बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

उपयोगि जडिबुटि - लघुपत्र

सोमबार, असार १८ २०८१
9 views
उपयोगि जडिबुटि  - लघुपत्र

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
लघुपत्र सोझो भएर बढने कमलो डाँठ भएको विरुवा हो । यो ३० से.मी. देखि १.५ मिटर सम्म अग्लो हुन्छ । यसको जरा धस्रेर बढ्ने र वहुवर्षीय प्रकृतिको हुन्छ । यो विरुवा चैत÷वैशाख महिनातिर पलाउँछ । यसका माटो मुनिका जराहरु हिउँदमा सुसुप्त अवस्थामा रहन्छन् । अप्रिल अथवा मे महिनामा पलाउन थाल्दछन् । हिउँ पग्लने स्थान हेरेर केही समयको परिवर्तन भने हुन सक्छ । यसका पात ३ देखि ५   वटा, गहिरो खण्ड परेका हुन्छन् । वैशाख जेठमा पातको फेदबाट एक एक वटा सेता गुलावी कप आकारका फूल फुल्दछन् । यी फूल  हरु पात पूर्ण रुपमा विकसित हुनु अगडाी नै परिपक्व हुन्छन् । फूलको व्यास ३.५ देखि ५ से.मी. सम्मको हुन्छ । बाह्य दल ३, पुंकेशर ६, फल २.६ देखि ६.२ से.मी. लामो र संयुक्त वहुवीज भएको हुन्छ ।
यसको फल भदौ तिर पाक्दछ । यो गाढा सुन्तला रंगको हुन्छ र वोटमा झुण्डिएर रहेको हुन्छ । यसको गुदी खान योग्य हुन्छ । यसको व्यास २.५ देखि ५ से.मी. सम्मको हुन्छ । यसको जरा १–२ से.मी. मोटो र ५ से.मी. सम्म लामो हुन्छ । यो केही चेप्टो र खास किसिमको आकार नभएको  को हुन्छ । रंग भने केही पहेंलोपना भएको जमीनको माटो संग तुलना गर्न सकिन्छ । यो स्वादमा तीतो हुन्छ भने यसको धुलो आँखालाई चिलाउने हुन्छ ।

फूल फुल्ने समयः आश्विन–कार्तिक

प्राकृतिक वासस्थानः
यो मुख्यतया हिमाली क्षेत्रमा प्राकृतिक वन जंगल एवं खोला किनारहरुमा २४०० देखि ४५०० मीटरको उचाईमा पाइन्छ । यो नेपालको पूर्वी भाग देखि पश्चिम सम्म नै पाइन्छ । यो विरुवा गोब्रेसल्लाको जंगलमुनी राम्रो संग हुर्केको देखिएको छ जहाँको माटोमा प्राङ्गारिक मल प्रशस्त भएको हुन्छ । यो विरुवा गुँरास, धूपी र वैंसको जंगल र यसको आसपासमा पनि भेटिएको छ । तर यो खुला उच्च हिमाली क्षेत्रको मैदान र खोलाको ढुङ्गे किनाराहरुमा पनि भेटिएको छ ।

उपयोगिताः
औषधिमा उपयोग हुने मुख्य भाग यसको जरा  नै हो । यसलाई प्राकृतिक अवस्थामा नै संकलन गरिन्छ । ३००० देखि ३५०० मि सम्मको उचाईमा बढी मात्रामा विरुवाहरु पाउने हुँदा यिनै स्थानहरुबाट प्रशस्त मात्रामा संकलन गरिएको पाइन्छ । यसमा ३–४ ठाउँ सम्म अंकुरण हुन्छ र धेरै अंकुरण हुने विरुवाको जरा राम्रो मानिन्छ । जरा या जमीनमुनीको काण्डमा पनि रेजिन हुन्छ र यो साधारणतया रेचन कार्यमा प्रयोग हुन्छ । नोभेम्बर महिनामा संकलन गरिएकोमा भन्दा मे महिनामा संकलन गरिएकोमा रेजिनको मात्रा बढी हुन्छ । पुरानो जरामा भने पोडोफाईलोटक्सीन  को मात्रा बढी पाइएको छ ।
यसको पातमा पनि ७ देखि ९ प्रतिशत रेजिन पाईने हुँदा सरक्षणका लागि पात संकलन बढी उपयुक्त मानिएको छ । लघुपत्रलाई पिसाव एवं कलेजो सम्बन्धी रोगमा प्रयोग गरिन्छ । यसमा पाइने रसायनिक तत्वले पिसाव खुलाउने तथा कलेजोमा उत्पन्न हुने वाइलको वहाव बढाउने कार्यमा उत्प्रेरकको भूमिका पूरा गर्दछ । यसमा पोडोफाइलोटक्सीन भन्ने रसायनिक तत्व रहेको हुन्छ जुन क्यान्सरको औषधी बनाउनका लागि आवश्यक पर्दछ । यसबाट इडोपोसाइड र टिनीपोसाइड जस्ता क्यान्सरका औषधीहरु बनाइन्छ । यी औषधिहरु विभिन्न प्रकारका क्यान्सर रोगहरु जस्तै रगतको क्यान्सर, फोक्सोको क्यान्सर, केटाकेटीमा हुने मस्तिष्कको ट्युमर आदिमा प्रयोग गरिन्छ । जराको लेप घाउ र चोटपटक लागेको ठाउँमा प्रयोग गर्ने गरेको पाइएको छ । यसको फल खान पनि हुने हुन्छ । फलहरु आश्विन कार्तिक महिना सम्म पाकि सक्दछन् र तीव्वती चौरी गोठालाहरुले खाने गरेको पनि सुनिन्छ तर यसको पूर्ण जानकारी भने राम्रो संग उल्लेख गरेको भेटिदैन ।

संकलन, समय र विधिः
यिनीहरुको जरा संकलन वर्षमा दुइ सिजनमा गर्न सकिन्छ । एउटा चैत्र—वैशाखमा र अर्को आश्विन— कार्तिकमा । जरा संकलन गरे पछि धोएर सुकाइन्छ र वोरामा राखिन्छ । चैत—वैशाखमा संकलित र ताजा जरामा औषधीजन्य वस्तुको मात्रा बढी पाइएको छ । कलिलो अवस्थामा गरिने अवौनिक ढंगको संकलनले गर्दा यस्तो महत्वपूर्ण वनस्पति विभिन्न स्थानमा लोप हुँदै गएको देखिन्छ । यसको दीगो उपयोगका लागि वासस्थान संरक्षण गर्न जनचेतनाको अभिवृद्धिका लागि खेती प्रविधिको विकास गर्नु आवश्यक देखिन्छ ।

प्रसारण विधिः
लघुपत्रको खेतीको लागि नातिशितोष्ण जलवायु चाहिन्छ । प्राङ्गारिक मल युक्त चीसो माटो र छायाँदार ठाउँ यसको खेतीको लागि राम्रो मानिन्छ । यसको मागलाई हेरेर खेती गर्ने तर्फ पनि प्रयोग नगरिएको होइन । यसलाई वीउबाट र जराको कटिङ्गबाट खेती गर्ने प्रयास गरिएको छ । वीउबाट १–२ वर्षको सुसुप्तावस्था पछि मात्रै विरुवा उम्रेको पाइएको छ ।  यसको खेतीमा त्यति राम्रो सफलता भने पाउन सकिएको छैन । यसको राम्रो जराको फसल लिन पनि केही वर्ष लाग्ने देखिएकोले उचित खेती प्रविधिको विकास नगरी यसबाट सहजै सफलता पाउन सक्ने देखिदैन । १ देखि २.५ से.मी. सम्म लम्बाई भएका र केही पात समेतको जराको टुक्राबाट प्रसारण गर्दा भने केही सफलता पाइएको छ । यसमा पनि ४–५ वर्ष लाग्ने (उचित अवस्थाको जरा बन्न) देखिन्छ । खेती गर्दा वर्षको ३–४ पटक सम्म झारपात उखेली दिनु पर्दछ । २–३ पटक सिंचाईको व्यवस्था हुनु जरुरी छ । यसको वृद्धि ढीलो हुनेछ । खेतीका प्रयासहरु जारी छन् जसबाट एकै नासका विरुवाहरु उत्पादन गर्न सकियोस् र गुणस्तरीय औषधीजन्य वस्तुको प्राप्ति होस ।

प्रमुख रसायनिक तत्वः
यसमा पोडोफाइलोटक्सीन नामक वास्पतिक रसायन पाइन्छ ।

Source :  नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार