बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मुला खेती प्रविधि

शुक्रबार, माघ ५ २०८०
9 views
मुला खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

कन्द र साग दुवै पकाएर वा काचैँ खाइने वनस्पतिलाई मुला भनिन्छ । यो विषेशगरी तरकारी, अचार र सलादको रूपमा बढी प्रयोग गरिन्छ । पौष्टिक तत्त्वको नजरबाट पनि मुला एकदमै फाइदाजनक मानिन्छ जसमा भिटामिन, जैविक रस, क्याल्सियम र फोस्फोरस जस्ता खनिज तत्त्व पाइन्छ । मुला काँचै पनि खाइने भएकाले यसको खेती गर्दा अर्गानिक प्रविधि अपनाउनु विषेश जरुरी हुन जान्छ ।

आवश्यक हावापानी

यो हिउँदे बाली हो, मध्यम चिसो हावापानीमा यसको खेती गर्न सकिन्छ । १८ देखि २५ डि.से. को तापक्रम र उचित प्रकाशको आवश्यक पर्दछ । माटोको चिस्यान ६० –७० प्रतिशत आवश्यक पर्दछ । वातावरण अनुकुल नभएमा मुलाको डुकु निस्कने, मुला सानो हुने, डल्ला फल्ने, जरा फाट्ने आदि भई आर्थिक ठूलो नोक्सान हुन सक्छ । पानी धेरै भयो भने पनि मुला कुहिन्छ ।

माटो 

मुला जराबाली भएकाले यसको खेतीको लागि बलौटे, दोमट बर्बुराउँदो माटो उपयुक्त हुन्छ । माटोको पि.एच. मात्रा करिब ५.५ देखि ६.६ सम्म राम्रो मानिन्छ । माटोमा राम्रो जैविक पदार्थको उपस्थिति राम्रो मानिन्छ ।

लगाउन सकिने जातहरू

बर्णशङ्कर जातको विकासले गर्दा नेपालको विशेष गरी पहाडी क्षेत्रहरूमा यसको बाह्रै महिना खेती गर्न सकिन्छ ।

मुलाका विभिन्न जातहरू : टोकिनाशी, मिनोअर्ली, ४० दिने, पुषा चेतकी, प्यूठाने रातो, हवाइट नेक, धनकुटे, रकी आदि । नोटः टेकिनाशी र अल सिजन जातका मुलाको खेती नेपालका मध्य पहाडमा बाह्रै महिना गर्न सकिन्छ ।

बिउदर 
एक रोपनीमा मुलाको बीउ माटो र मसिनोले पनि निकै फरक पर्दछ यदि बीउ मसिनो आकारको छ भने २०० ग्राम र बीउ ठूलो आकारको छ भने ३०० –४०० ग्रामसम्म प्रयोग गर्नु पर्दछ ।

मल माटो व्यवस्थापन : माटोलाई दुई पटकसम्म राम्ररी खनजोत गरेर फुर्फुराउदो बनाउनु पर्दछ । कम्पोष्ट मल प्रशस्त राखेर फेरि जोतेर माटोमा मिलाउनु पर्दछ । वर्षातको समयमा ५० मिटर चौडा र आवश्यक मात्रामा लम्बाई भएको ड्याङ बनाएर रोप्नु पर्दछ भने हिँउदमा भने डयाङ नबनाई यसको खेती गर्न सकिन्छ ।

कम्पोष्ट मल :  ३५ देखि ४० डोको अथवा १५०० किलोसम्म प्रतिरोपनी राम्ररी पाकेको मल चारैतिर छर्ने ।

अन्य मल : एकपटक खनिसकेको बारीमा डल्ला फोरिसकेपछि रासायनिक मल प्रतिरोपनी ५ के.जी नाइट्रोजन, ३ के.जी फोस्फोरस, ४ के.जी. पोटास हाल्नुपर्दछ ।

रोप्ने तरीका : मुलाको नर्सरी नगरिने भएकाले यसको बेर्ना सार्न आवश्यक छैन । यसलाई सिधै स्थायी फिल्डमा नै बिउ रोपिन्छ । डयाङ बनाएर रोप्ने हो भने ३० से.मि. एकलाइनबाट अर्को लाइन र १५ से.मि एक बोटबाट अर्को बोट हुनुपर्दछ । दुई÷दुई दानाको हिसाबमा आधा इन्च गहिरो पर्ने गरी मुलाको बीउ रोप्ने । यसको दुरी बाली अनुसार फरक पर्न जान्छ । जस्तै : चालिस दिने जात बाक्लो रोप्नु आवश्यक हुन्छ ।

सिँचाई तथा गोडमेल : मुख्य मुला खेती गरेको ठाउँमा पानी जम्न हुदैन । सामान्यतयाः वर्षातको समयमा छरेर गरिने मुला खेतीमा छर्ने बित्तिकै सिँचाई आवश्यक पर्दैन । अवस्था हेरेर दुई तीन दिनको फरकमा पानी दिनु पर्दछ । सुख्खा लागेको बेलामा स्पिङकल, हजारी, पाइपको सहाराले सिँचाई गर्न सकिन्छ ।

मुलामा लाग्ने रोगहरू रोकथाम उपायहरू

१) कालो जरा : यो ढुसीबाट लाग्ने रोग हो । बोरोनको कमिले यो रोग देखिन्छ । यसले गर्दा कलिलो जरा कालै भएर मर्छ ।

अर्गानिक रोकथाम : घुम्तिबाली अपनाउनुु पर्दछ । माटो र बिउ उपचार गर्नु पर्दछ र बोरोन छर्नुपर्दछ ।

२) ढुसी : पातको माथिल्लो भागमा देखिन्छ ।

अर्गानिक उपचारः स्वस्थ बिउ प्रयोग गर्ने

३) पात गुजमुजिने : यो रोग भाइरसबाट लाग्छ । लाली किराले यो रोग सार्छ ।

उपचार : रोगी बोट हटाउने । लाहि किरा नियन्त्रण गर्ने

४) सिन्दुरे रोग : रातो र सेतो रंगमा देखिने यो रोग पातमा देखिने र पछि डाँठ र जरामा समेत जाने हुन्छ ।

रोकथामः डाइथेन एम–४५ प्रति लिटर पानीमा दुई ग्रामका दरले मिसाएर आठ दिनको फरकमा दुई पटक सम्म चलाउने

५) थोप्ले रोगः यो कालो कालो देखिने थोप्ले रोग हो । सितपर्ने बेलामा यस्तो रोग बढी लाग्ने हुन्छ वर्षातमा पनि यस्तो रोग लाग्दछ ।

रोकथाम : डाइथेन एम–४५ प्रति लिटर पानीमा दुई ग्रामका दरले मिसाएर स्प्रेयरले स्प्रे गर्नु पर्दछ ।

मुलामा लाग्ने किराहरू तथा तिनको रोकथाम

क) लाहिः यो मसिनो हुन्छ रस चुुसेर बोट मार्छ । यसलाई अर्गानिक उपाय अन्र्तगत खरानी छर्केर पनि कम गर्न सकिन्छ ।

ख) खपटेः यो सानो हुन्छ पातबाट रस चुसेर नोक्सान पु¥याउँछ । यसलाई नियन्त्रण गर्न जम्मा गरेर मार्ने । गर्मीमा बारी जोतेर घाममा पाक्न दिने ।

बाली कटाई एव भण्डारणः मुलाको जातअनुसार करिब ४५ दिनपछि उखेल्ने बेलाका हुन्छन् । डुकु आउनुअघि मुला टिप्नुपर्छ । नभाँचिने र घाउ नलाग्ने गरी उखेल्नुपर्दछ । मुलाको मागअनुसार उखेलेर बेच्ने भए भण्डारणको धेरै आवश्यकता पर्दैन ।

थप समाचार