बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जिरा खेती सम्बन्धी सम्पुर्ण जानकारी

बुधबार, असार २० २०८१
10 views
जिरा खेती सम्बन्धी सम्पुर्ण जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
नेपाली भान्सामा प्रयोग हुने प्रमुख मसलाहरू मध्ये मिठो सुगन्ध र मन्द रूपको पिरो तथा सामान्य तितो गुणले भरिपूर्ण प्रिय मसलाको रूपमा जिरालाई लिने गरिन्छ। जिरा मसला तथा जडिबुटि प्रयोजनका लागि उत्पादन गरिने एक वर्षीय झार समूह अन्तर्गतको बाली हो ।

यसमा सेतो रंगको सिलेन्ड्रिकल जरा, लामा लामा साघुरा तथा गाढा हरीया पातहरू, बहु विभाजित रूपमा विकसित भएको काण्डको साथै फूलको समूहलाई Umbel भनिन्छ । बोट नरम प्रकृतिको करिब १५ देखि ५० से।मी। सम्म अग्लो हुन्छ ।

जिराको मुख्यतया फल नै मसलाको रूपमा प्रयोय गरिन्छ । उसलाई अङ्ग्रेजीमा क्यूमिन (Cumin-Cuminum cyminum L.) भनिन्छ। जिरा बाली Umbelliferae वा Apiceae परिवार अन्तर्गत पर्दछ। जिराको उत्पत्ति इजिप्टको (मिश्र) नाइल उपत्यकाको माथिल्लो भेग र भूमध्य सागरीय (Mediterranean)  क्षेत्र लगायत इरान र भारतमा भएको मानिन्छ।

विश्व मानचित्रमा जिरा उत्पादन हुने देशहरूमा साउदि अरेबिया, भारत, इरान, टर्कि, इराक, मेक्सिको, दक्षिण रसिया, इन्डोनेसिया, जापान, चिन आदी प्रमुख रूपमा रहेका भएता पनि मुख्य रूपमा व्यवसायिक तवरले इरान भारत र माल्टाले विश्वको ठूलो उत्पादनको हिस्सा समेटेको पाइन्छ।

नेपालले छिमेकी मित्र राष्ट भारतबाट सबै भन्दा धेरै मात्रामा जिरा आयात गर्दै आइरहेको छ। नेपालको सन्दर्भमा जिरा खेतीको विकास र विस्तारमा विगतमा राष्ट्रिय मसला बाली विकास कार्यक्रमबाट समन्वय तथा सहजिकरण हुँदै आएकोमा हाल आएर सो जिम्मेवारी राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रबाट हुँदै आएको छ।

नेपालमा व्यवसायिक रूपमा जिरा खेती हुने क्षेत्रफल तथा उत्पादन सम्बन्धी विवरणको आधिकारिक आँकडा भेटिंदैन तथापि भन्सार विभागको तथ्याङ्क अनुसार नेपाली बजारमा आ.व. २०७४/७५ मा करिब १ अर्ब ४६ करोड १२ लाख रूपैयाँ बराबरको ६,४८६ मे. टन र आ.व. २०७५/०७६ मा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको ६८८९ मे.टन जिरा आयात भएको पाइन्छ ।

प्रयोग र महत्व
जिराको मुख्यतया बीउ (दाना) लाई मसलाजन्य प्रयोजनका लागि उत्पादन गरिन्छ । जिराको फलमा प्रशस्त मात्रामा शक्तिबर्धक रसायनहरू, रेशाजन्य पदार्थहरू भिटामिन ए, भिटामिन बि का साथै विभिन्न खनिजहरू क्याल्सीयम, फलाम, म्यागनेसियम तथा म्यान्गेनिज तथा फाइबर समेत पाइन्छ ।

जिराको दानाबाट निकाल्न सकिने वासनायुक्त तेललाई क्यूमिनोल वा Cumin Aldehyde भनिन्छ। यसको दाना विभिन्न आर्युवेदिक औषधि बनाउन प्रयोग हुन्छ भने हाल केही अनुसन्धानले यसको दानामा antibleeding, antidiarrhea agent
and for obesity नियन्त्रण गर्न समेत उपयोगी हुने तथ्य देखाएको छ।

जिरामा २% - ४.५% सम्म वाष्पशील आवश्यक तेल  (Volatile Essential Oils) हुने गर्दछ जसमा ढुसीरजीवाणु अवरोधक र एन्टी अक्सीडेन्ट युक्त गुण हुने भएकाले विभिन्न खाद्य पदार्थ संरक्षण गर्न र पेय पदार्थमा समेत यसको प्रयोग गर्ने गरिन्छ।

संयुक्त राष्ट्रसंघको कृषि विभाग (USDA) का अनुसार जिरामा पाइने विभिन्न तत्वहरूको विवरण र मात्रा निम्नानुसार छ।

1.jpg
2.jpg

 

हावापानी र माटो
जिरा उष्ण प्रदेशीय हावापानीमा राम्रो उत्पादन गर्न सकिन्छ साथै उपोष्ण प्रदेशको शुष्क तथा अर्धशुष्क हावापानीमा पनि लगाउन सकिन्छ। यसलाई चिसो तथा सुक्खा तर तुषारो नपर्ने मौषम आवश्यक पर्दछ।

विशेष गरी फूल फुल्ने र दाना लाग्ने समयमा यसले तुषारो सहन गर्न सक्दैन। बीउ लाग्ने बेलामा तापक्रम उच्च भएमा वा ठूलो हावा लागेमा उत्पादन घट्नुका साथै बाँझोपनाको समस्या देखिन सक्छ।

जिरा खेती प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको दोमट माटोमा राम्रो उत्पादन हुन्छ। पानी नजम्ने निकासको राम्रो प्रबन्ध भएको बलौटे दोमट माटोमा फसल राम्रो हुन्छ। यसका लागि माटोको पी. एच. मान तटस्थ उपयुक्त हुन्छ ।

यसका लागि क्षारीय तथा लवण माटो उपयुक्त माँनिदैन साथै जिराको विरुवाले
क्षारीय माटोमा निकै सम्वेदनशीलताका लक्षणहरू देखाउने गर्दछ। जिरा खेती सधैं एकै जमिनमा नगरी जमिन अदल बदल गरेर लगाउँदा माटो जन्य रोगहरूको संक्रमण कम गर्न सकिन्छ ।

१५ देखि २५ डि. से. तापक्रम बीउ उम्रन तथा वृद्धि विकास र २० देखि ३० डि. से. तापक्रम फूल फुल्न तथा बीउ पाक्नको लागि अनुकूल मानिन्छ। समुन्द्र सतहदेखि १००० मिटर उचाइसम्मका क्षेत्रहरूमा यसको व्यवसायिक उत्पादन गर्न सकिन्छ ।

जिरा लगाउने समय
जिरा खेती कार्तिक देखि मंसिर महिना सम्ममा रोप्न उपयुक्त मानिन्छ। जिरा रोप्दा छरुवा तरिका वा लाईनमा वा क्यारि बनाएर गरिन्छ। बीउ दर प्रति रोपनी ६०० देखि ८०० ग्राम आवश्यक पर्दछ ।

बीउ रोप्नु अघि २.५ देखि ३ ग्राम सेरेसन वा थाइराम विषादिले उपचार गरेको बीउ न्यूनतम ६ घण्टा भिजाएर छर्दा राम्रोसग उम्रन्छ । बीउ रोप्दा १ देखि २ से. मि. गहिराइमा रोप्ने तथा बाली चक्र अनिर्वाय पालना गर्नु पर्दछ ।

जिरा खेती लाईनमा गर्दा हारदेखि हारको दूरी ३० से. मि .र बोट देखि बोटको दूरी १५ से. मि. हुने गरी रोप्दा सिचाइ गोडमेल बाली संरक्षण तथा अन्य बालीजन्य अन्तर कृयाकलाप संचालन गर्न सहज अवस्था हुन्छ ।

जातहरू
नेपालमा हालसम्म जिराको कुनै पनि जात उन्मोचन भएको छैन। साथै जिरा खेतीका लागि पंजीकृत जातहरू समेत नेपालमा नभएपनि भारत तथा अन्य देशहरूमा प्रचलनमा रहेका केही प्रमुख जातहरू यसप्रकार रहेका छन् :

3.jpg

जिरा खेती गर्ने तरिका

जग्गाको तयारी
जिरा खेतीका लागि जमिनलाई दुई देखि तीन पटकसम्म खनजोत गरी माटोलाई बुर्बराउँदो बनाउनु पर्दछ । जिरा बाली बीउबाट प्रसारण गरिने भएकोले सिंचित क्षेत्रमा ६०० देखि ७०० ग्राम प्रति रोपनी र असिंचित क्षेत्रका लागि ७०० देखि ८०० ग्राम आवश्यक पर्दछ ।

मलखादको व्यवस्थापन
शुरुमा जमिन तयारी गर्ने बेला राम्रोसँग पाकेको ४०९५० डोका गोबर वा कम्पोस्ट मल प्रति रोपनी माटोमा राम्रोसँग मिलाउनु पर्दछ। जिराका लागि १.५ कि.ग्रा. यूरिया, १.५ कि.ग्रा. डि.ए.पी।.र १ कि.ग्रा. पोटाष प्रति रोपनी आवश्यक पर्दछ ।

यसरी रसायानिक मल प्रयोग गर्दा यूरिया १र२ भाग, डि.ए.पी. र पोटाषको पूरा मात्रा जमिन तयारी गर्दा र यूरिया को १र२ भाग पहिलो पटक गोडमेल गरिसकेपछि टपड्रेस गर्नुपर्दछ।

कुखुराको मल र तोरि तथा अण्डीरको पिना जिरा खेतीमा प्रयोग गर्दा उत्पादनमा बढोत्तरी हुने तथा ओइलाउने रोग कम लाग्न मदत गर्दछ ।

सिचाइ, गोडमेल तथा पानीको निकास
सामान्यतया २९३ पटक झारपात उखेल्ने तथा गोडमेल गर्नुपर्दछ। झारपात नियन्त्रण झारको अवस्था अनुसार गर्नुपर्ने भएकोले साधारणतया पहिलो पटक बीउ छरेको ३०-४० दिनमा र दोश्रो पटकको गोडमेल बीउ छरेको ५०-६० दिनमा झारपात नियन्त्रणका लागि गोडमेल गर्नु पर्दछ ।

लाईनमा छरेको अवस्थामा गोडमेल गर्न सजिलो हुन्छ । हावापानी, माटोको अवस्था तथा जातका आधारमा सिचाइको आवश्यकता तथा मात्रा तय हुने हुनाले साधारणतया जिरा खेतीमा ४-६ पटक सिचाइ गर्नु पर्दछ।

सिचाइ क्रमशः बीउ रोपेको तुरुन्तै हल्का सिचाइ गर्ने त्यसपछि क्रमशः ३० दिनमा, ४५ दिनमा, ६५ दिनमा, ८०९९० दिनमा र १०५-११० दिनमा गर्नु पर्दछ। फूल फुल्ने र दाना लाग्ने बेलामा सिचाइ अनिवार्य हुन्छ । बाली पाक्ने बेला सिचाइ बन्द गर्नुपर्छ।

जिरा बालीमा बाली अवधि सम्मका लागि करिब २२७ मि.लि.पानी आवश्यक पर्दछ। धेरै पानी पर्ने ठाउँ र दोमट तथा चिम्टाइलो माटोमा निकासको राम्रो प्रबन्ध मिलाउन आवश्यक हुन्छ ।

बाली कटाई, चुटाइ, उत्पादन तथा भण्डारण
साधारणतया जिरा ९०-१२० दिनमा तयार हुन्छ । जिरा पाक्ने समय जात, ठाउँ र हावापानी अनुसार फरक पर्दछ ।

जिरा बाली तयार हुने अवस्थामा दानामा भएको तेलको गुणस्तर फेरबदल हुने हुँदा दाना पाकेको अवस्था यकिन गरी बाली कटान गर्नु पर्दछ ।

दाना परिपक्क भएर बोटमा सुक्न लागेको अवस्थामा यसमा भएको तेलका साथसाथै अन्य पदार्थहरू सुगन्धपूर्ण रूपमा विकसित भैसकेको हुन्छ । तर यदि सहायक हाँगामा लागेका दाना समेत सुक्न दिइयो भने मुख्या हाँगामा लागेका दाना झर्न सक्छन् ।

सबै फलहरू एकैपटक परिपक्क नहुने हुँदा बाली भित्र्याउने उपयुक्त समयलाई विशेष ध्यान दिन जरुरि हुन्छ। सामान्यतया राम्रो उत्पादन लिनका लागि ६०-७० % दाना हरियोबाट पहेलो वा हरियोबाट खैरो रङ्गमा परिवर्तन भएपछि बाली कटानी गर्नु पर्दछ ।

कटानी गर्दा सुकेका दाना झरेर नष्ट हुने हुँदा बाली कटानी कार्य बिहान वा बेलुकीमा गर्नु पर्दछ । कटानी गरिएको बालीमा करिब २०% भन्दा बढि चिस्यान हुन्छ । चिस्यानलाई उपयुक्त मात्रामा ल्याउन बाली कटानी गरिसकेपछि छायाँमा सुकाउनु पर्दछ ।

सिधै घाममा सुकाउँदा दानाको रङ्ग र पाइने तत्वहरूमा असर पर्दछ । कटानी गरिएका डाँठलाई मुट्ठा पारेर जमिन तर्फ दाना फर्काएर घामको किरण सिधै दानामा नपर्ने गरि सुकाउनु पर्दछ र सुकाएको बोटबाट जिरा लड्डिको सहायताले झारिन्छ ।

तत्पश्चात जिरालाई राम्रोसँग घाममा सुकाइ सफा गरेर हावा नछिर्ने बोरा अथवा भण्डारण गर्ने भाँडोमा प्याक गरिन्छ। भण्डारण गर्दा जिराको दानामा १० प्रतिशत भन्दा कम चिस्यान हुनेगरी सुकाएर गर्नु पर्दछ। सामान्यतया प्रति रोपनी ३०-५० कि.ग्रा. उत्पादन हुने भएता पनि जात, ठाउँ र हावापानी अनुसार फरक हुन सक्छ।

जिरामा लाग्ने रोगहरू र व्यवस्थापन
जिराबालीमा देखा पर्न सक्ने रोगहरू र तिनको व्यवस्थापन निम्नानुसार रहेका छन् ।

खराने रोग (Powdery Mildew-Erysiphe polygoni)
यस रोगको लक्षण अनुसार पात र डाठमा सेतो धुलो देखा पर्छ । यस रोगको प्रकोप जिरा खेतीमा फूल फुल्ने समयदेखि फल पाक्ने समयसम्म पनि लाग्न सक्छ । खासगरी फूल खेल्ने र गेडा लाग्ने समयमा अत्यधिक मात्रामा देखा पर्छ ।

न्यानो र आद्र मौषममा बढि लाग्छ। फूल खेल्नु अगावै यो रोग लागेमा जिराको गेडा लाग्दैन भने फल लागेको अवस्थामा जिराका बोटमा यस रोगले आक्रमण गरेमा जिराको गेडा सानो हुन्छ र चाउरी पर्छ।

व्यवस्थापनः

खेतको सरसफाई गर्ने।

स्प्रिङकलबाट सिचाइ गर्ने।

यस रोगको नियन्त्रणका लागि लक्षण देखिना साथ क्याराथियन २.०-२.५ ग्राम प्रति लिटर पानिमा मिसाएर छर्नुपर्छ।

आवश्यक परेमा १०-१५ दिन पछि दोस्रो पटक छर्नु पर्छ।


बोट ओइलाउने रोग (Cumin Wilt - Fusarium oxysporum f.sp. cumini)

यो जिरा बालीको सबै भन्दा डरलाग्दो रोग हो। यस रोगलाई जिरा बालीको अवरोधको रूपमा पनि चिनिन्छ। यस रोगबाट प्रभावित विरुवाहरूको पात बटारिन्छ। पछि गएर सम्पूर्ण बोट मर्छ।

कलिलो बोटमा वढि आक्रमण गर्छ। यो रोगको लागि रसायनिक नियन्त्रण प्रभावकारी देखिदैन । रोग नलागेको जग्गाको बिउ मात्र प्रयोग गर्नु पर्छ। यस रोगको प्रभावकारी नियन्त्रणको लागि रोग अवरोधक जात लगाउन सिफारीस गरिएको छ।

व्यवस्थापनः

बाली चक्र अपनाउने।

स्वस्थ बीउको प्रयोग गर्ने।

क्याप्टान, थिराम वा बेभीस्टीन ३ ग्राम प्रति कि.ग्रा. बीउका दरले बीउ उपचार गर्ने।

स्युडोमोनास ५ ग्राम प्रति लिटर पानीका दरले बीउ रोपेको १० दिनको फरकमा दुई पटक छर्ने।

डढुवा रोग (Blight-Alternaria Burnsii)
रोग लागेको विरुवामा खैरो थोप्लाहरू देखा पर्छ जुन पछि गएर कालो बन्छ। प्राय रोगी बोटमा दाना लाग्दैन। दाना लागे पनि चाउरीएको हलुका र कालो रंगको लाग्छ।


व्यवस्थापनः बढि सिचाइ आवश्यक पर्ने बाली र तोरी बाली जिरा खेतको नजिक
नलगाउने। थिराम वा बेन्लेट वा वोभिष्टीनद्वारा बीउ उपचार गर्ने। रोगी बोट उखेलेर नष्ट गर्ने।

ब्रोडिक्स मिक्चर वा डाइथेन एम ४५ वा डाईथेन जेड ७८ (०.२%) ले विरुवा २ हप्ताको भए पछि १० देखि १५ दिनको फरकमा छर्नाले यो रोग नियन्त्रण गर्न सकिन्छ। विषादिको राम्रो प्रभावकारीताको लागि प्रति लिटर पानीमा १ एम.एल. सावुनको झोल मिसाउन सिफारिस गरिएको छ।


जिरा बालीमा लाग्ने किराहरू र रोकथामका उपायहरू

लाही (Aphids)
लाही जिराको मुख्य शत्रु किरा हो। यसले विरुवाको कलिला भागको रस चुसेर विरुवाको विकासमा प्रतिकूल प्रभाव पारेको हुन्छ।

लाहीको संक्रमण धेरै भएमा बोटहरू होचा हुने, पात बटारिने (विकृत हुने) गर्दछन्।लाहिले आक्रमण गरेको ठाउँमा च्याप च्यापे पदार्थ जम्मा भइ कालो ध्वाँसे हुसीको विकास हुन्छ ।

रोकथाम :

- साबुन पानि वा सुर्ती पानीको वा निमको झोल बनाइ बोटको उपचार गर्ने।

- ०.०५% को मालाथीयन वा डाइक्लोरोभसले बोटको उपचार गर्ने।

- किरा नाशक तुसी जस्तै मेटाराइजीयम एनीसोप्ली, ब्युभेरीया वेसियाना, भर्टीसीलीएम लेकानीको प्रयोग गर्ने।

जरामा गाँठा बनाउने जुका (Nematode)
यसले सबैजसो मसलाबालीहरू ज्वानो, धनिया, जिरा, मेथि लगायत सबैमा असर पारेको हुन्छ। यो एक किसिमको परजीवी जुका हो। यसले न्यानो वा गर्मि ठाउँ (धेरै चिसो नहुने) मा बढी आक्रमण गरेको पाइन्छ।

यसले विरुवाको जराको टुप्पोबाट प्रवेश गरि कोषको संरचना बिगारी दिन्छ। जसले गर्दा जरा बढ्न रोकावट भइ जरामा गाँठा बनाइ पर्याप्त मात्रामा खाद्यतत्व माटोबाट सोस्न बाधा पुगी नोक्सान गर्दछ।

यसले आक्रमण गरेका विरुवाहरूमा ओइलिने, वृद्धि ढिलो हुने जस्ता सङ्केत देखिन्छन। बलौटे माटोमा यसको प्रकोप बढी हुन्छ ।

रोकथाम :

- जमिनको तयारी गर्दा गहिरो खनजोत गरि माटोलाई सोलाराइजेसन गर्ने।

- घुम्ती बाली अपनाउने।

- रायो, तोरी आदिबाट बनेको पिना २५० देखि ३०० ग्राम प्रति बर्ग मिटरका दरले प्रयोग गर्ने।

- १ कि.ग्रा.कार्बोफुरान प्रति रोपनी जग्गाका दरले माटोमा मिसाउने ।

स्रोतः राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर

थप समाचार