बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नागबेली

शुक्रबार, असार १ २०८१
11 views
नागबेली

समाचार शेयर गर्नुहोस्

Share this news

बैज्ञानिक नाम (ल्याटिन नाम) : लाइकोपोडियम क्लाभाटम (Lycopodium clavatum Linn)
वनस्पति परिवार : लाइकोपोडियसी   (Lycopodiaceae)

१. परिचय :
नागबेली विरुवा नेपाल अधिराज्यका समुद्री सतहबाट १,८०० मि.देखि ३,६०० मि. उचाईका स्थानहरूमा पाइन्छ । यो एक लहरे झार हो । खुल्ला चौर वा मैदानमा फैलिएर रहेको हुन्छ ।
यसलाई बेली लहरो पनि भन्दछन् । यो लहरो विरुवा वनस्पति जगतको फूल नफुल्ने जातमा वर्गीकरण गरिएको छ । पात सानो र २ देखि १० मि.मि. लामो हुन्छ । पातहरू घुमाउरो प्रकारले मिलेर डाँठ र हाँगाहरूलाई  ढाकेका हुन्छन् । जमिनमा फैलिएर रहेको डाँठबाट ५ देखि १० से.मि. लामो र ठाडो हाँगा निस्केका हुन्छन् । हरेक हाँगामा बीजाणु फल्ने ३ देखि ५ कोसासम्म फल्दछ । कोसा छिप्पिएपछि यसभित्र रहेका नौनी रंगको मसिनो धुलो निस्कन्छ । यही धुलोलाई नागबेलीको धुलो भनिन्छ । यो धुलो चिप्लो, स्वाद र गन्धविहीन हुन्छ । हातले छुदा टाँसिन्छ । यो चिसो पानीमा उत्रन्छ र आगोमा हाल्दा उज्यालो ज्वाला सहित झिलिक्क बल्दछ । यसलाई सूक्ष्मदर्शक यन्त्रले हेर्दा यसमा असंख्य अति साना बीजाणुहरू देखिन्छन् । बीजाणु २४ देखि ४० मिलिमाइक्रोन व्यासको हुन्छ । प्रत्येक बीजाणु स्तुपाकार, कोप्रो फेद भएको र बाहिरी भाग पाँचकुने आवरणले ढाकिएको हुन्छ । बीजाणु फोरेमा पहंलो  रंगको तेल निस्कन्छ । एक ग्राम तौलमा ९४,००० बीजाणुहरू हुन्छन् ।

२. खेती : 
खेतीको लागि यसलाई नतिशितोष्ण जलवायुको आवश्यकता पर्दछ । यस विरुवाको खेती यसका बीजाणुबाट गरिन्छ । बीजाणु अति सानो भएकोले सर्वप्रथम नर्सरी बेडमा यसको बोट तयार गरिन्छ । बीजाणु माटोको ३ देखि १० से.मि. तल गाडिन्छ । अंकुरणपछि विरुवाले १ देखि ३ से.मि. लामो गाजरको जस्तो आकार लिन्छ । र यसमा भाले र पोथी दुवै योनीको विकास हुन्छ । भाले र पोथी योनीको संसर्गपछि भ्रण उत्पत्ति हुन्छ । यही भ्रणपछि विस्तारै विरुवामा परिणत हुन्छ । यो विरुवालाई मलजल गरी तयार गरिएको खेतमा सारिन्छ । ५ देखि १५ वर्षपछि विरुवा परिपक्व हुन्छ र धेरै वर्षसम्म बाँच्दछ । काण्ड र हाँगाको कक्षबाट कोपिला फुल्दछ । यो कोपिला भुईमा खसेर अंकुरण भई नयाँ विरुवा तयार हुन्छ । नेपालको निम्नलिखित जिल्लाहरूमा यसको खेती गर्न सकिन्छः इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, लमजुङ, कास्की, पाल्पा, मुस्ताङ, काठमाडौ, मकवानपुर, भद्रपुर, ललितपुर, दोलखा, रसुवा, धादिङ, नुवाकोट आदि ।

३. संकलन :
जेष्ठदेखि श्रावणसम्ममा नागबेलीको कोसा लाग्न शुरु गर्दछ र माघ फाल्गुणतिर संकलन गरिन्छ ।

४. सुकाउने तथा संरक्षण

संकलन गरिएको कोसालाई घाममा सुकाइन्छ । राम्ररी सुकिसकेपछि जतनसंग कोसाबाट धुलो झारिन्छ । पात, डाँठ र हाँगाहरूको टुक्राटाक्री चाल्निले छानेर अलग्याइन्छ । नागबेली को धुलोलाई प्लाष्टिकको ब्यागमा हाली राम्ररी मुख बन्द गरेर आगोबाट टाढा राख्नुपर्दछ ।

५. उपयोगिता
आयुर्वदिय पद्धति अनुसार नागबेली को झार मृगौला र फोक्सो को रोगहरूमा प्रयोग गरिन्छ । अजिर्ण लगायत पेट सम्बन्धी साधारण रोग, रक्त विकार र सन्निपातमा पनि यसको उपयोग
गरिन्छ । यसको धुलोलाई खासगरी आतिसबाजी र पटाकाहरू बनाउनमा पनि प्रयोग गरिन्छ ।
स्रोतः वनस्पती विभाग 

थप समाचार