प्रकृतिको सबैभन्दा सुन्दर सिर्जना संसारमा एक मात्र यस्तो हो मोती (पल) । रत्न हो जुन जीवित प्राणीबाट उत्पादन हुन्छ । जुन दैनिक जीवनमा नेपालीहरूले उपभोग गरिरहेको सिपीले उत्पादन गर्छ । नेपालको विशेषगरी तराई र चुरे क्षेत्रमा उपभोग गरिन्छ । सिमसार, पोखरी, नहर, माछा पोखरी, खोला, खोल्सा जहाँ पानी जमेको हुन्छ त्यहाँ सजिलै उपलब्ध हुने सिपीले त्यहाँका परिवारको छाक मात्रै टार्दैन बजारमा बिक्री वितरण गरे गर्जो पनि टर्छ । यसर्थ सिपी आयआर्जनको माध्यम पनि हो ।
विश्व बजारमा बहुमूल्य मानिने मोतीको खेती नेपालमै हुन्छ भन्ने सुन्दा आश्चर्यमा पर्नु स्वभाविक नै हो । किनभने हामीले मोती विश्वका विभिन्न देशहरूबाट आयात हुन्छ भन्ने मात्रै सुनेका छौं । तर, नेपालमै पनि परीक्षणका रूपमा मोती खेती सञ्चालनमा आइरहेको छ । विगत चार बर्षदेखि सिपी उत्पादनमा सक्रिय मोरङको सुन्दर हरैचाकी कमला राई धेरै मानिसहरूलाई सिपीसँगै बहुमूल्य रत्न मोती पनि खाइरहेको थाहा नभएको बताउँछिन् । जसले गर्दा पछिल्लो समय सिपीको संरक्षण हुन नसकेको र साना साना सिपी मात्रै पाइने गरेको उनको भनाई छ । उनी भन्छन्, "धेरै मानिसहरूले बच्चादेखि नै सिपी खाइरहेका हुन्छन्, तर उनीहरूलाई आफूले मोती खाइरहेको कुरा थाहा छैन ।" प्राकृतिक मोती समुद्री सिपीको खोलमा पाइन्छ भने कृत्रिम वा संवर्धित मोती कृत्रिम रूपमा तयार गरिन्छ । जब एक खोललाई शल्यक्रियाद्वारा न्यूक्लियस बनाउनको लागि प्रशोधन गरिन्छ, त्यसले मोती गठनको प्रक्रिया सुरु गर्छ ।
मोती उत्पादन गर्ने सिपी के हो ?
सिपी पानीमा पाइने जीव हो । यो तराई र चुरे क्षेत्रको सिमसार, पोखरी, नहर, माछा पोखरी, खोला, खोल्सा जहाँ पानी जमेको हुन्छ त्यहाँ पाइन्छ । सिपी नेपालमा पूर्वदेखि पश्चिम महाकालीसम्म पाइन्छ । नेपालमा पाइने सिपीहरू फ्रेस वाटरको सिपी हुन् । समुद्रमा पाइने सिपी नुनिलो पानीमा पाइने सिपी हुन् । व्यवसायी राईले मैले हालसम्म पाँच किसिमको सिपी भेटेकी छन् । उनका अनुसार पर्लका लागि टेरेसियाको सँगटाबाट उत्पादन भएको सिपी राम्रो हुन्छ । पहिले पहिले यो सिपी ठूला ठूला पाइन्थ्यो । मानिसहरूले खाने, संरक्षण नगर्ने, मारेर त्यतिकै फाल्दिने गर्दा अहिले विस्तारै लोप हुने क्रममा छ । ठूला सिपी सीमित केही ठाउँहरूमा मात्रै पाइन्छ । वनवे हार्भेटिङ हुँदा सानो सानो साइजहरू हुने भइरहेको छ।
मोती के हो ?
समुन्द्री सिपीबाट निस्कने वा बन्ने एक प्रकारको बहुमूल्य सेतो रत्न हो मोती। जुन जीवित सिपी (विशेष गरी आवरण) भित्र उत्पादन हुन्छ । मोतीलाई प्राकृतिक रत्न पनि मानिन्छ । विश्वभर प्रसिद्ध मोती बहुमूल्य रत्न मानिएको मोती सर्वसाधारण नेपालीको पहुँचमा पुग्न सकेको छैन । चीन, जापान, अष्ट्रेलिया, साउथ सी. भियतनाम, भारत, युएई, अमेरिका, मेक्सिको, फिजी, फिलिपिन्स, फ्रान्स, म्यानमार र इन्डोनेसिया जस्ता देश मोती उत्पादन गर्ने प्रमुख राष्ट्र हुन् ।
के कारणले लोप हुन्छ सिपी ?
सिपी रोग लागेर नभई प्राकृतिक रूपमा र मानिसहरूको गतिविधिका कारण मर्ने गर्दछन् । जस्तो ढलको पानी लगेर खोलामा मिसाउने र बाढीको कारण । सानैमा खाइदिने, म्याच्युर्ड हुन नदिने जस्ता प्रवृत्तिले लोप हुन लागेको हो ।
सिपीको महत्त्व :
सिपी मूल्यवान् छ भन्ने कुरा नेपालीहरूलाई अझै थाहा नभएको व्यवसायी राइको भनाई छ । दैनिक उपभोग गरिरहेको वा देखिरहेको भए पनि यसको भ्यालु थाहा हुन नसकेको उनी बताउँछिन् । सिपी बायो डाइभर्सिटीको अत्यन्त महत्त्वपूर्ण जीव हो भन्ने पनि थाहा छैन । यसले पानीलाई फिल्टर गर्छ । मोती उत्पादन गरेर तथा उपभोगको रूप मा व्यवसायिक रूपमा पालेर बिक्री गर्न सके आयआर्जनको माध्यम हुनसक्छ । माछासँगै सिपी फार्मिङ गरेर जीविकोपार्जनको गतिलो माध्यम बन्न सक्छ ।
सिपीलाई मल्टिपल रूपमा उत्पादन गर्न सकिन्छ । पछिल्लो केही वर्षयता, नेपालमै सिपीबाट मोती उत्पादन गर्ने विषयले चर्चा पाएको छ । निजी क्षेत्रको श्री महाकाली पर्ल फार्मिङ एण्ड ट्रेनिङ सेन्टरले मोरङ जिल्लामा सन् २०१८ देखि र सरकारी तवरबाट मत्स्य अनुसन्धान केन्द्रले कास्की पोखरास्थित बेगनास तालमा परीक्षणका लागि सिपी पालन गरिरहेको छ । श्री महाकाली पर्ल फार्मिङ एण्ड ट्रेनिङ सेन्टरकी कमला राई हालसम्म आफूले गरेको परीक्षणका आधारमा नेपालमा सिपी पालन गरेर मोती उत्पादन गर्न सकिने बताउँछिन् । त्यस्तै, मत्स्य अनुसन्धान केन्द्र पोखराका बरिष्ठ प्राविधिक अधिकृत बेचन प्रसाद अधिकारी परीक्षणकै क्रममा रहेको कारण अहिले नै शतप्रतिशत रिजल्ट आउन बाँकी रहेको बताउँछन् । सबै रिजल्ट आइसकेपछि मात्रै यस विषयमा अन्य कार्यक्रमहरू ल्याइने उनले बताए ।
सिपी पालन कसरी गर्न सकिन्छ ?
सिपीलाई दुई तरिकाबाट पाल्न सकिन्छ । एउटा मासुको लागि । अर्को पर्लका लागि । बजारमा यसको मासुको ठूलो माग छ । एक पटक खाएका हरूले सिपी निकै मन पराउँछन् । मासुको लागि पाल्दा विशेष तालिमहरूको आवश्यकता पर्दैन । पर्लको लागि पाल्ने हो भने तालिम अनिवार्य हुन्छ । यसका धेरै प्राविधिक कुराहरू छन् । जुन थाहा हुनै पर्छ । सिपी पालनका क्रममा अक्सिजन मिलाउने, फिडिङ गर्नेदेखि एन्डिवायटिक मिलाउने काम सम्म जानेको हुनुपर्छ । पर्ल झिक्ने समयमा पनि सर्जरी गर्नुपर्दछ। पर्लका लागि कम्तिमा ७५ ग्राम वा १०० ग्रामभन्दा माथिको सिपी मात्रै उपयुक्त हुने व्यवसायी राई बताउँछिन् ।
स्थानीयस्तरमा पाइने सिपी सानो भएका कारण उनले कोशी तथा सिमसार क्षेत्रबाट सिपी ल्याएर पाल्ने गरेको जानकारी दिइन् । यता, मत्स्य अनुसन्धान केन्द्रले बेगनास तालमा स्थानीय सिपी कलेक्सन गरेर पालिरहेको जनाएको छ । बरिष्ठ प्राविधिक यादव भन्छन्, 'मरेको सिपीको धूलो बनाएर इमेजब्रिड बनाउछौं र त्यो इमेजब्रिडलाई सिपीभित्रै राखेर पोखरीमा लान्छौं र एउटा ब्यागमा झुण्ड्याउँछौं,' उनले भने । जातको कारण वा अन्य कुनै मेटेरियल्सको कारण अहिलेसम्म शतप्रतिशत रिजल्ट आउन नसकेको हो यस विषयमा परीक्षण भइरहेको उनले जानकारी दिए । उनी अगाडि थप्छन्, "सिपीमा इमेजब्रिड राखेर हामीले पोखरीमा परीक्षण गरिरहेका छौं । त्यसमा अलिअलि लेपन आएको छ तर, योभन्दा अझै राम्रो हुनेमा हामी विश्वस्त छौं ।" पोखरीमा जे हुन्छ त्यही खाएर प्राक्तिक रूपमा सिपी बाँच्ने उनले बताए । सिपी पाल्नका लागि पोखरीमा राखेर फिडिङ दिनुपर्छ । प्राकृतिक रूपमा जस्तै गरी सिपीलाई पाल्नुपर्छ र निश्चित अवधिपछि पर्ल निकाल्न सकिन्छ ।
सिपी संरक्षण :
यो आयस्रोतको माध्यम हो भन्ने कुरा बुझाउन सकेमा सिपीको संरक्षण हुन्छ । सरकारी स्तरमै पनि नेपालमा सिपी कति प्रकारका छन् ? यो के हो र किन महत्त्वपूर्ण छ ? भन्ने कुरा थाहा हुन नसकेकोमा व्यवसायी राईले गुनासो गरिन् । यस विषयमा सरकारले खोज अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । सरकारले कार्यक्रम सञ्चालन गरेर पोलिसी लेभलबाट पनि कार्यक्रमहरू ल्याएर यसको भ्यालु बुझाउन सके सिपी पालन आयआर्जनको माध्यम बन्न सक्ने उनले बताइन् । यता, मत्स्य विकास केन्द्र, पोखराका बरिष्ठ प्राविधिक यादव भने सरकारले अहिलेसिपी पालन परीक्षणको रूपमा मात्रै सञ्चालन गरिरहेको बताउँछन् । परीक्षण सफल भए सरकारले यस बिषयमा अन्य कार्यक्रम ल्याउन सक्ने उनको भनाई छ ।
सिपीबाट कसरी निकाल्न सकिन्छ विभिन्न डिजाइनका मोती ?
मोती उन पैसा, मेह लगानी धैर्य पनि बजारमा विभिन्न किसिमका मोती पाइन्छ । कुनै बुद्ध, गणेश, शिबको मूर्ति आकारको त कुनै फेन्सी डिजाइनको । हामीले चाहेको मोती सिपी पाल्ने अवधि र सिपीलाई शल्यक्रिया गर्ने तरिकामा निर्भर गर्दछ। विभिन्न आकारका मोती तयार गर्न सोहीअनुसारको तालिम चाहिन्छ । जसलाई डिजाइन पर्ल अर्थात मोती भनिन्छ । अर्को हुन्छ हाल्फ राउन्डको जुन औंठीहरू बनाउँदा प्रयोग हुन्छ । त्यस्तै, अर्को मालाहरू बनाउने गोलो खालको हुन्छ । व्यवसायी राईकाअनुसार यो तीन खालको पर्ल उत्पादन गर्न सिपीलाई तीन किसिमले पाल्नुपर्ने हुन्छ । एउटा सिपीलाई डिजाइन पर्लको लागि कम्तिमा १२ महिनाभन्दा माथि पाल्नुपर्ने हुन्छ ।
हाल्फ राउन्ड पर्लको लागि १८ महिनाभन्दा बढी र गोलो राउन्डको मालाहरू बनाउने पर्लका लागि सिपीलाई तीन बर्षसम्म पाल्नै पर्छ । अतः तीन खालको मोती उत्पादन गर्नका लागि तीन विभिन्न अवधि नै चाहिन्छ । हार्भेष्ट गर्ने समयमा हाल्फ राउन्ड र डिजाइन पर्लका लागि सिपीका लागि मार्नुपर्ने हुन्छ । माला बनाउने राउन्ड पर्लका लागि सिपीलाई मार्न पर्दैन । त्यो पुनः प्रयोग हुनुपर्छ । कुनै कुनै मर्न सक्छ तर यसको लागि सिपीलाई मानुपर्दैन । हाल्फ राउन्ड र डिजाइन पर्लका लागि मारिएको सिपीलाई मासुको रूपमा खान सकिन्छ । पर्ललाई भने हामी ज्वैलरीको रूपमा र आयुर्वेद तथा कस्मेटिकको रूपमा प्रयोग गर्न सक्छौ । यसका कभरहरू ह्यान्डिक्राफ्टको रूपमा पनि प्रयोग हुन्छ । यसो नगर्दा पनि क्याल्सियमको रूपमा हड्डीको मल बनाइन्छ । कुखुरा, बङ्गुरहरू आदिका लागि दानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
लगानी :
थोरै लगानीबाट सिपी खेती गर्न सकिन्छ । कति सिपी पाल्ने र कस्तो स्ट्रकचर बनाउने भन्ने कुरामा लगानी निर्धारण हुने व्यवसायी राईले जानकारी दिइन् । उनी भन्छिन्, “घरघरमै सानो लगानीमा पनि सिपी पालन शुरू गर्न सकिन्छ । सानो १०/२० हजार लगानीबाट लाखौं, करोडौ लगानी गरेर ठूलो स्केलमा पनि सिपी पालन गर्न सकिन्छ ।" पर्लका लागि सिपी पाल्ने हो भने यसका लागि प्यासन पनि हुनुपर्ने उनको बुझाई छ । उनी थप्छिन्, "कुखुरा पालेको ४५ दिनदेखि ५५ दिनभित्रमा लगानी उठ्छ तर, सिपी पालेको कम्तिमा १२ महिनादेखि ३ वर्षसम्म कुर्नुपर्ने हुन्छ । त्यतिन्जेलसम्म पर्खिन नसक्ने व्यवसायीहरू पलायन हुन सक्छन् ।" छोटो समयमै आम्दानी दिन नसक्ने भएको कारण यसलाई सहायक व्यवसायको रूपमा अपनाउन सकिने उनले बताइन् । ठूलो स्केलमा सिपी पालन गर्ने हो भने रनिङ भइरहने हुँदा सजिलो हुने व्यवसायी राईले बताइन् ।
बजार :
ठूला घराना र व्यवसायीहरूमा मात्रै प्रयोग हुँदै आएको मोतीको माग पछिल्लो समय नेपालमा बढ्दो छ। विशेषगरी जापान, भारतलगायत देशबाट बार्षिक करोडौं मूल्यबराबरको मोती नेपालमा आयात भइरहेको छ। नेपालमा खुला सिमाना भएको र विदेश जानेहरूले पनि एक/दुई पिस ल्याउने भएका कारण नेपालमा कति मोती भित्रिन्छ भन्ने स्पष्ट तथ्याङ्क छैन । जडिबुटीको रूपमा प्रयोग गर्न अर्थात आयुर्वेदमा प्रयोग गर्न पनि सिङ्गापुर, चाइनालगायतका देशहरूबाट आयात हुने गरेको देखिन्छ । विदेशबाट जति आयात भइरहेको त्यो बजार कभर गर्ने हो भने पनि मोतीका लागि नेपालमा बजार राम्रो छ भन्ने पुष्टि हुने व्यवसायी राईले बताइन् ।
मोतीको मूल्य :
नेपाली बजारमा मोती त्यसको आकृति र गुणस्तरअनुसार मूल्य फरकफरक पर्न जान्छ। एउटा मोतीलाई गहना व्यवसायीहरूले ५ सयदेखि ३ हजार ३५ सय रुपैयाँसम्म बिक्री गर्ने गरेका छन् । एउटा सिपीबाट ५ देखि ९ वटासम्म मोती निकाल्न सकिने र लगानी पनि धेरै नपर्ने हुँदा व्यवसायबाट घाटा नहुने उनको दावी छ।
सन्दर्भ सामग्रीहरु : कृषि ज्ञान पत्रिका