बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

प्रांगारिक कृषि (खेती)

मंगलबार, साउन १५ २०८१
73 views
प्रांगारिक कृषि (खेती)

समाचार शेयर गर्नुहोस्

Share this news

नेपाल एक कृषि प्रधान देश हो । हिमाली र पहाडी प्रदेशमा आजसम्म अत्यधिक रूपमा रासायानिक मल र रासायनिक बाली संरक्षण पदार्थ प्रयोग भएको छैन भने तराई प्रदेशमा उत्पादन बढाउनको लागि विभिन्न प्रकारका रासायानिक पदार्थ प्रयोग गर्दै आइरहेका छन् । हाम्रो देशले जनसंख्याको अनुपातलाई मध्यनजर राखी खाद्यवस्तुको माग पूरा गर्न विगत ३५–४० वर्षदेखि उत्पादन र उत्पादकत्व बढाउन व्यवसायिक तथा आधुनिक कृषि प्रणालीमा जोड दिंदै आएको छ ।

बाली सघनता, बेमौसमी तरकारी खेती, उन्नत बीउ बीजन एवं वर्णशंकर जातहरूको प्रयोग पनि बिस्तार हुँदै गएको छ । सोही अनुरूप कृषि सामाग्री, रासायनिक मल तथा बाली संरक्षण विषादीको मात्रामा पनि वृद्धि भइरहेको छ । यसरी कृषि उत्पादनमा प्रयोग गरिने यी रसायनहरूले वातावरण, हावा, पानी, माटो र त्यसमा आधारित जीवनचक्र प्रणालीलाई नराम्रोसँग प्रभाव पारेको छ । तसर्थ यो डरलाग्दो परिस्थितिको सामना भविष्यमा गर्न नपरोस् भन्नको लागि आजैदेखि हानिकारक रोग, कीरा, झारपात नियन्त्रण गर्न जैविक विधि तथा अन्य वैकल्पिक उपायहरूको प्रयोग बढाउँदै व्यवसायिक प्रांगारिक खेतीको विकास गर्ने बेला आइसकेको छ ।

यस परिप्रेक्ष्यमा एकातर्फ बढ्दो जनसंख्याको निमित्त चाहिने खाद्यान्न, तरकारी, फलफूल आपूर्तिका लागि कृषि उत्पादन बढाउनु आवश्यक छ र यसका लागि व्यवसायिकरण अपरिहार्य छ भने अर्कोतर्फ व्यवसायिकरण बाट कृषि उत्पादन वृद्धि गर्ने नाममा रासायनिक मल एवं विषादीको बढ्दो प्रयोगबाट मानिस लगायत वातावरणीय संरचनामा पर्ने नकारात्मक प्रभावलाई जोगाउनु उत्तिकै आवश्यक छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मल र विषादीको भाउ आकासिँदो छ, जसले उत्पादन लागत अत्यधिक बढेको छ । हाम्रो देशमा यी रासायनिक वस्तुहरूको उत्पादन र वितरण पनि सहज देखिदैन  । जसले गर्दा ग्रामीण क्षेत्रमा गरिबी वृद्धि हुँदै गईरहेको छ र गरिब कृषकहरू खाद्य सुरक्षा एवं रोजगारीको लागि शहरतिर बसाई सराई गरिरहेका छन् । 

भएका खेआफूसगँ  तबारीलाई बाँझो तथा चरण क्षेत्र बनाएको पनि पाईएको छ । त्यसैले ग्रामीण कृषकलाई खाद्य सुरक्षाको निमित्त गाउँमै जीवन निर्वाह हुन सक्ने कृषि उत्पादन प्रणालीको विकास गरी अपनाउनु पर्ने भएको छ । यसलाई मध्यनजर राखि उत्पादनलाई सुव्यवस्थित तथा वातावरणलाई संरक्षण गर्न कृषि क्षेत्रको दिगो विकासका लागि नयाँ कार्यशैली अपनाई व्यवसायिक प्रांगारिक खेती अवलम्वन गर्नु आजको आवश्यकता देखिएको छ ।

नेपालमा प्रांगारिक खेतीको आवश्यकता एवं संभावना : 

- हावापानीको विविधताका कारण हाम्रो स्थानीय मौलिक विधि र तरिकाबाट उत्पादित उपजबाट तुलनात्मक लाभ लिन सकिन्छ ।

- शहरी क्षेत्रका व्यवसायिक पकेटहरू, तराई क्षेत्र र पहाडका सडक आसपासका क्षेत्र बाहेक अन्य क्षेत्रहरूमा रासायनिक मल विषादीको प्रयोग धेरै कम भएको पाईन्छ, बाँकी अधिकांश भूमि (करीब ७० प्रतिशत भन्दा धेरै) अझैपनि प्रांगारिक खेती प्रणालीमै आधारित छ ।

- नेपालका कृषकहरूसँग औसत प्रति परिवार करीब ०.५ हे. भन्दा कम जमिन भएको हुँदा गरिब किसानहरूलाई समेट्न र उत्पादनमा दिगोपन ल्याउन प्रांगारिक खेती प्रणाली एक राम्रो वैकल्पिक उपाय हुन सक्छ ।

- विषादीयुक्त कृषि उपजको उपभोगबाट पर्ने नकारात्मक असर र स्वास्थ्यका लागि सुरक्षित खानाबारे जनचेतना अभिवृद्धि हँदै आएकोले आन्तरीक बजारमा पनि प्रांगारिक उत्पादनको संभावना रहेको छ ।

- प्रांगारिक उत्पादन विदेशी बजारमा निर्यात गरेर विदेशी मुद्रा समेत आर्जन गर्न सकिन्छ । 

प्रांगारिक कृषि : 

रासायनिक पदार्थको विकल्पमा प्रांगारिक पदार्थको मात्र प्रयोग गरी गरिने कृषि प्रणाली नै प्रांगारिक कृषि हो ।

यो एउटा समग्र उत्पादन प्रणाली हो जसको मूल आधार कृषि र पशुपालन हो । यसले आफ्नो फार्मभन्दा बाहिरबाट आपूर्ति हुने कृत्रिम
कृषि सामाग्रीहरू जसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्छ, त्यस्तालाई निरुत्साहित गर्छ र आन्तरिक व्यवस्थापनलाई बढी जोड दिन्छ । प्रांगारिक खेतीको मुख्य उद्देश्य भनेको पारिस्थितिक प्रणालीमा सन्तुलन, कम लागतमा गुणस्तरीय खाद्यबस्तु उत्पादन हो । यो हासिल गर्न संभव भए जति खेती प्रणाली, जैविक र यान्त्रिक उपायको खोजी गर्दै वनस्पति र जीवजन्तुको जैविक तथा वंशाणु क्षमताको अधिकतम प्रयोग गरिन्छ ।

प्रांगारिक उत्पादनमा उपयुक्त बालीचक्र, बालीको अवशेष, कोशेबाली, सूक्ष्मजीवाणु मल, हरियोमल,  कम्पोष्ट मल, गाईबस्तु र पशुपंक्षीको मलमूत्र, मानव मलमूत्र, खलि, हाडको धुलो, बजारमा उपलब्ध हुने फोहोरमैला, पशुपंक्षीको अवशेषमा आधारित हुन्छ । बोट बिरुवामा कीरा नियन्त्रणका लागि मित्र जीवहरू एवं वनस्पतिबाट उत्पादित जैविक विषादीको प्रयोग गरिन्छ । त्यसैगरी झारपात रोकथामका लागि भौतिक, कृषिगत कार्य र जैविक विधि अपनाईन्छ ।

प्रांगारिक खेतीका निश्चित दायराहरु : 
- समग्र उत्पादन प्रणालीलाई जैविक विविधता उन्मुख गराउने ।
- माटोको जैविक क्रियाकलापलाई वृद्धि गर्ने ।
- मित्र जीवहरूको संरक्षण गर्ने ।
- माटो, हावा र पानी स्वस्थ्य राख्ने ।
- बालीचक्र, कोशेबाली, हरियो मललाई बाली
- प्रणालीको अभिन्न अंगको रूपमा लिई खेती गर्ने ।
- दिर्घकालीन रूपमा माटोको उर्वराशक्तिलाई कायम  गर्ने ।
- बाली र पशुको अवशेषलाई कुहाएर पुनः प्रयोग गर्दै खाद्यतत्वको आपूर्ति गर्ने ।
- कम्पोष्ट मलको अधिकतम प्रयोग गर्ने ।

- रोग कीरा नियन्त्रणका लागि प्राकृतिक वनस्पति एवं जैविक विषादीको प्रयोग गर्ने ।
- भौतिक, कृषिगत तथा जैविक तरिकाले झारपातको नियन्त्रण गर्ने ।
- माटोको अवस्था अनुसार शुन्य खनजोत, न्यूनतम खनजोत, उचित खनजोत आदि तरिका अपनाउने ।
- प्रांगारिक उत्पादनलाई प्रशोधन गर्दा गुणस्तरलाई कायम राख्न सावधानी अपनाउने ।
- स्थानीय स्रोत साधनको समुचित प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने ।
- खाद्यवस्तुको गुणस्तरीय मापदण्ड कायम राख्न  सहयोग गर्ने ।
- प्रांगारिक उत्पादनका खाद्यवस्तुबाट जनस्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउने ।

प्रांगारिक खेतीमा खाद्यतत्व व्यवस्थापन
आधुनिक कृषि प्रणालीमा ठूलो परीणाममा रासायनिक मलको प्रयोगबाट बोट बिरुवालाई चाहिने खाद्यतत्व आपूर्ति गरिन्छ भने प्रांगारिक खेतीमा उत्पादन बढाउनको लागी उपयुक्त बालीचक्र, बालीको अवशेष, कोशेबाली, सूक्ष्मजीवाणु मल, हरियोमल, कम्पोष्ट मल, गाईबस्तु र पशुपंक्षीको मलमूत्र, मानव मलमूत्र, पिना, हाडको धुलो, बजारमा उपलब्ध हुने फोहोरमैला, पशुपंक्षीको अवशेषमा  आधारित हुन्छ । यस्तो घराएसी र कार्बनिक पदर्थको प्रयोगबाट हाम्रो खेतबारीको माटो कहिले नबिग्रेको पाइएको छ । प्रांगारिक खेती गर्दा लामो समयसम्म माटोमा उर्वराशक्ति नास नहुने र धेरै फाइदाजनक सूक्ष्मजीवाणुहरू धेरै छीटो वृद्धि हुने हुँदा यस प्रकारको खेतीबाट प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रूपमा फाइदा हुन्छ ।

Source : Aitc 

सम्बन्धित विषय

थप समाचार