धान, मसुरो, गहुँ, तोरी आदि दाउने बहुउपयोगी कृषि यन्त्र हो । यो ट्रयाक्टरको पावरलाई पिटिओ साफ्टद्वारा लिएर मेशिनको पुल्लीको बेल्ट घुमाउँदै मेशिन चलाइन्छ । विभिन्न प्रकारका अन्नहरु दाउने हुँदा यो धेरै उपयोगी र धेरैले मन पराएका छन् ।
मेशिनका मुख्य भागहरु :
होपर (धान, गहुँ, मसुरो आदि हाल्ने ठाउँ), चक्का, ड्रम, पुल्ली, बेल्ट, ड्रमभित्रको ब्लेडको पाता, जालीहरु, साफ्ट, आदि ।
मेशिनका विशेषताहरु :
- यो मेशिनद्वारा धान, मसुरो, गहुँ, तोरी आदि दाउन सकिन्छ ।
- यस मेसिनले राम्रो दाना, नराम्रो दाना, भुस, नललाई अलग्गै निकाल्छ ।
- ३५ हर्ष पावरभन्दा बढी क्षमताको चारचक्के ट्रयाक्टरमा जोडेर चलाउन सकिने ।
- मेशिन सस्तो र छिटो हुन्छ ।
- कम मजदुर भए पुग्ने ।
क्षमता :
- धान, गहुँ, मसुरो प्रतिघण्टा १५ देखि २० क्वीन्टल (दाना मात्र) सम्म दाउन सकिन्छ ।
- तोरी प्रतिघण्टा ५ देखि ७ क्वीन्टल (दाना मात्र) दाउन सकिन्छ ।
तुलनात्मक आर्थिक विश्लेषण
- यस मेशिनद्वारा प्रतिघण्टा रु. १६००/– को दरमा १५ देखि २० क्वीन्टलसम्म धान, गहुँ, मसुरो दाउन सकिन्छ जुन सोही परिमाण हातले २ देखि ३ जनाले ५ दिनमा प्रति दिन रु. ५००/– को दरमा रु. ७५००/– मा सकिन्छ ।
- त्यसैगरी प्रतिघण्टा रु.१६००/– को दरमा ५ देखि ७ क्वीन्टलसम्म तोरी दाउन सकिन्छ जुन हातले २ देखि ३ जनाले ३ दिनमा प्रतिदिन रु. ५००/– को दरमा रु.४५००/–मा सकिन्छ ।
आउन सक्ने समस्याहरु
दाना टुक्राउने , पराल र भुस नजिकै फाल्ने, दानासँगै पराल फाल्ने जस्ता समस्याहरु देखिन्छन् ।
गर्नुपर्ने कामहरु :
- मेशिन र ट्रयाक्टरको आर.पि.एम.हेरेर मेशिनको पुल्ली परिवर्तन गर्नु आवश्यक पर्दछ ।
- ड्रममा भएको जाली र सिभिङ जाली परिवर्तन गर्नु आवश्यक पर्दछ ।
- ट्रयाक्टरलाई न्युट्रलमा राख्नुपर्छ ।
Source : Pmamp, Khumaltar