बैज्ञानिक नाम (ल्याटिन नाम) : रुहेम अष्ट्रेल (Rheum australe D. Don)
संस्कृत नाम : रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी
नेपालीमा : शंखत्र
वनस्पति परिवार : पोलिगोनेसी (Polygonaceae)
परिचय
नेपालको ३,००० देखि ४,००० मि.सम्मको उचाईमा हिमाली भेगको फिरफिरे, ठिंग्रे वा गोब्रे सल्ला इत्यादि भएका जंगलको छेउछाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा विरुवा पाइन्छ । यो १ देखि २ मि.सम्म अग्लो हुन्छ । यसको जरा र जमिनमुनि रहने काण्ड कसिएको गठिलो हुन्छ । बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वास पनि आउँछ । स्वाद भने पिरो, टर्राेर केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पल्हाई आएका लामा डाँठ भएका यसका पातहरू ३० से.मि. चौडा हुन्छन् । विरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । यसको फूलहरू साना र राता हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।
खेती
यसको विरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरूलाई वसन्त ऋतुमा सारिन्छ । १.५ मि. दूरिमा रहेको खाल्टोमा बेस्सरी मल जल गरेपछि मात्र यो विरुवा सार्ने कार्य हुन्छ । नेपालको निम्न जिल्लाहरूमा यसको खेती गर्न सकिन्छः दोलखा, गोरखा, लमजुङ्ग, म्याग्दी, रुकुम, पर्वत, कालिकोट, दैलेख, जाजरकोट आदि ।
संकलन
यसका जरा र जमिनमुनि रहने डाँठ शरद् ऋतुमा काटेर झिकिन्छ । ३ देखि १० वर्षका विरुवाहरूबाट यसको काण्ड आश्विन महिनातिर खनेर झिकिन्छ । यी लामा, मोटा जरा र काण्डलाई धोई सफा गरिन्छ । पातका लामा डाँठाहरू पनि संकलन गरिन्छ ।
सुकाउने तथा संरक्षण
संकलन गरिएको जरा र काण्डलाई ससाना गरी टुक्र्याइन्छ । ती टुक्राहरूलाई घाममा राम्रोसंग सुकाउनु पर्दछ । केही केही टुक्राहरूको बीचमा प्वाल पारी त्यसभित्र डोरी छिराई छहारीमा दुईवटा खम्बा वा रुखमा बाँधी सुकाउने पनि गरिन्छ । सुकिसकेका जडीबुटीहरूलाई टुक्र्याई बोरामा पोको पारी सुख्खा ठाउँमा राखिन्छ । पातका लामा डाँठहरू छहारीमा सुकाई चुल्ठी पारेर ओवानो ठाउँमा सुकाइन्छ ।
उपयोगिता
आयुर्वदिय प्रणाली अनुसार यसको काण्ड र जरा जुलाफ, कब्जियत, तागत दिने र पखाला लाग्ने इत्यादिको औषधिमा प्रयोग गरिन्छ । सुन्निएको, मर्केको, भाँचिएको ठाउँमा पदमचालको गाना कुटेर गाईको गउँतमा मिसाई लगाउनाले फाईदा गर्दछ । यसलाई शक्तिवर्धक पाचक, वायुशमन गर्ने इत्यादि औषधिमा पनि व्यवहार गरिन्छ । यिनका हरिया र सुकेका डाँठ, पात र फूल पनि अचार तथा तरकारीमा प्रयोग गरिन्छ ।
स्रोत : वनस्पति विभाग