परिचयः
रिठ्ठा अग्लो पतझड खालको रुख हो । पातहरु जोडा भई झुम्म परेर रहेका हुन्छन् । पातहरु खुकुरी आकारका ५–१५ से.मी. लामा र ५–१० को जोडामा रहेका हुन्छन् । फूूल मा एक भन्दा बढी पोथी अंग हुन्छन् । फूल हल्का प्याजी रंगका हुन्छन् । फल २.५ से.मी. व्यास भएको बाहिरी भाग पहेलो हुन्छ । यसको सतह चाउरी परेको हुन्छ ।
फूूल फुल्ने समयः जेष्ठ
प्राकृतिक बासस्थानः
रिठ्ठा हिमालय खण्डको नेपाल, आसाम, बर्मा, चीन, कोरिया, ताइवान र जापानमा पाइन्छ । नेपालमा पतझड वन भएको क्षेत्रहरुमा मूलरुपमा १००० मिटर देखि १५०० मिटर सम्मको उचाई भएको स्थानहरुमा पाइएको छ । खुल्ला पारिलो र घाम प्रशस्त लाग्ने पाखाहरु रिठ्ठाका लागि उपयुक्त स्थान हो । यो नेपालको प्राकृतिक जंगलमा पाईएको छैन । वृक्षारोपण द्वारा धेरै स्थानमा रोपिएको पाईन्छ । सडकको छेउ र वारी पाखाको छेउ छाउमा रोप्दा राम्रो संग हुर्केको देखिन्छ ।

उपयोगिताः
रिठ्ठाको प्रयोगमा आउने भाग फल हो । फलहरु साबुन, स्याम्पु र डिटरजेन्ट तयार गर्ने काममा प्रयोग गरिन्छ। माछा मार्न विषको रुपमा प्रयोग गर्नुका साथै छारे रोगको औषधिमा पनि प्रयोग हुन्छ । गाउँ घरमा उनीका लुगाहरु, रग, कारपेट, गंलैचा धुने काममा पनि प्रयोग गरिन्छ ।
संकलन समय र विधिः
कार्तिक–मंसिर महिनामा रिठ्ठको रुखबाट फलहरु पाकेर झर्न थाले पछि संकलन गर्ने कार्य गरिन्छ । रिठ्ठा मानिस रुखमै चढेर हातैले रुखमा हल्लाएर झार्ने गरिन्छ । झरेको वा रुख चढेर झारेको फललाई राम्रो संग घाममा सुकाई पंहेलो भएपछि जुटको बोरामा हाली भण्डारण गर्नु पर्दछ । कलिला र राम्रो संग नसुकेका फल कुहिएर कालो हुने भएकाले संकलन र भण्डारण गर्दा त्यस्ता सडेगलेका फललाई अलग गर्नुपर्दछ ।
प्रसारण विधिः
रिठ्ठा खेती गर्नका लागि वीउबाट उमारेर गर्न सकिन्छ । मंसिर महिनामा वीउका लागि फल टिपी बाहिरी आवरणयुक्त फललाई फुटाई भित्रको कालो टिलिक्क टल्कने वीउ निकाल्नु पर्दछ । वीउलाई फाल्गुन–चैत्र महिनामा तयार गरिएको नर्सरी व्याडमा वीउ नर्सरी गर्न सकिन्छ । रिठ्ठामा धेरै मात्रामा उम्रने शक्ति भएकाले को पोलीट्यूव मा सोझै रोपेर पनि विरुवा उमार्न सकिन्छ । वीउ धेरै कडा हुने भएकाले नर्सरीमा वीउ छरेपछि प्रशस्त मात्रमा पानी दिई सिंचाई गर्नु पर्दछ । वीउ छरेको ३०–४० दिन भित्र अंकुरण शुरु भइ २–३ महिना पछि सम्म उम्रने गर्दछ ।
प्रमुख रसायनिक तत्वः
फलमा सेपोनिन , हेड्राजेनिन भन्ने वानस्पतिक रसायन पाइन्छ । यसको फल तथा वनस्पति रसायन हेड्रोजेनिक को जैविक असर अध्ययनमा शुक्राणुनाशक गुण भएको देखिएको छ ।
Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ