बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ट्राइकोडर्मा ढुसी

मंगलबार, साउन ८ २०८१
9 views
ट्राइकोडर्मा ढुसी

समाचार शेयर गर्नुहोस्

Share this news

अनुसन्धान र  विश्वविद्यालयको तहमा अति चर्चित ट्राइकोडर्मा किसान माझ भने अझै पुगिसकेको छैन । यसलाई सहि रुपमा प्रयोग गर्दै जाने हो भने रासायनिक विषादीको प्रयोगलाई हामीले व्यापक रुपमा कमी गर्न सक्दछौं । नेपालमा पनि विभिन्न कम्पनीहरुले यसको उत्पादन गर्दै आएका छन् । यो लेखमा हामीले ट्राइकोडर्माका बारेमा चर्चा गरेका छौं ।

ट्राइकोडर्मा ढुसी माटोमा पाइने फाइदाजनक ढुसी हो । यिनीहरू माटोबाट निकालेर प्रायः कल्चर गर्न सकिने दुसी हुन् । केही उपजाति बिरूवाको जराको वरिपरि नै झुप्प भएर बस्ने, रोगका जीवाणुलाई खाएर वा कुनै तरिकाले कम गरी उत्पादन बढाउन सहयोग पुऱ्याउँछन् । तसर्थ यस्ता उपजातहरू माटोमा वा बीउमा कुनै तरिकाबाट मिलाइन्छ वा छरिन्छ । एकपटक यिनीहरू जराको सम्पर्कमा आएपछि झुप्पा बन्दछन् । यदि बीउ उपचारबाट यस्ता उपजातिहरू प्रयोग गरिएको छ भने तिनीहरू जराको एक मिटरको वरपरमा वा माटोको सतहभन्दा तलसम्म प्रयोग गरिएको धेरै महिनासम्म उपयोगी संख्यामा नै पाइन्छन् तर कुनै-कुनै उपजातिमा यस्तो क्षमता हुँदैन ।


ट्राइकोडर्माको प्रयोग ट्राइकोडर्मा ढुसीहरूलाई विभिन्न रोगका जीवाणुलाई नियन्त्रण गर्ने कार्यमा प्रयोग गरिन्छ । यी ढुसीहरू विशेषतः माटोबाट सर्ने रोगहरू नियन्त्रण गर्न प्रयोग हुन्छन् । जराको आसपासमा झुप्पामा रहने साथसाथै यिनीहरूले आक्रमण गर्ने, आश्रित हुने अथवा अरू ढुसीबाट पोषक तत्व लिने गर्दछन् । त्यसैले ट्राइकोडर्माका उपजाति राम्रोसँग बढ्ने र हुर्कने गर्दछन् । त्यहाँ प्रशस्त स्वस्थ जराको विकास हुने साथै अन्य ढुसीसँगको सम्पर्कका कारणले जरा एवं बिरूवा बढ्छ । ट्राइकोडर्मा प्रयोगका फाइदाहरु निम्न छन्ः

- रोगसँग प्रतिकार गर्ने क्षमता वृद्धि, अप्ठ्यारो परिस्थिति सहन सक्ने क्षमताको अभिवृद्धि गर्दै जरा र विरूवाको विकास गर्ने

- पोषक तत्वको घुलनशीलता बढाउने,

- अवरोधक क्षमता बढाउने बिरुवा बढ्न सहयोग गर्ने, विषादीले बिगारेको माटोलाई पुर्नजागरण गर्ने

ट्राइकोडर्माको प्रयोग गर्ने मात्रा र तरिकाः

ट्राइकोडर्मा ढुसीजन्य जैविक विषादीले माटोजन्य र बीउबाट सर्ने तलका रोगहरू नियन्त्रण गर्न प्रयोग गरिन्छ : जरा, डाँठ र फेद कुहिने रोग, व्याक्टेरियल ब्लाइट, गानो कुहिने रोग, पातमा दाग, बेर्ना सड्ने रोग, ओइलाउने रोग, आलु र गोलभेडाको डडुवा, लसुन सड्ने रोग, पातको फेद सड्ने रोग

प्रयोग विधि 

बीउ उपचारः

५-१० ग्राम प्रतिकेजी बीउका दरले प्रयोग गरिन्छ । ५ ग्राम ट्राइकोडर्मा १५ मिलिलिटर पानीमा मिसाएर १ के. जी. बीउका दरले बीउ उपचार गरिन्छ । यसलाई आधा घण्टाजति छायाँमा सुकाएर राख्ने र त्यसपछि मात्र बीउ रोप्ने ।

आलुको दाना, अदुवा वा कटिङको उपचारः

१० ग्राम ट्राइकोडर्मा १ लिटर पानीमा मिसाउने र सो झोलमा यी वस्तुलाई डुब्ने गरी १५ मिनेटसम्म राख्ने र त्यसपछि मात्र रोप्ने । बेर्ना बीउ उपचारः ५ देखि १० ग्राम ट्राइकोडर्मा १ लिटर पानीमा मिसाउने र सो झोलमा १५-२० मिनेटसम्म बेर्नाका जरा दुब्ने गरी राख्ने र त्यसपछि मात्र बिरुवा रोप्ने ।

नर्सरी बेडको उपचारः

२५० ग्राम ट्राइकोडर्माले ४०० वर्ग मिटर जग्गालाई उपचार गर्न पुग्दछ । नर्सरी बेडमा ड्रेन्च गर्नेः २५० ग्राम ट्राइकोडर्मा ५० लिटर पानीमा मिसाएको झोलले जमिनमुनि पुऱ्याएर ४०० वर्ग मिटर जग्गालाई उपचार गर्न पुग्दछ ।

 खेतमा छर्नेः

३०० ग्राम ट्राइकोडर्माले १३ रोपनीमा उपचार गर्न पुग्दछ । ३०० ग्राम ट्राइकोडर्मा ६ के. जी. गाईको गोबरमा वा कम्पोष्ट वा गोबर मलमा राम्ररी मिलाउने र त्यसलाई खेतमा छरेर हल्का सिँचाइ गर्ने । ३० ग्राम ट्राइकोडर्माले ५०० वर्ग मिटर (१ रोपनी) जग्गालाई पुग्ने गरी छर्ने । 

बिरुवाको पातमा छर्ने:

५०० ग्राम ट्राइकोडर्माले १३ रोपनीमा जग्गामा लगाएका बिरुवालाई पुग्ने गरी छर्ने । १० ग्राम ट्राइकोडर्मा १५ मिलिलिटर पानीमा मिसाएर लेदो बनाउने र त्यसलाई १.५ लिटर पानीमा राखेर राम्ररी घुलेपछि बिरुवाको सम्पूर्ण भागमा पर्ने गरी साँझपख छर्ने । - प्रयोग सिफारिस बालीहरू ट्राइकोडर्मा ढुसी तरकारी बाली जस्तै काउली, बन्दा, उखु, चना, केरा, खुर्सानी, आलु, कागती, बदाम, चिया, कफि, अदुवा, अलैंची लगायतका बालीहरुमा प्रयोग गर्न सकिन्छ ।

ट्राइकोडर्मा प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु

• ट्राइकोडर्मा ढुसीको प्रयोग गरेको ४-५ दिन सम्म रासायनिक विषादीको प्रयोग नगर्ने ।

• ट्राइकोडर्मालाई सुख्खा माटोमा प्रयोग नगर्ने । यो ढुसी हुर्कन बढ्न चिस्यानको आवस्यकता पर्दछ ।

• ट्राइकोडर्मा उपचार गरिएको बीउलाई घाममा नसुकाउने ।

• ट्राइकोडर्माले उपचार गरिएको मललाई प्रयोग गरिहाल्ने ।

ट्राइकोडर्मालाई अर्गानिक मलसँग मिसाएर प्रयोग गर्न सकिन्छ । ट्राइकोडर्मालाई थाइराम वा मेटाल्अग्जिलले उपचार गरिएको बीउमा प्रयोग गर्न सकिन्छ । तर अन्य विषादीसँग भने सँगै मिसाउन हुँदैन ।

सम्बन्धित विषय

थप समाचार