बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ज्वानो खेती प्रविधि

सोमबार, कात्तिक १९ २०८१
12 views
ज्वानो खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

ज्वानो खेती प्रविधि

यो बालीलाई नेपालीमा ज्वानो, हिन्दीमा अजवाईन र अङ्ग्रेजीमा Bishop's Weed वा Carom Seed को नामले चिनिन्छ। यसको बानस्पतिक नाम Trachyspermumammi हो Umbelliferae/Apiaceae परिवार अन्तर्गत पर्दछ ।

यसको उत्पत्ति इजिप्टमा भएको र भूमध्य रेखीय क्षेत्र वरपरका देशहरू र दक्षिण पश्चिम एशियाका देशहरू खासगरी भारत, ईजिप्ट, ईरान, ईराक, अफगानिस्तान र पाकिस्तान उत्पादन र क्षेत्रफलको हिसाबले अग्र स्थानमा आउँछन्।

वानस्पतिक विवरण

यो एक वर्षीय, ठाडो खालको वृद्धि र विकास हुने झाडीदार बिरुवा हो। बिरुवाको उचाई ७०-९० से.मी. र फूल फुल्ने अवधी जात अनुसार १०-४० दिन सम्म हुन्छ। विरुवाको डाँठमा नरम तथा मसिना रौं जस्ता झुसहरू देखिन्छन्।

काँचै चपाएर खाँदा निकै पिरो र पोल्ने खालको हुन्छ । विरुवामा मिसना हाँगाहरू धेरै आउने र उक्त हाँगाहरूमा झुप्पा झुप्पामा सेतो रंगका फूलहरू बाक्लो गरी फुल्दछन् ।

पातहरू चाक्लो खालको र २.५ से.मी. लामा हुन्छन् । बीउ बासनादार, जिरा भन्दा सानो, अण्डाकार, पहेंलो र खैरो मिश्रित रंगको हुन्छ।

उपयोगिता र प्रयोग

खारगरी यसमा भएको सुगन्ध र महत्वपूर्ण औषधीय गुणको कारणले दिन प्रतिदिन यसको माग बढिरहेको छ। नेपालको तराइ देखि उच्च्च पहाडमा बसोबास गर्ने अधिकांश नेपालीहरूले विभिन्न रूपमा यसको प्रयोग तथा उपभोग गर्ने गरेका छन् ।

नेपालको तराइ देखि मध्य पहाडसम्म समय मिलाएर सफलतापूर्वक यसको खेती गर्न सकिन्छ। नेपालमा प्रयोग हुने अधिकांश परिमाण भने भारतबाट आयात भैरहेको अवस्था छ। ज्वानो खेतीको मुख्य उद्देश्य नै यसको बीउ उत्पादन गर्नु हो।

सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । झट्ट जिब्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषक तत्वहरू पाइन्छ।

यसमा अत्याधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ। ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियमर अन्य भिटामिन तथा खनिज पदार्थहरू पाइन्छ।

1.PNG

यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजबुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरू मार्फत रस निकाल्न मद्दत पुऱ्याउँछन् ।

यसमा वाथनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीको दुखाई कम गर्न मद्दत गर्नुका साथै शारीरमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ। धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ।

सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो। सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ । महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुति ज्वरमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीका साथ प्रयोग गरिन्छ।

ज्वानोसँगको अन्य समीश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ। हामीले मसलाको रूपमा प्रयोग गर्ने ज्वानोको दाना मसिनो हुन्छ। स्वाद पिरो, पर्पराउने र केही मात्रामा तितो पनि हुन्छ तर वासनादार हुन्छ। यसको खेती समुन्द्र सतहभन्दा ४५०० फिट उचाइ सम्म हुन्छ ।

ज्वानोको गेडा, तेल र विरुवा विभिन्न रोगमा औषधिका रूपमा प्रयोग गरिन्छ। मसिना किराहरूलाई घरबाट भगाउन समेत यसको प्रयोग गर्न सकिन्छ। कानको दर्द, दाँतको दुखाई र रुघाखोकी, मुटुका समस्या, जोर्नीका समस्या र नाक बन्द हुँदा समेत यो अति प्रभावकारी हुन्छ। यसबाट निस्कने तेलको झनै ठूलो महत्व छ।

तेलमा पाईने चिमोल नामक रसायनले पेटमा पाचन रसको उत्पादन चढाई खाना पचाउन मद्दत गर्दछ। यसले शरीरमा सूजन हुन नदिने र घाउहरू छिट्टो निको हुन मद्दत गर्ने भएकोले सुत्केरी तथा दुध खुवाउने महिलाहरूले यसको सेवन बढी गरेको पाईन्छ।

ज्वानोको अन्य फाइदाहरू

- १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने रुपाघोकी ठिक हुन्छ । मनतातो पानी सँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ।

- पेट दुखाईमा ज्वानो - ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ। मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ।

- दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ। ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पुन्याउँछ।

- १ चिया चम्चा ज्वानोको दाना र ४ चिया चम्चा बेलपातको जुस दिनको दुई देखि तीन चोटी खाँदा मधुमेह रोग नियन्त्रण हुन्छ ।

- ज्वानो प्रयोग गरेर बनाइएको 'काँडापानी' प्रत्येक रात सुत्ने बेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ।

- हैजामा ज्वानो - हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ।

- ज्वानो, मह र चुक अमिलो सम्मीश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पुऱ्याउँछ।

- ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामर्थ्य छ। यसले दिसा खलास बनाउँछ र तौल घटाउनमा समेत सहयोग पुऱ्याउँछ।

- वायु विकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो।

- ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लेखित रोगहरूमा धेरै नै लाभ हुन्छ।

हावापानी

यो हिउँदे यामको बाली हो । समुद्र सतहदेखि ४५०० फिटको उचाईसम्म व्यवसायिक रूपमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ। मौसम मिलाएर नेपालको तराइदेखि मध्य पहाडसम्म खेती गर्न सकिन्छ।

यसले सुख्खा पन धेरै हदसम्म सहन गर्न सक्छ तर तुषारो विलकुल सहन सक्दैन । मुख्य बालीको रूपमा अक्टोबर नोभेम्बरमा बीउ लगाई फेब्रवरी मार्च महिनामा बाली तयार हुन्छ।

माटो र जमिनको तयारी

यसको खेती सबै खालको माटोमा गर्न सकिन्छ तर पनि सिचाइ र निकासको राम्रो प्रबन्ध भएको र प्रा‌ङ्गारिक पदार्थ वढी मात्रामा भएको दोमट तथा चिम्ट्याईलो दोमट माटो उपयुक्त मानिएको छ।

बलौटे माटोमा चिस्यान छिट्टै हराउने हुनाले यस्तो माटो ज्वानो खेतीको लागि उपयुक्त मानिंदैन। पानी जम्ने जग्गामा यसको खेती सफल हुँदैन। आवश्यकता अनुसार ३-४ पटक राम्ररी खनजोत गरी माटो मसिनो र बुरबुराउँदो बनाउनु पर्दछ।

अरु बालीको तुलनामा जमिनको तयारीमा यस बालीलाई धेरै मेहनत गर्नु पर्दैन। जमिन तयारीको बेलामा १०-१५ मे.ट. राम्ररी कुहिएको गोबर वा कम्पोष्ट मल माटोमा मिलाउनु पर्दछ ।

बाली लगाउने विधी

जग्गा तयारी भैसकेपछि बाली लगाउनु पर्दछ । सामान्यतया सिधै बीउ छरेर वा कटिङ्ग विधीबाट बीउ उत्पादन गर्न सकिन्छ। विभिन्न स्थानहरूमा गरिएको अध्ययन अनुसार सिधै बीउ छरेर खेती गर्दा बढी फायदा हुने पाईएको छ।

बीउ लगाउने उपयुक्त समय कार्तिक महिना हो। मौसम अनुसार १०-१५ दिन अघि वा पछि पनि लगाउन सकिन्छ। बीउ लगाउने निम्न बमोजिम २ वटा विधीहरू छन् । 

- बीउमा सुख्खा माटो/बालुवा मिसाइ लाईनमा छर्ने- बीउको परिमाण धेरै लाग्छ, गोडमेल गर्न, बाली उपचार गर्न र बाली कटानी गर्न असजिलो हुन्छ ।

- ड्रिलिङ्ग मेशिनबाट बीउ छर्ने बीउको परिमाण थोरै लाग्छ, लाईनमा हुने र विरुवा संख्या पनि कम हुने हुँदा गोडमेल, बाली संरक्षण तथा बाली कटानीमा सजिलो हुन्छ ।

बीउ दर र लगाउने दूरी

छरुवा विधी तथा मेशिनको प्रयोगबाट बीउ लगाउँदा लाईन देखि लाईनको दूरी ४५ से.मी. कायम राख्नुपर्दछ। ७-१४ दिन भित्रमा बीउ उम्रन्छ। बीउ उम्रेको एक महिना भित्रमा विरुवा देखि विरुवाको दूरी ३५ से.मी. कायम हुने गरी बेडाउनु पर्दछ। छरुवा विधी प्रयोग गर्दा ३-४ कि.ग्रा. र मेशिनबाट छर्दा १.५ कि.ग्रा. प्रति हेक्टर बीउको जरुरत पर्दछ ।

जातहरू

नेपालमा यो बालीमा खासै अध्ययन अनुसन्धान भएको छैन। परम्परा देखि लगाउँदै आएको स्थानीय जात र भारतबाट आयातित निम्न बमोजिमका ३ वटा जातहरू नेपालको तराइका केही जिल्लाहरूमा लगाउने चलन छ।

क) गुजरात ज्यानो-१: बीउ छरेको ११० दिनमा फूल फुल्ने, १७६ दिनमा बाली तयार हुने र धेरै हदसम्म सुख्खा सहने जात हो। बीउ पुष्ट खालको र तेल निस्कने क्षमता ३.६१ प्रतिशत हुन्छ। एक हजार दाना बीउको तौल ९० ग्राम र कूल उत्पादन क्षमता १४७५ कि.ग्रा. प्रति हेक्टर रहेको छ।

ख) लाम सिलेक्सन-१: विरुवा ठाडो खालको, बीउ छरेको ९० दिनमा फूल फुल्न शुरु गर्ने, १२० दिनमा बाली तयार हुने र गुणस्तरको दाना लाग्ने जात हो। कूल उत्पादन क्षमता १४४० कि.ग्रा. प्रति हेक्टर रहेको छ।

ग) लाम सिलेक्सन-२: विरुवा फिंजिने खालको, छरेको ९० दिनमा फूल फुल्न शुरु गर्ने, १३२ दिनमा बाली तयार हुने र गुणस्तरको दाना लाग्ने जात हो। कूल उत्पादन क्षमता ११७० कि.ग्रा. प्रति हेक्टर रहेको छ।

मलखाद

- भारतमा गरिएको एक अध्ययन अनुसार राम्रोसँग पचेको तथा कुहिएको गोवर कम्पोष्ट मल १०-१५ मे. ट., नाईट्रोजन ३०-८० कि.ग्रा., फस्फोरस, पोटाष ३०-५० कि.ग्रा. र सल्फर ५० कि.ग्रा. प्रति हेक्टर शिफारिश गरिएको छ। गोबर/कम्पोष्ट मल, फस्फोरस, पोटाष र एक लाग्छ, गोडमेल गर्न, बाली उपचार गर्न र बाली कटानी गर्न असजिलो हुन्छ।

- ड्रिलिङ्ग मेशिनबाट बीउ छर्ने बीउको परिमाण थोरै लाग्छ, लाईनमा हुने र विरुवा संख्या पनि कम हुने हुँदा गोडमेल, बाली संरक्षण तथा बाली कटानीमा सजिलो हुन्छ ।

सिचाइ तथा गोडमेल

माटोमा चिस्यानको मात्रा कम भएमा बीउ छरेपछि तुरुन्त सिचाइ गर्नु पर्दछ। यो बालीले पानी जम्ने अवस्था सहन गर्न नसक्ने भएकोले तुरुन्त निकासको प्रबन्ध मिलाउनु पर्दछ ।

माटोमा चिस्यान बढी भएमा तथा ओसिलो भएमा ढुसी जन्य रोगहरू लाग्न सक्छ। हुन त यो सुख्खा सहन गर्न सक्नेबाली हो यद्यपी सुख्खा भएको समयमा १५-२० दिनको फरकमा हल्का सिचाइ दिँदा उत्पादन बढी लिन सकिन्छ।

झारको प्रकोप हेरी २ पटकसम्म गोडमेल गरी झारपात हटाउनु पर्दछ ।

रोग कीरा तथा नियन्त्रण विधी

अन्य बालीहरूको तुलनामा ज्वानोबालीमा रोग तथा कीराको प्रकोप निकै कम भएको पाईन्छ । यद्यपी कीराहरूको हकमा लाही कीरा र रातो कमिलाको प्रकोप बढी मात्रामा देखिएको छ।

लाही कीराको नियन्त्रणको लागि रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने। रातो कमिला नियन्त्रण गर्नको लागि ६% को हेप्टाक्लोर १० कि.ग्रा. प्रति हेक्टरका दरले माटोमा मिसाउनु पर्दछ ।

रोगहरूको हकमा फेद कुहिने, जरा कुहिने र खराने रोग प्रमुख रूपमा देखिएका छन् । कुहिने रोग नियन्त्रणको लागि ०.२ प्रतिशत मान्कोजेव ७-१० दिनको अन्तरमा छर्ने र खराने रोग नियन्त्रणको लागि २ मि.लि. क्याराथेन प्रति लिटर पानीमा मिसाई छर्ने।

बाली कटानी र उत्पादन

बीउ छरेको करिब २ महिना पछि बिरुवा फुल्न शुरु गर्दछ र जात अनुसार १२०-१४० दिनमा बाली तयार हुन्छ । फूलका झुप्पाहरूमा फलेको बीउहरू छिप्पिएर खैरो रंगमा परिणत हुन शुरु भएपछि बाली तयार हुन लागेको संकेत हुन्छ।

त्यस पछि छोटो डाँठ सहितको झुप्पाहरू हँसियाले काटेर सानो सानो मुठा बनाइ ठाडो हुने गरी सुक्न दिने । राम्रोसँग सुकेपछि सफा खल्यानमा लगेर झाँट्ने र बीउ निकाल्ने र राम्रोसँग सफा गरी थन्क्याउने ।

ज्वानो दानाको सरदर उत्पादन प्रति हेक्टर ११००-१४०० कि.ग्रा. र उक्त परिमाणबाट तेलको उत्पादन ३५-४० लिटर सम्म हुन्छ।

ग्रेडिङ्ग, प्याकेजिङ्ग र भण्डारण

भारतमा तयार गरिएको मापदण्ड अनुसार ज्वानोको बीउलाई उत्तम, राम्रो र ठिकै गरी ३ वटा ग्रेडमा छुट्‌याइएको छ। ज्वानोको पात, डाँठ तथा ढु‌ङ्गा र अन्य कुनै पनि चिज नमिसिएको सफा र शुद्ध बीउलाई २०-४० कि.ग्रा. जाने सफा जुटको बोरा तथा प्लाष्टिक बोराहरूमा राम्रोसंग प्याकिङ्ग गरी सफा तथा सुख्खा ठाउँमा शुरक्षित भण्डारण गर्नुपर्दछ । यसरी एक वर्ष सम्म उम्नने क्षमता नष्ट नहुने गरी सजिलै भण्डारण गरी राख्न सकिन्छ ।

2.PNG
undefined

निष्कर्ष

ज्वानो महत्वपूर्ण मसला बाली हो। यसले सुख्खा पन पनि धेरै हदसम्म सहन गर्न सक्ने भएकोले असिंचित क्षेत्रमा समेत खेती गर्न सकिन्छ ।

विभिन्न किसिमका आयुर्वेदिक औषाधीहरू बनाउनमा प्रयोग हुनुको साथै मानव शरीरमा लाग्ने अनेक थरी शारीरिक तथा मानसिक रोगको निदान गर्नमा महत्वपूर्ण योगदान दिने विशिष्ट किसिमको औषधीय गुण भएकोले पनि पारखी उपभोक्ता तथा औषधालयहरूबाट यसको माग दिन प्रतिदिन बढिरहेको छ।

हुनत यो अत्याधिक ज्यामी खर्च हुने बाली हो तथापी बाली लगाउँदा हुने विविध खर्च र आम्दानीको समग्र अवस्थालाई विश्लेषण गर्दा खर्च कटाएर प्रति हेक्टर ७१ हजार भन्दा पनि बढी आम्दानी हुने देखिएको र बजारको पनि समस्या नदेखिएकोले नेपालको सन्दर्भमा पनि यसको क्षेत्र विस्तार गरी उत्पादन र उत्पादकत्व बढाउन आवश्यक देखिन्छ ।

स्रोतः राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर

सम्बन्धित विषय

थप समाचार