कोल्ड स्टोर त बन्यो तर तरकारी र फलफूल कसरी राख्ने भन्ने ज्ञान नहुँदा सरकारको अनुदानमा निमार्ण भएका कयौ कोल्ड स्टोरहरू संचालनमा नै आएका छैनन भने संचालनमा आएकाहरू पनि स्टोरमा राखेको उपज कुहिएको कारण समस्यामा छन्। सामान्यता, कोल्ड स्टोरमा राखिने फलफूल तथा तरकारीको भण्डारण आयु त्यसको जात, प्रकार र टिप्नु भन्दा अघिको उपजको अवस्थामा भर पर्दछ। कोल्ड स्टोरको तापक्रम र सापेक्षीक आद्रताको उचित नियन्त्रण मार्फत तरकारी तथा फलफूलको भण्डारण आयु र गुणस्तर कायम गर्न सकिन्छ ।
तसर्थ यदि तपाईले कुनै उपज भण्डारण गर्ने हो भने सो उपजको बालीको जात, बाली लिनुको अधिको अवस्था, उपयुक्त भण्डारण तापक्रम, उपयुक्त सापेक्षिक आद्रता बारे राम्रो जानकारी लिनु पर्छ। यसका साथै उक्त उपजलाई अधिकतम कति दिन सम्म भण्डारण गरि राख्न सकिने हो भने त्यसको पनि जानकारी राख्नु पर्दछ। कोल्ड स्टोरमा उपजको उचित भण्डारण गर्न सामान्यतया निम्न दुई कुरामा ध्यान दिनु पर्दछ ।

तापक्रम :
कुनै पनि कृषि उपजलाई उचित भण्डारणको लागि निश्चित तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ। कोल्ड स्टोरमा राखिने उपजलाई बाहिरी तापक्रमबाट जति सक्दो चाडो उपयुक्त तापक्रममा लैजान सक्यो भण्डारणका दौरान उपजको गुणस्तर त्यति नै राम्रो हुन्छ ।
सापेक्षिक आद्रता :
भण्डारणका दौरान उच्च आद्रता कायम राख्नाले उपजमा भएको पानीको मात्रा घट्दैन जसको कारण उपजको वजन कम हुन्न् । उच्च आद्रता जहिल्यै पनि कम तापक्रममा कायम राख्नु पर्दछ। यदि तापक्रम र आद्रता दुवै उच्च भएमा ढुसी र ब्याकटेरियाको वृद्धि विकासमा महत पुऱ्याउँछ । तसर्थ कोल्डस्टोरको सापेक्षिक आद्रता आवश्यक मात्रामा छ कि छैन भनि नियमित चेक गर्नु पर्दछ।
कुनै पनि उपजलाई टेबलमा उल्लेखित तापक्रम अनुसार राखे पछि उल्लेखित समयसम्म भण्डारण गर्न त सकिन्छ तर हाम्म्रो देशमा बिक्री कक्ष तथा ढुवानी साधनहरू वातानुकुलित नभई दिनाले न्यून तापक्रममा भण्डारण गरि राखिएका उपजहरू बिक्रीको लागि लैजादा र बिक्री प्रयोजनका लागि राख्दा झन धेरै बिग्रिन सक्छ । तसर्थ हाम्रो देशको बजार सुहाउँदो तापक्रम व्यवस्थापन गर्न अनिवार्य हुन्छ।