परिचय
मसलाको राजा भनेर चिनिने मरीच एक बहुवर्षे, सदाबहार, लहरे झाड हुने बाली हो। यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ। यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ।
यो बालीमा मुख्य तत्त्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरीच पाकेर सुकाइएको हुन्छ जसलाई piperaceae भनिन्छ। बानस्पतिक हिसाबले मरीच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई डूप (Drupe) भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ। यसका प्रयोग गरिने मुख्य अवस्थाहरू यसप्रकार छन्ः
कालो मरीच - पकाएर सुकाएको फल
हरियो मरीच - सुकाएको काँचो फल
सेतो मरीच - पाकेको फलको बियाँ
उत्पत्ति र फैलावट
मरीच दक्षिणी भारततिर उत्पत्ति भएको मानिन्छ तर उष्ण प्रदेशीय मुलुकहरूमा जताततै खेती गरिएको देख्न सकिन्छ। विश्वमा भियतनाम, भारत, ब्राजिल, इन्डोनेशिया, मलेशिया, श्रीलङ्का र चीनमा यसको व्यावसायिक रूपमा उत्पादन गरिन्छ।
हालको तथ्याङ्क हेर्ने हो भने भियतनाम विश्वकै सबभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरीच उत्पादन गर्छ। नेपालमा यसको खेती मोरङ, सुनसरी, झापा, रामेछाप र लमजुङमा गरेको पाइन्छ।
उपयोगिता
कालो मरीचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औषधि जस्तै खाना पचाउने भोक जगाउने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगको लागि प्रयोग गरिन्छ साथै दन्न मञ्जन तथा टुथपाउडरमा पनि प्रयोग गरिन्छ।
मरीच सेवनबाट स्वस्थ्यमा हुने फाइदाहरू
- क्यान्सर रोगबाट बचाउँछ ।
- पाचन प्रणालीको विकार हटाई पाचन क्रियामा मद्दत गर्दछ ।
- रुघाखोकी र निमोनियाको लागि यसको सेवन गर्दा आराम हुन्छ।
- मरीचमा प्रशस्त मात्रामा फलाम तत्व पाइन्छ यसले शरीरमा रातो रक्तकोषिक उत्पादन गर्न मद्दत गर्दछ। ब्लडप्रेसर सन्तुलन राख्न मदत गर्दछ।
- मरीच Riboflavin , Thiamine, Niacin , Calcium , Zincर Vitamin k को श्रोत हो । यसमा भएको Calcium तत्त्वले वृद्ध उमेरको मानिसक हाडजोर्नी बलियो बनाउन मद्दत गर्दछ ।
- छालाको समस्याको लागि उपयोगी छ ।
- कपालको वृद्धि गर्न र कपाल चम्किलो बनाउन मद्दत गर्दछ।
- मोटोपना घटाइ तौल कम गर्न मद्दत गर्दछ।
मरीचमा निम्न किसिमका पोषक तत्वहरू पाइन्छ:
Nutritional facts per 100 grams pepper
Carbohydrate- 64 gram
Protein- 10 gram
Calories- 251
Fat- 3.3 gram
Sodium- 20 mg
Potassium- 1329 mg
Vitamins & Minerals
Vitamin A -10 %
Calcium - 0.44%
Iron - 53%
Vitamin B-6 - 15%
Magnesium - 42%
उन्नत जातहरू
मरीचको जात बाली हुने क्षेत्रको हिसाबले ३ किसिममा भिाजन गरिएको छ ।
मालावार किसिम (Malbar Type)
- बलानकोट्टा
यो उत्तर केरलामा लगाइने तथा धेरै झाँगिने जात हो। यसमा तेल (Essential oil) धरै (५.१ प्रतिशत) पाइन्छ। यो जातले शुष्क हावापानी सहन सक्छ र ओइलाउने रोग (Phytophthora wilt) सहन सक्छ ।
कल्लुभल्ली (Kalllguvally)
यो जातको बिरुवा झाडीदार भै पात गाडा हरियो, अण्डाकार, झुप्पा छोटो हुन्छ। यसले उत्पादन धेरै दिन्छ। यसलाइ शुष्क हावापानी चाहिन्छ । यो जात मालाबार क्षेत्रमा अत्यधिक खेती गरिन्छ र यसले सवभन्दा धेरै सुख्खा (खडेरि) र ओइलाउने रोग सहन सक्छ ।
- ट्रेवेन्कोर किसिम (Travancore Type)
चेरियाकानियाक्काटन (Cheriyakaniyakkadan):
यो पात सानो हुने गाढा हरियो फल र बर्षेनी फल्ने जात हो। यसमा सुकेको फलको उत्पादन (४२ प्रतिशत (Dried pepper) अन्य जातमा भन्दा धेरै हुन्छ। यो मरीच गुणस्तरिय मानिन्छ । यसले ओइलाउने रोग सहन सक्छ ।
करिमुन्डा (Karimunda):
यो सबैभन्दा बढि प्रसिद्ध भाले तथा पोथी फूल दुबै एउटै झुप्पामा हुने धेरै फल्ने जात हो। यसको फल र पात अण्डाकार, गाढा हरियो तथा गेडा मध्यम खालको हुन्छ ।
- मालावार किसिम (Malavad Type)
कोट्टानादन (Kottanddan):
यो दक्षिण केरलामा प्रशिद्ध छ। यसको झाड ठूलो हुन्छ। यसमा भाले पोथी एउटै फूलमा हुन्छन्। लामो झुप्पा, धेरै फल लाग्ने दाना मझौला र बर्षेनी फल फल्छ। यो जातमा सबैभन्दा धेरै ओलियोरेजिन (१७.८ प्रतिशत) र सवैभन्दा धेरै पाइपेरीन (६.६ प्रतिशत) पाइन्छ । यसमा सुकेको मरीच ३७ प्रतिशत प्राप्त हुन्छ ।
वर्णशंकर जात पन्नियुर १ (Panniyur 1) :
यो जात पेपर रिसर्च स्टेशन केरला बाट विकसित गरिएको हो। उधिरनकोट्टा (Uthirankotta) पोथी र चेरियाकानियाक्काडन (Cheriyakaniyakkadan ) भालेविच क्रस गरि तयार पारिएको जात हो।
यो जात धेरै झागिने, विभिन्न हावापानीमा सुहाउने, ठूलो पात, लामो झुप्पा ठूलो गेडा भएको हुन्छ । यो छिटो फुल्ने जात हो । यसमा सुकेको फल ज्यादै घट्छ । यो जातमा ओलियोरेजिन ९.५ प्रतिशत, पाइपेरीन ३.५ प्रतिशत र स्टार्च २.५ प्रतिशत हुन्छ।
यसबाट हरियो मरीच सरदर ५.४७ किलोग्राम प्रति बोट उत्पादन हुन्छ। यस वालीलाई छायाँ नपर्ने खुल्ला ठाउँमा रोप्दा उत्पादनमा वृद्धि हुन्छ ।
अन्य जातहरूमा कनिकदाना, करीमकोट्टा, कुधिराभल्ली, मालिगेसरा, निलमुण्डी, तेलीचेरी, एलेपी, सिंगापुर, आदि हुन् । यी बाहेक भारतमा हालसालै पन्नियुर २, पन्नियुर ३, पन्नियुर ४, पन्नियुर ५ श्रकीरा, शुभकरा, पञ्चमी, पौर्णमी, आदि जातहरू उन्मोचन गरिएका छन् ।
हावापानी
मरीच खेती न्यानो, आद्र हावापानी भएको, धेरै वर्षा हुने उष्ण प्रदेशीय क्षेत्रमा खेती गर्न सकिन्छ। पहाडी क्षेत्रको खोच तथा बेशी जस्ता न्यानो हावापानी (उपोष्ण न्यानो तथा बढी आद्रता) भएको स्थानमा समेत सफलताका साथ खेती गर्न सकिन्छ ।
समुन्द्र सतह देखि १५०० मिटर उचाईसम्म मरीच खेती गर्न सकिन्छ । वार्षिक वर्षा १२५ देखि २०० से.मि. उपयुक्त हुन्छ। बोटको वृद्धि र विकासको लागि उत्तम तापक्रम २५ देखि ३५ डिग्री से. हुन्छ। तापनि यस बालीले कम्तिमा १० डिग्री र बढीमा ४० डिग्री से. तापक्रमसम्म पनि सहन सक्छ ।
माटो
सबै प्रकारको माटोमा मरीच खेती गर्न सकिन्छ तापनि एलुभियल (Alluvial) रातो ल्याटेराइट माटोमा मरीच राम्ररी हुर्किन र वढ्न सक्छ । यसको खेती भिरालो जमिनमा पनि गर्न सकिन्छ। तर दक्षिण मोहडा भएको जमिनमा खेती गर्न उपयुक्त हुँदैन ।
पूर्वी मोहडा र उत्तर मोहडा भएको जमिनमा गर्मी महिनामा माटो सुक्ने डर हुँदैन । केही भिरालो, हल्का माटो, पि.एच. मान ४.५ ६ भएको पानीको निकास भएको बढी प्राङ्गारिक मलयुक्त माटो भएको स्थान मरीच खतीको लागि बढी उपयुक्त मानिन्छ । छायाँदार बोटले यसदलाई सुक्ष्म हावापानी (Micro climate) प्रदान गरि बोट वृद्धिमा मद्दत गर्दछ ।
प्रशारण
मरीच २ किसिमबाट प्रशारण गरिन्छ
- लैङ्गगिक प्रशारण
माउबोट
फलको झुप्पा
बिज
यस विधिवाट प्रशारण गर्दा माउ बोटको छनोट गरि पाकेको मरीच गेडा टिपिन्छ । गेडालाई २४ घन्टासम्म पानीमा डुबाइन्छ र गाईको गोबर मिसाएर राम्ररी रगडिन्छ । यसरी तयार गरिएको बिउलाई नर्सरी व्याडमा रोपिन्छ ।
बीउ ३० दिन भित्र उम्रिन्छ र ४५ दिन भित्रमा रोप्नको लागि तयार हुन्छ। बिरुवा असार साउनमा रोपिन्छ । यसरी रोपिएको बिरुवाले ७८ वर्षको भएपछि उत्पादन दिन थाल्दछ र लामो समयसम्म उत्पादन दिइरहन्छ।
बीउ टिपेको २० दिनपछि मरीचको बीउको उमार शक्ति नष्ट हुनेहुँदा जति सकिन्छ छिटो रोप्नुपर्छ। तर यो प्रविधिलाई कृषकस्तरमा व्यवसायिक खेती गर्नको लागि उपयुक्त मानिदैन त्यसै ले यो प्रबिधि प्रयोग गर्न सिफारिस गरिएको छैन ।
वानस्पतिक प्रशारण
वानस्पतिक प्रशारणको लागि मरीच बोटको फेदबाट निस्कने लत्रिने लहरा (Runner Shotts) उपयुक्त हुन्छन्। यसको अलावा टुप्पाको हाँगा (Terminal Shoots) पनि केही राम्रो हुन्छ।
फल लाग्ने सहायक हाँगा (Fruiting Shoots) बाट पनि कहिलेकाही कलमी हाँगा (Cutting) लिन सकिन्छ। तर यसबाट प्रसारित विरुवा थोरै आयुको र झाडीदार हुन्छन् । यस्ता विरुवाहरू गमलाको लागि राम्रो मानिन्छ ।
माघ फागुनमा छानिएको माउ बोटबाट २३ आँख्ला भएको हाँगा काटी नर्सरी व्याड वा माटो भरिएको पोलिथिन व्यागमा रोपिन्छ । कलमीलाई चाहिँदो छायाँ प्रदान गरिन्छ र बेलाबेलामा पानी सिचाइ गरिन्छ । यी कलमीहरूमा जरा आएपछि वैशाख जेष्ठ तिर बारीमा रोप्न लायक हुन्छन् ।
एकपटक बारीमा रोपेपछि यसवाट १५ वर्षसम्म राम्रो उत्पादन दिन्छ । त्यसपछि क्रमशः उत्पादन घट्दै जान्छ । रापेको २० वर्ष पछि बिरुवा कमजोर भई उत्पादकत्व निकै घट्न जान्छ ।
प्रशारणको लागि माउ बोटको छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
- बढि उत्पादन ९फल० दिएको माउ बोटबाट बिरुवा छान्नुपर्छ ।
- ३ वर्ष लगातार फल दिएको वा कम्तीमा १ वर्ष राम्रो उत्पादन दिएको माउ बोटबाट विरुवा प्रसारण गर्नुपर्छ ।
- ५ देखि १० वर्ष उमेर पुगेको माउ बोट कलमीको लागि उपयुक्त हुन्छ ।
- माउ बोटबाट स्वस्थ, पुष्ट, बलियो र मोटो लहरा छान्नु पर्दछ ।
- जसबाट छिटो जरा पलाउँछ र पछि यसबाट निस्केको बिरुवा पनि माउ बोट जस्तै स्वस्थ, पुष्ट, बलियो र उत्पादनशील हुन्छन् ।
मलखादको मात्रा र प्रयोग
उचित र सन्तुलित रासायनिक मलखादको प्रयोगले विरुवाको वृद्धि विकास राम्रो भइ दीर्घायू स्वस्थ भएर वर्षेनी फल फल्ने र धेरै उत्पादन दिने गर्छ । मरीच वालीलाई १०० ग्राम नाइट्रोजन, ४० ग्राम फस्फोरस १४० ग्राम पोटाप प्रति वर्ष प्रति ३ वर्षे बोटमा राख्न सिफारिस गरिएको छ ।
रोपेको पहिलो वर्षको लागि सिफारिश मलको एकतिहाइ मात्र हाल्नु पर्छ । २ वर्षे विरुवाको लागि दुई तिहाइ र तेस्रो वर्ष देखि पुरै सिफारिश गरेको मललाई २ भागमा वॉडि पहिलो मात्रा चैत्र वैशाखमा र बाँकी आधा मात्रा भदौ असोजमा दिनु पर्दछ ।
मल हाल्दा विरुवाको फेदबाट ३० से.मी. टाढा १५ से.मि. गहिरो कुलेसो बनाई दिनु पर्दछ। कम्पोष्ट मल १० कि.ग्रा. प्रतिबोटका दरले वैशाखको अन्त्य तिर दिनु पर्दछ। राम्रो उत्पादन लिन प्रत्येक २ वर्षमा प्रतिबोट ५०० ग्राम कृषि चुन चैत्र वैशाखमा दिन सिफारिश गरिएको छ ।
रोप्ने ठाउँको छनोट तथा खाडलको तयारी
भिरालो जमिनमा रोप्दा दक्षिण मोहडामा सकभर रोप्न हुदैन। पूर्व उत्तर वा पूर्व मोहडा मरीचको लागि उपयुक्त हुन्छ। उपयुक्त मोहडामा लगाउँदा गर्मी महिनामा घामबाट डडेर (Scorching) नोक्सान हुन पाउदैन। जमिनको छनोट गरिसकेपछि ०.६ घनमिटरको खाडल खनिन्छ। एक खाडलबाट अर्को खाडलको फरक २.५ मिटर हुनु पर्दछ।
खाडलहरू प्राङ्गारिक मलयुक्त जङ्गलको माटो वा कुहिएको पातपतिङ्गर कम्पोष्ट माटोमा मिसाइ पुरिन्छ। खाडल खनि मल राखि पुर्ने कार्य वर्षा सुरु हुनु भन्दा १५-२० दिन अगाडि नै सम्पन्न गरि खाडलको बिच भागमा किला वा कुनै प्रकारको चिन्ह लगाउनु पर्छ ।
नर्सरीमा रोप्न तयारि अवस्थाको मरीच विरुवा
बिरुवा रोप्ने तरिका
- वर्षा शुरु हुनासाथ २-३ वटा राम्ररी जरा विकसित भएको बिरुवालाई सहारा दिने विरुवा जस्तो सुपारी, नरिवल, रुखकटहर, आँप, काभ्रो, फलेदो आदि रुखको उत्तर तर्फ पारी रोप्नु पर्दछ ।
- यदि जरा नपलाएको विरुवा छ भने ४-५ वटासम्म रोप्नुपर्छ ।
- बोटको दूरी २.५ मि. र हारको दूरी पनि २.५ मि.को फरकमा रोप्दा १ हेक्टरमा १६०० खाडलहरू हुन्छन् र प्रत्येक खाडलमा २-३ वटा बिरुवा रोप्नुपर्छ ।
मरीचको विरुवा रोपण र बाली व्यवस्थापन
- मरीचको बिरुवा पलाउन थालेपछि बढ्नको लागि आड वा सहारा चाहिन्छ ।
- यसबेला पलाएको मुन्टोलाई सहारा दिने रुखमा लगाई दिनुपर्छ ।
- नयां पालुवालाई चर्को घामबाट जोगाउनु पर्दछ ।
- बिरुवालाई आवश्यक प्रकाशको लागि सहारा दिने रुखका हाँगालाई कोटछाँट गर्नु पर्दछ ।
- यो कार्य हिउँदे वर्षा भन्दा अगाडि नै गर्नुपर्दछ ।
- विरुवालाइ छापो दिनु पर्दछ। पराल, सुकेको घाँस, पातपतिङ्गर छापोको रूपमा वर्षायाम भन्दा अगाडि दिनुपर्छ ।
- छापो दिनुभन्दा पहिले सहारा दिने रुखको १ मिटर वरपर खनेर छापो हाल्नु पर्दछ ।
- यसले झारपात आउन रोक्नुको साथै माटोमा चिस्यान कायम राख्नमा समेत सहयोग गर्छ ।
- दोस्रो वर्षमा पनि यस्तै किसिमको कृषि कार्य गर्नुपर्दछ । ४ वर्ष बाट सहारा दिने रुखलाई राम्ररी काँटछाँट गर्नुपर्दछ ।
- यसले रुखको उचाइलाई रोक्ने तथा विरुवालाइ चाहिदो मात्रामा छहारी प्रदान गर्दछ ।
फूल खेल्ने र गेडा लाग्ने समयमा अत्याधिक छहारीले रोगकिरा निम्त्याउन सक्छ ।
बाली लिने समय र सुकाउने तरिका
- मरीचको बोटमा वैशाख ज्येष्ठमा फूल खेल्छ। यो बाली पाक्न फूल फुलेदेखि ६-८ महिना लाग्छ ।
- जब मरीचको गेडा पहेंलिएर एउटा झुप्पामा १२ वटा गेडा रातो हुन्छ तब झुप्पाहरू टिप्न लायक हुन्छन् ।
- तराईमा मंसिर देखि पौषसम्म र पहाडमा पौष देखि फागुन सम्ममा टिपिन्छ ।
- टिपिएका झुप्पाहरू २३ दिनसम्म गुम्साएर राखिन्छ त्यसपछि गुन्द्रीमा वा सिमेन्टको भुइँमा केही दिनसम्म घाममा सुकाइन्छ ।
- पछि मिचेर वा लड्डीले झारिन्छ । गेडाहरू गाडा खैरोबाट कालो नभएसम्म सुकाइन्छ ।
- गेडा चाउरिएर कालो भएपछि भन्डारण गरिन्छ ।
- मरीचको गेडामा भन्डारण पूर्व ८-१० प्रतिशत चिस्यानको मात्रा कायम गर्नु पर्दछ ।
साधारणतया विरुवा रोपेको ७-८ वर्षपछि मरीच बोट (लहरा) ले पूरा दाना उत्पादन दिन्छ । २० वर्ष पछि उत्पादन घट्न थाल्छ । १०० कि.ग्रा हरियो मरीचबाट २५ देखि ४० कि.ग्रा. सुकेको मरीच प्राप्त हुन्छ।
उत्पादनमा जमिनको उचाइ, तापक्रम, वर्षा, माटो, बालीको हेरचाह, जात र बोटको उमेरले असर गर्दछ। काँचो मरीच प्रति हेक्टर ३५५ कि.ग्रा. वा सालाखाला २७५ कि.ग्रा. सुकेको उत्पादन भएको पाइन्छ ।
तर मलेसिया, ब्राजिल र इन्डोनेशियामा क्रमशस् ४१३०, कि.ग्रा. ३४०० कि.ग्रा. र ५२९ कि.ग्रा. प्रति हेक्टरमा उत्पादन भएको पाइन्छ । सामान्यतया राम्रोसंग सप्रिएको एक बोटबाट औषत १० कि.ग्रा. सुकेको मरीच उत्पादन लिन सकिन्छ ।
झुप्पा झर्ने समस्या (Spike Shedding)
- यो कुनै रोग होइन माटोमा सुक्ष्म तत्वको कमी या अन्य कुनै अनियमितताको कारणले गर्दा झुप्पा झर्ने गर्दछ ।
- झुप्पा प्रायजसो २ भिन्न अवस्थामा झर्छन ।
- पहिलो रोग लागेको समयमा र गेडाको वृद्धि अवस्थामा प्रतिकूल मौसमको कारणले झुप्पा झर्छ ।
- गेडा झर्दा ४० प्रतिशतसम्म उत्पादन घट्न सक्छ ।
- यसरी झुप्पा झर्नमा मुख्य कारणहरू विरुवाको वंशाणुगत गुण माटोमा खाद्य तत्वको घटबढ वा असन्तुलित अवस्था, हावापानी र रोग तथा कीराको आक्रमण आदि प्रमुख छन् ।
- हाइब्रिड जात पन्नियुरमा कम झुप्पा झर्छ ।
मरीच बालीमा लाग्ने मुख्य मुख्य रोगहरू र रोकथामका उपायहरू . - ---- - Phytophthora Capsici बाट फेव कुहिने रोग
रोगको लक्षण
रोग लागेको बोटको फेद तथा जरा कुहिएर नष्ट भएको देखिन्छ, चित्र नं १। पातमा बेजनि रंगको थोप्ला देखिन्छ र पछि गएर कालो रंगको देखिन्छ, माथि चित्र नं २
रोकथाम
- वर्षा मौसममा पानीको निकासको प्रवन्ध गर्ने।
- वर्षा सुरु हुनुभन्दा अगाडि जेठ महिनामा बोडोंपेष्ट बनाइ १ फिट माथिसम्म फेदमा पेष्ट लगाउने।
- १ प्रतिशतको बोर्डोमिश्रण बनाइ फेदको माटो भिज्ने गरि ड्रेन्बिङ गर्ने।
- विरुवा रोप्दा जरामाथिको हरियो डाँठ माटोले पुर्नु हुँदैन र पछि पनि माटो धेरै चढाएर फेदलाई माटोले छोप्नुहदैन ।
छिटो ओइलाउने रोग (Quick Decline)
रोगको लक्षण
-यो रोग बुसीजन्य जिवाणुहरूबाट लाग्दछ ।
- रोगका जिवाणुहरूले मरीचको बोट (लहरा) को विभिन्न भागहरू खासगरेर पात फेद र जरामा सडाउने काम गर्दछन् ।
- पात सड्न गएमा पात पहेंलिएर झर्ने हुन्छ । फेद सड्ने रोग भएमा बोट नै मर्छ ।
- माटोको सतहनिर फेद सड्ने रोग लागेमा कान्डमा पानीले भिजेको जस्तो दागहरू देखापर्छन् ।
- पात सड्न गएमा पात पहेँलिएर झर्ने हुन्छ । फेद सड्ने रोग भएमा बोट नै मर्छ ।
- माटोको सतहनिर फेद सड्ने रोग लागेमा कान्डमा पानीले भिजेको जस्तो दागहरू देखापर्छन् ।
- जरा सड्ने (कुहिने) रोगले गर्दा जरा कुहिन थाल्छ जसको फलस्वरूप टुप्पादेखि ओइलाएर आउँछ ।
- पातहरू पहेंलिएर झर्ने र झुप्पा झर्ने हुँदै अन्त्यमा बोट नै मर्छ ।
- माटोमा पानी जम्न गइ वातावरणमा बढि आद्रता भएमा यो रोगको प्रकोप धेरै देखिन्छ ।
रोकथाम
- वर्षाको बेला मनसुन सुरु हुनु अघि नै पानी निकासको राम्रो प्रवन्ध मिलाउने ।
- रोग लागेका भागहरू काटी जलाइदिने ।
- जरा सड्ने रोगमा १० प्रतिशत वोर्डोमिश्रणले बोट वरिपरि वर्षात अघि, मध्य र पछि गरि ३ पटक छर्कने ।
- वर्षातको बेला बोर्डोपेष्ट बनाइ माटोको सतह देखि १ फिट माथि लेप लगाइदिने ।
- फेद कुहिने तथा जरा सड्ने रोग अवरोधबक जातहरू लगाउने ।
- एन्थ्राक्नोज रोग (Anthracnose)
रोगको लक्षण
- एन्थ्राकनोज रोगको लक्षण दिखएको मरीचको पात डाँठ र फल
- यो रोग लागेमा खैरो कालो धब्बाहरू छिप्पेका पातहरू र कलिला दानाहरूमा खैरो दागहरू देखा पर्छन् ।
- फलका झुप्पाहरू पाक्न अघि नै झर्छन् ।
रोकथाम
- रोग लागेका भागहरू (पात, दाना र झुप्पा) छाँटी जलाउने ।
- १० प्रतिशत वोर्डोमिश्रण छर्कने ।
जरामा गाँठो पार्ने नेमाटोड
रोगको लक्षण :
यो रोग Meloidogyne incognita भन्ने नेमाटोडले जरामा आक्रमण गर्छ । यसलाई पनि विस्तारै ओइलाएर जाने रोगको मुख्य कारकको रूपमा लिइन्छ ।
रोकथाम
- नेमागन ४० लिटर प्रति हेक्टर छर्कने ।
- ओसामिल ३८ मि.लि. प्रति ४.५ लि. पानीमा मिसाइ पात भिज्ने गरि छर्कने वा माटोमा जरा वरिपरि ड्रेन्च गर्ने ।
- कार्बोफ्युरान १०० ग्राम प्रति बोट (लहरा) माटो वरिपरि मिसाउने ।
विस्तारै (ढिलो) ओइलाउने रोग (Slow Decline)
रोगको लक्षण
- यस रोगबाट बिरुवा बिस्तारै ओइलाउदै सुक्दै जान्छ।
- फ्युजारीयम, राइजोक्टोनिया, डिप्लोडिया, जीवाणुहरू र मेलाइडोगाइन नेमाटोडका विभिन्न प्रजातीहरूको आक्रमणबाट यो रोग लाग्न सक्छ ।
- यी बाहेक अन्य कारणहरूमा खाद्यतत्वको कमी, उपयुक्त माटो नहुनु आदि हुन् ।
रोकथाम
माथि छिटो ओइलाउने रोग (Quick Decline) को विधिहरू अपनाउने
भाइरस रोग
भाइरस रोगको लक्षण
- विरुवाको मुन्टा र पात गुजुमुजु भएको देखिन्छ। पातको रंग फरक देखिन्छ ।
- पात र फलमा खैरो दाग देखिन्छ र रोग बढ्दै गएपछि पूरै विरुवा नष्ट हुन्छ ।
रोकथाम
- भाइरस रोगको रोकथाम कुनै पनि रासायनिक तथा जैविक विषादिबाट हुँदैन। यो रोग कीराबाट सर्ने भएकोले जैविक वा रासायनि किटनाशक विषादिको प्रयोग गरि कीरा नियन्त्रण गर्नुपर्दछ ।
- बगैचाको उचित व्यवस्थापन र सरसफाइ गर्नुपर्दछ ।
मरीच बालीमा लाग्ने मुख्य मुख्य कीरा व्यवस्थापनका उपायहरू
- गवारी डाँठको टुप्पामा प्वाल पार्ने कीरा
क्षतिको प्रकार
- हलुका पहेंलो रंगको लाभ्रा (गवारी) कीराले पनि मरीच वोट (लहरा) मा बढी क्षति पुऱ्याउँछ ।
- यसले टुप्पाबाट प्वाल पारी भित्र पसी गुदी खाँदै नोक्सान गर्दछ । यस कीराको प्रकोप वर्षापछि (भदौ महिनातिर) बढी हुन्छ ।
रोकथाम
- डाइमेथोएट ०.०५ प्रतिशत को झोल लहरामा छर्कदा गबारोको क्षति घट्दछ ।
थ्रिप्स
क्षतिको प्रकार
- स-साना थ्रिप्स कीराको समूह पातमुनी बसी रस चुसी खान्छन् ।
- ग्रसित पातको तन्तुहरू बाक्लिंदै जान्छन् र पातको किनारा चाउरी परी फिक्का देखिन्छ ।
रोकथाम
- ०.१ प्रतिशतको मालाथियन वा ०.०५ प्रतिशतको डाइमेथोएटको झोलले सबै पातहरू मुनी भिज्ने गरि छर्कने ।
कल्ले कीरा
क्षतिको प्रकार
- यस कीराले पनि पात, डाँठ, फूल र कलिला हरिया दानामा रस चुसी नोक्सान गर्छ ।
- रोकथाम थ्रिप्स कीरालाई जस्तै गर्ने। प्रकोप हेरि २ हप्ताको फरकमा कम्तीमा २ पटक छर्कने ।
स्रोतः राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर