बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

हिउँदे घाँस बर्सीम खेती

बिहीबार , साउन ३ २०८१
42 views
हिउँदे घाँस बर्सीम खेती

समाचार शेयर गर्नुहोस्

Share this news

१) परिचय  : 

बर्सीम एक कोषे प्रजातीको हिउँदे घाँसबाली हो ।  इजिप्सीयन क्लोभर (Egyptian clover) पनि भनिन्छ । यो घाँसको बैज्ञानिक नाम Trifolium alexandrinium हो र यो कोशेबाली परिवार (Leguminosae family) भित्र पर्दछ । बर्सीम घाँस धेरै पोषिलो हुने भएकोले पशुहरुले मन परायर खाने, पशुहरु स्वस्थ्य रहने उत्पादनमा बृद्धि हुने, उत्पादन लागतमा कमि आउने र लामो अबधिसम्म घाँसको उत्पादन लिन सकिने भएकोले यस घाँसलाई घाँसको राजा (king of fodder) पनि भनिन्छ। बर्सीम घाँसमा प्रोटिन र क्यालसियमको मात्रा बढि हुने भएकाले दूध उत्पादनमा वृद्धि हुनाका साथै पशुको स्वास्थ्यमा सुधार आउ छ। कोषेघाँस भएका कारण घाँसको जरामा स साना गिर्खाहरु (nodules) को विकास हुन्छ र यी गिर्खाहरुमा सुक्ष्म जिबाणुहरु (Bacteria) बस्दछन् र यिनीयिहिरुले वायूमण्डलमा भएको नाईट्रोजन सोसेर गिर्खामा थन्क्याउछ ।

शुक्ष्म जीवाणुले थन्क्याएको नाईट्रोजन विरुवाले प्रयोग गरी बाँकी रहेको नाईट्रोजन जमिनमा नै रहन्छ। बसींमघाँसको जात अनुसार आफ्नोबाली चक्रमा २७२ देखि ४०० के.जी. नाईट्रोजन प्रति हेक्टरसुक्ष्म जीवाणुको माध्यमबाट जमिनमा स्थिरिकरण हुन सक्छ । घाँसको जरामा साना गिर्खाहरुभित्र नाईट्रोजन रहने भएकोले बर्सीमघाँस उखेल्नु हुदैन र गिर्खालाई माटो मुनि नै रहन दिनु पर्दछ। यसले गर्दा जमीनको उर्बरा शक्तिशक्ति बढन्मा सहयोग पुग्दछ। यो घाँस पहिलो पटक नयाँ जमिनमा खेतीगर्दा शुक्ष्म जैबिक मलको उपचार (Rhizobium culture treatment) पछि मात्र बीउ छर्नु पर्दछ।

शुक्ष्म जैबिक मल प्रयोग गरी बीउ छर्दा शुक्ष्म जीवाणुको संख्या वृद्धि भई बायुमण्डलबाट नाईट्रोजन स्थिरिकरणको मात्रामा वृद्धि हन्छ। बर्सीमघाँसलाई जै घाँससँग मिश्रित गरी खेतीगर्न पनि सकिन्छ। बढि भएको हरियो घाँसलाई हे बनाएर पछि हरियो घाँसको अभाव भएको समयमा पशु आहाराको रुपमा प्रयोग गर्न सकिन्छ । यो घाँसका खेती पदती (Package of practices) निम्न अनसार वर्णन गरिएको छ।

 २. हावापानी (Climate):

बर्सीमघाँस उष्ण तथा समसितोष्ण हावापानी भएको स्थानमा सजिलै  सँग खेती गर्न सकिन्छ । यो घाँसको खेतीसमुन्द्र सतहबाट १५०० मिटरको उचाईसम्म सफलता पुर्वक गर्न सकिन्छ । तुषारो भने यस घाँसले सहन गर्न सक्दैन । घाँसको बानस्पातिक बृद्धि विकासका लागि छोटो दिन, सुख्खा र चिसो (dry and cold) मौसमको आबश्यक पर्दछ । बर्सिमघाँसको बीउ उत्पादनका लागि न्यानो मौसम उपयुक्त हुन्छ । बर्सीमघाँसलाई नियमित सिंचाईको आबश्यकता पर्दछ । ३. माटो (soil): बर्सीम घाँसको खेतिका लागि मलिलो दोमट माटो (Clay loam soil) उपयुक्त मानिन्छ तथापी बलौटे तथा पांगो माटोमा पनि यसको खेतीगर्न सकिन्छ । अम्लिय तथा पानी जम्ने जग्गामा यसको उत्पादन राम्रो हुदैन । सामान्यतया बर्सीम खेती धान खेती गर्ने जग्गामा लगाउन सकिन्छ। बर्सीम घाँस क्षारिय माटोमा पनि खेती गर्न सकिन्छ ।

३. जमिनको तयारी (Land preparation):

जमिनको तयारी खेती गर्ने तरिकामा भर पर्दछ। बर्सीम घाँसको खेती तीन तरिकाबाट गर्न सकिन्छ । धान खेतमा रिले बालीका (Relay crop) रुपमा, घुले ब्याड बनाएर, हिले ब्याड बनाएर खेती गर्न सकिन्छ। धान खेतमा रिले बालीका रुपमा लगाउदा जमिनको खनजोत गरिरहनु पर्दैन । धुले तथा हिले ब्याडमा घाँस खेती गर्दा जमिनलाई राम्रो सँग खनजोत गरी तयार पार्नु पर्दछ । जमिनको सतह समथर पारी राम्रासँगसँग मिलाएर जग्गाको तयार पार्न पर्दछ जस्ले गर्दा पछि सिंचाई गर्दा सजिलो पर्दछ र घाँसको उत्पादनमा पनि बृद्धि हुन्छ।

 ४. मलको मात्रा (Fertilizer doses):

बर्सीम कोषे घाँस भएकोले नाईट्रोजन युक्तमल कमै मात्रामा आबश्यक पर्दछ । जमिनको उर्बरा शक्तिहेरी कम्पोष्ट मल १५ देखि २० टन प्रति हेक्टर जमिनको तयारी गर्दा माटोमा राम्रो सँग मिसिने गरि प्रयोग गर्नु पर्दछ । रसायनिक मलको हकमा २०:४०:० के.जी. नाईट्रोजन, फसफोरस र पोटास क्रमस जमिन तयार गर्दा सबै तिर एकनासले पर्ने गरि छर्नु पर्दछ र माटोमा मिलाउनु पर्दछ । जग्गाको तयारीको क्रममा प्रति हेक्टर १ के. जी. मोलिब्डेनम प्रयोग गर्नु पर्दछ । यसले राईजोयिबा ब्याक्टेरियालाई नाईट्रोजन स्थिरिकरणमा सहयोग पुर्याउदछ र घाँसको  उत्पादनमा बृद्धि गराउदछ ।

५. बीउमा शुक्ष्म जैविक मलको प्रयोग (Method of inoculation):

५.१ शुक्ष्म जैविक मल भनेको के हो ?

कोशेबालीहरुको जरामा गिर्खा (nodules) हरु बन्दछन् । यी गिर्खाहरुमा राईजोयिबा ब्याक्टेरियाहरु बसी बायुमण्डलमा भएको नाईट्रोजन सोसेर गिर्खाहरुमा सञ्चित गर्दछन् । सञ्चितभएको नाईट्रोजनले ब्याक्टेरिया तथा बिरुवा दुबैको बृद्धि विकासका लागि सहयोग पुग्दछ । बिरुवा तथा ब्याक्टेरिया दुबैलाई फाइदा पुग्ने यस किसिमको सम्बन्ध लाई सहजीवी (symbiotic relationship) भनिन्छ । बर्सीम घाँसको जरामा धेरै गिर्खाहरु बनुन र हावाबाट धेरै भन्दा धेरै नाईट्रोजन जमिनमा सञ्चित होस र घाँसको उत्पादनमा पनि वृद्धि होस भनि शुक्ष्म जैबिक मल (Rhizobium Culture) को प्रयोग गर्नु पर्दछ । बर्सीम घाँसको बीउ उपचारको लागि प्रयोग गरिने शुक्ष्म जैविकमलको प्रजातीको ब्याक्टेरिया Rhizobium trifolii हो । यो ब्याक्टेरियाले नाईट्रोजन सञ्चितीकरण गर्न सहयोग पुर्याउदछ । शुक्ष्म जैविक मलको उत्पादन राईजोबियम तथा घाँसेबाली बीउबिजन प्रयोगशाला, जनकपुर, धनुषामामा गरिन्छ र शुक्ष्म जैविक मल ४० ग्रामको प्याकेटमा तयार पारी बिक्रि बितरण गरिदै आएको छ।

५.२ शुक्ष्म जैविक मलको प्रयोग विधि : शख्खर/गुण/चिनि पानीको १० प्रतिशतको घोल बनाई उमाल्ने । उमालेको घोल लाई सेलाउन दिने । सेलाएको घोलले छर्नको लागि तयार पारेको बीउलाई भिजाउने । सख्खर पानीको घोलले भिजाएको बीउमा शुक्ष्म जैविकमलको धुलो छर्ने र राम्रोसँग मिसाउने र छायामा ओभाउन दिने । ओभाएको बीउलाई तयार गरिएको जग्गामा छर्ने। शुक्ष्म जैविकमल उपलब्ध हुन नसकेमा पहिला बर्सीम खेती गरेको जग्गाको माटो दुई भाग र बीउ एक भाग राम्रोसँग मिसाई तयार गरिएको जग्गामा छर्ने।

६. घाँसको बीउ छर्ने तरिका (Method of seed sowing): 

क) धान खेतमा बर्सीम खेती गर्ने :

(ख) धुले ब्याडमा बर्सीम खेती गर्ने :

(ग) हिले ब्याडमा बर्सीम खेती गर्ने :

धान खेतमा वर्सीम खेतीः

धान खेतमा बर्सीम छर्दा धान काट्नु भन्दा १० दिन अगाडी जमिनमा प्रशस्त चिसान भएको अवस्थामा शुक्ष्म जैविक मलको उपचार गरी प्रति हेक्टर २५  के. जी. बर्सीम घाँसको बीउ छर्नु पर्दछ । जमिनमा चिस्यानको मात्रा प्रयाप्त हुनु पर्दछ जसले गर्दा बीउ उम्रनको लागि सजिलो पर्दछ। माटोमा औंला गाडिने खालको चिस्यान हुनु जरुरी हुन्छ। बाली बिज्ञानमा यस किसिमको खेती गर्ने तरिकालाई रिले क्रपिङ्ग (Relay cropping) भनिन्छ।

धुले व्याडमा बर्सीम खेती गर्ने :

खेतलाई राम्रोसँग खनजोत गरी डल्ला फुटाई माटोलाई बुरबुराउदो बनाई जमिनलाई समथर बनाउनु पर्दछ। धुले ब्याड तयार पार्दा सिंचाई गर्दा पानी जमिनको सबै तिर एकनासले फिजियर जाने प्रबन्ध मिलाई तयारी गर्नु पर्दछ । कतै पानी जम्ने कतै पानी नपुग्ने अवस्था आउन दिनु हुदैन । जमिनको तयारी गर्ने समयमा सिफारिस गरिए अनुसार मलको मात्रा जमिनको सबैतिर एकनाससँग पर्ने गरी माटोमा मिलाउनु पर्दछ । धानको लागि धुले ब्याड बनाए जस्तै गरी जमिनको तयारी गर्नु पर्दछ। बर्सीमको बीउ मसिनु हुने भएकोले जमिनको तयारी गर्दा खेतबाट झार तथा बालीका ठुटाहरु हटाई जमिनलाई सफा गरी माटो मसिनु पार्नु पर्दछ र जमिनको सतह राम्रोसँग मिलाउनु पर्दछ । तयार पारिएको जमिनमा सिफारिस गरिए अनुसार बीउको परिमाण जमिनको सबैतिर एकनास पर्ने गरी छर्नु पर्दछ र बीउलाई हल्कासँग माटोले छोप्नु पर्दछ । माटोमा चिस्यानको मात्रा कमि छ भने बीउ छरेपछि हल्का सिचाई गर्नु पर्दछ । बर्सीम घाँसलाई सिंचाई नियमित रुपमा आबश्यक पर्ने भएकाले माटो चिसान हेरी सिंचाई गर्नु पर्दछ । अवस्था हेरी बर्सीमको जीवन चक्रमा १० देखि १२ पटक सम्म सिंचाई गर्नु पर्दछ ।

हिले ब्याडमा बर्सीम खेती गर्ने :

बर्सीम खेती गर्ने जमिनलाई खनजोत गरी धानको बीउ राख्दा झै ब्याड तयार गरी खेतमा १ देखि २ इन्च पानी जमाएर राख्ने। खेतमा जमाएको पानी सँगलीए पछि मात्र शुक्ष्म जैबीक मल द्वारा उपचार गरेको बीउ प्रति हेक्टर २० देखि २५ के.जी का दरले ब्याडको सबैतिर एकनास पर्ने गरी छर्नु पर्दछ । बर्सीमको बीउ अङ्कुरण भएपछि खेतमा जमेको पानीको निकास गरी दिनु पर्दछ। हिले ब्याड बनाउँदा सिफारिस गरिए अनुसार मलको मात्रा जमिनको तयार गर्दा नै माटोमा सबैतिर पर्ने गरि प्रयोग गर्नु पर्दछ। यो बिधिबाट बर्सीम खेती गर्नु सबै भन्दा उत्तम बिधि मानिन्छ। यस बिधिबाट घाँस छर्दा प्रथम पटकको घाँस काट्ने समय अरु बिधि बाट भन्दा १० देखि १५ दिन छिटो अर्थात ४५ देखि ५० दिनमा घाँस काट्न सकिन्छ र घाँसको उत्पादन पनि बढि हुने गर्दछ ।

७. बीउ छर्ने समय (Time of sowing):

असोज १५ देखि मङ्गसिर १५ (October -November) सम्म घाँसको बीउ छर्न सकिन्छ । तथापी कार्तिक महिना भित्र घाँस लगाउदा उत्पादन बढि हुने र हिउँदको सुरुवात देखिनै पोषिलो घाँस खुवाउन सकिन्छ ।

 ८. बीउको मात्रा (Seed rate):

बर्सीम घाँसको बीउ प्रति हेक्टर २० देखि २५ के.जी. सिफारिस गरिएको छ । बीउको शुद्धता, बीउको उमार शक्तिआदीमा पनि बीउको मात्रा फरक पर्न सक्छ ।

९. बर्सीम घाँसको जात (Varieties):

बर्सीम घाँसका प्रचलित जातहरुमा मेस्काभी, बरदान, बि.एल.२२, यु.पि.बि. १०३, गोल्ड ग्रिन आदि।

१०. सिंचाई (Irrigation):

बर्सीम घाँस उत्पादनको लागि सिंचाईको प्रबन्ध आधारभुत आबश्यकता भएकोले सिंचाईको सुनिश्तिता हुनु पर्दछ । बर्सीम घाँसको जीवन चक्रमा १० देखि १२ पटक सम्म सिंचाईको आबश्यकता पदर्छ। धुले ब्याड बनाई घाँस खेतीगर्दा बीउको उमार शक्तिवृद्धि गरि घाँस द्वारा जमिन ढकाउनको लागि बीउ छरेको ७ देखि १० दिन भित्र पहिलो पटक सिंचाई गर्नु पर्दछ र त्यस पछि माटोको चिस्यानको अवस्था हेरि १० देखि १५ दिनको फरकमा सिंचाई गर्नु पर्दछ ।

११. गोडमेल तथा झार नियन्त्रण (Weeding):

बर्सीम घाँस लगाएको जमिन प्राय २० देखि २५ दिन सम्म झार रहित हुन्छ । बढी उत्पादनका लागि बर्सीम लगाएको खेतलाई झारमुक्त राख्नु पर्दछ । सामान्यतया पहिलो पटक घाँस छरेको २१ दिन पछि र दोस्रो पटक ३५ देखि ४० दिन पछि गोडमेल गरी झार निकाल्नु पर्दछ यसले गर्दा घाँसको बानस्पतिक बृद्धिमा सहयोग पुग्दछ। यस पछि घाँस घना भई जमिन पुरे ढाक्दछ र आफेझार नियन्त्रण हुन्छ ।

१२. घाँस उत्पादन (Fodder biomass production):

बर्सीम घाँस छरेको ५५ देखि ६० दिनमा पहिलो पटक हरियो घाँस काट्नको लागि तयार हुन्छ । त्यसपछि ३० देखि ३५ दिनको फरकमा घाँस काट्न सकिन्छ । बीउ उत्पादन गर्ने भएमा तेस्रो पटक घाँस काटी सकेपछि घाँस काट्न छोड्नु पर्दछ र आबश्यकता अनुसार सिंचाई गर्नु पर्दछ । घाँस काट्दा जमिनको सतहबाट ३ इन्च माथिबाट काट्नु पर्दछ । यसो गर्दा घाँस छिटो पलाउछ र उत्पादनमा बृद्धि हुन सहयोग पुग्दछ । हरियो घाँस उत्पादन ६० देखि ८० मेट्रिक टन प्रति हेक्टर हुन्छ भने बीउ उत्पादन औषतमा २.५ तथा ३.० क्विण्टल प्रति हेक्टर उत्पादन हुन्छ । बर्सीम घाँस बैशाखको १५ बाट फुल फुल्न सुरु हुन्छ र जेष्ठको अन्तमा बीउ पाक्दछ ।

१३. बर्सीम घाँसमा पाउने पोषण तत्वहरुः

बर्सीम घाँस असाध्य पोषिलो, रसिलो, सबै खाले पशुले रुचाएर खाने, बढि उत्पादन दिने, नरम खालको घाँस भएकाले यस घाँसलाई घाँसको राजा पनि भनिन्छ । बर्सीम घाँसमा आधारित पशु आहार व्यवस्थापन गर्दा सन्तुलित दानाकी खर्च कटौती भई उत्पादन लागत घट्दछ र एक अनुसन्धानबाट अ के देखिएको छ भने १० लिटर दूध दिने गाईले बर्सीम घाँसमा आधारित आहार व्यवस्थापन गर्दा सन्तुलित आहार दिनु आबश्यक पर्दैन। बर्सीम घाँसबाट प्राप्त हुने पौष्टिक तत्वले प्रति दिन १० लिटर दूध उत्पादनको लागि पोषण तत्व पुग्दछ । सुख्खा पदार्थको आधारमा क्रुड प्रोटिन (CP) १७ देखि २२ प्रतिशत पाईन्छ । त्यस्तै गरी क्रुड फाईवर (CF) २५.९ प्रतिशत र कुल पाच्य पदार्थ (TDN) ६० देखि ६५ प्रतिशत पाईन्छ।

१४. वर्सीम घाँसमा झार नियन्त्रण (Weed control) :

बर्सीम घाँसलाई सबै भन्दा बढि सताउने झार भनेको (Chicorium intybus) हो। यो झार नियन्त्रण गर्न १० प्रतिशत नुनपानीको झोलमा बीउ उपचार पछि नियन्त्रण गर्न सकिन्छ । १० प्रतिशत नुनपानीको झोलमा बीउ डुबाउँदा कस्कुटाको बीउ हलुका हुने हुँदा पानीमा तैरिन्छ र माथि तैरेको बीउलाई पूर्ण रुपमा हटाउनु पर्दछ र बर्सीमको बीउमात्र खेतमा छर्नु पर्दछ । बर्सीम खेतमा देखिने अन्य झारहरु घाँस छरेको ३५ देखि ४० दिन पछि गोडमेल गरी नियन्त्रण गर्नु पर्दछ ।

१५. बर्सीममा लाग्ने रोग तथा किरा नियन्त्रण :

बर्सीममा लाग्ने मुख्य रोगमा फेद कुहिने (Stem rot) हो। यो रोग लाग्ने कारक माटो हो। माटोको उपचार बाट यो रोग नियन्त्रण गर्न सकिन्छ। यो रोगबाट हरियो घाँस उत्पादन तथा बीउ उत्पादनमा असर गर्दछ । प्राबिधिकको सल्लाह सुझाव अनुसार माटोको उपचार तथा ब्यवस्थापन गर्नु पर्दछ । त्यस्तै मुख्य किराहरुमा फटेड्ग्रा (Grass hopper) र झुसल किरा (gram catter pillers) हुन् । प्राबिधिकको सल्लाह लिइ किरा नियन्त्रण गर्न पर्दछ । पशुलाई वर्सीम कति मात्रामा खुवाउन सकिन्छ ? सामान्यत गाईभैंसीहरुलाई दैनिक दिने सुख्खा पदार्थको आधारमा ३० प्रतिशत सम्म बर्सीम घाँस खुवाउन सकिन्छ। कोष घाँस भएका कारण  प्रोटिनको मात्रा बढि पाईने भएकोले तोकिएको मात्रा अनुसारको खुवाउनु पर्दछ। उदाहरणका लागि ४०० के.जी. शारिरिक तौल भएको गाईलाई १२ के.जी. सुख्खा पदार्थ आबश्यक पर्दछ । १२ के.जी. सुख्खा पदार्थको ३० प्रतिशतले ३.६ के. जी. सुख्खा पदार्थ हुन आउछ र यो बर्सीम घाँसबाट दिन सकिन्छ। बर्सीम घाँसमा ८५ प्रतिशत जलांश हुने भएकोले ३.६ के.जी. सुख्खा पदार्थको लागि २५ के.जी ताजा बर्सीम गाईलाई उपल्ब्ध गराउनु पर्दछ ।

सन्दर्भ समाग्रीहरु : १. फिड्स एण्ड फिडिङ्ग अफ एनिमल न्यूट्रिसन, १९९८, जि.सि.बनर्जी २. पशु आहारा तथा घाँस उत्पादन, डा. चेतराज उप्रेती, सुजया उप्रेती, डा. निरज बाँसकोटा ३. गाई भैंसीपालन प्रबिधि, २०१२-२०१३, रुद्र प्रसाद पौडेल ४. एनिमल न्यूट्रिसन एण्ड फिडिड्ग प्राक्टीसेस, थर्ड रिभाइज्ड ईडिसन, एस. के. रन्जन - कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभपन , ललितपुर 

सम्बन्धित विषय

थप समाचार