बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मकैको अनुवांशिक गुणस्तर कायम राख्ने प्रविधि

मंगलबार, साउन १५ २०८१
36 views
मकैको अनुवांशिक गुणस्तर कायम राख्ने प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

नेपालमा खेती गरिने बालीहरु मध्ये प्रमुख दोश्रो बाली हो मकै । विशेषगरी पहाडी श्रेत्रमा मकैलाई महत्वपूर्ण खाद्य बालीको रुपमा लिइन्छ । यसलाई विभिन्न किसिमले उपयोग गरिन्छ जस्तै खाद्यान्न, पशुपंक्षीको दाना, घाँस, र कहिलेकाही दाउराको रुपमा पनि । नेपालमा हालसम्म २३ वटा मकैका उन्नत जात हरू विकास एवं सिफारीस गरिएकोछ र केही जातहरू उन्मोचनको क्रममा रहेका छन् । किसानले लगाएको ३—४ वर्ष पछि मात्र उन्नत मकै पनि स्थानीय हुन आउँछ । स्थानीय मकैमा बोटको उचाई र घोगा लाग्ने आंख्लासम्मको उचाइ घटबड हुने, रोग कीराको प्रकोप बढी हुने, धान चमरा तथा जुंगा निस्कन लाग्ने दिन तथा पाक्ने समयमा असमानता रहने, दानाको रंगमा मिसावट आउने, उत्पादन कम हुने जस्ता अवगुणहरू भएमा सो अवगुणहरूलाई बाली प्रजनन्का विर्षेश प्रक्रियाबाट हटाउन सकिन्छ, सोको लागि निम्न कार्यहरू गर्नुपर्दछ, जसलाई किसानहरू स्वयंले अबलम्बन गर्न सक्दछन् ।

क) जमिनको तयारी गर्ने र आधार बोट लगाउने : 
मलिलो, दोमट, पि.एच. ५.५ देखि ७.५, पानी नजम्ने माटो मकैको लागि राम्रो हुन्छ । जमिनको तयारी गर्दा एउटा जात र अर्को जातको लगाएको जग्गाको दूरी करिब ३०० मिटर हुनु पर्दछ । मकैको चमरा निस्कने समयको तापक्रम १० डिग्री सेल्सियस भन्दा कम र ४० डिग्री सेल्सियस भन्दा बढी हुनु हुदैँन  अन्यथा गेडा कम लाग्ने समस्या आउन सक्छ । करिब ७.५ कठ्ठा जमिनलाई २/३ जोताई गर्नुको साथै लिड्को लगाउने र डल्ला फोरी जमिन बुरबुराउँदो पार्नु पर्दछ । एक हार देखि अर्को हारको दूरी ७५ से.मी. र एकबोट देखि अर्को बोटको दूरी २५ से.मी. कायम गरी रोप्नु पर्छ । साधारणतया २० देखि २५ डोका कम्पोष्ट वा गोठेमल प्रति कट्ठा र नाईट्रोजन, फस्फोरस र पोटास १२०ः६०ः४०  के.जी. प्रति हेक्टरको दरले वा ५ के.जी. डि.ए.पी., २.५ के.जी. युरिया र २ के.जी. म्युरेट अफ पोटास प्रति कट्ठा जमिनको अन्तिम तयारीको बेला दिने तथा नाईट्रोजनको बाँकी भाग ४ के.जी. युरियालाई दुई भागमा विभाजन गरेर आधा भाग भने बोटहरू घुँडासम्म अग्लो भएपछि र बाँकी भाग चमरा निस्कने बेला टप ड्रेसिङ्ग गर्नुपर्दछ । मकैलाई २ गोडाईको आवश्यकता पर्दछ । पहिलो गोडाई मकै उम्रेको ३ देखि ४ हप्ता भित्र गरिसक्नुपर्दछ ।  पहिलो गोडाई समयमा भएन भने मकैमा धेरै क्षति हुन्छ । दोश्रो गोडाईमा उकेरा  दिईन्छ । उकेरा दिने कार्य पहिलो गोडाई गरेको ४ देखि ५ हप्ता पछि गरिन्छ । यस समयमा मकै प्रायः घुँडासम्म आउने गरी अग्लो भएको हुन्छ ।

ख) जग्गाको खण्डीकरण गर्ने र खण्डबाट घोगा छान्ने : 
जग्गालाई करिब १०० वटा समान आकारमा स–साना खण्डहरु बनाउनुपर्दछ । यसरी खण्डीकरण गर्दा चारैतिर बोर्डर लाईनहरु छाड्नुपर्दछ । हरेक खण्डबाट ३/४ वटा राम्रो घोगालाई चिन्ह लगाउने र पाकेपछि भाँच्नु पर्छ । चिन्ह लगाउन रातो रिबन वा धागो प्रयोग गर्न सकिन्छ । प्रत्येक खण्डबाट घोगा छान्दा समान उचाइ भएका बोटबाट रोग कीरा नलागेको, खोस्टाले ढाकेको, मोटो तथा चराले नखाएको घोगा मात्र छान्नु पर्दछ । बोट ढल्ने समस्या न्युनिकरण को लागि घोगाको छनौट गर्दा जमिनदेखि पूरा बोटको ५० प्रतिशत भन्दा तलको आँख्लामा घोगा रहेको र समान उचाईमा घोगा लागेको बोटहरू मात्र छान्नु पर्दछ । 

ग) छनौट प्रत्येक घोगालाई लाईनमा लगाउने : 
एउटै घोगामा पहेंलो र सेतो रंग मिसिएका घोगाहरू हटाउनु पर्दछ । जात अनुसारको निख्खर पहेलो वा निख्खर सेतो घोगाहरू मात्र छनौट गर्नुपर्दछ । छनौट गरीएका २५० घोगाहरू हरेकलाई लाईनमा लगाउनु पर्दछ । हरेक घोगाबाट ३ लाईन पोथी बिरुवाको रूपमा  लगाउनु पर्दछ । हरेक घोगालाई मिसाएर बनाईएको बीउबाट १ लाईन भाले बिरुवाको रूपमा लगाउनु पर्दछ । पोथी बिरुवाको चमरा निस्कनासाथ हटाउनु पर्दछ र भाले बिरुवाको परागकणबाट पोथी बिरुवामा परसेचित हुन दिनु पर्दछ।

घ) पोथी बिरुवाको लाईनबाट उत्तम घोगा छान्ने : 
पोथी बिरुवाको प्रत्येक लाईनबाट ५ वटा राम्रो घोगाहरूलाई छान्नुपर्दछ । यसो गर्दा करिब १,२५० घोगा हुन आउँछ । यी घोगाहरू छान्दा बोटको उचाइ समान भएको, रोग कीरा नलागेको, खोस्टाले ढाकेको, मोटो तथा चराले नखाएको घोगा मात्र छान्नु पर्दछ । मकैको खोस्टा फुस्रो भई सुक्यो भने मकै पाकेको थाहा हुन्छ ।

कहिलेकाहीं अन्य कारणले पनि खोस्टा सुक्ने हुँदा मकैको दाना उप्काई खोयामा गाडीने भाग तिर कोट्याई हेरेमा कालो पत्र देखिएमा मकै पाकेको निश्चित हुन्छ । साधारणतया मकैको दानाको चिस्यान ३० प्रतिशत भन्दा कम भए पछि भाँच्नु, १३–१४ प्रतिशत भए पछि छोडाउनु तथा ८–१० प्रतिशत भएपछि भण्डारण गर्नु उपयुक्त हुन्छ । यसरी दुई सिजनमा गरिने माथिका सबै प्रक्रियाहरु अबलम्बन गरेपछि छनौटको पहिलो चक्र पूरा हुन्छ । एवंरितले छनौटको दास्रो चक्र  र तेस्रो चक्र  पूरा गरेपछि मकैमा गुणस्तर (शुद्धता) कायम हुन्छ र उक्त मकैलाई नयाँ बीउ  को रूपमा प्रयोग गर्न सकिन्छ । 

- जीवन श्रेष्ठ र कृष्ण प्र. तिम्सिना  

सम्बन्धित विषय

थप समाचार