परिचय :
चिराइतो नेपालको औषधी जन्य एवं निकासी योग्य एक महत्वपूर्ण जडिबुटी हो । यो पहाडी भेगको १५०० देखि ३००० मिटरको उचाइमा हुन्छ । हिन्दुकुश हिमश्रृङ्खलामा पर्ने नेपाल तथा भारतको खांसियादेखि भुटानसम्म फैलिएको पाइन्छ । यो नेपालको ५५ वटा हिमाली तथा पहाडी जिल्लामा धेरथोर भेटिन्छ । ठेट नेपालीमा यसलाई चिरेटो र लेकतिते भन्दछन् । संस्कृतमा किराँततिक्त, नेपाल निम्वको संज्ञा दिइएको छ भने हिन्दीमा चिरायता, तिब्बतीमा तिग्ता र अंग्रेजीमा चिरेट्टा भनिन्छ । नेपालमा स्वेर्सिया वंशका ३१ वटा रैथाने प्रजाति पहिचान भएका छन् । ती मध्ये ९ वटाको व्यापारिक कारोवार भएको छ, जसमा स्वेर्सिया चिराइताको अंश ९० प्रतिशत भन्दा माथि रहेको छ । सबै प्रजातिको साझा नाउँ चिराइतो हो । स्वेर्सिया चिराइता उच्च आद्र्रता भएको, ओसिलो, मनसुन लामो समयसम्म रहने, कम तापक्रम हुने, कुहिरो हुस्सु लाग्ने, प्राङ्गारिक पदार्थ पर्याप्त भएको मलिलो, अम्लिय,दुमट वा बलौटे माटोमा र फाटफुट रुखहरूको छायाँ पर्ने खोल्साखाल्सीको पाखोमा राम्ररी हुर्कन्छ । बोट १–१.५ मिटर अग्लो, ठाडो र बनमारा वा लाहुरे फूल जस्तो देखिन्छ तर बैजनी रङ्को हुन्छ । पहिलो वर्ष पाते अबस्थामा रहन्छ, पातहरू लामा र चौडा देखिन्छन् । दोश्रो वर्ष डुकु आउँछ, हाँगा लागेर फूल फुल्दछ । बोटको आँख्लामा भालाकारका पातहरू दुवैतिर पलाएका हुन्छन् । माथितिर पातहरू क्रमशः सानो आकारको हुन्छ । ठूला साना धेरै हाँगा लाग्दछन्, हरियो(पहेंलो फूल फुल्दछन् र क्याप्सुल आकारको फल लाग्दछन् । डाँठ, पात, जरा सबै अति तितो हुन्छ र औषधीको लागि प्रयोग गरिन्छ ।
महत्व
चिराइताको ऐतिहासिक, आर्थिक, औषधीजन्य, वातावरणीय तथा जनजातिय महत्व रहेको छ । वनस्पति विभागले व्यवसायिक खेती तथा अनुसन्धानको लागि प्राथमिकतामा राखेको १२ वटा जडिबुटी (यार्सागुम्बा, जटामसी, कुरीलो, चिराइतो, सुगन्धवाल, सुगन्धकोकिला, लोठसल्लो, कुट्की, पाँचऔंले, गुर्जो, पिप्ला, सर्पगन्धा) मा यसको स्थान अग्रणी रहेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि अनुसन्धान केन्द्र पाख्रीबासले विभिन्न सरोकार वालाहरूसँग गरेको छलफल गोष्ठीहरूमा व्यवसायिक उत्पादनका लागि छानिएका तीन दर्जन महत्वपूर्ण बाली वस्तु मध्ये चिराइतोले आठौं स्थान पाएको छ । अतः यसलाई व्यवसायिकरण र दिगो सदुपयोग गरी आय आर्जन बढाउन प्राथमिकता दिइएको छ । यो नेपालको नियमित निर्यात हुँदै आएको जडिबुटी हो । स्थानीयवासीले जंगल तथा पर्ती जग्गाबाट उखेलेर बेची नगद आर्जन गर्दै आएका छन् । यसबाट नुन तेलको खाँचो टार्न र दशैं तिहार मनाउन समेत सहयोग पुगेको देखिन्छ । पूर्वाञ्चलमा यसलाई लेकको अलैंची मानिन्छ । नेपालका करीब १५० निकासीजन्य जडिबुटीमध्ये संकलन, निकासी र राजस्वको आधारमा चिराइतो “ टप फाइव “ भित्र पर्ने गरेको छ । स्मरणीय छः नेपालले विश्व बजारको ५० प्रतिशत चिराइताको माग पूरा गरेको छ । अतः यसले अर्थोपार्जन, रोजगारी र गरीबी निवारणमा सहयोग पु¥याउँदै आएको देखिन्छ । चिराइतो वैदेशिक मुद्रा आर्जन गर्ने एक प्रमुख पैदावार हो । अधिकांश उपज (८०–८५) प्रतिशत भारतमा निकासी हँदै आएकोे छ । यसलाई मलेसिया, सिँगापुर, चीन, जापान, बङ्गलादेश, पाकिस्तान, रसिया, जर्मनी, इटाली, बेलायत, अमेरिका, केनिया लगायत दुई दर्जन मुलुकले आयात गर्दछन् । वार्षिक चार सय मेट्रिक टनसम्म निकासी भएको तथ्याङ्क छ ।
स्वदेशमा २–३ प्रतिशत (५–१० टन) मात्र खपत भएको अनुमान छ । सरकारलाई राजस्व दिने जडिबुटीहरूमध्ये चिराइतोको योगदान सर्वाधिक रहेको छ, विशेषगरी पूर्वान्चल विकास क्षेत्रमा, कुल जडिबुटीको ४५ प्रतिशतसम्म छ । यसबाट विदेशी मुद्रा आर्जनमा ठूलो सहयोग पुगेको पाइन्छ । यदि रु.३०० प्रति केजीले ४०० टन निर्यात भएमा रु.१२ करोड नगद आउँछ । चिराइताको ठूलो औषधीय महत्व रहेको छ । हिमालदेखि तराईसम्मका बासिन्दाले यसलाई पुर्खौंदेखि ज्वरो, रुघाखोकी, झाडावान्ता आदि रोकथामका लागि प्रयोग गर्दै आएको पाइन्छ । यसबाट एक दर्जन रोगको आयुर्वेदिक र आधुनिक औषधी साथै तितो टनिक बनाइन्छ । प्राचीन आयुर्वेद ग्रन्थ भावप्रकाश निघण्टुमा चिराइताबाट निको हुने रोगका नाउँ यसरी लेखिएको छः विषम् ज्वरो, दम, कफ–पित्त विकार, ग्यास्ट्रिक, खोकी, सुन्निने, मधुमेह, घाउ खटिरा, त्वचाको रोग, पेटको कीरा नष्ट गर्दछ । यी बाहेक यसले रुचि बढाउँछ, रगत सफा गर्छ, मुत्ररोगमा लाभदायी छ, रक्तचाप र मो टो पना घटाउन सहयो ग पु¥याउँछ । पेट दुख्ने, पोल्ने, आँखा र टाउको दुख्ने, पित्त चढेको, आदिमा उपयोगी मानिन्छ । छालाका रोगहरूः दाद, लुतो, दुवी, घाउ–खटिरा निको पार्न मद्दत गर्दछ । यो एन्टिबायोटिक पनि हो । यसमा चिरेटिन, एमेरोजेन्सिन, स्वेर्चीरिन, जेन्सियोपिक्रिन, ओफेलिक एसिड जस्ता बिषरहित रसायनहरु पाइन्छन् र प्रायः पानीमा घुलनशील हुन्छन् । तितोपना १ देखि २.५ प्रतिशत हुन्छ । यसलाई १०–१२ घण्टा पानीमा भिजाएर पिउने चलन छ तर उमालेर गाढा रङ् निकाली सेवन गर्नु राम्रो हुन्छ । डाँठ, पात, जरा, फूल सबैको उत्तिकै महत्व छ । रोग हेरी १ देखि ३ ग्राम चूर्ण घीउ, मह वा पानीसँग बिहान बेलुका खान सिफारिस गरिएको छ । तर रक्तचाप कम भएका र कमजोर मानिसले सेवन गर्नुहँुदैन । हाल बजारमा चिराइतोबाट उत्पादित टनिक, चूर्ण, झोल तथा क्याप्सुल गरी एक दर्जन औषधीहरू पाइन्छन् ।
चिराइतोलाई खेतीमा ल्याइएको एक दशक कटेको छ । सर्वप्रथम कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा यसको नर्सरी र खेतीको अनुसन्धान भई प्रसारण विधि तथा खेती प्रविधि विकसित भएको हो । उक्त प्रविधि प्रचार प्रसार भई चिराइतो हुने पूर्वदेखि पश्चिमका इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, रसुवा, धादिङ, गोरखा, काश्की, वाग्लुङ तथा पश्चिमका केही जिल्लाहरूमा फैलिएको छ ।
प्रसारण विधि
चिराइतोको प्रसारण बीउ र जरा दुवैबाट गर्न सकिन्छ । तर जराबाट उपयुक्त विधि विकसित भएको छैन । प्रकृतिमा यो जडिबुटी बीउबाटै प्रसारण भएर फैलिएको हो । बीउ अत्यन्त मसिनो हुन्छ र एक ग्राममा ३५–४० हजार वटा हुन्छ । कम उम्रने र बढ्ने समय लाग्ने भएकोले बीउ उमार्न विशेष ध्यान पु¥याउनु पर्दछ । राम्रो उमारको लागि स्वस्थ, पाकेको र ताजा (उही वर्षको) बीउ हुनु पर्दछ । त्यसबाहेक ब्याडको तयारी, बीउ छराइ, सिँचाइ, गोडमेल, ब्याडको सुरक्षामा विशेष ध्यान पु¥याउनु पर्दछ । बीउलाई नर्सरीमा उमारेर बेर्ना सारी वा सोझै छरेर खेती गर्न सकिन्छ । कृषि अनुसन्धान केन्द्र पाख्रीबासमा तथा वाह्य अनुसन्धान स्थलहरूमा दुई तीन वर्षको अनुसन्धानबाट विकसित बीउ उमार्ने प्रविधि यस प्रकार छ ।
नर्सरी तथा सोझै बीउ छर्ने प्रविधि
नर्सरी ब्याडको तयारीः नर्सरीको लागि पशुपंक्षीबाट सुरक्षित हु ने र पायक पेर्ने ठाउँ छनौट गर्नुपर्दछ । यसको नाप १ मिटर चौडाई र आवश्यकतानुसार ५–१० मिटर लम्बाई राख्न सकिन्छ । ब्याड बनाउने ठाउँको झारपात, माटो ताछेर फाली जंगलको (भएसम्म उत्तिस, कटुसको रुख मुनिको) हल्का कालो माटोले भर्नुपर्दछ । माटो अड्याउन र ७–८ सेन्टिमिटर उचाईको लागि बाँसको घनालाई दुई फ्याक पारी चौकोश लगाउनु पर्दछ । आधा भाग (२ इञ्च) भरेपछि माथिल्लो भागमा २ इञ्च बाक्लो जंगलको चालेको माटो, पाकेको गोबर मल र बालुवा १ः१ः१ भागको अनुपातमा राम्रोसँग मलेर भर्नु पर्दछ । माटोका कीरा नियन्त्रणको लागि मालाथायन धूलो २ ग्राम प्रति वर्ग मिटरका दरले माथिल्लो तहमा मिलाई सतह सम्याई दिनु पर्दछ ।
बीउको तयारी र छर्ने कामः
ब्याडको तयारीसँगै बीउको तयारी गर्नुपर्छ । बीउ आधादेखि १ ग्राम प्रति वर्ग मिटर ठीक हुन्छ । एक हेक्टरको लागि १०० ग्रामले पुग्छ । उमालेर सेलाइएको मन तातो पानीमा २४ घण्टा राखी भिजाउनु राम्रो हुन्छ । त्यसपछि सफा कपडामा छानेर एक भाग बीउमा ५० भाग बालुवा (एक ग्लास चालेको बालुवामा एक ग्राम बीउ) राम्रोसँग मलेर एक वर्ग मिटरका दरले छर्नु पर्दछ । नर्सरी मंसिरदेखि बैशाखसम्म राख्न सकिन्छ तापनि चैत बैशाखमा बढी सुहाउँछ । लाइनमा हो भने १० से.मि.को फरकमा छेस्कोले कोरेर छर्नु पर्दछ । बीउ छरेपछि ब्याडमा खर वा छ्वालीको थोरै बाक्लो छापो फिजाइदिनु पर्छ । अनि माटो भिज्ने गरी झारीले सिँचाइ गरिदिनु पर्छ । ब्याडलाई असिना पानीबाट बचाउन टहरो बनाएर छानो हाली सुरक्षित राख्नु पर्दछ । पुसदेखि फागुनसम्म तापक्रम कम हुने हुँदा फोटोमा देखाए जस्तै प्लास्टिक घर वा टनेल भित्र छर्नु पर्दछ । नर्सरी सिँचाइ, गोडमेल तथा बेर्ना उत्पादनः नर्सरी राखेपछि त्यसमा बरोबर ध्यान दिनु आवश्यक छ । माटो सुक्न दिनु हुन्न, २–३ दिन बिराएर नियमित सिँचाइ गर्नु पर्दछ तर धेरै पानी दिनु हुन्न । पानी हजारी वा स्प्रेयरले छर्नु पर्छ । अन्यथा माटो खल्बलिन्छ र एकनासले भिज्दैन । सिँचाइसँगै गोडमेल को काम गर्नु पर्छ । हप्ताको एक चोटी झार सानो छँदैमा उखेलिदिनु पर्छ । दुई तीन हप्ता पछि बीउ उम्रन थाले पनि कुनै बीउ ३–४ महिना पछि पनि उम्रन सक्छ । पाँच हप्तापछि छापो निकालिदिनु पर्दछ । तर सिँचाइ गर्ने र झार निकाल्ने काम निरन्तर चलिरहन्छ । बिरुवा निकै मसिनो देखिन्छ । एक वर्ग मिटरमा ४ हजारसम्म बेर्ना उम्रे को पाइएतापनि सरदर १ डेढ हजार हुन्छ । यदि बाक्लो उम्रिएको छ भने सानो बेर्नालाई साउन भदौमा नजिकै अर्को ब्याड बनाएर वा प्लास्टिक थैलामा सार्न सकिन्छ । ब्याडमा बेर्ना सड्ने रोग ड्याम्पिङ्ग अफ लागेको लक्षण देखिएमा ढुसीनासक विषादी छर्न सल्लाह दिइन्छ । उच्च पहाड को गौचरन र बांझो जग्गामा, बारी तथा तिनका कान्लामा छरेर पनि चिराइतो उमार्न सकिन्छ । त्यहाँ उम्रेको बेर्नालाई अन्यत्र लगेर सार्ने वा छरुवा खेतीको रूपमा त्यही छाडेर बाली लिन सकिन्छ । त्यसैगरी चिराइतो पाइने जंगलबाट कलिला बिरुवा ल्याएर सारेर खेती गर्न सकिन्छ ।
जमिनको तयारी, बेर्ना संख्या, रोप्ने दूरी र रोपाइः
चिराइतोको बेर्ना समतल जग्गाको साथै भीरालो तथा कान्लाहरूमा पनि सारे र खेती गर्न सकिन्छ । बेर्ना ६ वा ८ पाते भएपछि करीव ८–१० सेन्टिमिटर अग्लो र सार्न लायक हुन्छ । सार्ने दूरी परीक्षणले देखाएअनुसार बोटदेखि बोट २५ र हारदेखि हार ५० सेन्टिमिटर उत्तम पाइएको छ । यो दूरीमा रोप्दा प्रतिहेक्टर ८०,००० बिरुवा अट्छ । जग्गा मकै रोप्नको लागि जस्तै तयार गरे हुन्छ । बे र्ना असारदेखि साउनभरी सार्न सकिन्छ । पोलिथिन ब्यागमा हुर्काइएका बेर्ना सिँचाइ सुविधा भएको वा वर्षा भइरहने स्थानमा वैशाखमै सार्न सकिन्छ । व्याडकोभन्दा पोलिब्यागमा हुर्काइएको बेर्ना राम्रो सर्छ । कुनै बिरुवा सानैमा वा ठूलाभएपछि पनि विभिन्न कारणले मर्न सक्दछ । अतः खाली भएको ठाउँमा समयमै पुनः रोप्नु पर्दछ । यसको लागि नर्सरीमा २०–२५ प्रतिशत बच्ने गरी बिरुवा उमार्नु पर्दछ । एक रोपनीको लागि ५ वर्ग मिटर र एक हेक्टरको लागि १०० वर्ग मिटरमा नर्सरी गर्नु पर्दछ ।
मलखादः
चिराइतोलाई मलिलो दोमट माटोको आवश्यकता पर्छ । रुखो माटो मा यो फस्टाउँदैन । मध्यम उर्वर माटोमा पनि केही मल हाल्नुपर्दछ । मलखाद सम्बन्धी परीक्षणले चिराइतोलाई गाईवस्तुको गोठेमल ३२ टन प्रति हेक्टर उपयुक्त हुने देखाएको छ । उक्त मलको आधा मात्रा (१६ टन) वा २०० ग्राम प्रति बोट जग्गा तयारी गर्ने ।
गोडमेलः
चिराइतोलाई झारपातले सताउँछ । विषेश गरी वर्षात् वा मनसुनको बेला झारहरू द्रुत गतिले बढेर सानो बिरुवालाई नकारात्मक असर पार्न सक्दछन् । गोडमेल सम्बन्धी परीक्षण अनुसार असार–साउनमा रोपेको चिराइतोलाई असोजसम्म करीव एक महिनाको अन्तरालमा पालैपालो गोड्ने वा झार उखेल्दिने गर्नुपर्दछ । गोड्दा कुटो कोदालोले बिरुवालाई दखल पार्न दिनु हुन्न । दोश्रो बर्षको फागुन चैतमा पानी पर्न सुरु भएपछि तापक्रमसँगै झारपात पनि बढ्न थाल्दछन् । तसर्थ बैशाख( जेठमा एक पटक र असार(साउनमा एकपटक गोड्नु अनिवार्य हुन्छ । त्यसपछि आएको झारले खासै असर गर्दैन । तैपनि आवश्यकतानुसार झार काटेर खुला गरिदिन सकिन्छ । झारको प्रकोपअनुसार पहिलो तथा दोश्रो वर्ष ३ देखि ४ पटक गोडमेल गर्नु जाती हुन्छ ।
सिँचाइः
पानीको सुविधा छ भने सुख्खा याममा एक दुई हप्ताको फरकमा सिँचाइ गर्दा चिराइतोको वृद्धि विकास राम्रो हुन्छ । अतः कात्तिकदेखि बैशाखसम्म र ठाउँ हेरी जेठमा पनि पानी परेन भने सिँचाइको आवश्यकता पर्दछ । सिँचाइ गरेमा उत्पादन दोब्बर बढ्न सक्छ । बेच्दा पनि अन्य बालीको तुलनामा आयमुलक नै मानिन्छ ।
सन्दर्भ सामाग्री
टी.पी. बराकोटी (२०६४) चिराइताको दिन फेरि आयो ः आशा र उत्साह पुनः पलायो,
हाम्रो कल्पबृक्ष, वर्ष १८, अङ्क १९७, काठमाडौं, नेपाल । टी.पी. बराकोटी (२०६४) चिराइतोः उत्पादन बढ्यो मूल्य छैन, हिमालखबरपत्रिका, १६( ३० पुष, ललितपुर, नेपाल । टी.पी. बराकोटी (२०५९)( चिराइतोको व्यवसायिक खेती तथा उत्पादन व्यवस्थापन (स्कीम निर्देशिका पुस्तक), काठमाडा,ैंनेपाल। टी.पी. बराकोटी (२०५७) (चिराइतोः एक