परिचय तिल परापूर्वकाल देखि खेती हुँदै आएको तेलबाली हो । अथर्व वेदमा तिलको वर्णन पाइन्छ । दक्षिण पश्चिम अफ्रिका तिलको उदगम थलो मानिएको छ । भारत, चीन, सुडान, बर्मा, मेक्सिको प्रमुख तिल उत्पादक देश हुन् । तिलको बैज्ञानिक नाम Sesamum indicum L.हो र यो Pedaliaceae परिवार अन्तर्गत पर्छ ।
यो एक वर्षीय बिरुवा हो । तिल नेपालमा तराई, भित्री मदेश, मध्य पहाडको बेसी तथा टारहरुमा खेती हुँदै आएको छ । यसको कूल क्षेत्रफल ८२४० हेक्टर रहेको छ । तिलको बढी क्षेत्रफल मधेश प्रदेश (रौतहट, सर्लाही, सप्तरी, सिराहा, बारा, धनुषा, महात्तरी आदि), सुदुरपश्चिम प्रदेश (कंचनपुर, कैलाली), वागमती प्रदेश (चितवन, नुवाकोट) मा रहेको छ ।
तिल खास-खास पकेट क्षेत्रमा लगाउने गरिन्छ । झापा, रुपन्देहीमा पनि तिलको क्षेत्र राम्रै रहेको छ । नेपालमा ३ किसिमका तिल पाइन्छन् । सेतो बीउ हुने जुन वर्षात पछि छरिन्छ र छोटो प्रकाश अवधि रुचाउने हुन्छ । अर्को कालो बीउ हुने जुन वर्षे सिजनमा छरिन्छ र लामो प्रकाश अवधि आवश्यक पर्छ ।
खैरो बीउ भएको अर्को जात वसन्ते सिजनमा लगाइन्छ र बैशाखा तिल भनिन्छ । यिनीहरु मध्ये कुनै चाँडो पाक्ने (७०-७५ दिन) र कुनै ढिलो पाक्ने (१३५- १४५ दिन) हुन्छन् । बीउको रङमा पनि विविधता देखिन्छ । निख्खर कालो, हल्का कालो, खैरो, हल्का रातो, सेतो, फुस्रो आदि भएको हुन्छ ।
कालो रङको तिलको बीउ पुजा कर्ममा चढाउने चलन छ। खैरो रङको बीउ अचार, चटनीमा रुचाइन्छ । सेतो रङको तिल लड्डु बनाउन प्रयोग गरिन्छ । खैरो तिल चाँडो पाक्ने र दुवै सिजन वर्षा तथा बसन्त ऋतुमा (वैशाख) मा लगाउन सकिन्छ । विभिन्न प्रकारका स्थानीय तिलका जातहरु पाइन्छन ।
कुनै प्रशस्तै हाँगा हुने र कुनै एउटामात्र मूल हाँगा हुने जातहरु पाइन्छन् । तिलको बीउमा ४६ देखि ५२ प्रतिशतसम्म तेलको मात्रा र १८-२० प्रतिशत प्रोटिन पाइन्छ । तिलको तेल खानाको पकवानमा, औषधि बनाउन, मालिस गर्न आदिमा प्रयोग गरिन्छ । तिलको तेल बनस्पिति ध्यु उद्योगमा ध्युको गुणस्तर बढाउन प्रयोग गरिन्छ ।
कम गुणस्तरको तेलबाट साबुन, रङरोगन, किटनाशक विषादी आदि बनाइन्छ । तिलको तेलमा ओलिक र लिनोलेयिक अम्ल केही बढी मात्रामा पाइन्छ । यसको तेल सफा, रङविहिन, कुनै पनि गन्ध नआउने र चिसोमा पनि नजम्ने खालको हुन्छ । यो तेल छिटो तथा सजिलै बिग्रने पनि हुँदैन । तिलको तेलले अरु सुगन्ध तथा बास्ना शोषण गर्न सक्ने हुँदा वास्नादार तेल (अत्तर आदि) बनाउनमा प्रयोग गरिन्छ ।
तिलको बीउ भुटेर चीनी, गुडसँग मिसाएर लड्डु बनाउने तथा अन्य मिठाईका परिकारमा प्रयोग गरिन्छ । तिलको धार्मिक महत्व पनि उत्तिकै छ । हिन्दुहरुको पुजाकर्ममा तिल नभई हुँदैन । तिलको पिना निकै पोसिलो हुने हुनाले कामदार मानिस र दुधालु पशुलाई पनि खुवाउन सकिन्छ ।
तिलको पिनालाई प्राङ्गारिक मलको रुपमा खेतबारीमा प्रयोग गर्न सकिन्छ । पिनामा ६.०-६.२%. नाईटोजन, २.०-२.२% फास्फोरस र १.०-१.२% पोटास पाइन्छ । झारपातको प्रकोप हुने खेतबारीमा तिलको खेती गर्दा झारपातहरु नियन्त्रण हुन आउँछ । पात तथा डाँठ नरम हुने हुँदा हरियो मलको रुपमा प्रयोग गर्न सकिन्छ । सुकेको डाँठ आगो बाल्न पनि प्रयोग हुन्छ ।
हावापानी तिल न्यानो हावापानी भएको तराई देखि १२५० मिटरसम्म अग्लो उष्ण तथा समशितोष्ण प्रदेशमा खेती गर्न सकिन्छ । बोटको वृद्धि तथा उत्पादनको लागि गरम हावापानी आवश्यक पर्दछ । यसको बीउ उम्रन, बिरुवाको वृद्धि तथा विकास हुन २५-२७D. सेल्सीयस तापक्रम चाहिन्छ ।
लामो खडेरी तथा लगातार वर्षा र पानी जम्ने अवस्था यसको खेतीको लागि हानिकारक छ । यो बालीको राम्रो उत्पादनको लागि ५००-६५० मिलिलिटर वर्षा आवश्यक हुन आउँछ । केही हदसम्म तिल बालीले सुख्खा सहन सक्छ ।
फूल खेल्ने अवस्थामा कम तापक्रम (चिसो) भएमा फूलमा कोसा नलागी झर्छ । असिना तथा तुषारो दुवै तिलले सहन सक्दैन । यसको खेती वर्षा सिजन तथा सिंचित क्षेत्रमा वसन्त मौसममा पनि गर्न सकिन्छ ।
माटो पानीको राम्रो निकास भएको सबै खाले माटोमा तिल खेती गर्न सकिन्छ । पानी जम्ने जग्गामा तिलको खेती गर्नु हुँदैन । दोमट तथा बलौटे दोमट माटो उपयुक्त मानिन्छ । हल्का अम्लीय तथा हल्का क्षारिय (पी.एच. ५.५ देखि ८.० सम्म) माटो राम्रो मानिन्छ । लवणयुक्त माटोमा तिलको खेती गर्न सकिंदैन ।
जात नेपालमा प्रायःजसो सबै स्थानीय जातहरुको खेती भई रहेको छ । राष्ट्रिय तेलवाली अनुसन्धान कार्यक्रम, नवलपुर सर्लाहीमा तिलको जातीय छनोट कार्य भई रहेको छ । स्थानीय जातबाट छनोट गरी तिलको उन्नत जातमा नवलपुर खैरो तिल १ खेतीको लागि सिफारिस भएको छ ।
नवलपुर खैरो तिल १ यो जात डि.एन. ४ नामबाट परीक्षणमा राखिएको जातबाट छनोट गरिएको हो। यो खैरो रङको बीउ भएको जात हो। यो जातले वढी उत्पादन दिने (५००-९०० के.जी. प्रति हेक्टर) र चाँडो पाक्ने (७०-८० दिन) पाइएकोले नवलपुर खैरो तिल १ को नामबाट खेतीको लागि सिफारिस गएिको छ ।
यसको बोट होचो (९० से.मी.) र मध्यम हाँगा फैलिने खालको हुन्छ । यो जातलाई वैशाखा तिल खेतीमा बढी राम्रो पाइएको छ । यसमा रोग (डढुवा रोग) सहन सक्ने शक्ति देखिइएको छ ।
यो जातलाई सिराहा जिल्ला तथा यस भन्दा पश्चिम तराईका जिल्लाहरुमा लगाउन सिफारिस गरिएको छ। यसमा तेलको मात्रा ५० र प्रोटिन ४० प्रतिशत पाइएको छ।
बाली चक्र, खेती प्रणाली तिल खेती प्रायः एकल बालीको रुपमा लगाउने गरिन्छ । वर्षामा तिल र हिउँदमा तोरी, चना, मसुरो, आलस आदि लगाउने गरिन्छ । वैशाखा तिल धानको व्याडमा वा धान खेती पछि लगाइन्छ । कहिले काही मकै, अडहर, झुसेतिल, बदाम, सूर्यमुखीसँग अन्तरवाली वा मिश्रित खेती पनि गर्ने गरिन्छ ।
भारतमा कपास, मुग, मास, बदाम आदि वालीसँग अन्तरवाली वा मिश्रित खेती गर्ने गरिन्छ । भारतमा एक लाइन तिल र २ वा ३ लाइन मुँग लगाउँदा फाइदा देखिएको छ । सर्लाहीमा वर्षा सिजनमा एक लाइन सूर्यमुखी र ३ लाइन तिल लगाउँदा राम्रो नतिजा पाइएको थियो।
त्यस्तै तिल तथा झुसेतिलको मिश्रित वाली प्रणालीमा झुसेतिल ५ किलो र तिल २.५ किलो प्रति हेक्टर बीउ प्रयोग गर्दा उत्साहजनक उत्पादन तथा फाइदा पाइएको थियो । वर्षायाममा मकै बालीसँग घुम्ते खेती गरेमा झारपातको राम्रो नियन्त्रण हुन आउँछ ।
जमिनको तयारी तिलको बीउ सानो हुने भएकोले राम्ररी उम्रन मसिनो माटो पार्नु पर्छ । जमिनको तयारी माटोको किसिम, त्यस ठाउँको हावापानी र जमिनमा लगाइएको अघिल्लो बालीमा भर पर्दछ । दुई तीन पटक जोती पाटा लगाई खेतबारी सम्मो पार्नु पर्छ।
जमिनमा पानी जम्ने होचो ठाउँ बनाउनु हुँदैन । झारपातका अवशेषहरु हटाउदा राम्रो हुन्छ । धेरै पानी पर्ने ठाउँमा ड्याग बनाएर तिल छर्दा राम्रो हुन्छ वा बीच बीचमा कुलेसो बनाई पानीको निकास मिलाउनु पर्छ ।
मलखाद जमिनको तयारीको बेला वा एक महिना पहिला नै प्रशस्त कम्पोष्ट, गोबर मल राख्दा बढी उत्पादन लिन सकिन्छ । बढी उत्पादन लिनको लागि प्रागारिक मलको साथै रसायनिक मलको हकमा ४० के.जी. नाईट्रोजन, ३० के.जी. फास्फोरस र २० के.जी. पोटास प्रति हेक्टरका दरले प्रयोग गर्न सिफारिस गरिएको छ ।
नाईट्रोजनको आधा मात्रा र फस्फोरस र पोटास मलको पुरै मात्रा अन्तिम जमिन तयारीको बेलामा प्रयोग गर्ने र बाँकी नाईट्रोजन गोडमेल गरे पछि टपड्रेस गर्नु पर्छ। नाईट्रोजनलाई ०.२ प्रतिशतको घोल बनाई स्प्रे पनि गर्न सकिन्छ ।
खेती गर्ने समय तिलको खेती वर्षा शुरु भए पछि गर्ने गरिन्छ। तिल प्रायः रहर, बदाम, मकैसँग मिश्रित खेतीको रुपमा लगाउने गरिन्छ । मध्य तराईका जिल्लाहरुमा श्रावणको अन्तिम वा भदौको दोश्रो हप्तासम्म पनि तिल छर्ने गरिन्छ ।
तराईका केही जिल्लाहरुमा धान पछि फाल्गुन तिर संचित चिस्यानमा तिल छरिन्छ र जेष्ठ, असारमा काटिन्छ, यस सिजनमा गरिने तिल खेतीलाई वैशाखा तिल भन्ने गरिन्छ । तेलवाली अनुसन्धान कार्यक्रम, नवलपुर, सर्लाहीमा गरिएको परीक्षण नतिजा अनुसार श्रावण अन्तिम हप्ता देखि भदौ १५ सम्म तिलको वर्षामा छर्ने उपयुक्त समय देखिएको छ ।
श्रावण २४ गते छर्दा ५५० के.जी. प्रति हेक्टर उत्पादन भएको छ भने चाँडो असार आखिर तिर (३७० के.जी.) र भदौ अन्ततिर छर्दा (१५० के.जी.) उत्पादनमा ह्रास देखिएको छ ।
बीउ दर र छर्ने तरिका तिलको खेती छरुवा तथा लाइन तरिकामा चोखो खेती गर्न ३९६ के.जी. बीउ प्रति हेक्टर (१००-२०० ग्राम प्रति कठ्ठा वा १५०-३०० ग्राम प्रति रोपनी) आवश्यक पर्न आउँछ । राम्रो उत्पादन लिनको लागि ३३ बोट प्रति वर्ग मिटर जमिनमा हुनु जरुरी छ।
तिलको बीउ धेरै सानो हुने भएकोले छर्दा सुख्खा माटो, बालुवा वा धुलो गोबर मल मिसाई बराबरी पर्ने गरी खेतबारीमा छर्नु पर्छ । बीउ छर्दा लाइनमा लगाउन सके गोडमेल तथा अन्य कृषि कर्म गर्न सजिलो हुनुको साथै विरुवाको सङ्ख्या पनि एकनाशले मिलाउन सकिन्छ । लाइनमा लगाउँदा ३० से.मी. को फरकमा रोप्नु पर्छ।
बीउ रोप्दा २-३ से.मी.को गहिराईमा मात्र पुर्नु पर्छ। पछि बेर्ना उम्र पछि १५ से.मी. को फरकमा बेडाउनु पर्छ। यो बेडाउने काम बीउ छरेको १५-२० दिन भित्रै अर्थात ३९४ पाते विरुवाको अवस्थामा गरी सक्नु पर्छ। बीउ उम्रन प्रशस्त चिस्यान चाहिन्छ ।
बीउ क्याप्टान वा थिराम वा वेभिष्टिन २ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरे पछि मात्र छर्नु पर्छ। यसरी बीउबाट सर्ने रोगबाट बालीलाई बचाउन सकिन्छ। छर्ने बेला माटोमा चिस्यानको मात्रा कमी भएमा बीउलाई ६ घण्टासम्म भिजाएर २ घण्टा छायाँमा सुकाई छर्दा राम्रो उमारशक्ति हुने पाइएको छ ।
गोडमेल तथा झारपात नियन्त्रण वर्षामा तिलको वृद्धि ढिलो हुने भएकोले झारपातले बालीलाई जिन्न पुग्दछ । तसर्थ झारपात आउने खेतमा बाली सानै अवस्थामा हुँदै झारपात उखेखु पर्छ । पहिलो गोडाई छरेको १५-२० दिन भित्र गर्नु अति जरुरी छ । झारपात गोडाईको बेला पनि बाक्लो विरुवा १५ से.मी.को फरकमा छाट्नु पर्छ । झारपात प्रकोप बढी भएमा दोश्रो पटक पनि हातले गोडमेल गर्नु पर्छ ।
सिँचाइ तिल वर्षामा लगाउने बाली हो। वर्षातमा थप सिँचाइ आवश्यक पर्दैन । बसन्त ऋतुमा छरेको बैशाखा तिललाई भने सुख्खा मौसम हुने हुँदा सिँचाइ दिन सके उत्पादन बढन सक्ने हुन्छ । तिललाई खास छरेको ७ दिन पछि, फूलको कोपिला बन्ने बेला (छरेको २५ दिन पछि), फूल खेल्ने बेला (छरेको ३५ दिन पछि), कोसा लाग्ने बेला (छरेको ५५ दिन पछि) र दाना भरिने बेला (छरेको ६५ दिन पछि) सिँचाइको बढी आवश्यकता पर्छ । सिँचाइ हल्का गर्नु पर्छ, पानी जमाउनु हुँदैन ।
बाली पाकेको पहिचान तथा कटानी, भण्डारण तिल एकै समयमा नपाक्नु तथा कोसाहरु चर्केर बीउ बोटबाटै झर्नु प्रमुख समस्याको रुपमा देखिन्छ । तिलका पात तथा कोसाहरु पहेंलो हुन थाले पछि र पात झर्न शुरु गरे पछि बाली पाकेको बुझिन्छ । बोटमा तल पट्टीका कोसाहरु पहिला पाक्छन र क्रमशः माथि छिप्पिदै जान्छन।
बोट पहेंलो, खैरो हुन थाले पछि अर्थात दुई तिहाई पात तथा कोसा पहेंलो भए पछि बाली कटानी गरी हाल्नु पर्छ । बाली कटानी पछि साना साना मुठा पारी खेत वा खल्यानमा बोट ठाडो पारी ५-७ दिन सम्म घाममा सुकाउनु पर्छ ।
तिल काटने काम विहान पख गर्नु पर्दछ । जसले गर्दा तिल काटदा झरेर नोक्सानी कम हुन्छ । राम्ररी नपाकेको, हरियोमा बाली काटदा बीउमा तेलको मात्रा कम र कम गुणस्तरको हुन्छ ।
घाममा सुकाएका कोसाहरु चर्किन, फुटन थालेपछि लठ्ठीले अथवा ट्याक्टरले दाई गरी बीउ निकालिन्छ। बीउलाई राम्ररी सफा गरी २-३ घाम सुकाई भण्डारण गर्नु पर्दछ ।
उत्पादन तिलको उत्पादन यसको जात, खेती गर्ने मौसम तथा खेती गर्ने तरिका आदिमा भर पर्दछ । सबै उन्नत प्रविधि अपनाएको खण्डमा ८-१० क्विन्टल बीउ प्रति हेक्टर प्राप्त गर्न सकिन्छ । यसको सरदर उत्पादन ३-५ क्विन्टल प्रति हेक्टर रहेको छ ।
स्रोतः बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर