बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

यसरि गर्न सकिन्छ सूर्यमुखी फूलको खेती

मंगलबार, असार १९ २०८१
11 views
यसरि गर्न सकिन्छ सूर्यमुखी फूलको खेती

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

सूर्यमुखी परापूर्वकाल देखि फूलका रुपमा रोपिदै आएको आलाङकारिक विरुवा हो । सूर्यमुखीको उत्पति थलो दक्षिणी अमेरिकाको मेक्सिको हो । १९ औं शताब्दीमा सूर्यमुखीलाई तेलवालीको रुपमा सोभियत सङ्घमा खेती गर्न शुरू गरियो ।

वर्तमान प्रचलित जातहरु धेरैजसो सोभियत संघबाट नै भित्रीएका हुन् । भारतमा सूर्यमुखीलाई तेलबालीको रुपमा सन् १९६९ देखि खेती गर्न थालियो । नेपालमा सन् १९७८ तिर पेरेडोभिक भन्ने जात रुसबाट ल्याई राष्ट्रिय तेलबाली विकास कार्यक्रम, नवलपुर, सर्लाहीमा परीक्षणको रुपमा शुरू गरियो ।

सूर्यमुखी अमेरिकाको केनसास राज्यको राष्ट्रिय फूल पनि हो। सूर्यतिर फर्केर फूल्ने हुनाले यसलाई सूर्यमुखी भनिएको हो । यसको वैज्ञानिक नाम  Helianthus annuus  हो। सूर्यमुखी Asteraceae (Compositae) परिवार अन्तरगत पर्दछ । तेलहन बालीको रुपमा खेती गरिने सूर्यमुखी एक वर्षीय बिरुवा हो तर केही प्रजाति बहुवर्षीय पनि छन् ।

सूर्यमुखीका करिब २६४ प्रजातिहरु रहेका छन् । हालसम्मका देखिएका सूर्यमुखीका जातहरु खासगरी ३ किसिमका रहेका छन् ।

१. ठूलो सेतो बीउ भएको यसमा तेलको मात्रा बढी हुन्छ ।

२. सानो कालो बीउ भएको यो बीउ खानका लागि उपयुक्त हुन्छ ।

३. मध्यम खालको, धर्सा भएको बीउ तेल तथा बीउ खानको लागि उपयुक्त हुन्छ ।

बोट वृद्धिको आधारमा सूर्यमुखीलाई २ समूहमा बाँडिएको छ ।

समूह १: अग्लो, हाँगा रहित बोट, एउटा फूल फुल्ने र राम्रोसँग दाना लाग्ने

समूह २ : तुलनात्मक रुपमा होचो बोट, हाँगा हुने र धेरै फूल फुल्ने

छिमेकी मुलुक भारतमा केही वर्षदेखि सूर्यमुखीलाई तेलबालीको रुपमा व्यापक खेती गरिन थालेको छ । सूर्यमुखीको खेती नेपालमा पनि केही वर्षदेखि खासगरी सुदुरपश्चिम तराईका जिल्ला कैलाली, कन्चनपुरमा शुरु भएको थियो ।

सिँचाइको सुविधा उपलब्ध हुनाले हिउँदे बाली पछि र वर्षे बाली भन्दा अगाडिको खाली समयमा छोटो अवधिमा सूर्यमुखी पाकि तयार हुने हुनाले आकर्षण बढेको छ। सूर्यमुखी छिटो पाक्ने, प्रकाशको अवधिले असर नपार्ने उच्च पहाड देखि तराईसम्म हुने बाली हो।

यसले केही हदसम्म सुख्खा पनि सहन सक्छ । सूर्यमुखी वर्षेभरि लगाउन सकिन्छ साथै खेत खाली हुने बित्तिकै घुसुवा बालीको रुपमा पनि लगाउन सकिन्छ । नेपालमा सूर्यमुखीको खेती तराईका जिल्लाहरुमा सिमित जग्गामा गरिन्छ ।

हाल सूर्यमुखीको बढी खेती हुने जिल्लामध्ये सर्लाही, रुपन्देही, नवलपरासी, रौतहट, झापा, सिराहा, सप्तरी, सुनसरी आदि प्रमुख हुन् । मधेश प्रदेशमा मात्र करिब ५८ प्रतिशत सूर्यमुखी खेतीको क्षेत्र रहेको तथ्याङ्क छ ।

आ.व. २०७७-७८ को तथ्याङ्क अनुसार सूर्यमुखीको क्षेत्रफल ३६८८ हेक्टर र उत्पादकत्व १.३१ टन प्रति हेक्टर रहेको छ । क्षेत्रफल नबढनुको कारणमा सिँचाइको भरपर्दो व्यवस्था नहुनु, गुणस्तरको बीउ अभाव, चराबाट अत्यधिक नोक्सानी र सूर्यमुखीबाट तेल निकाल्ने उचित मेशिनको अभाव आदि रहेका छन् ।

यसको बीउमा ४५-५० प्रतिशतसम्म उच्च गुणस्तरको तेल पाइन्छ । सूर्यमुखीको तेल हल्का पहेंलो रंगको, राम्रो वासना आउने सबै पकवानमा अन्य तेल झै प्रयोग गर्न सकिन्छ । यसको तेललाई ओलिभ तेल झै सलादमा पनि प्रयोग गरिन्छ ।

सूर्यमुखीको तेललाई चोखो मानेर पुजामा बत्ती बाल्न प्रयोग गरिन्छ । यो तेलको उच्च धुवा उठने बिन्दु (High smoke point, २३२.२ D.C) भएकोले फ्राई (तारेर) पकाउने खानेकुरा तयार गर्न उपयुक्त हुन्छ । यसलाई वनस्पिति घ्यू बनाउन पनि प्रयोग गरिन्छ ।

सूर्यमुखीको बीउलाई सजिलै तेल पेल्ने कोलमा अथवा तेल पेल्ने मेशिनबाट पेली तेल निकाल्न सकिन्छ । खासगरी बोक्रा छोडाएर पेल्दा राम्रो हुन्छ, नत्र मिलबाट धुवा निस्कन्छ । चिसो तरिकाबाट च्यापेर (cold press) वा रसायनमा भिजाएर (solvent extraction)  बाट तेल निकालिन्छ ।

कोलमा पेलेको तेल धेरै दिनसम्म राख्दा बिग्रिने हुँदा थोरै थोरै पेल्दै खाने गर्नु पर्छ । सूर्यमुखीको तेलमा प्रशस्त (६४ प्रतिशत) लिनोलेयिक अम्ल पाइने हुँदा मुटुका धमनीमा जम्मा भएको बोसोलाई धोई दिने र रगतमा कोलेष्ट्रोलको मात्रा घटाउने हुँदा मुटुका रोगीहरुलाई निकै फाइदा पुर्याउँछ ।

यसको तेल साबुन, मैनबत्ती तथा श्रृंगारका सामाग्री बनाउन पनि प्रयोग गरिन्छ। सूर्यमुखीको बीउलाई काँचै तथा भुटेर बोक्रा हटाएर खाने चलन छ। यसको बीउ खाँदा निकै स्वादिलो हुन्छ । यो भिटामिन ई को भण्डारण मानिन्छ । बोक्रा छोडाएको बीउ मिठाई, केकमा प्रयोग हुन्छ ।

विदेशमा साना बीउ हुने सूर्यमुखीलाई चराको दानाको रुपमा प्रयोग गर्दछन् । यसको पिनामा प्रशस्त गुणस्तरको (४०-४४ प्रतिशत) प्रोटिन पाईन्छ । पिना पशु, कुखुराको दानामा प्रयोग गरिन्छ ।

सूर्यमुखीलाई कट फ्लावरको रुपमा सजाउन, पशुवस्तुहरुलाई साईलेज बनाई खुवाउन पनि प्रयोग गर्न सकिन्छ । मकैको साईलेज भन्दा कम स्वादिलो भए पनि पौष्टिक तत्व बढी नै हुन्छ।

पुरै बोट पेपर, बोर्ड बनाउन तथा इन्धनको रुपमा प्रयोग हुन्छ । सूर्यमुखीलाई हरियोमलको रुपमा पनि प्रयोग गर्न सकिन्छ । बोटलाई जोतेपछि ट्राइकोडर्मा भिरिडीको झोल वा गोबरको लेदो छरेमा बोट छिटो कुहिन्छ ।

सूर्यमुखीमा प्रशस्त रेशावाल जराहरु  (Fibrous roots) हुनाले माटोबाट गहुङ्गा धातुहरु अवशोषण गरी माटोको प्रदुषण घटाउन समेत मद्दत गर्छ । सूर्यमुखी मौरी पालनको लागि पराग (Pollen) र पुष्परस (Nector) को मूख्य श्रोत हो। साथै मौरीले परागसेचनमा मद्दत पुन्याई २० देखि ३० प्रतिशत सम्म सूर्यमुखीको उत्पादन बढाउँछ । परागसेचनका लागि ५ वटा मौरी घार प्रति हेक्टर आवश्यक हुन्छ ।

हावापानी
सूर्यमुखी न्यानो हावापानी रुचाउने वर्षेबाली हो । सूर्यमुखीको खेतीलाई शुरूको अवस्थामा उम्रन र विरुवाको वृद्धि हुन चिसो हावापानीको आवश्यकता पर्दछ । साना विरुवाले ४ देखि ६ पाते अवस्थासम्म तुषारो सहन सक्छन ।

विरुवा अवस्था देखि फूल फुल्ने अवस्थासम्म न्यानो मौसम र फूल खेल्ने अवस्था देखि बाली परिपक्व हुने बेलासम्म न्यानो तथा घाम लाग्ने मौसम अति आवश्यक छ । धेरै ओसिलो, बादल लागि रहने र वर्षाले फूल खेल्ने अवस्थामा दाना बन्नमा बाधा पुऱ्याउँछ ।

पाक्ने बेलामा धेरै तापक्रम भएमा लिनोलेयिक अम्लको मात्रा कमी भई तेलको गुणस्तर घटाउँछ । राम्रो खेतीको लागि १८-२७ डिग्री सेन्टिग्रेट तापमान उपयुक्त हुन्छ । सूर्यमुखीलाई प्रकाशको अवधिले असर नपार्ने हुँदा वर्षेभरी ३ सिजन यसको खेती गर्न सकिन्छ । यसले केही हदसम्म सुख्खा पनि सहन सक्छ ।

माटो
सूर्यमुखी सबै किसिमको माटोमा लगाउन सकिन्छ । सूर्यमुखी खेती पानीको राम्रो निकास हुने, गहिरो मलिलो माटोमा सप्रिन्छ । सूर्यमुखीलाई माटोको अम्लीयपन (६.५-८.० पी.एच.) मध्यम खालको हुनु पर्छ । यो बाली गहिरो पाँगो माटो, सिँचाइ र निकासको राम्रो सुविधा भएको जमिनमा फस्टाउँछ ।

जातहरु
हालसम्म नेपालमा सूर्यमुखीको उन्नत जातको खेतीको लागि सिफारिस भएको छैन । पेरेडोभिक र मोडर्न भन्ने जातहरुले लोकप्रियता पाई राखेका छन् । तेलबाली अनुसन्धान कार्यक्रम नवलपुर सर्लाहीमा सूर्यमुखीको जातीय परीक्षण गरिएको थियो ।

हाईब्रिड जातहरुले कम्पोजिट जात (पेरेडोभिक, मोडर्न) भन्दा ३७ देखि ७० प्रतिशतसम्म बढी उत्पादन दिएका छन् । हाईब्रिड जातहरुको सरदर उत्पादन क्षमता १५ देखि २० क्विन्टल प्रति हेक्टर रहेको छ । कम्पोजिट जातहरुले सरदर करिव ८ देखि १० क्विन्टल प्रति हेक्टर उत्पादन दिने पाइएको छ ।

विगत केही वर्षयता मोडर्न जात निकै लोकप्रिय हुँदै आएको छ । केही जिल्लाहरुमा भारतबाट ल्याएर केही वर्णशङ्कर जातहरु (Hybrid) पनि लगाइ रहेको पाइएको छ ।

जातीय विशेषता
१. पेरेडोभिक
यो जात रुसबाट ल्याइएको EC ६८४१४ भन्ने कम्पोजिट जात हो । यसको बोट अग्लो (१६०-१८५ से.मी.) हुने जात हो। यसको बोटमा हाँगा हुँदैन र फूलको घुँगा १५-२२ से.मी.सम्म व्यास भएको हुन्छ । यसको बीउ मध्यम र कालो रङको हुन्छ । यसमा ४४ प्रतिशतसम्म तेलको मात्रा पाइन्छ ।

यो जात बसन्त ऋतुमा ९० देखि ९५ दिनमा, वर्षामा ८० देखि ९० दिनमा र हिउँदमा १२५ देखि १३५ दिनमा पाक्दछ । यसको उत्पादन क्षमता १५ देखि २५ क्विन्टल प्रति हेक्टर रहेको छ। यो जातको सूर्यमुखीबाट बीउ उत्पादन गरी वषैपिच्छे लगाउन सकिन्छ ।

यो अग्लो बोट हुने हुँदा मकैसँग अन्तरबालीको रुपमा खेती गर्न सकिन्छ। यो जात सर्लाही जिल्लामा लोकप्रिय छ । वर्षामा पनि रोग कम लाग्ने पाइएको छ ।

२. मोर्डेन
यो कम्पोजिट जात हो र बसन्त ऋतुमा सबभन्दा चाँडो (८०-८५ दिनमा) पाक्दछ । यसको बोट होचो (८०-९० से.मी.) हुन्छ । यो जात भारतमा सन् १९८० ताका खेती गर्न सिफारिस गरिएको थियो। फूलको घुँगा ठूलो आकर्षक हुने, र बीउ पुष्ट ठूलो कालो रङको हुन्छ । यसको फूलको थुगामा राम्रोसँग दाना लाग्दछ ।

यस जातको सरदर उत्पादन १००० के।जी। प्रति हेक्टर रहेको छ । यसको बीउमा ३५ देखि ३७ प्रतिशतसम्म तेलको मात्रा हुन्छ । यो जात रुपन्देही जिल्लामा लोकप्रिय छ । भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाको कमाण्ड क्षेत्रमा विगतका वर्षहरु देखि खेती भई रहेको छ । यसको बीउ पनि वषैपिच्छे आफैले उत्पादन गरी लगाउन सकिन्छ।

भारतमा सूर्यमुखीमा धेरै हाईब्रिड जातहरु विकसित भएका छन् र यिनको उत्पादन क्षमता बढी हुन्छ । त्यसैले सूर्यमुखीका हाईब्रिडहरु (वर्णशङ्कर जात) निकै लोकप्रिय भएका छन् । हाईब्रिडको फूलमा दानाहरु पुष्ट हुनु, धेरै तेलको मात्रा हुनु, रोग कीराको अवरोधी हुनु, बोटहरु एकनासको र सँगै पाक्ने गुणले गर्दा सघन खेतीमा कम्पोजिट जातभन्दा निकै राम्रा पाइएका छन् ।

नेपालको सन्दर्भमा राम्रो नतिजा देखाएका हाईब्रिडहरुमा ज्वालामुखी, PAC-३६, PAC- ३०२, IAHS-१ (Arun), NSFH-५५५, NSFH-५९२,  NSFH-१२३, Sunbred- २७५, Pioneer-६४६०, GK-२००२ आदि रहेका छन् । यिनीहरुले कम्पोजिट जात भन्दा ५०५ बढी उत्पादन दिएका छन् । यी हाइब्रिडहरुको बीउ महँगो हुने र बर्षेपिच्छे नयाँ बीउ लगाउनु पर्ने हुन्छ । हाइब्रिड जातहरुको बीउ कृषकहरुले आफैले उत्पादन गरेर पुनः लगाउन उपयुक्त हुँदैन ।

suryamukhi.jpg

बालीचक्र र खेती प्रणाली
सूर्यमुखी लगाउँदा सकभर लगातार सूर्यमुखी लगाएको जमिन छान्नु हुँदैन । कम्तीमा पनि २ सिजन पछि मात्र पुनः त्यही बाली लगाउने गर्नु पर्छ । सूर्यमुखीलाई मकै, धान, गहुँ, रहर, आलु, तोरी, उखु, बदाम आदिसँग घुम्तेवाली गर्नु पर्दछ ।

सूर्यमुखीलाई वर्षामा मकै लगाउने जग्गामा एक्लै वा मकैसँग मिश्रित खेतीको रुपमा लगाउन सकिन्छ । मकै र सूर्यमुखीको अन्तरबाली खेती गर्दा बढी मुनाफा हुने परीक्षणले देखाएको छ । सूर्यमुखीलाई उखु लगाएको जमीनमा दुई लाइनको बीचमा रोपी थप आम्दानी लिन सकिन्छ ।

तोरी र आलु बाली लिई सकेपछि बसन्त मौसममा सूर्यमुखी रोप्दा बढी फष्टाउने हुन्छ । आलु खन्नु भन्दा २ हप्ता अगावै दुई ड्यागको बीचमा सूर्यमुखी रोप्ने र पछि आलु खन्दा उकेरा लगाएको जस्तो हुन जान्छ ।

आलुपछि सूर्यमुखी लगाउँदा रसायनिक मलको प्रयोग गरिरहनु पर्दैन । सूर्यमुखी र बदाम (१:३): दुई लाइन सूर्यमुखीका बीचमा ३ लाइन बदामको अन्तरवाली फाइदाजनक पाइएको छ । खेतबारीको डिल डिलमा पनि सूर्यमुखी लगाउन सकिन्छ ।

जमिनको तयारी
सूर्यमुखीको खेतीलाई माटो बुरखुराउँदो, झारपात रहित प्रशस्त चिस्यान भएको जमिन छान्नु पर्दछ । प्रशस्त गोबर वा कम्पोष्ट मल २०-३० गाढा प्रति हेक्टरका दरले जमिन तयारीको बेला माटोमा मिलाउनु पर्छ । दुई तीन पटक राम्ररी जोती पाटा लगाएर जग्गा तयार गर्नु पर्छ ।

जमिनलाई तयार पारे पछि स-साना प्लटमा बाड्नु पर्छ । जसले गर्दा सिँचाइ गर्न सजिलो हुन्छ । पानी जम्ने खालको जमिन भएमा कुलेसो बनाई निकासको व्यवस्था अगाडि नै मिलाउनु पर्छ । बीउको राम्रो उमारको लागि बीउ छर्दा माटोमा प्रशस्त
चिस्यान हुनु आवश्यक छ ।

हिउँदमा तथा बसन्त ऋतुमा खेती गर्दा छर्नु भन्दा अगावै सिँचाइ दिनु आवश्यक हुन आउँछ । सूर्यमुखीको बीउको बोक्रा बाक्लो हुने हुँदा पानी ढिलो गरी सोस्ने भएकोले बीउ उम्रन माटोमा प्रशस्त चिस्यान हुन आवश्यक छ ।

मलखाद
सूर्यमुखी प्रशस्त मल चुस्ने बाली हो । गोबर र रसायनिक मल हालेमा राम्रो उत्पादन दिन्छ । मलखादको मात्रा माटोको उर्वराशक्ति, रोपिने जात, माटोको चिस्यान अर्थात सिँचाइ सुविधा आदिमा भर पर्दछ ।

परीक्षणको नतिजा अनुसार १० टन गोबर मल र ६०-८० किलोग्राम नाईट्रोजन, ६०-९० किलोग्राम फास्फोरस र ४०-६० किलोग्राम पोटास प्रति हेक्टरका दरले माटोमा मिलाउँदा हाईब्रिड जातबाट भरपुर उत्पादन लिन सकिन्छ । कम्पोजिट जातहरुमा केही कम मलखाद प्रयोग गर्दा हुन्छ ।

नाईट्रोजन मलको हकमा दुइ तिहाई शुरूमा हाल्ने र बाँकी एक तिहाई नाईट्रोजन दोश्रो सिँचाइको बेला (फूल खेल्ने बेलामा) टपड्रेस गर्नु पर्छ । सूर्यमुखी खेतीमा सल्फर तत्वको आपुर्ति गर्न २०० के.जी. जिप्सम वा सल्फर तत्व ३० के. जी. प्रति हेक्टर जमिन तयारीको बेलामा प्रयोग गर्न आवश्यक हुन्छ ।

सुक्ष्म तत्व बोरोनको प्रयोग
सूर्यमुखीमा बोरोन भन्ने सुक्ष्म तत्वको अभाव चाँडै देखिने हुँदा फूलको थुगाभरी पुष्ट दाना नहुने समस्या हुन्छ । सूर्यमुखीलाई बोरोनको सूचक विरुवा पनि भनिन्छ ।

यस्तो समस्याको लागि बोरेक्स धुलो २-५ के.जी. प्रति हेक्टर जमिन तयारीको बेलामा खेतमा छर्ने अथवा ०.२ प्रतिशतको घोल बनाई फूलको कोपिला बन्ने बेलामा र फूल खेल्ने बेलामा छर्दा बीउको फोस्रोपन कम हुन गई उत्पादन बढने अनुसन्धानले देखाएको छ ।

बोरोन तत्वले तेलको मात्रा बढाउने, बीउ बजनदार बनाउने, दाना राम्रोसँग भरिने र बीउको उमार तथा बेर्नाको तन्दुरुस्तता बढाउने गर्दछ ।

बाली लगाउने समय
सूर्यमुखीलाई प्रकासको अवधिले असर नपार्ने हुँदा वषैभरि कुनै पनि समयमा लगाउन वा रोप्न सकिन्छ । तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, सर्लाहीमा गरिएको अध्ययन परीक्षण अनुसार माघको दोश्रो हप्ता देखि फागुनको पहिलो हप्ता बसन्त ऋतुमा सबभन्दा उपयुक्त लगाउने समय पाइएको छ ।

यस बेला सूर्यमुखी छरेमा १२०० देखि १४०० के.जी. प्रति हेक्टर उत्पादन दिने पाइएको छ । माघ फागुनमा लगाएको सूर्यमुखीमा रोग कीरा कम लाग्ने, झारपातको प्रकोप कम हुने र उत्पादन बढी हुने भएकोले अति उत्तम समय मानिन्छ ।

यो सिजनमा सिँचाइको सुविधा भने हुनु जरुरी छ । बीउ रोप्ने बेला चिस्यानको कमी भएमा बीउलाई १२ घन्टासम्म पानीमा भिजाएर ३-४ घण्टा छायामा सुकाएर छर्दा राम्रो उम्रने हुन्छ । यदि जमिन धेरै सुख्खा छ भने बीउ भिजाएर छर्दा ढुसी लागि बीउ कुहिन्छ ।

वर्षा सिजनमा लगाउँदा आषाढको पहिलो हप्ता रोपेको सूर्यमुखीले सबभन्दा बढी उत्पादन ३०० देखि ९०० के.जी. प्रति हेक्टर दिने पाइएको छ । यो समयमा लगाएको सूर्यमुखीमा ठूलो फूल लाग्ने र बढी बीउ लाग्ने पाइएको छ । त्यस पछि लगाउँदा बाली चाँडै फूल्ने तथा पाक्ने र डढुवा रोगले आक्रमण गर्ने पाइएको छ ।

सूर्यमुखीलाई हिउँदमा पनि लगाउन सकिन्छ । हिउँदमा लगाउँदा आश्विन अन्तिम हप्ता देखि कार्तिकको शुरुतिर लगाउँदा राम्रो उत्पादन पाउन सकिन्छ ।

बीउको दर र रोप्ने तरिका
हाईब्रिड जातको पुष्ट दाना भएको बीउ ६ के।जी। प्रति हेक्टर र कम्पोजिट जातको ८ देखि १० के.जी. बीउ प्रति हेक्टर आवश्यक पर्न आउँछ । बीउलाई छर्नु भन्दा अगाडि १२ घन्टा पानीमा भिजाउने र छायामा ३-४ घन्टा सुकाउने, यसो गर्दा चाँडो र धेरै उम्रने हुन्छ ।

यसरी बाली चाँडै हुर्कने पनि हुन्छ । त्यस पछि बीउ छर्नु भन्दा अगावै रोगनाशक विषादी वेभिष्टिन वा क्याप्टन वा थिराम २ ग्राम प्रति किलो बीउका दरले बीउ उपचार गरेर मात्र बीउ रोप्ने वा लगाउने गर्नु पर्छ । यसरी रोपेको बेर्ना स्वस्थ हुन्छन् । बीउ छनोट गर्दा पुष्ट दाना भएको बीउ छान्नु पर्छ ।

सूर्यमुखीको बीउमा सुशुप्त अवस्था रहने भएकोले भरखर भित्राएको बीउ छर्नु हुँदैन । बीउ चुटे पछि ४० देखि ६० दिनसम्म राम्ररी उम्रदैन । नयाँ बीउ तुरुन्त छर्नु परेमा सुशुप्त अवस्थालाई हटाउनु पर्छ ।

सुशुप्त अवस्था हटाउन बीउलाई इर्थेल भन्ने झोलमा ६ घन्टासम्म डुबाई छर्दा उम्रन सफल हुन्छ । सूर्यमुखीलाई लाइनमा लगाउँदा झारपात गोडमेल गर्न, सिँचाइ गर्न सजिलो हुन्छ ।

६० से.मी. (२ फिट) को फरकमा लाइन कोरी २५ सेन्टिमीटरको फरकमा बीउ खसाल्नु पर्छ। बीउलाई ३-५ सेन्टिमीटर (३-४ अंगुल) भन्दा गहिरो पुर्नु हुँदैन । बीउलाई लाइनमा रोपे पछि तुरुन्त माटोले छोपी दिनु पर्छ वा छरेको खेतमा पाटा लगाई राम्ररी छोप्नु पर्छ ।

मकै रोप्ने हाते मेशिन (कर्न प्लान्टर) को सहायताले पनि सूर्यमुखीलाई लाइनमा दुरी मिलाएर २, २ वटा बीउ प्रति डोबमा रोप्न सकिन्छ । हलोको पछाडि रोप्दा एक सियो बिराएर बीउ रोप्नु पर्छ । उम्रेको १०-१२ दिनमा बाक्लो वा जोडिएका बेर्ना भए उखेल्नु पर्छ । सिडड्रिल मेशिनबाट ट्याक्टरको सहायताबाट ६० से.मी. को दुरीमा लाइनमा लगाउन पनि सकिन्छ ।

सिँचाइ
सूर्यमुखी ठिकै मात्रामा पानी आवश्यक पर्ने बाली हो । वर्षायाममा सिँचाइ गर्नु आवश्यक पर्दैन । हिउँदे र बसन्ते बालीलाई थप सिँचाइको आवश्यकता पर्न आउँछ । हिउँदयाममा ४-५ पातको अवस्था, फूल खेल्ने अवस्था र दाना भरिने अवस्थामा सिँचाइ दिनु आवश्यक पर्दछ ।

सूर्यमुखी बालीलाई फूल खेल्ने अवस्था देखि दाना भरिने अवस्थासम्म सिँचाइ अति आवश्यक पर्दछ । यस अवधिमा कम्तीमा पनि एक पटक सिँचाइ दिनु अति जरुरी छ । बसन्त मौसम (माघ-फागुन) मा लगाएको बालीलाई ४-८ पटकसम्म सिँचाइ आवश्यक पर्न आउँछ ।

पानी नपरेको बेलामा हल्का सिँचाइ दिनु पर्छ अन्यथा बोट ढल्न जान्छ । बोट ढल्ने समस्यालाई लाइनमा माटो चढाउँदा बोट ढल्नबाट बचाउन सकिन्छ । माटो चढाउने काम फूलको कोपिला बन्नु अगावै सम्पन्न गर्नु पर्दछ ।

गोडमेल तथा झारपात नियन्त्रण
सूर्यमुखीको शुरूको अवस्थामा बोटको वृद्धि सुस्त सुस्त हुन्छ । तसर्थ झारपातको नियन्त्रण शुरूको अवस्थामा अत्यन्त जरुरी छ । विरुवा उम्रेको २० दिनमा एक पटक हल्का गोडाई गर्नु पर्छ । सूर्यमुखी बालीलाई रोपेको ६० दिनसम्म झारपातबाट मुक्त राखु पर्दछ ।

बोट घुँडासम्म अग्लो हुँदा लाईनमा सँगै माटो चढाउदै उकेरा दिँदा झारपात नियन्त्रण हुन पुग्दछ । गर्मी मौसम (बसन्त ऋतु) मा लगाएको सूर्यमुखीमा झारपात निकै कम आउँछ ।

सूर्यमुखीमा झारनाशक विषादीको प्रयोग गर्नु परेमा पेन्डीमिथालिन वा फ्लूक्लोरालिन १.५ के.जी. खास विष तत्व ७५० लिटर पानीमा घोलेर सूर्यमुखी तथा झारपात नउम्रदै एकनासले जमिनको सतह भिज्ने गरी माटोमा छर्नु पर्छ ।

बाली पाकेको पहिचान, कटानी तथा भण्डारण
सूर्यमुखीको फूलको थुगाको पछाडि पट्टीको भाग पहेंलो खैरो रङको भए पछि पाकेको सम्झनु पर्छ । यस अवस्थामा बीउमा २० प्रतिशतसम्म चिस्यान हुन्छ । सबै फूलका धुँगाहरु एकै चोटी पाक्दैनन् र २-३ पटक गरी काटनु पर्छ ।

काटेको फूलको थुगालाई घाममा ५-६ दिन राम्ररी सुकाउनु पर्छ । काटे पछि खताएर थुप्रोमा राखु हुँदैन र फूलको थुगामा धेरै चिस्यान हुने हुँदा थुप्रोमा ढुसी लाग्न पुग्छ र बीउको उमार क्षमतामा कमी आउँछ । सुकेको फूलबाट सजिलै हातले बीउ छुटाउन सकिन्छ ।

तारको दहो ब्रसले पनि बीउ छुटाउन सजिलो पाइएको छ । सानो लठ्ठीले सुकेको फूलको थुगा बीचमा हानेर पनि बीउ छुटाउन सकिन्छ । दाना चुटी सकेपछि सफा गरी राम्ररी घाममा ३-४ दिनसम्म सुकाई दाना टोक्दा कुटुक्क आवाज आउने (९ प्रतिशत चिस्यान) अवस्थामा पुन्याई भण्डारण गर्नु पर्दछ ।

८० प्रतिशत भन्दा बडी उमार शक्ति १ वर्ष भन्दा बढी समयसम्म भण्डारणमा कायम राख बीउलाई राम्रोसँग सुकाएर कम ओसिलो ठाउँमा सापेक्षित आद्रता ३० प्रतिशत भन्दा कम हुने ठाउँमा राखु पर्छ । धातुको टिन भण्डारणको लागि राम्रो देखिएको छ । सूर्यमुखी बीउको लागि भण्डारण गर्ने हो भने क्याप्टान भन्ने ढुसीनाशक विषादीले उपचार गरेर मात्र राख्दा राम्रो हुन्छ ।

उत्पादन
राम्रो गरी सूर्यमुखी खेती गरेमा २० क्विन्टल प्रति हेक्टरसम्म उत्पादन लिन सकिन्छ । सूर्यमुखी खेती गर्न लागत रु ३०-४० हजार प्रति हेक्टर लाग्ने र कूल आम्दानी रु ६०-७० हजार प्रति हेक्टरसम्म आउने पाइएको छ । वसन्त सिजनमा (माघ-फागुन) मकै, बदाम तथा तिल भन्दा एक्लो सूर्यमुखीको खेतीबाट बढी मुनाफा प्राप्त गर्न सकिन्छ ।

सुगाबाट क्षति तथा व्यवस्थापन
सुगाले सूर्यमुखी अति मन पराउँछ । सुगाको नोक्सानीबाट बचाउन फूलमा दाना भरिन लागे पछि रखवारी गर्नु नै सुरक्षित उपाय हो । विहान र साँझपख यसको आक्रमण बढी हुन्छ । दाना भएको फूलको थुगामा मालाथियन झोल दुवै बगलमा पर्ने गरी छर्दा विषादीको गन्धले सुगाले कम मन पराउँछ ।

खेतको बीच, छेऊतिर ठूलाठूला फूलहरुलाई दाना लागि सके पछि पुराना कपडाको थैलाले तथा गोरखापत्र आदिको कागजले छोपी दिदा पनि सुगाको आक्रमण केही कम हुने पाइएको छ ।

आजभोली एकतिर सेतो र अर्को तिर रातो पोतिएको अल्मुनियम रिवन पाइन्छ । यसलाई बटारेर खेतमा टाँगी दिदा सूर्यको प्रकाश सुगाको आँखामा चम्किने र हावाको प्रवाहले पनि केही आवाज आउँने हुँदा सुगा केही हदसम्म तर्सिन पुग्छ ।

सकभर फूलको थुगा तल तिर निहुरिने जातको छनोट गरी लगाउँदा सुगाको क्षति कम हुन्छ । आजभोलि आवाज निक्लिरहने मेशिन (चरा धपाउने यन्त्र) खेतवारीमा जडान गरेर चरा भगाउन सकिन्छ ।

बीउ उत्पादन
सूर्यमुखी परपरागसेचित (Cross pollinated) बाली हो । कम्पोजिट जातको मात्र बीउ उत्पादन गरी बषैपिच्छे लगाउन सकिन्छ । हाईब्रिड जातहरुको बीउ प्रत्येक वर्ष फेर्ने गर्नु पर्छ। यसको बीउ उत्पादन गर्दा एउटा जातलाई मात्र लगाउनु पर्छ ।

दुईवटा जातको बीउ उत्पादन गर्नु परेमा कम्तीमा १५००- १६०० मीटरको फरकमा लगाउनु पर्छ । सूर्यमुखीको बीउ उत्पादन औसत दर धेरै कम छ। १ के. जी. बीउबाट १०० के.जी. बीउ निकाल्न सकिन्छ ।

बीउको लागि खेती गरिदा बेजात वा ठिमाहा बोट हटाउदै जानु पर्छ । धेरै अग्लो वा होचो बोट उखेली हाल्नु पर्छ। धेरै चाँडो फूल्ने बोट र ढिलो फूल्ने बोट उखेल्नु पर्छ । एकनाशका बोटमात्र राखु पर्छ । स्वस्थ बोटबाट ठूला ठूला फूलका घुँगाहरु छनोट गरी बीउको लागि अलग्गै चुट्ने गर्न पर्छ ।

स्रोतः बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर 

थप समाचार