर्ग मिटरको पोखरी बनाउनुपर्दछ । बिक्री योग्य माछा हुर्काउन
पोखरी बनाउँदा पानीको स्रोत कम भएको र भिरालो जग्गा भएको स्थानमा लहरै पोखरी बनाउन सकिन्छ । यसो गर्दा अगिल्लो पोखरीमा प्रयोग भएको पानी क्रमशः दोस्रो र तेस्रो पोखरीमा प्रयोग गर्न सकिन्छ ।
प्रशस्त पानीको स्रोत भएको अवस्थामा समानन्तर किसिमको पोखरी बनाई स्वच्छ ताजा पानी जाने व्यवस्था मिलाउनु पर्दछ । यसरी पोखरीमा माछा कति संख्यामा राख्ने भन्ने कुरा पानीको प्रवाह वेग, गुणस्तर र आयतनमा निर्भर गर्ने गर्दछ |पानीको प्रवाह धेरै छिटो भएमा माछाको वृद्धि विकास ढिलो हुन जान्छ र पानीको प्रवाह कम भएमा पोखरीको पिँधमा धेरै फोहोर जम्न गई अक्सिजन कम हुँदै जान्छ, त्यसैले पोखरीमा हरेक घण्टामा पानी फेरिरहनु पर्ने भएकाले पानीको प्रवाह ठिक्क रूपमा चलीरहनु राम्रो मानिन्छ ।
पोखरी बनाउँदा र पानी लगाउँदा विचार पुर्याउने कुराहरु
यो माछा पालनमा अरू माछा पालन भन्दा धेरै ध्यान पुर्याउनु पर्दछ । साधारणतया एउटा माछालाई स्वस्थ रूपमा हुर्किन बढ्न आवश्यक खाद्य
आपूर्तिको आधारमा १ घन मिटर पानीको सतह उपलब्ध हुने व्यवस्था मिलाउनु पर्दछ । सघन माछा पालनमा भने संख्या बढाउन सकिन्छ सघन माछा पालनमा पोखरीमा सरसफाई नियमित पौष्टिक आहारको आपूर्तिमा विशेष ध्यान पुर्याउनु पर्दछ ।
दाना
यो माछा पालनमा अरू माछा यो माछाको सानो भूरालाई ४० प्रतिशत प्रोटिनयुक्त दाना दिनको ७ देखि ८ पटक दिनु पर्दछ ति भूरालाई उसको तौलको
६ देखि ७ प्रतिशतको दरले १ प्रतिशत राँगोको कलेजो पिसेर जमाएको दाना बनाएर खुवाउनु पर्दछ। अनि १० ग्राम भन्दा माथिको माछालाई ३५ प्रतिशत प्रोटिनयुक्त दाना उस्को शारिरिक तौलको ४ देखि ५ प्रतिशत दाना दिनुपर्छ ५० ग्राम भन्दा माथिको माछालाई १८ प्रतिशत प्रोटिनयुक्त दाना उसको तौलको २ देखि ३ प्रतिशत हिसावले दाना दिनु पर्दछ ।
साइज अनुसारको दाना
एउटै साइजको दाना दिने पोखरीमा एउटै साइजको माछा भूरा हुनु पर्दछ । फेरी यो माछाको प्रजनन् समय कार्तिक दोश्रो हप्तादेखि फागुनको दोश्रो हप्तासम्म झण्डै पाँच महिना लामो हुन्छ । प्रजनन को समयमा पानीको तापक्रम १२ देखि १३ डिग्री सेन्ट्रीग्रेट हुनु पर्दछ र पोथी ४ देखि ७ वर्षको र भाले ३ देखि ६ वर्षको राम्रो मानिन्छ ।
एक के.जि तौल भएको ट्राउट पोथीले २००० फुल पार्दछ प्रजनन पोखरीमा सरदर ५०० लिटर पानी प्रति मिनेट निरन्तर आपुर्ति हुने व्यवस्सथा मिलाउनु पर्दछ । साथै माछालाई रोगबाट बचाउन पोखरी सफा राख्ने पानीको तापक्रम २० डिग्रि सेन्टिग्रेड भन्दा कम र आवश्यक मात्रामा माछाको दाना एवं आवश्यक पौष्टिकतत्व दिनुपर्छ । साथै पोखरीको पिंधमा उग्रेको दाना र माछाको दिशा हरेक दिन सफा गरि रोगको रोगथाम गर्न सकिन्छ ।
ट्राउट माछा पालीएको जिल्ला
यो माछालाई एक गाउँ एक उत्पादन अन्तर्गत नुवाकोट र रसुवामा पालिएको छ, त्यसको अलावा कास्की, सिन्धुपाल्चो मा पनि सफलता पूर्वक पालीएको छ । तर नेपालको मुख्य पहाडमा धेरै जिल्लामा पाल्न सकिने सम्भावना धेरै छ |
माछाको दानामा मिसाउने कुरा
माछा पालन गर्दा माछाको आहाराको बारेमा राम्रो जानकारी लिनु पर्दछ, कुन अवस्थामा कति प्रतिशतको दाना दिने र त्यो मात्रा मिलाउँदा कुन कुन तत्वहरू कति–कति परिमाणमा मिसाउने, फेरि दाना मिश्रित पौष्टिक र सस्तो पनि हुनु पर्दछ । हुन त यसको तयारी दाना पनि किन्न नपाइने होइन, दाना र पालन पोषण समयका आधारमा यो माछा ज्यादै महँगो पर्न जान्छ, हाल बजारमा ८०० देखि १००० सम्ममा यो माछा बिक्री वितरण भैरहेको छ ।
माग बढी छ तर पुर्याउन त्यति नै गाह्रो पनि परिरहेको छ। दाना बनाउने हो भने धानको ढुटो, गहुंको चोकर मकैको पिठो तोरीको पिना भटभासको पिठो पिना, सुकुटी, झिगा माछाको धुलो, आदि मिसाएर दाना तयार पार्ने र सुकाएर गोली बनाएर खुवाउन सकिन्छ ।
स्रोत: दैमासिक कृषि, कृषि सुचना तथा संचार केन्द्र , कृषि तथा भुमि व्यवस्था मन्त्रालय, लुम्बिनी |