निमलाई अङ्ग्रेजीमा मारगोसा ट्रि भनिन्छ र यसको वैज्ञानिक नाम अजाडिरक्टा इन्डिका हो। यो मझौला कद भएको रुख प्रजाति हो । यसका हाँगाबिङ्गा चारैतिर फैलिरहेका हुन्छन् । मेलिएसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पति १५ देखि २० मिटरसम्म उचाइ हुने सदावहार रुख वर्गमा पर्दछ। यसको बोक्रा बाहिरपट्टि गाढा फुस्रो र भित्र पट्टि रातो रंगको हुन्छ । ४० सेन्टिमिटर सम्म लाम्चा पातहरुका ५ देखि ९ जोडी दुन्तुर पत्रहरु विपरित दिशामा लागेका हुन्छन् । सेतो रंगका फुलहरु झुप्पामा फुल्दछन् ।
अण्डाकार आकृतिका फल काँचो अवस्थामा हरियो र पाकेपछि पहेलो रंगमा परिणत हुन्छन् । फल भित्र एउटा बीउ लागेको हुन्छ । प्राकृतिक वासस्थान यो प्रजाति मलिलो माटो भएको खुल्ला ठाउँमा पाइन्छ । यसको सबै भाग जरा, काण्ड, बोक्रा, पात, फूल र फल परापूर्वकालदेखि औषधिका रूपमा प्रयोग गरिँदै आएको छ। यसको महत्त्व र बहुउपयोगका कारणले संयुक्त राष्ट्रसङ्घद्वारा निमलाई २१औँ शताब्दीको रुख घोषणा गरिएको छ।
खेती प्रणाली :
निम विभिन्न किसिमको माटोमा हुर्कन सक्छ । यो बिरुवा चिस्यान, सुक्खा ठाउँ, ढुङ्गा मिसिएको माटोमा तथा पीएच १० सम्म भएको माटोमा राम्रोसँग सप्रन सक्छ। यसले जमिनको उर्वरशक्ति बढाउनुका साथै जमिनमा चिस्यान कायम राख्दछ। निमको को जरा जमिनभित्र धेरै तलसम्म जाने र आफूलाई चाहिने पानी लिन सक्ने भएको हुँदा सुक्खा ठाउँमा यो राम्रोसँग हुर्किन्छ। मुख्यतया निमको खेती गर्दा बीउबाट बिरुवा तयार गरी रोप्ने गरेको पाइन्छ। रुखमा पाकेर हरियो र पहेँलो भएका बीउ सङ्कलन गरी केही घण्टा पानीमा भिजाएर बाहिरको गुदी फालेपछि प्राप्त बीउलाई तीन दिनदेखि पाँच दिनभित्र नर्सरीमा राखिसक्नु पर्दछ। साथै यसको प्रसारण गर्दा बिरुवालाई असर नपर्ने गरी साना साना बाहिरी जरा काटेर जराको कलमीबाट तथा काण्डबाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ। निमको खेती गर्दा कहिकतै सोझै बीउ छरेर निम खेती गर्ने गरेको पनि पाइन्छ तर सबैभन्दा सफल तरिका भनेको नर्सरीमा बिरुवा उमारी खेती गर्नु नै हो।
फूल लाग्ने समय फाल्गुण – चैत्र , फल लाग्ने समय आषाढ – भाद्र
उत्पादन :
एउटा छिप्पिएको रुखबाट सरदर तीन सय ५० किलोग्राम पात र ५० किलोग्रामसम्म फल उत्पादन हुने गर्दछ।
उपयोगिता :
नीम नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु मध्येको एक प्रजाति हो । यसका पातमा क्याल्सियम, म्याग्नेसियम, फलाम, फस्फोरस, प्रोटिन, भिटामिन ए आदिका साथै एजाडिटिन, क्वारेसेटिन, नोमिसिनल आदि क्षाराभ पाइन्छन्। यसको कलिलो डाँठ दतिवनको रुपमा प्रयोग गरिन्छ । विभिन्न किसिमका दन्तमञ्जन र साबुन उत्पादनमा नीमको सम्मिश्रण रहेको हुन्छ । जैविक किटनाशक औषधीमा यसको पातको प्रयोग गरिन्छ । रक्तविकार र चर्मरोगमा पातको झोल र बोक्राको धुलो प्रयोग गरिन्छ । तेलको सेवन मधुमेहका बिरामीको लागि लाभकारी मानिन्छ । निम्बादि चूर्ण, निम्बहरिद्राखण्ड, पित्तघ्न वट, महामरिच्यादि तेल आदि आयुर्वेदिक औषधी उत्पादनमा नीमको सम्मिश्रण रहेको हुन्छ । यसका पातबाट आँखा, मिर्गौला, छालासम्बन्धी रोगमा प्रयोग गरिने औषधि बनाइन्छ भने पेटको जुका बाहिर निकाल्न, कमलपित्त तथा घाउ खटिरा आदि निको पार्न प्रयोग गरिन्छ। छाला र कपालका लागि निम पानी सेवन निकै फाइदाजनक छ । डण्डीफोर, घाउ, स्किन एलर्जी, एक्जिमा, स–साना खटिरा, दाग धब्बाजस्ता छालादेखि मौसमी समस्याहरुबाट पनि निम पानी सेवनले राहत दिन्छ । निमको पानीमा भिटामिन ई, एस्ट्रिन्जेन्ट गुण हुन्छ । यसले छाला र कपालको स्याहार गर्छ । यसको एन्टी ब्याक्टेरियल गुणले छालाको ब्याक्टेरिया मार्छ । पेट दुख्ने समस्याबाट पनि निमले आराम दिन्छ ।
Source : डा. माधव अधिकारी , गोरखापत्र , वनस्पति विभाग