बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

माछापालनबाट कसरी मनग्ये आम्दानी गर्न सकिन्छ ?

शुक्रबार, पुस ५ २०८१
24 views
माछापालनबाट कसरी मनग्ये आम्दानी गर्न सकिन्छ ?
<p>तपाई माछापालन गर्ने सोंचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपालमा माछापालनको सम्भाब्यताबारे अध्ययन हुनु जरुरी छ । त्यसैले आउनुहोस्, माछापालनका लागि नेपालमा के कति सम्भावना छ, त्यसबारे जानकारी लिनुहोस् ।&nbsp;</p>

समाचार शेयर गर्नुहोस्

Share this news

तपाई माछापालन गर्ने सोंचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपालमा माछापालनको सम्भाब्यताबारे अध्ययन हुनु जरुरी छ । त्यसैले आउनुहोस्, माछापालनका लागि नेपालमा के कति सम्भावना छ, त्यसबारे जानकारी लिनुहोस् । 

नेपालमा माछापालन परम्परागत रुपमा गरिँदै आएकोमा पछि पछिल्लो समय ब्यवसायिक माछापालन बढ्दै गएको छ । तराई क्षेत्रमा मात्र होइन, पहाडी क्षेत्रमा समेत ब्यवसायिक रुपमा नै माछापालन गर्न थालिएको छ । परम्परागत तरिकाले नभई आधुनिक तरिकाले माछापापलन गर्दा राम्रो उत्पादन गरी मनग्गे आम्दानी गर्न सकिन्छ । 

उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण  बढेको छ । तर, कतिपय व्यवसायिक माछापालन गर्न योजना भएका किसानले कसरी र कस्तो प्रविधि र कुन जातका माछापालन गरेर बढी मुनाफा लिन सकिन्छ ? माछाको बजारको सम्भावना के कति छ भन्ने जानकारी लिन जरुरी छ । ठूलो ठूलो लगानी गरेर माछापालन शुरु गरे पनि उत्पादन बढाउनेबारेमा जानकारी नहुँदा माछाको छिटो विकास नहुनेदेखि पोखरीमै माछा मर्ने खतरा पनि उत्तिकै हुन्छ । त्यसैले माछापालन ब्यवसाय सञ्चालन गर्नू भन्दा अगाडि धेरै कुराहरुको जानकार हुनैपर्छ ।  

fish pond.jpg
माछा पोखरी

पछिल्लो समय परम्परागत खेतीभन्दा राम्रो आम्दानी हुनेपछि मधेश प्रदेशका किसानहरू माछापालनतर्फ आकर्षित भएका छन् । माछापालन गर्ने किसानको संख्या बढेपछि माछा उत्पादन पनि बढेको छ । मधेस प्रदेशका आठ जिल्लामा १८ वटा भन्दा बढी पोखरीहरुमा माछा पालन गरिएको छ । ती पोखरीले मधेस प्रदेशका कुल खेतीयोग्य जमिनको १.१३ प्रतिशत क्षेत्रफल ओगटेको छ । जसबाट वार्षिक २१ हजार ४५९ टन माछा उत्पादन हुने गरेको छ । यो कुल राष्ट्रिय उत्पादनको ५७ प्रतिशतभन्दा बढी हो । 

सरकारी तथ्यांकअनुसार नेपालमा स्थानीय जातदेखि विभिन्न किसिमका गरी १८५ जातका माछा पाइएको छ । रहु, नैनी तथा भाकुर माछा स्वेदशी माछाहरु हुन् । यहाँ विभिन्न जातका विदेशी माछाहरु पनि पालन गरिएका छन् । खासगरी विदेशी कार्प जातका माछाहरु राम्रो उत्पादन हुने भएकाले यहाँका ब्यवसायिक किसानले यस्ता माछापालन गर्ने गरेका छन् । 

सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प तथा कमन कार्प जस्ता कार्प जातका माछाहरूको उत्पादन थालिएको छ । यस्तै, नेपालमा पुन्टियस, टिलापिया, पंगासीयस र रेन्बोट्राउट जस्ता विदेशी जातका माछापालन पनि गर्ने गरिएको छ । स्वदेशी भन्दा विदेशी माछाहरु हुर्काउन सजिलो भएकाले पनि पंगासीयस र रेन्बो ट्राउट माछातर्फ किसानको आकर्षण देखिन्छ । 

१. पंगासीयस माछापालन 
पंगासीयस माछा ताजा पानीमा हुर्कने, छिटो बढ्ने र बढी तौलको हुने भएकोले यो माछाको उत्पादन महत्वपूर्ण रहेकोछ । अरु कार्प जातका माछालाई जस्तै पंगासीयस जातको माछालाई पनि पोखरीमा दाना आहारा खुवाएर पालन गर्न सकिन्छ । यो जातको माछा एक जातीय प्रविधिबाट पालन गर्ने गरिएको छ । यो माछा भियतनाम र इन्डोनेसियाको बिचमा पर्ने मेकन नदीको स्थानीय जाति हो ।

२. टिलापिया माछापालन 
टिलापिया माछाको उत्पत्ति अफ्रिका र मध्यपूर्वमा भएको हो । टिलापिया माछाका प्रजातिहरू करिब ७० वटा रहेका छन् । ती मध्ये नौ प्रजातिका टिलापिया माछाहरूलाई पालन गर्ने गरिएको छ । जस मध्ये नाइल टिलापिया, मोजाम्बिक टिलापिया र ब्लु टिलापिया मुख्य रुपमा पालन गरिन्छ । टिलापिया माछापालन गर्दा निम्न  प्रविधिहरू अपनाएर गर्न सकिन्छ ।

३. रेन्बो ट्राउट माछापालन 

traut-fish.jpg
रेन्बोट्राउट माछा पोखरी

रेन्बो ट्राउट चिसो र सफा पानीमा हुर्कने ज्यादै मीठो विदेशी माछा हो । यो मांसाहारी माछा हो । यो माछा १–२१ डि.से. सम्मको तापक्रममा जीवित रहन्छ । तर वृद्धिको लागि भने १५–१८ डि.से. पानीको तापक्रम चाहिन्छ । पानीको तापक्रम सरदर १० डि.से. भन्दा चिसो हुने स्थानमा यो माछा ढिलो बढ्छ र त्यस्तो स्थानमा व्यावसायिक रूपमा पाल्न फाइदाजनक हुँदैन । मांसाहारी भएतापनि यो माछालाई उच्च प्रोटिनयुक्त दाना खुवाएर पाल्न सकिन्छ । ट्राउनपालनको लागि पानीको पि.एच. ६.५ – ८.५ र अक्सिजन ८ मि.ग्रा. र लिटर रहेको पानीमा उपयुक्त मानिन्छ । ट्राउटमाछालाई आंशिक र पूर्ण प्रणाली दुई किसिमले पालन गरिन्छ । आंशिक प्रणाली अन्तर्गत स–साना भुरालाई बजार बिक्री योग्य साइजसम्म हुर्काइन्छ भने पूर्ण प्र्रणालीमा प्रजननदेखि लिएर ठूलो माछासम्म हुर्काइन्छ ।

ट्राउट माछा पालनको लागि भुरा हुर्काउने टयाङ्क, ठूलो माछा पोखरी, बिक्री योग्य माछा राख्ने पोखरी एवं दाना राख्ने भण्डार आदिको आवश्यकता पर्दछ । साधारणतया सानो भुरा हुर्काउने पोखरीको साइज १० – १५ वर्ग मिटर र बिक्री योग्य माछा राख्ने पोखरीको साइज ५० – १५० वर्ग मीटर हुन्छ । ठूलो माछा हुर्काउने र बिक्री योग्य माछा राख्ने पोखरीहरू रेखात्मक वा लहरे र समानान्तर २ किसिमबाट बनाउन सकिन्छ ।

भिरालो जग्गा र पानीको स्रोत कम भएको ठाउँमा लहरे किसिमको पोखरी बनाउन राम्रो हुन्छ । यस्तो किसिमका पोखरीमा माथिल्लो पोखरीहरूमा प्रयोग भइसकेको पानी पुनः तल्ला पोखरीहरूमा प्रयोग गर्न सकिन्छ । राम्रो पानीको स्रोत भएको ठाउँमा समानान्तर किसिमको पोखरी बनाउन उपयुक्त हुन्छ । यस्तो पोखरीहरूमा एक पटक प्रयोग भइसकेको पानीलाई पुनः प्रयोग गरिदैंन । जलाशयमा माछाको घनत्व कति राख्ने भन्ने कुरा पानीको प्रवाह, आयतन र गुणमा निर्भर हुन्छ । पानीको प्रवाह धेरै छिटो भएमा माछाको वृद्धि राम्रो हुँदैन । अर्कोतिर पानीको प्रवाह कम भएमा पोखरीको पिंधमा धेरै फोहर जम्न गई अक्सिजन न्यून हुँदै जान्छ । त्यसकारण पोखरीको पानी हरेक घण्टामा पूर्णतया फेर्नु आवश्यक पर्दछ ।

माल्दिभ्स लगायत दक्षिण एशियाली अन्य मुलुकहरुमा आधुनिक प्रविधिबाट माछापालन गर्न थालिएका छन् । माछाको हव मानिने त्यस्ता मुलुकहरुले नयाँ नयाँ प्रविधिहरुबाट माछापालन गर्ने गरेका छन् । 

बायोफ्लोक माछापालन

दक्षिण एसियामा बायोफ्लोक माछापालन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ । खेतीयोग्य जमिन घट्दै गएको र माछाको उपभोग दिनप्रतिदिन बढ्दै गएको अवस्थामा बायोफ्लोक, पोखरी माछा पालनको उपयुक्त माध्याम बनेको छ । लागत प्रभावी र नयाँ विकल्पका रुपमा बायोफ्लोक माछापालन गर्ने गरिएको छ । यस्तो प्रविधिबाट माछाकालागि विषाक्त पदार्थहरू जस्तै नाइट्रेट, नाइट्राइट र अमोनिया लाई उपयोगी उत्पादन अर्थात् प्रोटिनेसियस फिडमा रूपान्तरण गर्न सकिन्छ । जसमा विभिन्न प्रजातिका माछाहरूलाई बन्द प्रणालीमा पालिन्छ । यसले नाइट्रोजन चक्रको सिद्धान्तमा काम गर्छ जसमा कार्बन र नाइट्रोजनको अनुपात राम्रोसँग सन्तुलित हुन्छ । बायोफ्लोक प्रविधि पानीबाट फोहोर हटाउने प्रणाली हो । यो पहिले खेतमा आउने पानी प्रशोधन गर्न प्रयोग गरिन्थ्यो । यो प्रविधिले राम्रो ब्याक्टेरियाहरूको सेट प्रयोग गर्दछ । 

सर्प र चराबाट माछालाई कसरी जोगाउने ? 
नेपालमा पोखरी खनेर माछापालन गर्ने गरिएको छ । गोलाकार, रेखात्मक वा लहरे र सामानान्तर किसिमका पोखरी बनाएर माछापालन गर्ने गरिएको छ । तराईमा माछापालन राम्रो हुँदै गर्दा सर्पबाट माछालाई जोगाउन निकै चुनौतिपूर्ण छ । माटोको पोखरीमा सर्पको बढी बिगबिगी हुन्छ । त्यसैले कंक्रिट माछापोखरी उपयुक्त मानिन्छ । यसका साथै माछाका भूराहरुलाई चराले पनि आक्रमण गर्ने गर्छन् । पोखरीमा चरा बस्न नमिल्ने गरी पोखरी माथि मसिनो धागो टाँग्न सकिन्छ । 

fish3.jpg
माछा पोखरी

पोखरीमा अक्सिजनको मात्रा 

माछापालन गर्दा सबै भन्दा बढी पोखरीमा अक्सिजनको अवस्थाबारे ख्याल गर्नुपर्छ । पोखरीमा अक्सिजनको कमी भएमा माछाहरु सोत्राम्मे हुन्छन् । बिहान घाम उदाउन् अघि पोखरीका माछा पानीको सतहमा आई प्याक प्याक गरेको देखिन्छ । पोखरीमा बढी झारपात वा छहारी वा बदली भएको समयमा वा बढी मलखाद वा बढी संख्यामा माछा लगायत अन्य जलचर भएको अवस्थामा अक्सिजनको कमी हुन्छ । पानीमा घुलित अक्सिजनको मात्रा कम हुने समयमा पानीको सतहमा अन्य स्थानमा भन्दा बढी अक्सिजन घुलित पानी उपलब्ध हुने भएकोले माछाले सतहमा आई छिटो छिटो मुख बाउने (प्याक प्याक) गरेको देखिन्छ । यो अवस्थामा पोखरीमा तत्काल बाहिरबाट पानी थपिदिनुपर्छ । 

साथै पानी नधमिलिने गरी पोखरीमा मानिस पसेर पानी चलाउने । एरिएटर (पानी चलाउने मेशिन) को प्रयोग गर्ने । अपरान्ह घाम लागी सकेपछि जाल हाली बढी माछा निकाल्ने । केही समयको लागि पोखरीमा माछालाई दाना र मलखाद दिनु हुँदैन । 

माछामा देखिने रोग र यसका समाधान 

मानिसलाई मात्र होइन, विभिन्न जीवजन्तुलाई विभिन्न किसिमको रोगहरु लाग्ने गर्छ । बालीनालीमा पनि  विभिन्न रोग किराहरुले नोक्सान पुर्याउँछन् । मानिसलाई जस्तै जीव जन्तुहरुलाई समयमै उपचार गरी निको पार्न सकिन्छ भने बालीनालीमा भिटामिन र औषधिहरु प्रयोग गरी रोग किराबाट जोगाउन सकिन्छ । 

इ.यू.एस. रोग
ई.यू.एस.रोग नेपालमा विगत १९ वर्षदेखि समस्याको रूपमा देखिएको छ । सुरूमा शरीरमा सेतो थोप्ला देखिन्छ । सो ठाउँमा कत्ला झर्न गई खाल्डो भएको घाउ देखा पर्दछ । ढाड र पुच्छरको नजिकको भागमा घाउहरू देखिन्छ । जाडोको समयमा स्थानीय जातका माछामा यो रोग बढी लाग्दछ । विकासे माछा मध्ये रहु, नैनी र भाकुरामा मात्र यो रोग लाग्दछ ।

उपचार पद्धति ः यो रोग लागेमा घरपोत्ने चुना १५ केजी प्रतिकट्ठाको दरले हाल्ने, रोगको प्रकोप हेरी १ महिनाको अन्तरालमा बढीमा तीन पटक चूना प्रयोग गर्ने । पानीको प्रवेशद्वारमा जाली राख्ने र जंगली माछा सबै हटाउने । सामान्यतया कमन, सिल्भर, विगहेड र ग्रासकार्पमा यो रोगको प्रकोप नदेखिएकोले पोखरीमा यी जातका माछाको संख्या बढी राख्ने । माछा मार्ने जाललाई प्रयोग गरिसकेपछि राम्ररी सुकाएर मात्र पुन प्रयोग गर्ने ।

ट्रिकोडिना
यो माछाको छाला, गिल र पखेटामा आक्रमण गर्ने एक कोषीय बाह्य परजीवी हो । यसको संख्या धेरै भएमा माछाको भुरा मर्दछन् । माछा दुब्लो हुने, पानीमा विस्तारै तैरने र फाट्टफुट्ट रूपमा दैनिक माछा भुरा मर्दै जाने यो परजीवीको आक्रमणको प्रमुख लक्षण हो ।

उपचार पद्धतिः ०.२५ पि.पि.एम.का दरले ट्राइक्लोफेन÷डिप्टेरेक्स राख्ने । २५ पि.पि.एम. का दरले फर्मालिन (पोखरीमा हाल्ने) । दुई तीन प्रतिशतको नूनपानीको झोलमा ५ देखि १० मिनेट डुबाउने तथा ०.२५ पि.पि.एम. मालाकाइटग्रिन प्रयोग गर्न सकिन्छ । 

आरगुलस (माछाको जुम्रा)
माछाको शरीरको कुनै पनि भागमा जुम्रा लाग्न सक्दछ । यसले शरीरको रगत चुस्ने भएकोले जीउमा घाउ तथा खटिरा देखा पर्दछ ।

उपचार पद्धतिः दुई तीन प्रतिशतको नूनपानीको झोलमा ५–१० मिनेट डुबाउने ट्राइक्लोफेन र डिप्टेरेक्स ०.२५ पि.पि.एम. प्रयोग गर्ने ।

माछाको फित्ते जुका (सिस्टोड)
माछाको पेट फुल्नुका साथै जीउ र ढाड सुक्ने तथा ठाउँ ठाउँमा घाउहरू देखिएमा माछालाई फित्ते जुका परेको हुन्छ । जसलाई सिस्टोड पनि भनिन्छ । 

उपचार पद्धतिः डाइ–एन व्यटाइलटिन अक्साईड २५० मि.ग्रा. प्रति केजी दानामा मिसाएर ३ दिनसम्म खुवाउने ।

सेतो थोप्ले रोग 
माछाको शरीरको बाहिरी भागमा सेता थोप्ला देखा पर्दछन् । ढाड र जीउमा छाला पातलो भई घाउ देखिएमा सेतो थोप्ले रोग लागेको हुन्छ । 

उपचार पद्धतिः ३ प्रतिशत नुनपानीको झोलमा ३ देखि ४ मिनेट डुबाउने । माला काइटग्रिन ०.१ पि.पि.एम. प्रयोग गर्ने ।

गाईरोडक्टाइलस
यो माछाको छाला, गिल र पखेटामा लाग्ने बाह्य परजीवी हो । माछाका भुरा यसबाट बढी प्रभावित हुने गर्दछन् । माछा भुरा नबढ्ने, जीउ चिलाउने भएकोले किनारमा घस्रिइरहेको देखिने, पानी माथि उफ्रने र माछाको चालमा फरक आउने यसका लक्षणहरू हुन् ।

उपचार पद्धतिः ०.२५ पि.पि.एम. डिप्टेरेक्स प्रयोग गर्ने । २५ पि.पि.एम. फर्मालिन प्रयोग गर्ने ।

अन्त्यमा, 

थप प्राविधिक जानकारी र सहयोग जिल्ला कृषि विकास कार्यालय, मत्स्य विकास केन्द्र, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलासय मत्स्य बिकास कार्यक्रम, केन्द्रीय मत्स्य प्रयोगशाला र मत्स्य विकास निर्देशनालयबाट प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार