बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

दुर्लभ भैरहेको उपयोगी वनस्पति : सर्पगन्धा

आइतबार, असार २४ २०८१
44 views
दुर्लभ भैरहेको उपयोगी  वनस्पति : सर्पगन्धा

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
सर्पगन्धा (रावल्फिया) वहुवर्षे सदावहार विरुवा हो । यसको व्यापारिक नाम रावलफिया हो । रावलफिया भन्ने शब्द १६ औं शताब्दीका जर्मन चिकित्सक राउऔल्फको नामबाट आएको हो । यो विरुवा साधारणतया ५० से.मी. सम्म उचाई भएता पनि कहिले काहिं १ देखि १.५ मिटरसम्म उचाईं भएको पाईन्छ । यसका पातहरू चिल्ला, लामा, भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन–तीन वटा पातहरू निस्किएका हुन्छन् ।

फूल  झुप्पा–झुप्पा, झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफि रंगका हुन्छन् । यसका फूलहरू चैत्र देखि फुल्न शुरु गर्छन र पौषसम्म फूल  फुल्ने क्रम जारी रहन्छ । फलहरू ज्येष्ठको अन्तिम हप्ताबाट पाक्न शुरु गर्छन । फलको रंग पाके पछि कालो हुन्छ । फल र बीऊ चेप्टो गोलो हुन्छ । बीऊको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ ।

जाडो याममा यो विरुवा सुषुप्त अवस्थामा रहनछ र वसनत ऋतुमा नयाँ पालुवा आउन शुरु भे फूल फुल्न थाल्छन् । अत्याधिक संकलनले गर्दा यो विरुवा लोप हुने स्थितिमा पुगेकोले प्राकृतिक अवस्थाबाट संकलन गरी व्यापार गर्न प्रतिबन्धित गरिएको छ । यसलाई संकटापन्न विरुवाको सूचिमा समेत राखिएको छ ।

फुल फूल्ने समय : चैत्र–वैशाख

प्राकृतिक बासस्थानः
प्राकृतिक अवस्थामा यो विरुवा ओसिलो स्थानमा समुद्र सतह देखि १२०० मिटरको उचाई सम्ममा पाईन्छ । विशेष गरेर सालको जंगलमा यो पाईन्छ । उष्ण प्रदेशीय वनस्पति भएकोले यो विरुवा नेपाल लगायत भारत, वर्मा आदि देशहरुमा पाईन्छ । यो एशिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भु–भागमा समेत पाईन्छ । हामे देशमा यो तराई क्षेत्रमा पाइन्छ ।

उपयोगिताः
रावलफियाको जरा शताब्दि पहिले देखि नै आयुर्वेदिक औषधिमा प्रयोग हुँदै आई रहेको छ भने आधुनिक औषधिमा पनि यसको प्रयोग केही दशक अघि देखि भैरहेको छ । युरोपिय मुलुकहरु तथा अमेरिकामा यसको आपूर्ति भारत, पाकिस्तान, श्रीलंका, वर्मा, थाईल्याण्ड आदि एशियाली देशहरुबाट निकासि हुने गरेको छ । यो विरुवाको औषधीय गुण बारे करिब ४०० वर्ष देखि नै ज्ञात भएको विश्वास गरिएको छ । सर्पगन्धाको जरा उच्च रक्तचापका लागि अति नै उपयोगि मानिन्छ ।

यो जडीबुटीलाई प्रशोधन नगरी कोरा रुपमा नै रक्तचापको रोगमा प्रयोग गर्न पनि सकिन्छ । यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएका रक्तचाप नियन्त्रण हुन्छ । संसार भरी नै हाल रसायनबाट तयार गरिएको औषधीहरु भन्दा जडीबुटीमा आधारित औषधीको प्रयोग गर्न शुरु गरेका छन् ।

तसर्थ सर्पगन्धाको माग बढी रहेको छ । सर्पगन्धाको जरामा रहेका रिसर्पिन,सपर्नेनटाइन र एजमालिन आदि नामका मुख्य वनस्पति जन्य रसायनहरु उच्च रक्तचाप, निन्द्रा नलाग्ने, पागलपन, मानसिक उत्तेजना र मृगि जस्ता रोगहरुमा समेत उपयोगि भएकोले हानी रहित प्राकृतिक औषधीको रुपमा प्रयोग गरिन्छ ।

संकलन समय र विधिः
सर्पगन्धाको बाली संकलन भनेको जराज हो । रोपेको १८ देखि ३० महिनामा बाली संकलन गर्न सकिन्छ । जरा मंसिर÷पौष महिनामा खन्नु पर्दछ किनकि उक्त समयमा सारतत्व बढी हुन्छ । व्यवसायिक खेती गर्दा १५ देखि १८ महिनामा बालि संकलन गर्दा फाईदाजनक हुन्छ । गुणस्तरीयता कायम गर्न जरा खन्दा जरामा रहेका मसिना रौं जस्ता जरा समेत रहने गरी र बोक्रा नबिग्रने गरि खन्नुपर्दछ । जरा खनेपछि राम्रोसँग सफा गरि
हावादार छहारीमा सुकाउनु पर्दछ । राम्ररी सुकेका जराहरु पिट–पिट भाँचिने हुन्छ । यसरी सुकाएर जराहरु बोरामा राखि पानी नपस्ने र हावादार कोठामा भण्डार गरिन्छ ।

प्रसारण विधिः
वीउ संकलन आषाढ–श्रावण महिनामा गर्नुपर्दछ । फल संकलन गर्ने वित्तिकै बाहिरी आवरण निकाली सफा गरिएका ताजा वीउबाट सबै भन्दा बढी प्रतिशत (अर्थात ७५ प्रतिशतसम्म) विरुवा उम्रन्छन् भने पुराना हुँदै गएमा वीउमा उम्रन सक्ने क्षमता कम हुन्छ र १ वर्ष पुरानो वीउबाट विरुवा उम्रदैन । कटिङ्गबाट विरुवा तयार गर्नको लागि पुराना विरुवाको डाँठ उचित मानिन्छ । यसको लागि बलौटे माटोको ब्याड बनाउनु पर्दछ ।
बैशाख÷जेठ महिनामा डाँठलाई १५ देखि २२ से.मी. सम्म लामो हुने गरि काटेर नर्सरी ब्याडमा रोप्नु पर्दछ । यसरी रोपि सकेपछि नर्सरी ब्याडलाई डाँठबाट नयाँ मुना नआउन्जेलसम्म चिसो पारेर राख्नु पर्दछ । काटेर राखएिको डाँठहरुमध्ये ४० देखि ६५ प्रतिशतले जराहरु दिन्छन् । कटिङ्गबाट जरा आईसकेपछि सर्पगन्धा खेती गर्ने जमिनमा लगेर सार्नु पर्दछ ।

प्रमुख रसायनिक तत्वः 
सर्पगन्धाको जरामा रिसर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पति जन्य रसायनहरू पाइन्छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग थापाथली, काठमाडौं, 

सम्बन्धित विषय

थप समाचार