बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

एकिकृत मत्स्य पालनका नमुनाहरु

आइतबार, असार १७ २०८१
7 views
एकिकृत मत्स्य पालनका नमुनाहरु

समाचार शेयर गर्नुहोस्

Share this news

एकिकृत मत्स्य पालनका केही नमुना


एकिकृत मत्स्य पालन विभीन्न वस्तुहरुको समन्वयात्मक उत्पादन बाट पुर्ण रुपमा गर्न सकिन्छ भने केही वस्तु संग मात्र एकिकृत गरि आंशिक रुपमा समेत गर्न सकिन्छ । जस्तै पोखरीको लागि आवश्यक पर्ने मल ठीक संख्यामा पशुपालन गरि प्रदान गर्न सकिन्छ तथा पशुपालनका लागि आवश्यक आहारा अन्नबाली वा घांस उत्पादन गरि गर्न सकिन्छ । घांस वा बाली उत्पादनका लागि पोखरीको मलीलो माटोको प्रयोग गर्न सकिन्छ । एकिकृत मत्स्य पालनका केही नमुनाहरु निम्नानुसार हुन सक्दछन:

-माछा साथ पशुपालन,
-माछा साथ तरकारी तथा फलफुल उत्पादन,
-माछा साथ घांस खेती,
-डीलमा अन्न बाली उत्पादन,
-डीलमा काठ तथा दाउरा उत्पादन, र
-धान खेतमा मत्स्य पालन ।

१ .माछा साथ पशुपालन

पशुपालन गर्नका लागि समेत गोठ/खोरको आवश्यकता पर्दछ । गोठ/खोरले समेत केही स्थान ओगट्दछ । डीलमा यस्ता गोठ/खोर बनाइ अन्य जग्गालाई जोगाउन सकिन्छ । पोखरीको पानी गोठ सफा राख्न तथा पशुहरुलाई पानी ख्वाउन उपयोग गर्न सकिन्छ । पशुहरुको मलमुत्र तथा छरिएको दाना सिधैं पोखरीमा जान्छ जसले गर्दा पोखरीमा प्रयोग गरिने दाना मलको मात्रामा कटौती गर्न सकिन्छ । मात्रा हेरी कटौती पुर्ण वा आंशिक हुन सक्दछ । हाम्रो देशमा मुख्य रुपले हांस तथा बंगुर साथ मत्स्यपालन गरिएको पाइन्छ । यसका अलावा डीलमा कुखुरा पालन, गाई पालन, भैंसी पालन, गोबर ग्यास, रेशम किरा पालन जस्ता कार्य गर्न सकिन्छ ।

(क) माछा साथ हांस पालन

हांसको विकास पानी भएमा राम्ररी हुने गर्दछ । हांसले पानीमा भएका किरा फटेङ्ग्रा, ठूला वनस्पती, भ्यागुता तथा भ्यागुताको बच्चा, घोघी तथा जंगली स–साना माछाहरु खाई दिन्छ जुनकि पोखरीमा भई रहेमा उत्पादनमा प्रतिकुल प्रभाव पार्दछ । हांसको मलमुत्र तथा खेर जाने दानाले पोखरीलाई अधिक उत्पादनशील बनाउंदछ । हांस पानीमा तैरिंदा पानीमा अक्सिजन घोल्न एरेटरको काम गर्दछ साथै पोखरीको सुन्दरतालाई समेत बढाउंदछ ।
हांस पालन गर्दा विकासे जातका हांस पाल्नु उचित हुन्छ ।

नेपालमा पेकिङ्ग (सेतो), हङ्गकङ्ग क्रस(खैरो तथा टाटेपाटे) एवं खाकी क्याम्पवेल (खाकी) जातका विकासे हांस उपलव्ध छन् । जुनकि मासु तथा अण्डा दुबैको लागि उपयुक्त छ । एक कट्ठा जलाशयको लागि १५–२० गोटा हांस पाल्नु उपयुक्त हुन्छ| एउटा हांस बस्नको लागि २ वर्ग फिट स्थानको हिसाबले खोर बनाउनु पर्दछ। हांसका शत्रुहरुबाट जोगाई राख्न साथै हांस निश्चित स्थानमा मात्र खेल्ने गरी पोखरी भित्र घेरा हाल्नु पर्दछ । २ देखि ३ महिनामा एउटा हांसबाट करिब ६ किलो मल तथा २ किलो मासु प्राप्त गर्न सकिन्छ । हांस साथ एकिकृत मत्स्य पालनमा दाना, मलको प्रयोग बीना नै ३ टन/हे. सम्म उत्पादन हासिल गर्न सकिन्छ । हांस ४ हप्ताको भई सके पछि मात्र पानीमा छाड्नु पर्दछ तथा हांस छाडीने बेला सम्म माछाको साइज २५
 ग्राम नांघीसकेको हुनु पर्दछ ।

(ख) माछा साथ बंगुर पालन

पोखरीको डिलमा खोर बनाएर बंगुर पालन गरिन्छ जसले गर्दा बंगुरको मल त्यसै खेर नगई उत्पादन बढाउनुका साथै बातावरणलाई दुषित हुनबाट बचाउंछ । बंगुरको मल मानिसले अन्य प्रयोजनमा प्रयोग गर्दै नन् साथै छुनमा समेत घीन मान्दछन् । यस्तो अवस्थामा पोखरीको डीलमा खोर बनाउंदा केही बाल्टीन पानी हालेर मललाई पानीमा पठाउन सकिन्छ । बंगुरलाई दिइएको दानाको करिब ३०% भाग पच्न बांकी नै हुन्छ जुनकी माछाको लागि राम्रो आहाराको काम गर्दछ । नेपालमा विकासे जातका बंगुरहरु योर्कशायर  हैम्पशायर तथा लैण्डरेश छन् । बंगुरलाई मलको कारखाना समेत भन्ने गरिन्छ । एउटा बंगुरले ६ महिनामा २५० किलो सम्म मल दिन्छ साथै सोही अवधिमा ६० किलो मासु दिन्छ ।

(ग) माछा साथ कुखुरा पालन

पोखरीको डिलमा कुखुरा खोरको निर्माण गरी कुखुरा समेत पाल्न सकिन्छ । दुई तल्ले घर बनाई माथी कुखुरा तथा तल बंगुर पाल्दा अझ बढी फाइदा लिन सकिन्छ । यसमा कुखुराको मल बंगुरको दाना बन्दछ भने बंगुरको मल माछाको दाना बन्दछ । कुखुरा पालन मात्र गर्दा समेत सोबाट प्राप्त
हुने मल पोखरीलाई निकै फाइदाजनक हुन्छ । कुखुरा बोइलर वा लेयर जुनसुकै पनि पाल्न सकिन्छ | यसको अलावा मल प्राप्त गर्न सकिने कुनै पनि पशु डिलमा पाल्न सकिन्छ । जस्तैः गाई, भैसी, बाख्रा, परेवा, रेशम किरा, आदि । धेरै संख्यामा पशुहरु पालिएका भए गोबर ग्यांस संचालन गरि खाना पकाउने, बत्ती बाल्ने कार्य गर्नुका अलावा पचेको स्लरी पोखरीलाई मलीलो पार्न प्रयोग गर्न सकिन्छ ।

२. माछा साथ तरकारी, फलफुल तथा घांस खेती

पोखरीको डीलको पुर्ण सदुपयोग गर्न डीलमा फलफुल, तरकारी वा घांस खेती गर्न सकिन्छ । फलफुल खेती गर्दा झांगीने खालका ठूला रुख हुने फलफूल लगाउनु हुदैंन अन्यथा पोखरीमा प्रकाशको प्रवेशलाई अवरुद्ध गर्दछ । त्यसैले केरा, मेवा, नरिवल, सुपारी, भुईकटहर जस्ता फलहरु डीलमा लगाउन उपयुक्त हुन्छन् । तरकारीमा बढी पात हुने तथा पानी जम्न नहुने खालका तरकारी खेती गर्नु  बढी फाइदाजनक हुन्छ जस्तै बन्दाकाउली, फुल काउली, गोलभेडा, भेण्टा, करेला, भीण्डी, खुर्सानी तथा अन्य सागहरु उपयुक्त हुन्छन किनकी यीनको बिक्रीबाट प्राप्त हुने लाभको अलावा कुहिएका
 फल तथा पात माछाको लागि लाभदायक हुन्छन् ।

वर्षातको समयमा डीलमा लगाइएको खेतीबाट निकै फाइदा लिन सकिन्छ । पोखरीको डीलमा विकासे घांसको खेती गरी ग्रास कार्प माछाको आहारा तथा अन्य पशुहरुको लागि आहारा उत्पादन गर्न सकिन्छ । नेपीयर, पारा, वर्सिम, सुडान, राई तथा जै जस्ता घांसहरु लगाउनु उपयुक्त हुन्छ । यी खेतीहरु गर्दा वर्षे नी पोखरी सफा गर्दा निस्किने मलिलो माटोले गर्दा मलखादको प्रयोग बीना नै राम्रो बाली प्राप्त गर्न सकिन्छ साथै पानी समेत नजिक भएकोले अझ बढी सरल हुन जान्छ ।

३. डीलमा अन्न, दलहन तथा काठ उत्पादन

डीलमा अझ खाली स्थान रहन गएमा मकै, मुंग, मटर, मास, भटमास, तोरी, रहर जस्ता वस्तुहरुको खेती गरी उत्पादन लिन सकिन्छ यसले माछाको दानाको लागि आवश्यक पर्ने वस्तुहरु उपलव्ध गराउंदछ । दाउरा वा काठको लागि पोखरीको बाहिरी भागमा सिसौं जस्ता बढी नझांगीने खालका बोट हुर्काउन सकिन्छ तर दुरी यस्तो राख्नु पर्दछ जसले गर्दा प्रकाश अवरुद्ध नहोवोस् । यसका लागि समय समयमा कांटछांट गर्नु  आवश्यक हुन जान्छ । प्रकाशलाई अवरुद्ध नगर्न पश्चिमी तथा उत्तरी डीलमा मात्र बृक्षारोपण गर्नु उचित हुन्छ |

पोखरी बनाउंदा करिब दुई तिहाई जलाशय तथा एक तिहाई डील प्राप्त हुने गर्दछ । कहिले काही पोखरी गहिरो खन्दा डीलले अझ बढी क्षेत्रफल ओगट्दछ । जग्गाको त्यो भाग जुन डीलको रुपमा प्राप्त हुने गर्दछ । बांझो राख्नु उचित हुदैंन। अर्कोतिर मत्स्य पालन गर्दा विभीन्न वस्तुहरुको आवश्यकता हुने गर्दछ । जस्तैः घांस, दाना तथा मलखाद । डीलको समुचित उपयोगद्वारा यी वस्तुहरुको परिपुर्ति गर्न सकिन्छ जसले गर्दा डीलको सदुपयोग हुनाका साथै उत्पादन खर्चमा समेत कटौती गर्न सकिन्छ । यसको अलावा डीलमा उत्पादीत वस्तुहरुको प्रत्यक्ष बिक्रीबाट समेत लाभ आर्जन गर्दै  अधिक मुनाफा प्राप्त गर्न सकिन्छ साथै आत्मनिर्भरता तर्फ उन्मुख भईन्छ । मत्स्य उत्पादनका साथै अन्य वस्तुहरुको उत्पादन गर्ने कार्यलाई एकिकृत मत्स्य पालन  भनिन्छ । एकिकृत मत्स्य पालन गर्दा पालिएका माछा वा पोखरी तथा उत्पादन हुने वस्तु बीच जति नजिकको अन्र्तसम्बन्ध
कायम गराउन सकिन्छ एकिकृत मत्स्य पालन त्यत्ति नै सफल भएको मानिन्छ । पोखरीको डीलमा पशुपालन, फलफुल तथा तरकारी खेती, घांस उत्पादन तथा वाली उत्पादन जस्ता प्रत्यक्ष सम्बन्धका वस्तुहरुको उत्पादन गर्न सकिन्छ भने काठको उत्पादनलाई समेत एकिकृतको नमुनाको रुपमा लिन सकिन्छ ।


एकिकृत मत्स्य पालनका फाइदा
 
 -खेर जाने जग्गा (डील) को सदुपयोग,
 -काम नलाग्ने वस्तुहरुको उपयोग,
 -खेती प्रणाली बीच अन्तरसम्बन्ध,
 -अधिक रोजगार तथा आम्दानी,
 -वातावरणीय सन्तुलन, र
 -स्वाबलम्बीपना 

स्रोत: व्यवसायिक माछापालन प्रविधि पुस्तिका, PMAMP, Bara |

थप समाचार